चुनावमा विकास र समृद्धिका लागि स्थायित्वको नारा दिएको कम्युनिस्ट गठबन्धनले अत्यधिक सुविधाजनक बहुमत ल्याउँदा पनि बजारले विश्वास गर्न नसकेको देखिनु आश्चर्य र चिन्ताको विषय हो । संविधान निर्माण गरेपछिको दुई वर्षमा तीनवटा पार्टीका तीन जना प्रधानमन्त्री भए । यसबाट सरकार अस्थिर देखियो । सरकार अस्थिर हुँदा लगानीकर्ताले पनि ढुक्कसँग लगानी गर्दैनन् । तर, नेपालको संविधान, २०७२ कार्यान्वयनका लागि भएको पहिलो निर्वाचनमा कम्युनिस्ट गठबन्धनले सुविधाजनक बहुमत पाएको छ । यसबाहेक संविधानले नै दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न बन्देज लगाएको छ । अर्थात्, अब ठूलै आन्दोलन वा कम्युनिस्ट पार्टीहरूबीच विखण्डन नहुँदासम्म सरकार स्थिर नै हुन्छ । तर, सेयर बजारलाई कुनै मापक मान्ने हो भने बजारले निर्वाचनको परिणाममा विश्वास गरेको देखिएन ।
धेरै लामो समयसम्म नेपालका राजनीतिक नेताहरूमात्र हैन बुद्धिजीवी, व्यवसायीले समेत आर्थिक विकास मन्द हुनुको दोष सरकार छिटोछिटो परिवर्तन हुनुलाई दिँदै आए । सरकार बदलिनु राजनीतिक अस्थिरता हैन तर नेपालमा यसैलाई राजनीतिक अस्थिरताका अर्थमा बुझ्ने काम भयो । नेपाली समाज र बजारमा व्याप्त यही अस्थिरताको भय (फोयिबा)लाई कम्युनिस्टहरूले चुनावी नारा बनाए । दुई कम्युनिस्ट पार्टीको गठबन्धन बनाएर उनीहरूले स्थिर सरकार दिने वाचा गरे । सरकार स्थिर भएपछि समृद्धिको ढोका खुल्ने सपना देखाए । जनताले कम्युनिस्ट गठबन्धनको चुनावी नारालाई पत्याएर अत्यधिक बहुमत पनि दिए । तर, बजारले भने त्यसलाई उत्साहपूर्वक स्वागत गरेन । सामान्यतः ह्वात्तै बढ्नुपर्ने सेयर बजारमा चुनावपछि पनि उत्साहजनक प्रतिक्रिया देखिएन । अर्थात्, जनताले पत्याएका कम्युनिस्ट गठबन्धनलाई बजारले विश्वास गरेन ।
बजारले कम्युनिस्ट गठबन्धनको जितलाई उत्साहपूर्वक स्वागत नगर्नुको कारण बुझ्न भने कठिन छैन । कम्युनिस्ट नेताहरूमा सत्तामा पुग्नका लागि मात्र हैन सत्तामा पुगेपछि पनि जिम्मेवारीबोधको अभाव देखिने गरेको छ । त्यस्तै, विगतमा उनीहरूले अर्थतन्त्रमा पर्ने दूरगामी प्रतिकूल प्रभावको ख्यालै नगरी अतिमहत्त्वाकांक्षी दुस्साहस पनि देखाउने गरेका छन् । सरकारमा पुगेपछि कम्युनिस्टहरू बढी नै वितरणमुखी हुनसक्ने र संघीय संरचना धान्न मुस्किल हुनसक्ने आशंकाले पनि बजारमा सन्देहको वातावरण फैलेको हुनसक्छ । यही सन्देहका कारण सेयर बजारमा उत्साह नदेखिएको हुनसक्छ । यसैले चुनावमा वाचा गरेजस्तै देशको समृद्धिको रहर भए कम्युनिस्टहरूले बजारमा पनि विश्वास जगाउने वातावरण बनाउनुपर्छ । विशेषगरी देशले धान्नै नसक्ने गरी सस्तो लोकप्रियताका लागि वितरणमुखी नहुने वाचा गर्नुपर्छ । जनतालाई गरेको वाचा पूरा गर्न राज्यलाई निजी क्षेत्रले नियन्त्रण गरेको बजारको पनि साथ चाहिन्छ । कम्युनिस्ट गठबन्धनका नेताले बजारको भूमिका र महत्त्व पक्कै बुझेका होलान् ।