site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
वैकल्पिक शक्ति नआई देशले फड्को मार्न सक्दैन
Sarbottam CementSarbottam Cement

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल पहिलोपटक प्रदेश तथा प्रतिनिधिसभा चुनावमा होमियो । प्रतिनिधिसभा र प्रदेशतर्फ एउटामात्रै सिट जित्न सफल पार्टीले प्रदेशसभातर्फ २ वटा सिटमा जित निकाल्यो । समानुपातिकतर्फ पनि उसले अपेक्षित भोट प्राप्त गर्न सकेन । प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ २ सिटमा सीमित भएको नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको सूचीमा १ नम्बरमा राखेकी उमेदवार करिष्मा मानन्धरसँग उनको पार्टीले पाएको मतका विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको छोटो कुराकानीः 

दलहरुले प्राप्त गरेको नतिजालाई कसरी लिनुभएको छ ?

स्थापित पार्टीहरुलाई जनताले भोट दिएको पाइयो । वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी र विवेकशील साझा आएका थिए । छोटो समय थियो, चुनाव आयो हामी निर्वाचनमा गयौं । त्यसैले हाम्रो बारेमा हामीले राम्रोसँग बुझाउन पनि सकेनौं । पुरानै पार्टीलाई जनताले मत दिएको देख्दा उनीहरुबाटै निकास खोजेका रहेछन् भन्ने पनि बुझिन्छ । बाम गठबन्धनले स्थायी सरकार दिन्छौं, हामीलाई मतदान गर्नुस् भनेको थियो, उनीहरुले मत दिएको देख्दा स्थायी सरकार चाहेका थिए र उनीहरुको एजेण्डामा विश्वास गरे भन्ने पनि देखियो । स्थापित दुई धार या शक्तिमध्ये बामलाई विश्वास गरेको देखियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ शक्तिलाई प्राप्त भएको मत अपेक्षित हो कि अनपेक्षित ? 

म कतै जाँदा कसलाई भोट हाल्नुहुन्छ भनेर मलाई प्रश्न गर्दा, म आबद्ध भएको नयाँ शक्तिलाई नै मतदान गर्छु भन्थेँ, उहाँहरु छक्क पर्दै नयाँ शक्ति भन्ने पनि पार्टी छ र ? भन्नुहुन्थ्यो । नयाँ भएको कारण हामीले हाम्रो पार्टीबारे परिचय दिन नै बाँकी छ । हामीले यो निर्वाचनलाई आफ्नो परिचय दिने माध्यमको रुपमा लिएका छौं ।

Global Ime bank

चुनाव चिन्ह पनि हामीले पहिलोपटक यही निर्वाचनमा पायौं । हाम्रो चुनाव चिन्ह आँखा हो भनेर पनि हामीले चिनाउन नै बाँकी छ । पुरानै पार्टीको त झण्डै निकाल्नुपर्ने गरी मतपरिणाम आयो । डा. भट्टराईलगायत केही उमेदवारले जित्नु भयो, यसलाई मैले अपेक्षित नै भन्छु । हामीले तीन सिट प्राप्त गरेको पनि पार्टीको चुनाव चिन्ह चिनेर भन्दा पनि ख्यातिप्राप्त राम्रो व्यक्ति भएकाले हो भन्ने लाग्छ । 

समानुपातिकमा पनि राम्रो भोट प्राप्त गर्नु सक्नुभएन नि !

नयाँ पार्टी हो । गठन भएको दुई वर्ष हुँदैछ । हाम्रो बारेमा धेरैलाई थाहा नै नभएको बेला पनि अहिलेको पोजिसनमा आउनु पनि राम्रो कुरा हो । 

यसको मतलब यहाँ भन्दा बढी अपेक्षा नै राखेको थिएन नयाँ शक्तिले ?

अपेक्षा नै ठूलो कुरा होइन । सबै अपेक्षा एकैपटक पूरा हुन्छ भन्ने पनि छैन । मैले त सन्तोषजनक रुपमै लिएको छु । राष्ट्रिय पार्टी भइदिएको भए राम्रो हुनेथियो । तर, छोटो समयमा यति हुनुलाई मैले सकारात्मक रुपमै लिएको छु । 

वैकल्पिक शक्ति भनेर आफूलाई प्रस्तुत गरेको नयाँ शक्ति र विवेकशील साझा दुबैलाई जनताले रुचाएनन् भन्दा के हुन्छ ? 

त्यस्तो होइन । वैकल्पिक शक्ति नआई देशले फड्को मार्न सक्तैन । यसमा शंकै छैन । जनताले बुझ्न नसेकेको मात्रै हो, नबुझ्नुको कारण छोटो समय हो । कुनै पनि राजनीतिक विचार स्थापित हुन समय लाग्छ । माओवादीलाई पनि आफ्नो विचार स्थापित गर्न १० वर्ष लागेको सबैलाई थाहा छ । हामी आएको दुई वर्ष मात्रै भयो । विवेकशील साझा आएको त त्यति पनि भएको छैन । हामीलाई त अझ छोटो समयमा नै जनताले स्वीकार गर्नुभयो । 

प्रत्यक्षतर्फ त तपाईंको पार्टीमा अन्य पार्टीसँग प्रतिस्पर्धा गर्ने व्यक्ति हुनुहुन्नथ्यो होला तर समानुपातिकमा त जनताले राम्रै भोट दिन्छन् भन्ने त तपाईंहरुको पूर्वानुमान मेल खाएन नि !

यसमा मनोविज्ञानले काम गर्दोरहेछ । गाउँमा अझै पनि म यही व्यक्तिलाई मतदान गर्छु भन्ने मतदानको अघिल्लो दिनसम्म पनि हुँदैन । गाउँको अगुवाले जसलाई मत दिनुपर्छ भन्छन् उसैलाई दिन्छन् । नयाँ पार्टी वा विचारले जित्दैन भने किन दिने भनेर दिँदैनन् । मेरै साथीलाई मैले कसलाई भोट दिनुभयो भनेर सोध्दा, फलानो पार्टीलाई दिएँ, तपाईंको पार्टीले हारिहाल्छ के दिनु भनेर दिइन, जहिले जित्छ त्यही समय दिउँला नि भन्नुभयो । हार्ने पार्टीलाई किन मतदान गर्ने भन्ने मनोविज्ञानले गर्दा पनि समानुपातिकमा हामीलाई कम मत आयो ।

यो विचार ठिक छ, यसलाई दिनुपर्छ भन्ने मनोविज्ञान तयार नभएसम्म जनताले भोट दिनुहुन्न । अबको ५ वर्षपछि हाम्रो विचार स्थापित हुन्छ र हामीले भोट पाउँछौं भन्ने लाग्छ । 

तपाईंको नाम समानुपातिकतर्फ एक नम्बरमा राख्दा राख्दै पनि संसदमा जाने अवर नआउने भयो । कस्तो लागिरहेको छ ? 

म भन्दा पनि जतिसक्दो धेरै साथी त्यहाँ पुगौं र हाम्रो विचार स्थापित गर्न सकौं भन्ने मुख्य पक्ष हो । म एक जना संसदमा पुग्छु वा पुग्दिन भन्ने मुख्य कुरा होइन । 

यस्तो खालको मतपरिणामले फ्रष्टेशन जन्माएको त छैन ?

राजनीतिप्रति वा पार्टीप्रति फ्रष्टेशन भएको छैन । जनताले किन राम्रो विचारलाई स्थापित गर्न ढिलो गरिरहेका छन् भन्ने कुराबाट भने दुःख लाग्छ । तर यो राम्रो विचार जसले मुलुकलाई निकास दिन्छ, यो विचारलाई बुझाउनुपर्छ र यो हाम्रो कर्तब्य हो भन्ने कुराले त झन् उत्प्रेरणा दिन्छ । 

एउटै पुरानो बस पटक पटक चढेर कहाँ पुगिन्छ ? उही पुरानै गन्तव्य पुगिन्छ, यो कुरा बुझाउनुपर्छ । जनताले एक दिन बुझ्नुहुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC