कम्युनिष्ट गठबन्धनका सुत्रधारमध्येका दुई नेता नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका नेता वामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजित भए ।
गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धामा होमिएका माओवादी केन्द्रका नेता श्रेष्ठले पराजयको दोष कसैलाई पनि दिन नचाहने बताउँछन् ।
तर पनि उनले आफूहरुको गठबन्धन झनै बलियो भएर जाने दाबी गरे । बाह्रखरीसँग बिहीबार आफ्नै निवासमा कुराकानी गर्दै गठबन्धन लामो समयसम्म जाने, अहिले गठबन्धनमा कुनै पनि विवाद नदेखिएको उनको दाबी थियो । तर कतिपय नेताले दिएको टिप्पणीले दुखित बनाएको उनले बताए ।
प्रतिनिधिसभा निर्वाचन, त्यसपछिको अवस्था, गठबन्धनको भविष्य, सरकार गठन, संविधान संशोधन लगायतका विषयमा बाह्रखरीका लागि बलराम पाण्डे र शिवनारायण गिरीले माओवादी केन्द्रका नेता श्रेष्ठसँग गरेको कुराकानीः
प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सुत्रधार तपाइँ नै पराजित हुनुभयो । यसको कारण के हो जस्तो लागेको छ ?
निर्वाचनमा गइसकेपछि हार र जितमध्ये एउटा परिणाम आउँछ, त्यो स्वभाविक पनि हो । त्यसलाई सहज रुपमा लिनुपर्छ । अहिलेलाई यतिमात्र भन्न चाहन्छु गोरखा २ का मतदाताले यसपटक मलाई छनोट गर्न सक्नुभएन यस रुपमा नै लिन चाहन्छु ।
सम्रग तथ्यलाई अगाडि राखेर हामीले समीक्षा गर्ने काम त गरौंला तर अहिलेलाई म यसबारे यति मात्र भन्न चाहन्छु ।
भनेपछि तपाईँ पराजित हुनुको अन्य अस्वभाविक कारण थिएन ? कि केही छन् पनि ?
हैन, निर्वाचनको परिणामका कारणका बारेमा चाहिँ म अहिले जनताको निर्णयलाई सहज रुपमा स्वीकार गर्ने र जनताले नै निर्णय गरे भन्ने बाहेक अरु केही पनि टिप्पणी गर्न चाहन्नँ ।
किनभने त्यसविषयमा औपचारिक रुपमा नै छलफल र निर्णय गरौंला । अहिले हामी त्यस प्रक्रियामा प्रवेश गरिसकेका छैनौं । त्यसैले मैले त्यत्तिकै टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन ।
गोरखा क्षेत्र नम्बर दुईमा तपाईँका पूर्व सहकर्मी डा. बाबुराम भट्टराई र तपाईँ एउटै क्षेत्रमा नलडेको भए हुन्थ्यो भन्ने धेरै सुनियो । तपाईँहरु एउटै क्षेत्रमा जानैपर्ने कारण के थियो ? किन दुवै नेताको अडान कायम रह्यो ?
पार्टीले मलाई त्यहीँबाट लड्ने निर्णय गरेको थियो । त्यस अवस्थामा म गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न गएँ । बाबुरामजीले पनि त्यसै क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव वाम गठबन्धनमा आइसकेपछि गर्नुभयो । तर, वाम गठबन्धनभित्र र हाम्रो पार्टीभित्र पनि त्यसबारेमा औपचारिक निर्णय गर्न भन्दा अगाडि नै उहाँ वाम गठबन्धन छोडेर जानुभयो । त्यस्तो स्थितिमा हामीले एउटै क्षेत्रबाट चुनाव लड्ने परिस्थिति बन्यो ।
तपाईंहरुले उहाँलाई छोड्न सक्नुभएन कि उहाँले तपाईलाई छोड्न सक्नुभएन ? कुरा कहाँनेर नमिलेको हो ?
बाबुरामजी त वाम गठबन्धनमा किन आउनुभयो भन्ने प्रश्नलाई नै उहाँले अत्यन्तै शंकाको घेराभित्र राख्ने गरी आफूलाई प्रस्तुत गर्नुभयो ।
त्यो खाली गोरखा २ नम्बर क्षेत्रबाट चुनाव लड्नमात्र वाम गठबन्धनमा आएको भन्ने कुरा उहाँले व्यवहारबाट पनि पुष्टि गर्नुभयो । यो धेरै दुःखको कुरा हो ।
जबकी वाम गठबन्धन त हामीले अहिलेलाई निर्वाचनमा मिलेर जाने, देशमा वामपन्थीहरुको बहुमतको सरकार बनाउने र समाजको आर्थिक रुपान्तरण गर्ने त्यो महान उद्देश्यलाई केन्द्रमा राखेर वाम गठबन्धन बनाएका हौं ।
साथसाथै पार्टी एकताको दिशामा अगाडि बढ्ने र एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य थियो ।
उहाँले एउटा निर्वाचन क्षेत्रको कारणले गर्दाखेरी वाम गठबन्धन छोड्नुहुन्थेन । त्यसकारण उहाँ साह्रै संकिर्ण उद्देश्यले वाम गठबन्धनमा आउनुभएको रहेछ भन्ने कुरा उहाँका व्यवहारबाट पुष्टि भयो । तर, हामी लचिलो नै थियौं ।
वाम गठबन्धनमा पनि मलाई नै गोरखा २ नम्बरबाट प्रतिनिधिसभा सदस्यको लागि उमेदवार उठाउने भन्ने थियो ।
त्यो प्रस्तावमा केही समय अड्ने भन्नेनै थियो । सकेसम्म त्यही कायम गराउने अन्तिमसम्म हुँदै नहुने अवस्था आए बाबुरामजीलाई छाडिदिने भन्ने थियो । अन्तिमसम्म बाबुरामजीले त्यतिका लागि अडान राखे छाडिदिने भन्ने थियो । तर, हाम्रो पार्टी र वाम गठबन्धनले औपचारिक निर्णय गर्नुभन्दा केही अगाडि नै उहाँ गठबन्धन छोडेर जानुभयो ।
यसकारणले पनि उहाँ किन आउनुभयो ? र किन जानुभयो ? भन्ने प्रश्न गम्भीर रुपमा तेर्सिनेगरी उहाँले आफ्नो गतिविधि अगाडि बढाउनुभयो । हामी दुवै जनाको प्रतिस्पर्धा हुने स्थिति बाबुरामजीले नै उत्पन्न गराउनुभयो ।
तपाईँले भनेजस्तो बाबुराम भट्टराईका संक्रिर्ण व्यवहार कस्ता थिए ? उहाँ वाम गठबन्धनमा किन टिक्न सक्नुभएन होला त ?
त्यसबारेमा म अहिले धेरै टिप्पणी गर्न चाहन्नँ । जब उहाँ हाम्रो पार्टी छोडेर जानुभयो । उहाँले हाम्रो पार्टी मात्र छोडेर जानुभएको थिएन । उहाँले माक्र्सवाद र कम्युनिष्ट आन्दोलनविरुद्ध कम्युनिष्ट पार्टी काम लाग्दैन भनेर जानुभएको थियो । त्यसपछि जब नयाँ शक्ति निर्माणको प्रक्रियाले आकार लिन र शक्ति हासिल गर्न सकेन त्यस पछाडि उहाँ वाम गठबन्धनमा र एउटै कम्युनिष्ट पार्टी निर्माण प्रक्रियामा पनि सामेल हुन्छु भनेर आउनुभएको हो ।
पहिलो कुरा त वैचारिक रुपमा कम्युनिष्ट आन्दोलन र माक्र्सवादबाट अब हुँदैन भनेर गएको व्यक्ति फेरि कम्युनिष्ट आन्दोलनमा आउनुभयो । त्यसबेला पनि उहाँले संकिर्ण स्वार्थ देखाउनुभयो । त्यस पछाडि वामपन्थी गठबन्धन भइसकेपछि यो गठबन्धन टुट्छ भन्ने सन्देश दिनेगरी उहाँ निस्कनुभयो ।
त्यसकारणले उहाँका यी वैचारिक अस्थिरता र व्यवहारिक गतिविधिहरुले पनि हामीले धेरै भन्नै नपर्नेगरी यस विषयलाई प्रस्ट पारिदिनुभयो ।
चुनावी दौरानको क्रममा तपाईँहरुबीच कस्तो सम्बन्ध रह्यो ?
व्यक्तिगत रुपमा त हाम्रो कुनै कटुताको स्थिति हुनुपर्ने स्थिति थिएन र भएन पनि । खाली नीतिगत कुरा मात्र हामीले उठाएका हौं । त्यसकारणले गर्दा व्यक्तिगत रुपमा न चुनावी छलफल भए न हामी आरोप प्रत्यारोपमा नै उत्रियौं ।
हामीले चारवटा मुद्दाहरु मात्र उठाएका थियौं । गोरखा २ नम्बर निर्वाचन क्षेत्र सिंगो देशलगायत अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण किन बन्यो भन्दा त्यहाँ महत्वका पदमा गइसकेका व्यक्तिहरु प्रतिस्पर्धामा हुनुमात्रै थिएन ।
त्यसमा अन्य कारण पनि थिए । चारवटा कारणले त्यो क्षेत्र बढी चर्चामा थियो ।
के के थिए ?
एउटा नेपालमा अहिले पनि वाह्य शक्तिहरुको प्रभाव छ । एउटा न एउटा रुपमा नेपालको राजनीतिमा त्यो अवस्था देखिएको छ । त्यसको एउटा घनिभूत अभिव्यक्ति गोरखा २ मा भयो कि भन्ने हामीलाई लागेको छ । एउटा राष्ट्रिय स्वाधिनतामा उभिने व्यक्ति र अर्को आफ्नो स्वार्थको निम्ती विदेशीहरुसँग पनि सम्झौता गर्ने व्यक्तिबीचको प्रतिस्पर्धा थियो ।
त्यसको एउटा केन्द्रीकृत अभिव्यक्ति गोरखामा भयो । दोस्रो कुरा, नेपाल अब एतिहासिक चरणमा प्रवेश गर्ने अवस्थामा पुगेको छ । त्यो भनेको राजनीतिक अस्थिरता अन्त्य गर्ने बहुमतको वामपन्थी सरकार बनाउने र समृद्धिको दिशातिर देशलाई लैजाने भन्ने नै हो ।
एउटा राजनीतिक स्थिरता, बुहमतको सरकार र समाजवादको आधार निर्माण गर्ने गरी सामाजिक न्यायसहितको समृद्ध मुलुक निर्माण अभियानमा जाँदैछ तर अर्को राजनीतिक अस्थिरता कायम गरिराख्ने र फेरि विकास र समृद्धिको कुरालाई नारा मात्र बनाउने प्रवृति त्यहाँ देखियो ।
यी दुईवटा प्रवृतिबीचको संघर्ष छ । त्यो पनि गोरखामा अभिव्यक्त भयो । तेस्रो, लोकतान्त्रिक संस्कृति, मुल्य,मान्यताको एउटा प्रवृति र अर्को त्यसको विरुद्धको प्रवृति हो ।
आफ्नो आदर्श मुल्य,मान्यता, विचार कार्यक्रम केही कुरामा अडान नराख्ने आफ्नो स्वार्थको निम्ती जहाँ जे पनि सम्झौता गर्ने जुनसुकै बेला जे पनि गर्ने एउटा प्रवृति छ ।
जसरी लोकतान्त्रिक संस्कृतिको विघटन र गिरावटलाई जनाउँछ । त्यसले लोकतन्त्रलाई सुदृढ गर्न सक्दैन भन्ने नै हामीलाई लागेको थियो ।
त्यस्ता प्रवृतिहरुसँग नै नेपालको राजनीतिमा संघर्ष भइरहेको छ । त्यसको अभिव्यक्ति तेस्रो रुपमा गोरखामा देखा पर्यो ।
चौथो, बाबुरामजी नेपाली कम्युनिष्ट आन्दोलनलाई पूरा गर्न गठबन्धनमा आउनु भएको रहेनछ भन्ने कुरा पुष्टि भयो । हामी सबै कम्युनिष्टहरु एकतावद्ध हुनुपर्छ भनेर लागेका थियौं । यी चार वटा कारणले गोरखा २ बढी केन्द्रमा रहेको हो ।
नेकपा माओवादी केन्द्रबाट तपाईँ, नेकपा एमालेबाट वामदेव गौतम र कांग्रेसबाट रामचन्द्र पौडेललाई पार्टीभित्रैबाट अर्थात नेतृत्व तहबाटै अन्तर्घात भयो भन्छन् नि हो ?
म अहिले कसैलाई दोष दिन चाहन्न । मैले सुरुमै भने गोरखाका २ नम्बर क्षेत्रका जनताले यसपटक मलाई चयन गर्न सक्नुभएन । मैले यसरुपमा मात्र बुझ्न र सहज रुपमा स्वीकार्न चाहन्छु । म ती सबै पार्टीका नेता तथा कार्यकर्ताहरु वामपन्थी गठबन्धनका नेता तथा कार्यकर्ताहरु र अन्य मित्रहरु जसले सहयोग गर्नुभयो, उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । अहिले योभन्दा बढी बोल्न चाहन्नँ ।
वाम गठबन्धनले प्राप्त गरेको नजिता तपाईंको अपेक्षित थियो कि अनपेक्षित ?
मैले अपेक्षा गरेअनुसारकै परिणाम हो यो । त्यसकारणले मेरो व्यक्तिगत पराजय भएपनि नेपालमा अहिलेको चुनावसम्म आइपुग्दा जे परिदृश्य देखा पर्यो, त्यसबाट म वास्तवमा खुसी छु ।
पहिलो कुरा त नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भयो र नेपालमा नेपाली जनताले आफ्नो संघर्षद्वारा प्राप्त गरेको नयाँ ढाँचाको लोकतन्त्र नेपाली मौलिकताको लोकतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्र संस्थागत भयो ।
दोस्रो, नेपाल अब नयाँ ऐतिहासिक चरणमा प्रवेश गर्ने अवसरमा छ । विकास र समृद्धिमा फड्को मार्ने ढोका खुल्यो । यो दुई वटा कुरा कसैको जित होइन, नेपाल र नेपाली जनताको जित हो । त्यसकारणले हामी सबै खुसी हुनुपर्छ । म त झन धेरै नै खुुसी छु । तेस्रो, मैले व्यक्तिगत पहल पनि धेरै गरेको हो त्यसैले पनि म खुसी छु ।
वामपन्थीहरु मिलेमा हामीले शान्तिपूर्ण प्रतिस्पर्धाबाट बहुमतको सरकार बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्न सकिन्छ र देशलाई कायापलट गर्न सकिन्छ भन्ने मेरो विश्वास हो ।
त्यसको निम्ति धेरै प्रयत्न पनि गरियो । त्यसले शानदार सफलता प्राप्त गर्यो । त्यसबाट पनि म धेरै खुसी छु । म अहिलेको चुनावको परिणामबाट खुसी छु, त्यसैले रत्तिभर पनि मलाई व्यक्तिगत पराजयले निराशाको भाव दिन सकेको छैन । तर म ढोँगी मान्छे होइन । म पूर्ण मानव पनि होइन । जय र पराजय हार र जितले छेउटुप्पै केही फरक पार्दैन भन्दै भन्दिनँ । तर, मुलभूत रुपमा म अत्यन्तै खुसी छु ।
तपाईँले नेपाल र नेपालीको जित भन्नुहुन्छ तर छिमेकी मुलुकमा आएका खबरहरु एउटा देशले जित्यो र अर्को देशले हार्यो भन्ने खालका छन् नि ! यसमा तपार्इँको टिप्पणी के छ ?
म पहिले त नेपालका सबै राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, नेपालका बुद्धिजीविहरु, पत्रकार साथीहरु सबैलाई यसबारेमा सचेततापूर्वक अभिव्यक्ति दिन म अनुरोध गर्न चाहन्छु । हामीले अरु कुनै मित्र राष्ट्रहरु वा छिमेकीहरु अन्तर्राष्ट्रिय शक्तिहरुलाई हाम्रो राजनीतिक घटनाक्रममा सधै घचेट्ने प्रयत्न गर्नुहुँदैन ।
हामी आफैले त्यो काम गरेर गल्ती गर्नुहुँदैन । दोस्रो, अन्य मित्र राष्ट्रहरुलाई वा शक्तिहरुलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–हामी सबैसँग असल सम्बन्ध राख्ने पक्षमा छौं ।
त्यसमाथि पनि हाम्रो दुईवटा छिमेकी राष्ट्रहरु चीन र भारतसँग राम्रो मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा छौं । त्यसैले नेपालको आन्तरिक राजनीतिको कोर्स निर्धारण गर्ने जिम्मा नेपालका राजनीतिक पार्टी र जनताको हो भनेर तपाईँहरुले पनि बुझिदिनुपर्छ ।
नेकपा एमाले र माओवादीबीचको वाम गठबन्धनपछि पार्टी एकताको चरणमा हुनुहुन्छ, एकता कहिले हुन्छ ?
छिटोभन्दा छिटो हुन्छ । तर, आदर्शको कुरा के हो भने सरकार गठन गर्नुभन्दा अगाडि नै पार्टी एकीकृत गर्न पाए हुन्थ्यो भन्ने हो । तर संवैधानिक र कानुनी रुपले सरकार जति छिटो निर्माण गर्न सकिन्छ त्यति छिटो गरिनुपर्छ । त्यसैले पार्टी एकताको प्रक्रिया पूरा भएको छैन भनेर पनि मिल्दैन । व्यवहारमा हेर्दा पार्टी एकता अलि पछाडि जाने र सरकार गठनको प्रक्रिया अलि अगाडि हुने सम्भावना छ ।
पार्टी एकताको प्रक्रिया नजिकिँदै छ कि टाढिँदैछ ? राजनीतिक विश्लेषक र केही नेताहरु तपाईंहरुको एकता विस्तारै टाढिन थाल्यो भन्छन् नि !
यो एमाले र माओवादीबीचको पार्टी एकता चुनौतीरहीत अभियान होइन । यो निर्णय लिँदा नै हामीले जति संघर्ष र मेहनत गर्नुपर्यो त्यो आफैँ पनि धेरै कष्टसाध्य मेहनत थियो ।
हामीले यो निर्णय गरिरहँदा पनि सहज अनुमान गरेका थियौं र अहिले पनि हामी त्यसमा छौं ।
विभिन्न प्रयत्नहरु यो पार्टी एकताको प्रक्रियालाई टुङ्योमा पुग्न नदिन र वाम गठबन्धनको सरकार निर्माण प्रक्रियामा पनि सहज सम्बन्धका आधारमा सरकार गठन र सञ्चालन हुन नदिन प्रयत्न हुनेछ । तर, हामी त्यसलाई असफल पार्छौं र पार्टी एकतालाई पनि हामी टुङ्योमा पुर्याउछौं ।
एमाले र माओवादीबीच वैचारिक र राजनीतिक मतभेद छ कि छैन ?
मतभेद छैन भनेर भन्दिनँ । मतभेद त सबैले देख्नेगरी छ । मैले कसरी छैन भन्ने ? हामी अहिलेको मार्क्सवाद , लेनिनवाद भनिराखेका छौं । उहाँहरु जनताको बहुदलीय जनवाद भनिराख्नु भएको छ । हामी २१ औं शताब्दीमा जनवादको विकास वा प्रतिक्रान्तिका अन्तर्राष्ट्रिय शिक्षाहरुसहित अगाडि बढ्नुपर्छ भनेर भनिराखेका छौं ।
हाम्रा अरु पनि तत्कालीन राजनीतिक प्रश्नहरुमा आन्तरिक राष्ट्रियतालाई कसरी सुदृढ गर्ने भन्ने प्रश्नमा पनि हाम्रा केही छलफलहरु छन् । त्यसकारणले केही मतभेदहरु छैनन् भन्ने होइन । तर, दुई वटा कारणले गर्दाखेरी हामी अगाडि बढ्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं । हामी मुल राजनीतिक कार्यनीतिमा हामी एकै ठाउँमा छौं ।
राष्ट्रिय स्वधिनताको रक्षा गर्ने, संविधानको कार्यान्वयन र विकास गर्ने, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै बहुमतको सरकार बनाउने, विकास र समृद्धिको दिशातिर फड्को मार्ने विषयमा हामी एकैठाउँमा छौं । त्यो विकास र समृद्धि सामाजिक न्यायसहितको र समाजवादको आधार निर्माण गर्ने होस् भन्नेमा छौं । यो कार्यनीति खाली १ वर्ष, २ वर्ष र ५ वर्ष नेपालको समाज र राजनीतिक दिशा निर्दिष्ट दिने खालको छैन । त्योभन्दा लामो अवधिको लागि हो ।
त्यसकारण यसले नै हामीलाई अगाडि बढ्न सहयोग मिल्छ । जहाँसम्म पार्टी एकतासम्म पुग्ने रणनीतिक मुद्दाहरुमा के हो त भन्ने प्रश्न छ । त्यसमा पनि तीनवटा मूलभूत कारणमा हाम्रो सहमति छ । एउटा अहिले पनि वैज्ञानिक, क्रान्तिकारी विश्व दृष्टिकोण मार्क्सवाद नै हो । मार्क्सवादबाट विचलित हुनुहुँदैन । मार्क्सवादको विकसित रुप आज के हो ? मार्क्सवाद , लेलिनवाद र माओवाद हो की ? वा अरु कुनै हो छलफल गर्दै जाउँला । तर, मार्क्सवादबाट विचलित हुनुहुँदैन भन्ने रणनीति मुद्दामा सहमति छ ।
अर्को कुरा नेपालमा कम्युनिष्ट पार्टी नै चाहिन्छ भन्नेमा हामी एकैठाउँमा छौं । नेपालमा अहिलेसम्मको पछिल्लो अवस्थाको संघर्ष नेतृत्व पनि कम्युनिष्ट पार्टीले मुख्य भूमिका खेल्यो । त्यस पछाडि अबको सामाजिक आर्थिक रुपान्तरणको नीति पनि कम्युनिष्ट पार्टीकै नेतृत्व चाहिन्छ ।
कम्युनिष्ट पार्टीबाट अन्त कहीं विचलित हुन सकिँदैन भन्ने कुरामा सहमति छ । तेस्रो चाहिँ अहिले हामीले संविधानले निर्देशित गरेअनुसार समाजवाद उन्मुख समृद्धिको बाटोबाट अगाडि बढ्ने र अन्ततः समाजवादमा नै पुग्नुपर्छ । त्यो समाजवाद हाम्रो लक्ष्य हो भन्ने बारेमा हाम्रो सहमति छ ।
तपाईंहरु जनताको बहुदलीय जनवाद स्वीकार गर्न तयार हो ?
त्यो बारेमा त हाम्रो छलफल भएकै छैन नि । हामीले जनताको बहुदलीय जनवाद मान्ने वा एमालेका साथीहरुले माओवाद मान्ने वा हामीले माओवाद छोड्ने भन्ने त्यस्तो कुनै विषयमा छलफल भएको छैन अहिले ।
निर्वाचनमा एमाले र माओवादीबीच ६० र ४० प्रतिशत सिटको चुनावी तालमेल भयो । एमाले र माओवादीबीच अब एउटाले सरकार सञ्चालन गर्ने र अर्कोले पार्टी सञ्चालन गर्ने हो ?
हामी धेरै माथिबाट सोचेर चुनावी तालमेल र पार्टी एकतासहित अगाडि बढेको हौं । हामीलाई अरु कुराहरु व्यवस्थित गर्न समस्या छैन नभनिए पनि त्यसलाई सम्बोधन गर्ने भन्नेमा हामी छौं । र, त्यस बारेमा पूर्वधारणहरु तयार भइसकेका छैनन् ।
सम्बोधन कसरी गर्नुहुन्छ ? पार्टीको नेतृत्व प्रचण्डले नपाएसम्म पार्टी एकताको प्रक्रिया अगाडि बढ्छ कि बढ्दैन ?
हामीले त्यसरी शर्त राख्दैनौं । हामीले वृहत उद्देश्यसहित नेपालका सबै कम्युनिष्ट शक्तिहरुलाई एकै ठाउँमा ल्याउने र नेपालको कायापलट गर्ने । नेपालमा सहिदहरुले जुन सपना देखे र नेपाली जनताले आकांक्षा र आशा राखेका छन् त्यसलाई पूरा गर्ने मिसनसहित हामीले पार्टी एकताको पहलकदमी अगाडि बढाएका हौं । हामी पदलाई केन्द्रबिन्दुमा राख्दैनौं । तर, पदको कुनै महत्वै हुँदैन भन्ने हुँदैन । हामी छलफल गरेर समाधान निकाल्छौं ।
तपाईंहरुले राजनीतिलाई जहिले पनि सम्भावनाको खेल हो भनेर विश्लेषण गर्नुहुन्छ । नेकपा एमालेले तपाईंहरुलाई बाहिर राखेर सरकार निर्माण गर्ने अवस्था आउला कि नआउला ?
म चाहिँ अलि फरक धारणा राख्छु । म राजनीतिलाई सम्भावनाहरुको खेल मान्दै मान्दिनँ । सम्भावनाहरु हुन्छन्, सम्भावनाहरुको खेल पनि त्यहाँ हुन्छ । तर, राजनीति निश्चित दृष्टीकोण, विचार, कार्यक्रम र एउटा संकल्पको आधारमा अगाडि बढाउने एउटा अभियान हो ।
त्यसकारणले राजनीतिलाई खाली सम्भावनाको खेल मात्र भन्ने हो भने हामी अर्को निष्कर्षमा पनि पुग्नुपर्छ । त्यो हो, राजनीति फेरि कुर्चीको फोहोरी खेल नै हो ।
राजनीतिमा सम्भावना हुन्छन्, नदेखेका सपनाहरु पूरा हुन सक्छन्, त्यो कुरा बुझ्न सकिन्छ तर खाली सम्भावनाहरुको खेल हो कुनै नियम र आदर्शले काम गर्दैन भन्ने कुरा सत्य होइन ।
तपाईंहरुलाई नलिइकन एमाले सरकारमा जान सक्ला कि नसक्ला ?
अहिले त्यसरी सोच्नै मिल्दैन । हामी मिलेरै सरकार बनाउँछौं । हाम्रो गठबन्धनले नै सरकार बनाउँछ ।
सरकार गठन राष्ट्रियसभा निर्वाचनपछि कि अघि ?
हेर्नुहोस्, सरकार गठनको लागि मैले इमान्दारीपूर्वक बोल्नुपर्छ । सरकार गठनको लागि प्रतिनिधिसभा त पूर्ण हुनुपर्छ । प्रतिनिधिसभा पूर्णताको लागि समानुपातिक सदस्यहरुको चयन हुनुपर्छ ।
समानुपातिक सदस्य चयन हुनको लागि महिला ३३ प्रतिशत हुनैपर्छ । त्यसकारण राष्ट्रियसभा र प्रतिनिधिसभामा गएर न्यूनतम ३३ प्रतिशत महिला हुनुपर्ने भन्ने हो ।
त्यसैले यो प्रश्नलाई चाहिँ हामीले आग्रहको आधारमा भन्दापनि संवैधानिक व्यवस्थाअनुसार हामीले हल गर्नुपर्ने हुन्छ ।
तर, राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश राष्ट्रपतिकहाँ अल्झिएको छ । यहाँहरुले नै अघि नबढाउन भन्नुभयो भन्ने बाहिर आएको छ, के हो ?
अब त सहमति त हुनैपर्छ । हामी राजनीतिक पार्टीहरुले कुनै द्विविधा र ढिलाई नगरीकन अब सहमतिमा पुग्नुपर्छ ।
त्यो राजनीतिक पार्टी भनेको कांग्रेससहितको हो कि तपाइँहरुमात्रै ?
हो, कांग्रेससहितको हो । निर्वानमा कांग्रेस हारेको छ, त्यसको मतलब कांग्रेस नेपालको राजनीतिमा छैन भन्ने कुरा त हुनै सक्दैन । त्यसमाथि पनि अहिले त सरकारको नेतृत्वमा कांग्रेस छ । निर्वाचित जनप्रतिनिधि संस्थाहरुलाई सत्ता हस्तान्तरणको लागि आवश्यक न्युनतम् संवैधानिक र कानुनी कामहरु पूरा गर्ने नेतृत्व कांग्रेसले गर्नुपर्छ ।
नेपाली कांग्रेससँग पनि हामीले सहमति त गर्नैपर्छ । अहिले मात्र होइन नेपाली कांग्रेससँग सहमति गर्ने भोलि पनि हो ।
तपाईंहरुले कांग्रेसलाई त चुनावमा कर्नरमै पारेर छाड्नुभयो नि, होइन र ?
चुनावमा प्रतिस्पर्धा गर्ने भनेपछि कर्नरमा पार्यौं भन्न मिल्दैन । लोकतन्त्रमा कांग्रेसले विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने, कांग्रेसले कार्यक्रम मिल्नेहरुसँग गठबन्धन गर्ने त्यसरी चुनावमा जाने एउटा सहज रुपमा लिनुपर्छ ।
तर उहाँहरुले हाम्रो गठबन्धनलाई सहज रुपमा लिन सक्नुभएन । नेपाली कांग्रेसका साथीहरुले अब अधिनायकवाद आउनेभयो । लोकतन्त्रमा अनिष्ट भयो भन्न थाल्नुभयो । त्यो उहाँहरुलाई लागेर भनेको होइन । वामपन्थी मिलेभने सरकारको नेतृत्व जानेभयो भन्ने भएर राजनीतिक फाइदाका लागि मात्रै हो ।
भनेपछि कांग्रेसलाई पाँचवर्ष सरकारमा जान पाइएन भन्ने मात्र चिन्ता हो ?
हो, पाँच वर्षमात्र होइन कम्युनिष्टले राम्रो काम गर्छ, । अब नेपाल समृद्धिको दिशातिर गयो । हामी अब पछि परेको पर्यै हुन्छौं भन्ने लागेको छ । राजनीतिक लाभ लिनको लागि मात्रै त्यसो भनेको हो ।
तपाईंहरुले कति वर्ष शासन गर्नुहोला ?
तपाईंले गम्भीर प्रश्न उठाउनुभयो । कति वर्ष शासन गर्ने भन्ने होइन, हामी के गर्छौं भन्ने कुरा मुख्य हो । हामी नेपालको आजको मुख्य आवश्यकता आर्थिक समृद्धि हो, सामाजिक न्यासहितको समृद्धि हो । त्यो कार्यभार पुरा गर्ने दिशातिर अघि बढ्छौं ।
चुनावअघि तपाईंहरुले दुई तिहाई ल्याएर संविधान संशोधन गछौं भन्नुभएको थियो, अब के हुन्छ ?
हाम्रो लागि अहिले संविधान संशोधन मुख्य एजेन्डा होइन, संविधान कार्यान्वयन मुख्य एजेन्डा हो । तर, यो संविधान गतिशील दस्तावेज हो त्यसकारणले यसलाई परिमार्जन गर्दै लैजाने हो ।
अहिले हाम्रो संविधान संशोधन मुख्य एजेन्डा होइन, कार्यान्वयन हो । जहाँसम्म तपाईंले भनेकै मुद्दामा हाम्रो घोषणापत्रमा पनि यस बारेमा उल्लेख छैन । त्यसैले नेपाली समाजमा नेपालको राजनीतिमा यस बारेमा छलफल गर्दै जाउँला ।
तपाईँ राष्ट्रियसभा हुँदै संसद्मा प्रवेश गर्दै हुनुहुन्छ कुरा आएको छ, सही हो ?
यो मेरो एजेन्डा नै होइन । मैले यस बारेमा केही सोचेकै छैन ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी दुवै नेपालका ठुला कम्युनिष्ट पार्टी हुन् । यी दुवै पार्टीबीच एकता हुँदैछ । तर तपाईँहरुले अहिले पनि कम्युनिष्ट गठबन्धन भन्न नै हिच्किचाउनुभएको छ, किन ?
हामी हिच्किचाएका होइनौं, भन्नलाई सजिलो भएकोले मात्र वाम गठबन्धन भनेको हो । पहिला पहिला वाम तालमेल, एक वाम एक ठाम भन्ने गरिएको थियो । यसलाई जनताले सहज रुपमा लिने गरेका पनि थिए । त्यसैले वाम गठबन्धन भनेको हो । यो कम्युनिष्ट गठबन्धन नै हो नि । खाली कुरा के हो भन्दा कम्युनिष्ट शक्तिहरु बाहेक पनि चुनावमा अरुलाई पनि समेट्न सकिन्छ भनेर वाम गठबन्धनभन्दा सहज भएको मात्रै हो ।