मुख्यसचिवसहित सचिवहरुले नेकपा एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीको निर्देशनमा काम गरेको भन्दै मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुले बिहीबार आक्रोश पोखेका थिए । सोही क्रममा सहरी विकास मन्त्री दिलनाथ गिरीले पनि आफ्नो मातहतमा रहेका सचिव फेर्नुपर्ने प्रस्ताव राखे ।
तर उनी संलग्न पार्टी राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले तत्कालै प्रतिवाद गर्दै सचिवसँग मिलेर काम गर्न नसक्ने भए राजीनामा दिन चेतावनी दिएपछि दुवै मन्त्रीबीच चर्काचर्की भयो ।
त्यसपछि राप्रपाका अध्यक्ष समेत रहेका थापाले मन्त्री गिरीलाई पार्टीबाटै निर्णय गराएर फिर्ता बोलाए । यो कुरा प्रधानमन्त्रीलाई समेत जानकारी गराइएको राप्रपाले जनाएको छ ।
यसै विषयमा केन्द्रीत रहेर राप्रपाका नेता तथा फिर्ता बोलाइएका मन्त्री गिरीसँग बाह्रखरीले गरेको कुराकानी :
तपाईंलाई पार्टीले फिर्ता बोलाएको छ, किन हो ? यसको पृष्ठभूमि के हो ?
कमल थापाले आफ्नो चरित्र प्रदर्शन गर्नुभएको मात्र हो । उहाँलाई मान्छेले त पहिले नै चिनेका हुन् । मेरो स्वभाव म परिवर्तन गर्दिनँ भन्ने व्यवहार देखाउनुभयो । त्यसले अहित हुन्छ भन्नेसम्म पनि सोच्नुभएन ।
कारबाही किन गरियो भनेर मैले नै थाहा पाएको छैन । कुनै कुराहरु मैले गरेको मलाई नै थाहा छैन । हिजोको क्याबिनेटमा सचिवहरुद्वारा असहयोग भयो ।
सचिवहरुका अघि डिमोरलाइज हुने अवस्था आयो । मुख्य सचिवको निर्देशनमा सचिवहरुले यस्तो काम गरेको भनेर मन्त्रिपरिषद् बैठकमा कुराकानी पनि भए । हिजो क्याबिनेटमा अधिकांश मन्त्रीहरुको धारणा यहि थियो । त्यसमा मुख्य सचिवले स्पष्टीकरण पनि दिनुभयो । मैले निर्देशन दिएको पनि छैन । दिन पनि मिल्दैन भनेर उहाँले भन्नुभयो । दिँदा पनि दिन्नँ । यही क्याबिनेटले मलाई मुख्यसचिव बनाएको हो ।
यसप्रति म अनुग्रहित छु । कुनै पनि मन्त्रालयको मन्त्री भनेको सर्वशक्तिमान हुन्छ । मन्त्रीलाई सहयोग गर्नका लागि सचिव राखिएको हुन्छ । सचिवले सहयोग गरेन भने परिवर्तन गर्न सक्ने मन्त्रीको अधिकार सुनिश्चित छ । कुन सचिवले काम गर्न सकेन वा असहयोग गर्यो भन्ने कुरा मलाई भनिदिनोस्, म कारबाही गर्छु । परिवर्तन गर्न चाहे मैले सहयोग गर्छु भनेर उहाँले भन्नुभयो ।
सबै मन्त्रीहरुले यस्तो धारणा राखिसकेपछि मैले पनि केही कुरा राखेँ ।
के कुरा राख्नुभयो तपाईँले ?
मुख्यसचिवलाई सबै कुरा प्रष्ट रुपमा भनेपछि मैले पनि मेरो मन्त्रालयको कुरा राख्नुपर्छ । यसमा सहरी विकास मन्त्रालय पनि अछुत बसेको छैन ।
तर पनि मुख्यसचिवले भनेपछि मैले पूर्ण विश्वास गर्छु । यहीबेला सचिव परिवर्तन गर्ने हो भने हाम्रो सहरी विकास सचिवको दुई वर्ष पूरा भइसकेको छ । अब उहाँलाई परिवर्तन गरेर सहरी विकास मन्त्रालयको जिम्मा एकजना पीएचडी गरेको एकजना असल पात्र हुनुहुन्छ । त्यो भनेको डा. रमेशप्रसाद सिंह हो । उहाँलाई राख्न सके राम्रो हुन्छ कि भनेर मैले सुझाव मात्रै राखेको हो ।
त्यति राखेपछि कमलजीले एक्कासि ‘तपाईँले मसँग सल्लाह नगरी यो कुरा किन ल्याउनुभयो ?’ भनेर क्याबिनेटमा रौद्र रूप धारण गर्नुभयो । उहाँको त्यस्तो रुपले क्याबिनेटमा एकखालको आतंकित हुने वातावरण बन्यो । मन्त्रीहरु आतंकित भए । हिजोको क्याबिनेटमा भएको रमाइलो पक्ष भनेको यही हो । क्याबिनेटमा ‘सचिवसँग मिलेर काम गर्न सक्ने अवस्था छैन भने तपाईं राजीनामा दिनुस्, मैले अहिले नै स्वीकृत गराइदिन्छु’ भनेर भन्नुभयो ।
मैले उहाँलाई के भनेँ भने ‘कमलजी तपाईं अहिले रौद्र रुपमा हुनुहुन्छ । अरुको कुरा सुन्न सक्नुहुन्छ कि सक्नुहुन्नँ । राजीनामा गर्न मलाई केही गाह्रो छैन । तर तपाईंलाई यो कुर्सीमा बस्ने जनादेश छ कि छैन ? त्यो विषयमा हेक्का छ कि छैन ? त्यो पनि विचार गर्नुस् भनेर भनेको हुँ ।
यसबापत उहाँले के गर्नुभयो भन्ने आजको मिडियाबाट थाहा पाएँ । मलाई जिम्मेवारीबाट फिर्ता लिएको एक लाइनको जानकारी पाएँ । यो कुरा प्रधानमन्त्रीकहाँ पनि पुर्याउनुभएको रहेछ । वरिष्ठ उपाध्यक्ष वुद्धिमान तामाङलाई समेत नराखी निर्णय गर्नुभएको रहेछ । उहाँले आफ्ना भजनमण्डलीलाई राखेर यो निर्णय गर्नुभएको रहेछ ।
यसले के देखाउँछ भने चरम निरंकुशता, व्यक्तिवादी, सामन्ती, पार्टीलाई एउटा अप्रजातान्त्रिक ढंगबाट डुबाउन उहाँको यो अभियानले मद्दत पुग्छ । यसले सबै पार्टीका साथीहरु मर्माहत छन् ।
उहाँले नाङ्गो रुप जुन प्रदर्शन गर्नुभयो, यसले मलाई कता कता सहानुभूति आएको छ । उहाँसँग म ४८ वर्ष सँगै हिँडेको छु । त्यो गुनबापत उहाँले मलाई जुन गुन लगाउनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु । उहाँको सद्बुद्धि आओस् । छापामार शैली र डन प्रवृत्तिको अन्त्य गरेर उहाँ अघि बढ्न सक्नुहोस् मेरो शुभकामना छ ।
त्यसो भए अब तपाईँ कसरी अघि बढ्नुहुन्छ त ?
म मेरो एजेण्डाप्रति विश्वस्त छु । प्रतिबद्ध छु । सबै साथीहरुसँग र समान विचार भएका साथीहरुसँग बसेर छलफल गर्छु । आगामी ५ वर्षभित्र नयाँ नेतृत्वलाई अघि बढाएर जान्छौं ।
कमल थापासँग ४८ वर्षको संगतमा यसअघि यस्तो भएको थिएन ?
यसअघि मैले जहिले पनि उहाँलाई सहयोग गर्दै हिँडेँ । राजा छाड्यो, पैसा खायो, क्रिश्चियनसँग पैसा खायो, धर्म छाड्यो भन्ने उहाँमाथि आरोप लागेको थियो । त्यो गलत हो हाम्रो नेतृत्वलाई कमजोर बनाउने विदेशी शक्तिको षड्यन्त्र हो भनेर डिफेन्स गरेर हिँडेँ । ४८ वर्षदेखि संगत गरेको मित्र भएको हुनाले यस्तो भनेको थिएँ । अहिले जुन किसिमको हर्कत देखाउनुभयो, उहाँ नाङ्गो रुपमा प्रस्तुत हुनुभयो । म दुःखी छु । अब उहाँसँग बस्ने भनेको परिवार र भजनमण्डली नै हो ।
उहाँले चरित्र पटक पटक प्रदर्शन गर्नुभएको छ । उहाँले आफूसँग विमती राख्ने सबैलाई कारबाही गर्नुभएको छ । डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा, केशर विष्ट, पद्मसुन्दर लावतीसम्मलाई कारबाही गर्नुभयो । तर पनि मैले उहाँलाई साथ दिइरहेँ ।
साथ दिएको परिणामको गुन तिर्नभयो ।
राजीनामा दिइसक्नुभएको हो ?
मैले राजीनामा दिनुभन्दा अघि मलाई सोध्नुहोला भनेको थिएँ । मलाई कारवाही गर्नुहोला भन्ने कल्पना नै गरेको थिइनँ । कारवाही गर्नपर्ने काम गरेकै छैन । त्यसैले राजीनामा दिनुपर्ने औचित्य पनि छैन । उहाँको नाङ्गो हस्तक्षेपको जनताले मूल्यांकन गर्नेछन् । म राजीनामा होइन, फेस गर्न तयार भएर बसेको छु ।
तस्बिर, मन्त्री गिरीको फेसबुकबाट