– अक्षर काका
“अस्ट्रेलियामा रहेकी राधिका पोखरेलले तपाईंसँग कुरा गर्न खोज्नुभएको छ, समय मिलाइदिन अनुरोध गर्नुभएको छ ।”
चुनाव प्रचारप्रसारको दौरान उनी निर्वाचन क्षेत्रमा थिए । अचानक ‘कान्तिपुर’का पत्रकारले टेलिफोनमै यसो भनेपछि उनले चित खाए ।
राधिका नाम गरेकी युवतीसँग उनको कुनै चिनजान थिएन । घरदैलोमै रहेका बेला सयौँ फोन कल त आउँथे तर अधिकांश खाडी मुलुकबाट । विकसित मुलुकमा पुगेका नेपालीहरूको कल नगन्य आउँथ्यो भन्दा हुन्छ ।
“कसले कुराकानी गर्न खोज्यो होला त ?” मथिङ्गल मथ्दै थिए, उताबाट पुनः प्रश्न आयो, “कुराकानी गर्न कतिबेला समय उपलब्ध हुन सक्छ ? उनले कुरेर बस्छु भनेकी छन् !”
“बेलुका एकपल्ट मेरै नम्बरमा कल गर्न भनिदिनुहोस् न,” यति भनेर उनी पुनः प्रचारप्रसारमै खटिए । उता अस्ट्रेलियामा रात परिहाल्यो ।
तर, युवती भोलिपल्ट बिहान १ बजेसम्म जागै बसिछन् र लालबाबुसँग सम्पर्क गरिन् ।
“म तपाईंलाई अलिकति चुनाव खर्च दिन चाहन्छु । लालबाबुजस्तो नेताले चुनाव हार्नु हुँदैन, म सहयोग गर्न चाहन्छु,” सुरूमै सहयोगको प्रस्ताव गरिन् ।
चिनेको छैन, कुराकानी पनि भएको छैन, लिने कि नलिने ? असमञ्जसमा परे केही बेर । धेरैबेर गम खाएपछि लालबाबुले ‘धन्यवाद !’ भन्दै फोन राखे ।
ती युवतीले उनलाई ५ लाख १११ रुपैयाँ चुनाव खर्च सहयोग गरिन् ।
“यो सहयोग लालबाबुको चुनाव खर्चका लागि होइन, देश र जनताको पक्षमा काम गर्ने नेताको जितका लागि हो,” युवतीले भनेको वचन यही थियो ।
० ० ०
कतारमा काम गर्ने झापा सुसुराली भएका एक व्यक्तिले ससुरालाई फोन गरेर भनेछन्, “मोरङ–६ बाट लालबाबु पण्डित उठ्नुभएको छ । उहाँ राष्ट्रवादी नेता हुनुहुन्छ । चुनाव खर्च नहुन सक्छ । मैले पैसा पठाइदिँदैछु । लालबाबु पण्डितकै हातमा दिनुहोला ।”
उनी निर्वाचन प्रचारप्रसारको सन्दर्भमा बूढीगंगा गाउँपालिका पुगेका थिए । ती युवकको ससुरा खोज्दै आएर ७ हजार रुपैयाँ बुझाए उनलाई ।
“ज्वाइँको मात्रै होइन, मेरो पनि सद्भाव छ है तपाईंलाई,” हँसिलो अनुहार पारेर यसै भने उनले ।
‘साइकल छाप’ नेता
साइकलमा सवार लालबाबु । सिंहदरबारलाई पृष्ठभागमा राखेर खिचिएको यो तस्बिर निर्वाचन अवधिभर चर्चामा रह्यो ।
साइकलको पाउदानी घुमाएरै मुलुकलाई दिशाकृत तुल्याउने लालबाबुको अठोटलाई कसैले नाटकको उपमा दिए । कतिपयले ‘पोलिटिकल स्टन्ट’ ठाने । वास्तवमा सामान्य व्यक्ति र सामान्य सपनाले पनि असाधारण परिवर्तन ल्याउँछ र देशको कायाकल्प हुन सक्छ भन्ने विम्ब थियो त्यो ।
अधिक बाह्य ऋण, उत्पादनविहीन आचरण र शासन–प्रशासनमा बसेकाहरूको विलासी आचरणले धमिराझैँ मट्याइरहेको सिंहदरबार उकास्ने प्रतीकात्मक आमुख तस्बिरसमेत थियो त्यो ।
मंसिर १० र २१ गरी दुई चरणमा मुलुकका १६५ निर्वाचन क्षेत्रमा चुनाव भयो । विशेष चर्चाचाहिँ मोरङ–६ कै थियो ।
डीभी र पीआरधारी कमर्चारीलाई कारबाही गरेर वाहवाही बटुलेका लालबाबु उमेदवार थिए र उनलाई चुनौती थिए– कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला ।
विराटनगर क्रान्तिको विराटभूमि हो । विराशतमात्र होइन, संघर्ष र आन्दोलनको लिगेसीसमेत छ उसको, अद्यापि ।
एमालेवृत्तमै संशय थियो– कांग्रेसको अजेय किल्लालाई लालबाबुको राष्ट्रवादी चरित्रले धावा बोल्ला ?
निश्चिन्त थिए लालबाबु । दिनहुँ आर्शीवाद व्यक्त गर्ने मतदाता । देशविदेशबाट आउने सयौँ सद्भावका कल । शुभकामनाका सन्देश । यी सबै निर्वाचन जित्ने खुराक बनेका थिए ।
टिकटको संघर्ष
चुनाव जत्तिको खर्चिलो बन्दै गएको छ, उत्तिकै महँगो बन्दै गएको छ टिकट ! टिकट बिक्री–वितरण भएको चर्चा पनि राजनीतिक वृत्त र अखबारका पंक्तिमा नहुने होइन । पछिल्ला केही निर्वाचनमा त पार्टी र नेतृत्वलाई चन्दा बुझाएर समानुपातिकको बन्दसूचीभित्र अटाउने होड नै चलेको छ, सबैजसो पार्टीमा ।
तर, लालबाबुको हकमा टिकटका लगि कुनै पापड बेल्नु परेन । न निर्वाचन क्षेत्रका कार्यकर्तालाई काठमाडौँ बोलाएर नेतृत्वको घरआँगनामा टिकटको ‘द्यौसी–भैलो खेल्न’ नै पठाउनु पर्यो ।
पछिल्लो समय पार्टीभित्र र बाहिर पनि उनको छवि सफेद थियो, इमान्दार नेताको रूपमा परिचित थियो ।
“हाम्रो क्षेत्रबाट निर्वाचन लड्नुपर्छ है,” भेटघाटका लागि आउने नेता कार्यकताले आफ्नो निर्वाचन क्षेत्रबाट उमेदवार बन्न सुझाएका पनि थिए उनलाई ।
“पार्टीले निर्वाचन जित्न गाह्रो हुने आँकलन गरेको क्षेत्र जहाँ हुन्छ, त्यहीँ गएर चुनाव लड्छु,” उनी आफैँले निधो गरेका थिए यसपटक । तथापि मोरङ–६ उनको पहिलो रोजाइ थियो ।
सर्लाही, पाल्पाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न उनलाई अनुरोध आएको थियो । नयाँ चुनौती महसुस गरियो भने काठमाडौँको कुनै क्षेत्रबाट उमेदवार बन्ने उनको मनशाय थियो ।
मोरङ–३ बढी सुरक्षित थियो । उनले निर्वाचन जितेको क्षेत्रसमेत हो त्यो । कांग्रेसभन्दा २२ हजार मत बढी थियो वामपन्थीको, स्थानीय तहको मत जोड्दा ।
तर मोरङ–६ मा नै पार्टीले उमेदवारका रूपमा उभ्यायो । मोरङ–६ मा भने ५ हजार मतले पछि थियो वामपन्थी ।
मेयरको चर्चा
गत स्थानीय तहको निर्वाचनमा उनको मेयरमा चर्चा भयो । उनको गृहनगरसमेत रहेको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उमेदवारी दिन पार्टीभित्रबाटै प्रस्ताव नआएको पनि होइन । “लालबाबुलाई हाम्रो नगरको मेयर बनेको हेर्न पाए हुन्थ्यो,” कतिपय स्थानीयको अपेक्षा पनि थियो । टेलिफोन गरेरै उमेदवार बन्न आग्रह गरे शुभेच्छुकले ।
“मेयरमा नयाँ व्यक्तिलाई स्थान दिनुपर्छ । वडादेखि सांसद्सम्म पाको व्यक्तिले ठाउँ ओगटे युवा पार्टीबाट पलायन भए भइहाल्यो नि !” कुरै पर्न दिएनन् उनले त्यसबखत ।
राष्ट्रवादी छवि झ्यांगिएकै थियो । सांसद् भएर संघीय संसद्भित्र छिर्ने र कार्यकारी ठाउँमा पुगेर देशको भाग्य बदल्ने उनको भोक चिसिएको थिएन । अझैँ भनौँ न, सिंहदरबार बदल्ने आफ्नो चेष्टाग्निमा पानी खन्याउन चाहँदैनथे उनी ।
“तिनताक राष्ट्रिय राजनीतिबाट स्थानीय राजनीतिमा फर्कन चाहिनँ,” उनी अहिले सम्झन्छन् ।
विपक्षीको पनि सद्भाव
टिकट निधो भएपछि उनी गृहनगर गए । पार्टीभित्रका नेता–कार्यकर्ता उत्साहित छँदै थिए, विपक्षी पार्टीका कतिपय नेता–कायकर्ताले समेत मुक्तकण्ठले प्रशंसा गरे । सहयोगको वचन दिए ।
“तपाईंजस्तो राष्ट्रवादी नेतालाई उमेदवार पाउँदा हामी खुसी छौँ, यसपटक तपाईंको जित पक्का छ,” कृतज्ञ हुँदै मत दिने विश्वास दिलाए उनलाई ।
मत माग्न दैलोमा पुग्ला वृद्ध बुबाआमाहरू घडा राखेर बसेका हुन्थे । युवायुवती उनलाई भेट्न लालायित हुन्थे । प्रौढहरू उत्साहित देखिन्थे । निर्वाचनको अपूर्व माहोल थियो । सामान्य प्रशासनमन्त्री हुँदाको लोकप्रियता मझेरीमझेरीसम्म विस्तार भएको थियो । अनभिज्ञ कोही पनि थिएनन् ।
“यसपटक लालबाबुलाई भोट दिनुहोला है, लालबाबुले चुनाव हारे भनेर हाम्रो क्षेत्रकै बेइज्जत हुन्छ,” अरबमा पसिना बगाउन गएको छोराले घरमा बाआमालाई फोन गरे मत हाल्न सुझाएको समेत पाए उनले ।
“यसपटक तपाईंलाई मत हाल्न भनेको छ, ढुक्क हुनुहोस् चुनाव जित्नुहुन्छ,” वृद्ध उमेरका बाआमाले यसै भन्थे उनलाई ।
‘राष्ट्रिय झन्डा बोकेर हिँड्छु’
निर्वाचन प्रचारप्रसारमा गाडीको प्रयोग कम गरे । विराटनगर महानगरका ७, सुन्दर हरैँचाका ७ र बूढीगंगा गाउँपालिकाका ७ वटा वडा समेटिएर बनेको छ– मोरङ–६ । कति ठाउँमा साइकल, कति ठाउँमा पैदलै घरदैलो गरे उनले । अति सामान्य ढंगले ।
निर्वाचन क्रमशः खर्चिलो बन्दै छ । पैसा नहुने, मध्यमवर्गीय व्यक्तिले उमेदवार बन्नै नसक्ने र जित्नै नसक्ने गरी महँगो बन्दै छ चुनाव । यसलाई चिर्न चाहन्थे उनी । कम खर्चमा चुनाव सक्न चाहन्थे उनी । अतः मितव्यीता अपनाए उनले ।
कार्यालय व्यवस्थापनमा खर्च कटौती गरे । कार्यकर्ता भेटघाट, चियानास्तामा अल्झिएनन् । त्यसबाहेक उनको प्रचारको अर्को तरिका थियो– उनको घरदैलोमा वामको संयुक्त झन्डाका अतिरिक्त नेपालको झन्डा पनि हुन्थ्यो । मतदाताको घरआँगनमा देशको झन्डा बोकेर पुगे ।
“पार्टीको झन्डाभित्र सबै अटाउन सक्ने कुरा भएन, देशको झन्डा बोकेर हिँड्दा कसैले बाहिर परेको अनुभूत गर्नुपर्दैनथ्यो,” सबैलाई समेट्ने अचुक उपाय यही थियो ।
“चुनावअवधिभर दुवै झन्डा बोकेँ, अहिले पार्टीको झन्डा बिसाएर देशको झन्डा बोकेर हिँडेको छु, कसैलाई पक्षपात, भेदभाव गर्दिनँ । मत हाल्यो कि हालेन, हाम्रो हो कि अर्काको हो भनेर खोजीनिती पनि गर्दिनँ । ५ वर्ष साझा सेवकको रूपमा बिताउँछु,” शपथै खाएका छन् उनले ।
मतदाताको प्रश्न– लालबाबुजी किताब खै ?
चुनावताकै उनको संस्मरणात्मक कृति आयो– ‘सिंहदरबार बदल्ने संघर्ष’ । पुस्तकका लेखक नै उमेदवार भएपछि कतिपय मतदाताको अपेक्षा हुने नै भयो– लेखककै हातबाट पुस्तक लिऊँ, हस्ताक्षरसहितको ।
किताब आएलगत्तै प्रचारप्रसारमा खटिनुपरेकाले साथमा पुस्तक थिएन । धरानको एउटा कार्यक्रममा १५–२० थान किताबमा हस्ताक्षर गर्नेबाहेक पुस्तकलाई समय दिनसमेत पाएनन् ।
तर, प्रायः मतदाताले उनलाई सोधेकै हुन्थे, “लालबाबुजी किताब बोक्नुभएको छैन ? तपाईंकै हातबाट किताब खरिद गरेर पढ्ने धोको थियो ।”
“मैले बोकेको छैन, नजिकैको पसलमा पाइन्छ होला, किताब पढ्नुहोस् र यसपटक मलाई मत पनि दिनुहोस् है,” मुसुक्क हाँस्दै बाटो लाग्थे उनी ।
पुस्तक सबै ठाउँमा पुगेको थिएन । तथापि आवरणको चर्चा थियो र अज्ञात थिएनन् त्यसक्षेत्रका मतदाता । “पुस्तकभित्रका विषयवस्तु सबैले पढ्न भ्याएका थिएनन् तर पुस्तकको आवरणले सबैको ध्यान खिच्यो । त्यसले पनि चुनाव जित्न सघायो मलाई,” फिस्स हाँसे उनी ।
कुराकानीकै क्रममा धेरैचोटि प्रसंग दोहोर्याए उनले, “म त साइकलछाप मन्त्री हुँ ! साइकल चढेरै सिंहदरबार बदल्छु । यो फगत देखावटी होइन, मेरो भित्रैदेखिको अठोट हो ।”
मत दिनेले चुनाव खर्च पनि दिए
पार्टीले उमेदवार त बनायो । चुनाव लड्ने पैसा कहाँबाट जुटाउने ? टिकट हातमा लिनेबित्तिकै गह्रौँ भयो मन ।
“मतदाताले शुभेच्छा व्यक्त गरेकै छन् । विपक्षीले समेत सहयोगको अनौपचारिक वचन दिएका छन् । मत दिने जनताले माया पनि कसो नगर्लान् त ?” लगत्तै दह्रो भयो मन ।
जनताको काम गर्ने नेतालाई चुनाव जित्न पैसा खर्च गर्नु पर्दैन भन्ने उदाहरणसमेत बन्न चाहन्थे उनी ।
यद्यपि खाजापानी, चियानास्ता, चुनाव प्रचारप्रसारमा खर्च गर्न कुनै कञ्जुस्याइँ गरेनन् । कार्यकर्ताको पेट बाँधेर निर्वाचन प्रचार–प्रसारमा पनि खटाएनन् । बुथ व्यवस्थापन पनि राम्रै गरे । यत्ति हो मत खरिद गरेनन् । मासु–मदिरामा पैसा पस्किएनन् ।
कतिपय घरदैलोमा खाजापानी, मासु–च्युराको व्यस्थापन मतदाता स्वयंले गरिदिए । निर्वाचन आयोगले सीमा तोकेको भन्दा साढे ११ लाख कम खर्चमा निर्वाचन मैझारो गरे उनले, साढे १३ लाखमै ।
र, यो निर्वाचनमा सबैभन्दा पहिले निर्वाचन आयोगलाई निर्वाचन खर्चको फाँटवारी बुझाउने नेतासमेत हुन् उनी ।
विद्यार्थीले रिचार्ज गरिदिए
निर्वाचनको बेला जनस्तरबाट सबैभन्दा बढी माया पाउने नेता हुन्, लालबाबु । अध्ययनका लागि मुलुकबाहिर रहेका र कतिपय मुलुकभित्रै रहेका विद्यार्थीले उनलाई मोबाइलमा रिचार्ज गरिदिए ।
“आफ्नो गाँस काटेर, आफ्नो मोबाइलको खर्च कटौती गरेर मलाई पैसा पठाएका छन्, ती नवयौवनादेखि सदैव ऋणी छु,” अनुहारमा विस्मयभाव देखा पर्यो उनको ।
त्यस्तै, यूएई, कतार, मलेसियमा पसिना बगाउँदै गरेका श्रमजीवी पाश्र्वभागमा रहेर सहयोग गरे । जहानछोराछोरीको पेट भोकै राखेर लालबाबुलाई सघाए र जिम्मेवारीको गह्रुँगो भारी बोकाए । सहयोग केवल जितको दियो बलोस् भन्ने थिएन, सुशासनको मियो बनोस् भन्ने थियो ।
निर्वाचनअविधिभर उनलाई खाडी मुलुकबाटै फोन आउँथ्यो, ५० प्रतिशतभन्दा बढी । प्रतिनिधिसभा सदस्य निर्वाचित भएको दिन अबरबाट १ हजार फोन कल आयो उनलाई । ती सबैका हर्षांशु मिसिएका थिए । उत्तिकै बोझिला आवाज थिए, आग्रह र अपेक्षाका ।
उनको मान्यता छ– श्रमयोग्य युवालाई विदेश धकेलेर तिनको पैसामा राज्य चलाउने काम बन्द गर्नुपर्छ । ‘४० कटेपछि रमाउने’ अभिशप्त अवस्थाको अन्त्यबिना मुलुक समृद्ध हुन सक्दैन । युवाको रगत–पसिना र यौवनसँग साटेको विप्रेषणले न मुलुक चल्छ, न हाम्रो भविष्य उज्ज्वल हुन्छ । १० वर्षभित्रमा सबै युवालाई स्वदेश फिर्ता ल्याउनुपर्छ ।
यही विचार र भावनामा हो वैदेशिक रोजगारीको सिलसिलामा बाह्य मुलुकमा रहेका युवाको भरोसा अडिएको ।
त्यसो त २० वर्षभित्र ‘माग्ने मुलुक’बाट दाता मुलुकको रूपमा विकास गर्ने लक्ष्य छ उनको । युवालाई हरबखत भन्ने गर्छन्, “मागेर मुलुक बन्दैन । जिम्मेवारीबाट भागेर र पन्छिएर पनि देश बन्दैन । सबैको हातेमालो नै विकासको कडी हो ।”
“४५ डिग्रीको तामक्रम र परिवार–वियोगको पीडामा पिल्सिएर पसिना–आँसु बगाउने हामीलाई स्वदेशमै बस्ने र काम गर्ने वातावरण बनाइदिनुहोस्, यसको नेतृत्व तपाईंले नै गर्नुहोस्,” खाडीका युवाले सय–पचास चन्दासँगै अपेक्षा पनि थमाएका छन् उनलाई ।
र, त उनी भन्छन्, “जित होइन, जिम्मेवारीको गहुँगो भारी बोकेर काठमाडौँ आएको छु । मोरङेली जनताको शिर उँचो राख्न कुनै कसर बाँकी राख्दिनँ ।”
शेखरले जब ‘चिन्दिनँ’ भने
निर्वाचन हो, एकले अर्काको कमजोरी उधिन्नु सामान्य नै भइहाल्यो । तर, कांग्रेस नेता एवं मोरङ–६ का प्रतिस्पर्धी उमेदवार डा. शेखर कोइरालाले ‘लालबाबु को हो, चिन्दनँ’ भनेछन् । यो भनाइले उनको कलेजो काटिएछ ।
उनले स्मरण गरे, “एउटा टेलिभिजन कार्यक्रममा ‘म लालबाबुलाई चिन्दिनँ । साइकल चढेर हिड्नुभा’छ रे ! मैले प्लेन चढेर त भ्याउँदिनँ, साइकल चढेर के हुन्छ ? म १५ हजार मतले जित्छु’ भन्नुभएछ । मलाई संसारभरका नेपालीले चिन्छन् । प्रतिस्पर्धीप्रति यति असहिष्णु नभएको भए पनि हुन्थ्यो । मैले सम्मान गरेको थिएँ ।”
त्यसको केही समयपछि उनले जवाफ दिए, “उहाँले चिन्नुभएको रहेनछ । मोरङेली जनताले २१ गते मत दिएर जिताउँछन् । त्यसपछि उहाँसँग समय मिलाउँछु । साइकल चढेर उहाँको निवास गएर विजयको लड्डु थमाउँदै भन्छु छु, “डा. साप ! मै हुँ लालबाबु पण्डित ! जनताले चिनाइदिए, तपाईं पनि चिन्नुस् ।”
खुब चर्चित भयो यो भनाइ ।
“अनि लड्डु दिनुभयो त ?”
प्रश्न सुन्नेबित्तिकै हाँस्न थाले लालाबाबु र जवाफ फर्काए, “समय व्यवस्थापनाका लागि जिम्मेवारी दिएको छ, समय पाएको छैन । समय पाएँ भनेर भेटेर लड्डु दिन्छु ।”