site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चुनावमा खुट्टा गुमाएकी युवती भन्छिन्– मन्त्री नभई विश्राम लिन्नँ
Sarbottam CementSarbottam Cement

अक्षर काका


हिंसाले औपचारिक विश्राम लिएको दशक पूरा भइसक्यो । तर, समाजमा यसका बाछिटा अझै छन् । बम र बारुदको मुस्लोमा आफ्नो रोटी सेकाउन चाहने र निहीतार्थ पूरा गर्न चाहने सोच र चिन्तनले विश्राम पाएको छैन । बरु मौलाउँदै गइरहेको छ, प्रतिदिन ।

त्यसैको शिकार भइन्, २५ वर्षीया युवती ।

Prabhu Bank
Agni Group
NIC Asia

लाउँलाउँ, खाउँखाउँको उमेर । किशोरवयमै पारिवारिक बोझ सघाउने जिम्मेवार छोरी । तीन भाइबहिनीकी अभिभावक र समाज बदल्ने रंगिन सपना मथिङ्गलमा सजाएर राजनीतिमा होमिएकी नेतृ अस्पतालको शैय्यामा पुगिन्, अनाहकमै । 

राजनीतिमा लाग्नुबाहेक उनको अर्को ‘अपराध’ थिएन । समाज बदल्ने अकिञ्चन चाहना थियो उनको । नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिका प्रणाली परिवर्तन गर्ने, सोच र चिन्तन बदल्ने उनको निष्कपट अठोटले अहिले ठूलै बज्रपातको सामना गर्नुपरेको छ ।

Global Ime bank

यसरी सुरू हुन्छ, उनको कथा–

हेमन्त ऋतु भए पनि चिसो बढिसकेको थिएन । मंसिर मास, खेतीकिसानी फाँटफगटामा व्यस्त हुने नै भए । राजनीति गर्नेहरूको दौडधूप पनि बाक्लै थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गर्मी बढिरहँदा उदयपुर–२ पनि त्यसबाट अछुतो थिएन ।

प्रतिनिधिसभाका उमेदवार नारायणबहादुर कार्कीले पनि सक्रियता बढाइरहेका थिए । कार्यकर्ताहरू घरघर पुगेर मत माग्ने कामलाई तीव्रता दिइराखेका थिए । 

मंसिर १३ गते पनि बिहानैदेखि यो क्रम चल्यो । त्यसदिन बिहानै उमेदवार कार्की, मीरा कटुवालसहित ८ जना बा १५ च ७८०६ नम्बरको बोलेरो गाडी चढेर कटारीबाट उदयपुरगढी–६ तर्फ प्रस्थान गरे, आमसभामा भाग लिन । 

निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालयको सचिव थिइन् मीरा । “उदयपुरगढी तिम्रो गृहनगर, आमसभामा जाऔँ, आज कार्यालय अरूले नै हेर्छन्,” उमेदवार स्वयम्ले आग्रह गरेपछि उनले नकार्न सकिनन् ।

कच्ची, बलौटै बाटो । जंगल छिचोलेर दनुवारबेँसी पुग्दा त्यस्तै बिहानको दश बजेको हुँदो हो । बाटोमा खनेखोस्रेको हेर्ने कुरा पनि भएन । रफ्तारमै थियो गाडी ।

“यो चन्द्रकुमारी श्रेष्ठको घर, उहाँचाहिँ निर्वाचित वडा सदस्य, हाम्रै पार्टीबाट,” चुनावी कुराकानीसँगै ठाउँ पनि चिनाउँदै थिइन् मीरा । अचानक ड्याम्म... गरेर पड्कियो र कालोमैलो धुँवाको मुस्लो छुट्यो । पातपतिङ्गर, ढुंगामाटोसमेत उछिट्टिएको घुर्मैलो देखिन् । निमेषभरमै भएको थियो यो सब ।

“गाडीको इन्जिन पड्कियो कि क्या हो,” कल्पना गर्दै थिइन् मीरा, ड्याम्मै भुइँमा बजारियो गाडी । चालक र उमेदवारको बीचमा थिइन्, खुट्टा अतिशय ढंगले दुख्न थाल्यो । रगत बगेजस्तो चिसो अनुभव हुन थाल्यो तर निहुरिएर हेर्ने साहस थिएन । बेलाबखत होस गएजस्तो हुन्थ्यो, फेरि पूर्ववत् मुद्रामा फर्किएझैँ हुन्थ्यो ।

“पानी... बचाऊ.... गुहार...,” वातावरणमा कोलाहल छायो । बम पड्किएको तिर होसै गएन । “इन्जिन पड्कियो, अब गाडी नियन्त्रणमा आउँदैन !,” त्राहीत्राही भए सबैजना ।

विस्फोटमा परेपछि पनि चालकले धैर्यता गुमाएनन् र करिब ४०  मिटर पर ढिस्कोमा पुर्‍याएर जोत्न भ्याए । त्यो ढिस्कोबाट तल खसेको भए सवार सबै जीवित भेट्टाउन मुस्किल हुन्थ्यो होला, सायद !

करिव दश फिट उचाइमाथि पुगेर भुइँमा बजारिएको केही समयपछि मात्रै निक्र्यौल भयो– उनीहरू विद्युतीय धरापमा परे । 

त्यसपछि पो मन कहालियो ।

विस्फोटको आवाज सुनेलगत्तै गाउभरिका मानिस भेला त भए तर घाइतेलाई गाडीबाट निकाल्ने र उद्धार गर्ने साहस कसैले गर्न सकेनन् । परै बसेर ‘रमिता’ हेर्न लागे ।

‘हामीलाई पनि म बम हानेर मार्छन् कि, फेरि अर्को प्रेसरकुकर पड्कनै बाँकी छ कि ?’ छेउ आउनै डराउँथे गाउँले । उता घाइतेहरूको चित्कार बढ्दै थियो । सुरूमा त गाडीबाट निकाल्ने मानिससमेत भएनन् ।

त्यतिञ्जेल होसमै थिइन् मीरा । बमका छर्राले चाल्नोतुल्य बनेको थियो दायाँ गोडा । ह्वाल्ह्वाल्ती रगत बगिरहेको । बायाँ गोडा चलाउन सकिने अवस्था थिएन । खुकुरीले छप्काएजसरी एकनास पीडामात्रै हुन्थ्यो । जसोतसो हिम्मत जुटाइन् र उछिट्टिएको मासु, च्यातिएको छाला हातले सोहोरेर रगत छेक्ने प्रयास गरिन् । रगतको भेल नै बगेको थियो । खुट्टाको हड्डिमात्रै देखिएपछि होस गुमाउँछुझैँ लाग्यो उनलाई तर पनि होस गुमेन ।

\"\"

“अतिशय पीडा हुँदा बरु बेहोस हुन पाए पनि हुन्थ्यो, दुख्दा त दुख्दैनथ्यो,” कयौँ पटक भगवान पुकारिन् । अत्यधिक रक्तश्रावले हातगोडा झमझमाउन थालिसक्दा पनि होस भने गुमेन उनको ।

विस्फोटको प्रकृति र गाडीको अवस्था हेर्दा घाइतेलाई बाँच्छन् कसैले भन्दैनथे ।

“नानी ! खुट्टाको मासु उछिट्टिएको मात्रै हो, तिमीलाई केही हुँदैन,” उद्धारकर्ता यसो भन्थे तर उनी भन्थिन्, “म अपाङ्ग भइसकेँ । निरास र दुःखी छैन बरु एम्बुलेन्स चाँडो खोजेर घाइतेको उपचार गरौँ । मर्न त दिनुभएन नि !,” उनको अदम्य साहसका अघिल्तिर हायलकायल हुन्थे उद्धारकर्ता ।

“दिमाग अपाङ्ग भयो भने खुट्टा भए पनि मानिस बाटो हिँड्न सक्दैन,” अचानक उनको दिमागमा ‘क्लिक’ भयो ।

घरपरिवार, इष्टमित्र, नरनाता सबै सम्झन थालिन् । आफू कहाँ आएको, कोसँग रहेको, के भएको सबै मस्तिष्कको कुनाकन्दारासम्म पुगरे स्मृति उधिन्न थालिन् उनले । दिमाग तन्दुरूस्त पाएपछि केहीक्षण त फुरुङ्गसमेत भइन् उनी । 

“खुट्टा न गयो, जिन्दगी त सग्लै छ नि !,” अतिशय पीडाकै बीच पनि आफूलाई सम्हाल्न पटकपटक प्रयत्न गरिन् ।
उद्धारपछि केही प्राथमिक उपचार भयो । पट्टी बाँधेर रगतको रोकथाम गर्नेसम्म काम भयो । अरू घाइतेको अवस्था कस्तो छ भनेर यसो यताउती हेर्थिन्, मरेँ... ऐया.., एकोहोरो चिच्याहटमात्रै सुनिन्थ्यो ।

१० बजे विस्फोट भएको, दिउँसो १ बजेसम्म हेलिकप्टर आएन । “घाइतेहरूको अवस्था सामान्य छ” भन्ने खबर प्रमुख जिल्ला अधिकारीकहाँ पुगेपछि पीडाले कहालिएकै अवस्थामा चिच्याउँजस्तै लाग्यो उनलाई । साढे तीन घन्टापछि हेलिकप्टरमार्फत बल्ल काठमाडौँ ल्याइपुर्‍याइन् उनी ।

“काठमाडौँ आउँदा झन्डै सयपटक बेहोस हुन खोजेँ हुँला तर भइनँ । बेहोस नभएकाले सबै पीडा अनुभव गर्नुपर्‍यो । काठमाडौँ आएपछि मात्रै बाँच्छु लाग्यो,” पीडा सुनाइन् उनले । वास्तवमा त्यो पुनर्जीवन थियो उनको ।

दुई घन्टा अगावै उद्धार हुन सकेको भए खुट्टा गुमे पनि थोरै भाग काटे पुग्थ्यो । तर संक्रमण भएर माथिसम्म फैलिइसकेकाले घुँडामुनिको भाग काट्नुपर्यो ।

चेतनाको वीजारोपण
सशस्त्र सङ्घर्षको भुंग्रोमै हुर्किएकी हुन् उनी । हजुरबुबा मदन कटुवाल कांग्रेसमा सामान्य आस्था राख्थे । त्यसबापत उनले ठूलै मूल्य चुकाउनु पर्‍यो । ढुकुटीदेखि गोठको किलोसम्म सबै रित्ता भए । बाली भित्र्याएको थाहा पाउनु हुँदैनथ्यो, तत्कालिन विद्रोही घर घेर्न आइहाल्थे । कति मागेर, धेरैजसो लुटेरै लैजान्थे ।

मीराको किशोरी चेतले यतिमात्रै ठम्याउँथ्यो, “फलेकै वृक्षले त हो चोटको सामना गर्नुपर्ने ! आँप फलेकै बेलामा त मानिसले झटारो हान्छन् नि !” 

उनले थाहा पाएसम्म हजुरबुबाले अन्याय अत्याचार गरेका थिएनन् । लुटेरै लैजानुपर्ने गरी अकूत कमाएका पनि थिइनन् । यत्ति हो, खेतीकिसानी गरेरै धुरी धुवाउन पुगेको थियो । “विद्रोहमा संलग्नहरूले त्यति पनि देखिसहेनन्,” मीराले लामो निःस्वास लिइन् ।

“एक न एक दिन राजनीतिमा सक्रिय भएर हिंसाको मनोविज्ञानको अन्त्य गर्छु,” मनमा दृढ अठोट जाग्यो र बालवयमै राजनीतिक चेतना झ्याँगियो उनको । कक्षाका पाठ्यपुस्तकसँगै अतिरिक्त विषय पनि पढ्न बुझ्न थालिन्, राजनीति ।

“संकटकालकै अवस्था थियो । तथापि गाउँका दाइहरू लुकिछिपी संगठन बनाउन हिँड्थे, मलाई पनि कमिटीमा राखिदिनुभयो, पत्तै नपाई नेविसंघ र प्रजातन्त्रतिर आकर्षित भइसकेछु,” उनी सम्झिन्छिन् ।

उनको राजनीतिक चेतना विस्तार भएकोचाहिँ उदयश्री बहुमुखी क्याम्पसमा पढ्न थालेपछि हो । उनी त्यहाँको इकाइ सभापतिसम्म भइन् र अहिले उदयपुर जिल्ला अध्यक्ष छिन् ।

“मलाई राजनीतिमा डोहोर्याएको अशोक श्रेष्ठ दाइले हो । वाककलादेखि संगठन विस्तारको कार्यशैली सिकाउने उहाँ नै हो,” अग्रजप्रति कृतज्ञ देखिइन् उनी ।

‘छोरीलाई सक्षम बनाउन राजनीतिमा लागेँ’
राजनीतिमा लागेर मन्त्री बनूँला भन्ने थिएन । धनी बन्ने सपना त छँदै छैन उनको । राजनीतिसँगै पेसा व्यवसाय गरेर घरगृहस्थी धान्ने नै उनको योजना थियो ।

राजनीतिमा लागेर त उनलाई छोरीको अवस्था बदल्नु थियो ।

उदयपुरगढी–१, जहाँ छोरो जन्मिँदा भोतभतेर लगाउँछन् । छोरी जन्मिए खेतबारी पहिरो गएझैँ ठान्छन् । छोरीले गर्भदेखि चिहानसम्मै भेदभावको सामना गर्नुपर्छ ।

उनी देख्थिन्– छोरालाई निजी विद्यालयमा भर्ना गर्छन् । छोरीलाई सरकारी विद्यालयमा भर्ना गर्छन् र प्रवेशिका परीक्षा दिने बेलासम्म पनि छोरीको पढाइ बुझ्न जाँदैनन् ।

अभिभावक, कतिपय आमा नै– छोरालाई टिफिन पुर्‍याउन जान्छन् तर छोरीले बिहान, बेलुकाकै खानामा चित्त बुझाउनुपर्छ । छोरीले राजनीति गर्ने कुराको कल्पनासम्म पनि गर्न सकिँदैन । किशोरावस्था पार नहुँदै श्रीमान्को दैलो टेक्नुपर्ने अभिशप्त नियतिका सिकार छन् त्यहाँका छोरीचेली ।

“छोरीलाई धेरै पढाउनु हुँदैन, पढेलेखेका छोरीलाई ठूलो कुलघरानमा बिहे गर्नुपर्छ, दाइजो कहाँबाट ल्याउनु बेलैमा पन्छाउनुपर्छ,” सृष्टिको ओजपूर्ण स्थान ओगटेका छोरीहरू घरको बोझ बन्नुपर्दा उनको मन कुँडिन्थ्यो । 

समाजमा छोरीको विद्रूप अवस्थाले पिरोलेको हो उनलाई  । र, क्रमशः राजनीतितर्फ उद्वेलित बनाउँदै लग्यो । 
“खाने, बोल्ने, पढ्ने, लुगा लगाउने कुरामा साँधसीमा तोक्नेदेखि आफ्नो भविष्य आफैँ बनाउन छेक्नेसम्मको दुस्साहस बदल्न नै उनी राजनीतिमा होमिएकी हुुँ,” सगर्व सुनाउँछिन् उनी ।

त्यसो त उनी समाजमा उदाहरणीय पनि बन्दै छिन् । घरबाट कटारी जम्मा १८ किलोमिटर टाढा छ । तर, कैयौँ चेलीले त्यो भौगोलिक दूरी पार गरेर सहरमा आएर पढ्न पाउँदैनन् । सके प्रवेशिका, नसके प्रवीणता प्रमाणपत्र तह छिचोलेपछि उनीहरू विवाहयोग्य ठहरिइहाल्छन् । यसको अपवादमात्रै होइन, अनुसरणयोग्यसमेत बनेकी छन् मीरा । 

अझ तीन भाइबहिनीको पढाइलेखाइ र घरको आम्दानीको श्रोतसम्म बनेपछि, “मीराले त सक्दिरहिछे, पढाउने हो भने त हाम्रा छोरीहरूले पनि त सक्छन् नि,” यसो भन्न थालेका छन् उनका घरगाउँका आमाहरू ।

\"\"

प्रजातन्त्रका लागि खुट्टा गुमाएँ, मन्त्री बन्छु
भर्खर स्नातक उत्तीर्ण युवती हुन् । तर, राजनीति, विचार, दृष्टिकोण र सिद्धान्तको कोणबाट परिपक्व छिन् उनी । शान्ति प्रक्रिया हुँदै संघीय गणतन्त्रमा प्रवेश गरिसक्दा पनि मुलुक हिंसाको श्याम–छायाँबाट मुक्त हुन सकेको छैन । बम विस्फोट गराउनेको पहिचान हुन सकेको छैन । घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन । घटनाको दुईचार दिन सुरक्षा निकायले पनि चासो देखायो । चुनावसम्मपन्न भएपछि घटना ओझेल पर्‍यो । “कसले के उद्देश्यले विद्युतीय धराप थाप्यो होला ?,” एकान्तमा घोत्लिन्छिन् मीरा ।

बम विस्फोटमा खुट्टा गुम्यो होइन, मुलुकको राजनीति अझै हतियारको ह्याङबाट मुक्त हुन सकेको छैन भन्छिन् उनी । त्यसैले उनलाई प्रजातन्त्रमा आस्था, विश्वास राख्नेहरूको भूमिका अझै बढ्दै गएको प्रतीत हुन्छ ।

“सशस्त्र सङ्घर्षलाई शान्तिपूर्ण बाटोमा हिँडाउने हामी नै हौँ । राजनीतिको मनोविज्ञान हतियारको धङधङीबाट उम्कन सकेको छैन । यसर्थ कांग्रेसको भूमिका अझै बलशाली बन्दै गएको देख्छु,” उनको बुझाइ छ ।

आधा दशकयता उनी सक्रिय राजनीतिमा छिन् । हिजो सवलाङ्ग, सङ्घर्षको अग्रभागमा थिइन् तर आज विकलाङ्गमा परिणत भएकी छन् । शरीर अपाङ्ग भए पनि सपना सग्लै छ उनको । र त भन्छिन्, “प्रजातन्त्र र शान्तिपूर्ण राजनीतिमा लागेर बक्सिसमा खुट्टा गुमाएँ । मन्त्री नभई विश्राम लिन्नँ ।”

उनी सोच्छिन्– खुट्टा गुम्दैमा धैर्यता, साहस र विवेक गुमाउने र राजनीतिबाट पाइला मोड्ने हो भने हतियारबन्द हिंसाकै मनोबल उच्च हुन्छ । प्रजातान्त्रिक चेतना क्रमशः निमोठिँदै जान्छन् । “अत शरीरमा एक थोपा रगत रहेसम्म प्रजातन्त्रका लागि सङ्घर्ष गर्छु,” उनको अठोट छ ।

राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला उनका आदर्श हुन् । उनकै एउटा भनाइ उद्धृत गरिन्, “प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिला र चम्किला चिल्ला गाडी चढ्नेको विगविगी, जगजगी हुन्छ तर युवा पुस्ताले हिम्मत हार्नु हुँदैन ।”

उनले खुइया.. काढ्दै हामीतिर हेरिन् र भनिन्, “देख्नुभो, बीपी बाबु कत्रो दूरदृष्टिको हुनुहुँदो रहेछ, अहिले ठ्याक्कै यस्तै छ कि छैन ? र त युवा पुस्ताले हार खानु हुँदैन । अन्ततः सुकिलामुकिला साइड लाग्छन् ।”

‘पार्टीको शुभेच्छा राम्रै पाएँ’ 
बम विस्फोटमा परिन् । खुट्टा गुम्यो तर पार्टी कार्यकर्ता, समर्थकहरूले धैर्यता र साहस गुम्न दिएका छैनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छिन् ।अनुहारको तिलस्मी आभाले पनि छनक दिँदैन– उनले शरीरको महत्त्वपूर्ण अङ्ग गुमाइन् । उनको अदम्य ऊर्जाले जो कसैलाई हिम्मत नहार्न र डटेर परिस्थितिको सामना गर्न प्रेरित गरिरहन्छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शैय्यामै पुगेर सद्भाव व्यक्त गरे, “अपराधीहरू फेला पर्‍यौ । हिम्मत नहार, तिमीलाई केही हुँदैन । सरकार, पार्टीले हेर्छ ।”

त्यसका अलावा नेविसंघ नेतृत्वले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर उनको साहसको उच्च सम्मान गरेको छ । अस्पतालमा सदाशयता देखाउन सयौँ नेविसंघका कार्यकर्ता पुगेका छन् । “आपतमा पार्टीबाट राम्रै ढाडस पाएँ,” अनुग्रहित छिन् उनी ।

छेवैमा आमा थिइन्, खीला कटुवाल । कुराकानीका क्रममा छोरीको साहस देखेर उनी कैयौंपटक भक्कानिइन् र आँसु खसेको छोरीले थाहा पाउलिन् भनेर मजेत्रोले मुख छोपिरहिन् । बुढेशकालमा आफ्नो सहारा बन्लिन् भन्ठानेको छोरीको स्याहारमा जुट्नुपर्दा उनको मन भक्कानिएको हुँदो हो । 

“पार्टीबाट के आशा राख्नुभएको छ ?,” कुराकानीका क्रममा हामीले सोध्यौँ ।

\"\"

उत्तर दिन उनलाई निकै गाह्रो भयो, गला अवरुद्ध भयो उनको । यत्ति भन्न सकिन्, “हाम्री छोरी होइन, घरको अभिभावक थिई । खुट्टा गुमाएर अस्पतालमा छे । सरकारमा रहेको पार्टीले हाम्रो परिवार हेरोस् । गर्न त गरिराख्नुभएको छ उपचार, भोलिको दिनबारे पनि विचार पुर्‍याओस् ।”

हुर्किएकी छोरी । बिहावारी गर्नुपर्ला । खेतीकिसानी गरेर छाक टार्ने निमुखा परिवार । घरकी जेठी छोरी कमाएर खुवाउँथिन् । उही विकलंग भएपछि परिवारै अपाङ्ग हुने भइहाल्यो– आमाको पीडा बुझ्न कठीन थिएन ।

“रुँदारुँदै थाकेकी थिएँ, नेताहरू आउनुभएर हामी छौँ भन्नुभएको छ, पीडा कम भएको छ,” हामी पुग्नेबित्तिकै भनिन् ।

खिला पढेलेखेकी छैनन् । नपढेर औँठाछाप हुनुपर्दा समाजमा ‘अज्ञानी’ बन्नुपरेको छ । त्यसैले उनले छोरीलाई “राजनीतिमा नलाग्” कहिल्यै भनिनन् । “नेता नबने पनि समाजका अघिल्तिर दुईचार कुरा राख्न सक्ने होली, हामीजस्तो रोएरै जीवन गुजार्नु नपर्ला, भाइबहिनी पढाउली,” यही आशा थियो आमाको । पूरा भएको छ ।

विकलांग शरीर, सवलाङ्ग सपना
सवलाङ्गबाट एक्कासि विकलाङ्ग बनिन्, समायोजित हुन समय पक्कै लाग्छ । चिकित्सकहरूले ढाडस दिएका छन्, “खुट्टाको घाउ निको हुँदै गएपछि कृत्रिम खुट्टा लगाउन सकिन्छ । दुईचार महिना अप्ठ्यारो हो ।”

अस्पतालको शैय्यामा रहुञ्जेल वचनहरू पनि मल्हम बन्छन् तर सडकमा निस्किएको दिन सजिलो हुँदैन । कैयौँ अप्ठ्यारा र चुनौतीका पहाड पन्छाउनुपर्छ । सवलाङ्गलाई त गरेर खान गाह्रो छ, अपाङ्गतालाई कति कठीन छ, चिताउनसमेत सकिँदैन । यौवन उकालो चढ्दै गएर प्रौढमा पुगेका दिन आइपर्ने अप्ठ्यारो कल्पना गरेर उनी आफूलाई कहिल्यै दुःखी बनाउँदिनन् । दृढ मनोबल छ उनको । 

“नेविसंघको माध्यमबाट म आफैँले धेरै खुट्टा गुमाएका अपांगता भएकाहरूको जिन्दगी सहज बनाएको छु । कतिलाई पैसा उठाएर कृत्रिम खुट्टा किन्दिएको छु । दिमाग विकलाङ्ग नबनुञ्जेल शरीरको अपाङ्ताले उद्देश्यमा पुग्न कहिल्यै बाधा दिने छैन,” यति भनेर कुराकानी बिट मारिन् उनले ।

तस्बिर : सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC