ब्लग

सन्तानको हेरचाह – लगानी कि पूजा ?

आमा र छोराबीचको मुद्दामा ताइवानको सर्वोच्च अदालतले गरेको एउटा फैसला 'द न्यु योर्क टाइम्स'मा समेत समाचार बन्नपुगेछ । फैसलामा दन्त चिकित्सक छोरालाई उनको शिक्षादीक्षामा खर्च गरिएको रकम करिब १० लाख अमेरिकी डलर आमालाई तिर्न आदेश दिइएको छ ।

संसारैभर सन्तानको शिक्षादीक्षा पालनपोषणमा आमाबाबुले खर्च गर्ने र छोराछोरीले बुढेसकालमा आमाबाबुलाई पाल्ने चलन थियो । युरोपेली सभ्यताको विकास र विस्तारसँगै बिस्तारै पश्चिमी समाजमा पारिवारिक बन्धन खुकुलो हुँदै गयो । पश्चिमी समाजमा सन्तान हुर्केपछि चराका बचराजस्तै भए । हुर्केको गुँढ चटक्क छाडेर उँडेपछि बचरो फर्केरै आउँदैन । चराका कुनै जाति प्रजातिमा पारिवारिक विशेषगरी आमाबाबुसँग सम्बन्ध रहन्छ वा रहँदैन मलाई थाहा छैन । भाले र पोथीका बीचमा स्नेह देखेको छु । पढेको पनि छु । सन्तान हुर्काउन चराका भालेपोथीले मान्छेलेजस्तै दुःख गरेको पनि देखेको छु । तर, बचराले माउलाई सम्झेको देखे सुनेको छैन । यसैगरी चराले बचरा हुर्काउँदा लागेको खर्च फिर्ता मागेर अदालतमा मुद्दा पनि हाल्दैन । 

आमाले छोरालाई डेन्टिस्ट बनाउँदा लागेको खर्च मागेर मुद्दा हालेपछि छोराले आपूmले आमाको क्लिनिकमा काम गरेर १० लाख डलर बराबरको रकम तिरिसकेकाले अब दिनुनपर्ने जिकिर गरेछन् । अदालतको फैसलामा आमाले हुर्काएको खर्च तिर्नु भनिएको छ । नाटककार बाकृष्ण समले लेखेजस्तै पूर्वीय समाजमा ‘पहिले राल पुछ्नाले पिताको पहिलो हक । पछिल्लो राल पुछ्नाले पछिल्लो पुत्रको हक ।’ प्रचलित थियो । बिस्तारै खुकुलिँदै गएको यो पैत्रिक सम्बन्ध अहिले निकै गम्भीर चरणमा प्रवेश गरेको देखिन्छ । समाजशास्त्रीहरूले व्याख्या गर्लान् पारिबारिक बन्धन खुकुलो हुने गतिको तर आमाबाबुको दृष्टिकोणमा परिवर्तन नभए पनि छोराछोरीको मानसिकतामा भने ठूलो फरक देखिन थालेको छ । 

समाजमा आमाबाबुको हेरचाह, स्याहारसुसार गर्ने छाड्ने प्रवृत्ति बढ्दो छ । तर, आमाबाबुको सम्पत्तिबाट अंश खोज्ने लोभ भने धेरै सन्तानमा देखिन्छ । आमाबाबुले आफूले कमाएकोमात्र हैन पुर्खौली सम्पत्तिसमेत सन्तानको शिक्षादीक्षामा खर्च गर्छन् । सन्तानको लालनपालन, शिक्षादीक्षा र हेरचाहमा लाग्ने खर्च जुटाउने बेलामा आमाबाबुले बुढेसकालमा बिचल्ली होला भनेर चिन्ता गर्दैनन् । सायद, त्यसो गरेर साँगा पनि चल्दैन ।

नेपालमा ताइवानी आमाले जसरी छोराछोरी पढाउँदा लागेको खर्च फिर्ता मागेर कुनै आमाबाबुले मुद्दा हालेको घटना थाहा छैन । छोराछोरीले आमाबाबुका नाममा सम्पत्तिका लागि नालिस दिएको र दुःख दिएको भने थुप्रै घटना सुनिएको छ । ताइवानी आमा र छोराबीच करारपत्र पनि भएको रहेछ । नेपाली समाजमा सायद कुनै छोरा वा छोरीलाई पढेपछि खर्च तिर्नुपर्ने कागज आमाबाबुले गराएका पनि हुँदैनन् । त्यसो त ताइवानी समाजमा पनि कन्फ्युसियसको अनुगामी हो । पितृभक्ति र बात्सल्य दुवैमा जोड दिने समाज हो त्यो पनि । छोरामाथि मुद्दा हाल्ने आमा सायद चिनियाँ समाजमा पनि अपवाद होला ।

ताइवानको अदालतले छोराले आमालाई पाल्नुपर्ने विषयमा बोलेन तर करार गरेकाले मान्नुपर्नेमा जोड दियो । अर्थात्, आमाबाबु र सन्तानबीचको सम्बन्ध करार र कानुनले निर्देशित हुने भयो । तर, नेपाली समाज त्यति धेरै यान्त्रिक र ‘आधुनिक‘ भइसकेको छैन । अभैm कम्तीमा आमाबाबु पुस्तासम्म सन्तान र आमाबाबुलाई हेर्ने दृष्टिकोणमा ‘पुरातनपन्थी‘ भक्ति र बात्सल्यको सोच बाँकी नै छ । ऐनमा जेसुकै लेखिएको होस्, सन्तानले जति नै उपेक्षा गरेका होउन् सम्पत्ति सिध्याएर मोजमस्ती गर्ने आमाबाबु बिरलै भेटिन्छन् ।

घरको एउटा कुनामा कहिले खान देलान् भनेर पर्खेर बस्ने कतिपय आमाबाबु करोडपति हुन्छन् । तर, त्यो सम्पत्ति बेचेर उनीहरू आरामको जीवन बिताउन चाहँदैनन् । सन्तानलाई चाहिन्छ भनेर नखाईनखाई पनि साँच्छन् । पुरानो घरमा आमाबाबुलाई छाडेर सुविधासम्पन्न महलमा सर्ने थुप्रै छोराछोरी छन् । तर, आमाबाबुले गुनासो गरे पनि उजुर चाहिँ गरेको देखिएको छैन । सन्तानले मुद्दै हाले पनि कुभलो चिताउन सक्तैनन् ।
अर्थात्, हाम्रो समाजमा सन्तानको पालनपोषण र शिक्षादीक्षामा गरिने खर्च अझै पनि फिर्ता पाउन गरिने लगानी हैन । यद्यपि, आमाबाबुले सधैँ आशा गरेका हुन्छन् । बरु, सन्तानमा हुने खर्च त हाम्रा लागि पूजा हो । पैत्रिक धर्म हो । खर्च गर्ने हो । फल पाए ठीकै छ । नपाए पनि गुनासो छैन । फिर्ता हुने वा लिने आशामा गरिएको लगानी हैन ।

तपाईंको मत