काठमाडौं । अफ्रिकी मुलुक केन्याबाट बेचिएका तीन भारतीयसहित ७ जना नेपाली चेलीको उद्धार भएको छ । उनीहरुलाई अहिले भारत ल्याइएको भारतीय विदेशमन्न्त्री सुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत जानकारी गराएकी छन् ।
स्वराजको ट्वीटमा केन्याका लागि भारतका अधिकारी सुचित्रा दुराई, प्रथम सचिव करण यादव तथा केन्याका प्रहरीको पहलमा उनीहरुलाई उद्धार गरिएको उल्लेख छ ।
विदेशमन्त्री स्वराजले ट्वीटमा भनेकी छन्, “तिनीहरु चेलीबेटी बेचबिखनको संगठित अपराधको सिकार भएका रहेछन् । तिनीहरुको पासपोर्ट र फोनसमेत जफत गरी उनीहरुलाई केन्याको मोम्बासामा बन्दी बनाएर राखिएको थियो ।”
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले भने आफूहरुले यसबारे बुझ्ने प्रयास गरिरहेको बताएका छन् । उनले भने “यसबारे हामीले बुझ्दैछौ । केन्यामा हाम्रो दूतावास छैन, त्यसैले दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास र केन्याका लागि नेपाली अवैतनिक वाणिज्य दूतमार्फत यसबारे बुझ्ने प्रयास भैरहेको छ ।” केन्यामा नेपालको दूतावास नभएकोले नेपाली चेलीको अवस्थाबारे यसअघि आफूहरुलाई जानकारी नभएको उनले बताए ।
बेचिने चेलीहरु को हुन् र कहाँका हुन् भन्ने जानकारी प्राप्त भएको छैन । त्यस्तै चेलीबेटी बेचबिखनमा संलग्न व्यक्तिहरुको पनि पहिचान खुलेको छैन । भारतीय विदेशमन्त्री स्वराजले यो मुद्दालाई पञ्जाव सरकारमार्फत अगाडि बढाइने बताएकी छन् । नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनाबारे यसबारे प्रष्ट जानकारी आएपछि बेचबिखनमा संलग्न भएका ब्यक्तिबारे खोजी गरिने जनाएको छ ।