अक्षर काका
के छुट्यो तिम्रो मुहारबाट ?
आधा फक्रेको गुलाबी ओठबाट
आगो छ भरभराइरहेको
झीलजस्ता आँखामा छ सपना झरेको पैह्रो
सधैँ हिमालजस्तो नाकमाथि छ अस्ताएको घाम
(ओ नायक–शीर्ष कविता)
यिनै हरफहरूले हो, सुनीता खनाललाई कविका रूपमा मञ्चमा उभ्याएको । प्रस्तुत काव्यांश ओ नायक शीर्षकमा समेटिएर कान्तिपुर दैनिकमा प्रकाशित भएपछि सुनीताको स्तरोन्नति भयो, कविका रूपमा ।
‘ओ नायक’ कविता एउटी अकिञ्चन युवतीको प्रेमालाप, एकालाप हो । उनी भन्छिन्, “‘ओ नायक’ काव्यिक अभिघात हो, जसले मलाई पुस्तक संग्रह लेख्न हुटुहटी जगायो ।”
“कान्तिपुर दैनिकमा ‘ओ नायक’ पढेपछि धेरैले कविता सरस, सलिल भएको प्रतिक्रिया दिए । नचिताएको वाहवाही पाएपछि कविता लेखनमा ज्यादा लहसिएकी हुँ,” फिस्स हाँसिन् उनी ।
‘ओ नायक’ पढ्दा नै प्रष्ट हुन सकिन्छ– उनका कविता सपाट छैनन् । अभिव्यक्तिहरू दर्शनतिर अनुरक्त छन् । जीवन र जगतको स्थूल वर्णन गरिएको छ ।
त्यसो त उनको कवितामा लौकिक विम्बहरू मात्रै होइन, शाब्दिक चातूर्यता र सुडोल संरचना भेटिन्छन् । सहज–सम्प्रेष्य, चित्ताकर्षक, वान्किपूर्ण अभिव्यक्ति र उन्नत वर्गीय चेत उनका कविताका विशेषता बनेका छन् भन्दा हुन्छ ।
काव्यिक कौमार्यता
साविक नलाङ–३, धादिङमा जन्मिएकी हुन् सुनीता । त्यसो त बाल्यकालमा उनको जम्काभेट घाँसदाउरा र मेलापातसँग भयो । पाँच दिदीबहिनी दुई दाजुभाइ । तथापि परिवारमा साहित्य–सिर्जनामा रमाउने कोही थिएनन् । कविताको सुधा–पान गर्न मन त लाग्थ्यो तर वातावरण अनुकूल थिएन भनौँ ।
गाउँकै सिद्धेश्वर माध्यमिक नलाङले हो उनको साहित्यिक चेत उजिल्लाएको । “विद्यालय शिक्षाको मात्रै होइन, साहित्यको समेत आँगन बन्यो । प्राथमिक र निम्नमाध्यमिक तहमा पढ्दा विभिन्न प्रतियोगितामा भाग लिन्थेँ र प्रायशः प्रथम हुन्थेँ,” साहित्य–सिर्जनाको पूर्वार्धतिर फर्किइन् उनी र बाललय उधिन्न थालिन् ।
उनको साहित्यिक ताते निबन्धबाट सुरू भएको हो । तिनताका जिल्लाव्यापी विद्यालयस्तरीय विभिन्न प्रतियोगिता हुन्थे । विद्यालयमा सूचना टाँस गरिएको हुन्थ्यो ।
“जिल्लाव्यापी निबन्ध प्रतियोगिता हुँदैछ, तिमी भाग लिन्छ्यौ ?” एकदिन कक्षा शिक्षकले सुनाए । उनका खुट्टा हावामा कावा खान थाले । विद्यालयबाट अरूले सहभागी हुने इच्छा देखाएनन् । उनी नै तत्पर भइन् ।
“हरियो वन नेपालको धन शीर्षकमा निवन्ध प्रतियोगिता गराइएको थियो । पोजिसनको खासै अपेक्षा गरेको थिइनँ तर द्वितीय पो भएँछु । वास्तवमा साहित्य–यात्राको सूत्रपात त्यहीँबाट भएको हो मेरो,” अनुहारको खुसीको छटा कुँदियो उनको ।
विक्रम् सम्वत् २०६० तिरको कुरा हो यो ।
तिनताका उनले कविता पनि कोर्थिन् तर झ्याउरे लयमा । मुना मदनबाट काव्यिक फाँट विचरण गर्न थालेकी हुन् उनले । कविता लेखनमा पनि त्यसैको प्रभाव पर्यो ।
कविता जस्तोसुकै भए पनि वाचन कला कर्णप्रिय थियो, त्यसैले स्कुलमा कसैले उछिन्न सकेनन् उनलाई र क्रमशः काव्यिक भाव खाँदिदै, तिखारिँदै, पुष्पित र प्रगुम्फित हुँदै गयो ।
नेपाली विषयका शिक्षक इन्द्रप्रसाद अर्याल हुन् उनको प्रेरणाको पर्याय । “नानी ! तिम्रो वाचन कला उत्कृष्ट छ । कविता लेख्न, वाचन गर्न नछाड है,” उनले अभिप्रेरित मात्रै गर्दैनथे । विभिन्न प्रतियोगिताहरू प्रतियोगी विद्यार्थी बनाएर पठाउँथे पनि ।
० ० ०
प्रवेशिका उत्तीर्ण गरेपछि उनी विक्रम् सम्वत ०६३ सालमा काठमाडौँ आइन् र पद्मकन्या क्याम्पसमा मानविकीतर्फ प्रवीणता प्रमाणपत्र तहमा भर्ना भइन् । स्नातकचाहिँ उनले महेन्द्ररत्न ताहाचलबाट शिक्षा शास्त्रतर्फबाट उत्तीर्ण गरेकी हुन् । ती पाँच वर्ष साहित्य यात्रातर्फ खासै मुखर हुन पाएनन्, उनका ।
स्नातकोत्तर अध्ययनका लागि त्रिचन्द्र भर्ना भएपछि उनी झाँगिन थालेकी हुन् ।
“मैले थुप्रै कविता लेखिसकेकी थिएँ तर पाण्डुलिपी हरायो । कविता हराएपछि ठूलो सम्पत्ति गुमेझैँ भयो र चार वर्ष कविता लेख्दै लेखिनँ,” अनुहारमा विष्मयभाव छायो र खुइया काढिन् उनले ।
तिनताक उनले गजल र मुक्तकमा पनि हात बसाल्न थालेकी थिइन् । कविता गुमेपछि गजल र मुक्तक पनि सिकुवातिर पन्छाइए ।
मास्टर्स पढ्न थालेपछि घन्टाघर साहित्य समाजले पुनः कविता लेखनमा अघि बढ्न हौस्यायो उनलाई । त्यही अवधिमा कवि विप्लव ढकालले पनि उनलाई घच्घच्याए । २० वटा नयाँ पुराना कविता बटुलेर उनले सिर्जना–पत्र तयार पारिन् र स्नातकोत्तर पार गरिन् ।
० ० ०
आमा भन्थिन्–
“पैसा फल्ने रूखमुनि बरालिइरहेको त्यो छाया तिम्रै बाको हो ।”
त्यसदिनदेखि
त्यो रूखको फेदमा अर्को छाया पनि थपियो ।
० ० ०
बाबाका हात चट्टानजस्तै बलिया छन्
हर्कुलीयन पाखुरा
पहराजस्तै छाती
खेतको आलीजस्तै काँध
अर्जुनको तीरजस्तै आँखा
आँखाभरी सिमलको भुवाजस्तै उडिरहने सपना
सपनामा बगिरहने दुःखको नदी
र त्यही नदीमा विम्बित मेरो अनुहार !
(पैसा फल्ने रूख)
ग्राम्य–विम्बका अतिरिक्त उनको कविता पिता–प्रेमबाट पनि ओतप्रोत छन् ।
सिर्जना–यात्राको आदि–कालमा बाबुबाटै खासै सद्भाव पाइनन् । बरु साँध–सीमा खडा भए । स्कुल जाने आउनेबाहेक बाहिर निस्कने अतिरिक्त समय पाइनन् उनले । स्कुलस्तरीय प्रतियोगिता होस् या रेडक्रसका अनुशिक्षणमा, बलेनीसरह आँसुका धारा नखसाई उनी घर–द्वार नाघ्न पाइनन् ।
“छोरीलाई जहाँ पायो त्यहीँ पठाउने हैन है,” कतिपटक त सिर्जना–यात्राको तगारो नै बने बाबु । आमाले लुकिछिपी पठाइन् । बाबुको गाली पनि तिनै आमाले सहिन्, धेरैपटक ।
“सुरूआती चरणमा त घरपरिवारबाट विद्रोह गरेर नै अगाडि बढेकी हुँ । पारिवारिक साँधसीमा नमिचेको र वाधाव्यवधान नछिचोलेको भए, सायदै कविता लेख्न सक्ने हुन्थेँ,” सम्झिन्छिन् उनी ।
जीवनको उत्तरार्द्धतिर भने बुबा ‘कन्भिन्स’ थिए । विडम्बना ! धेरै बाँचेनन् । तीन महिना अस्पतालको शैय्या कुरेर स्याहारसुसार गरिन् तथापि स्वास्थ्यमा सुधार भएन । क्यान्सरसँग हार खाएर बाबुको चोला उठ्यो ।
“बा’को सम्झनाले हरबखत पिरोल्न थाल्यो । बिर्सन खोज्दा पनि बा’सँगको सम्झना ओझेल पर्ने चाहेनन् । उहाँकै सम्झनामा ‘ओ नायक’भित्र तीन वटा कविता संग्रहित गरेकी छु,” पितृऋणी देखिइनन् उनी ।
० ० ०
सबैसबै छन् अखबारमा !
कपालमा बाँधिएका विधवा शब्द
त्रिशूल गाडिएकी देवी र भिजेका आँखा
सिमानामा बध गरिएको सपनाको शीरफूल
एअरपोर्टमा चुँडिएको चप्पलको नागरिकता
नाइटबसको झ्यालमा बसेर
राजधानी छिरिरहेका सुनौला सर्प
सबैसबै छन्, अखबारमा !
(ऐनाको देश)
उनका कवितामा भरपूर करूण रस सेचन गरिएको छ । दुःख र पीडाको बहुआयामिक चित्रण छ । अभावले निचोरिएका आँखाबाट तप्पतप्प चुहिएका आँसुले बुट्टा कुँदेझैँ लाग्छन् ।
कुनै समय थियो– कविता समाज परिवर्तनको सम्वाहक बन्नुपर्छ । समाज परिवर्तनको भावना मुखर हुनुपर्छ । तर पछिल्लो समय त्यो चेतले पाइला मोडेझैँ प्रतीत हुन्छ । सुनीताका कवितामा पनि नारा भेटिँदैनन् ।
“रचनाले समाजलाई देन दिन सकोस्, समाज परिवर्तको सकारात्मक विम्ब बन्न सकोस् । दियालो बनेर समाजलाई आलोकित तुल्याउन सकोस्,” यसो भन्छिन् उनी ।
त्यस्तै उनका कविताका नारी–चित्का र रोदन भेटिन्छ । पितृसत्ताको सेपमा परेर फस्टाउन नपाएका कारूणिक अभिव्यक्ति उनका कवितामा पाइन्छन् । दीर्घजीवी बनेको पितृसत्ताको भुङ्ग्रोमा पिल्चिएका स्त्री चित्कार यसरी पोखिन्छन् उनका कवितामा–
सुन ए सरकार !
हेर ए मलामी !
सोकेसमा पुतलीझैँ नाचिरहेकी छु म
मेरो छातीका नीला डामहरूको
मौन चित्कार सुनेका छौँ तिमीले ?
नङ्ग्राका डोबहरूको निःशब्द लय
र दाँतहरूको मृत सङ्गीत
सुनेका छौ तिमीले ?
रगत र वीर्यले भिजेको रात फेर्न
ढोकामा चुपचाप उभिइरहेकी
एक्ली गणिकाजस्ती समयलाई
देखेका छौ तिमीले ?
(चित्कार)
तर ती नारीवादका रूपमा छैनन् । ती सामाजिकवादकै हिस्सा बनेका छन् ।
“कविले कुनै वाद, विचारको ओत लाग्नु आवश्यक छैन र कुनै सिद्धान्तको पगरी गुथेर सिर्जना गर्नुपर्छ भन्ने छैन । साहित्य आफैँमा वाद हो र अभिव्यक्तिको माध्यम हो,” उनको ठम्याइ छ ।
रातदिन संविधानको पुराण सुनिने
सडक छेऊका चिया पसलहरूमा
रातदिन राजनीतिको भजन गाइने
पार्टी अफिसहरूमा
रातदिन पुरुषैपुरुषका जिद्दि खेलहरूमा
कुनै दुङ्गामा, भाषणमा, किताबमा
कहिल्यै नभेटिएको नाम !
(गर्भिणी थियो मेरो नाम)
३५ वटा कविता संग्रहित र चार खण्डमा विभक्त ‘ओ नायक’ का प्रशस्त प्रेमाभिव्यक्तिहरू भेटिन्छन् । प्रेमको विराटतालाई र व्यापकतालाई नजरअन्दाज गरेकी छैनन् उनले । तथापि उनको प्रेमाभाव उत्ताउलो छैन । जीवनकै आभामा सजाएकी छन् उनले र कुँदेकी छन् ।
एउटा पात सलल
गीत बगिरहेको छ नदीमा
त्यही पातमा छ आँसुजस्तो चमक
जो आँसु नै हो
भर्खरै खसेको गुलाफको फूलबाट !
(पातमा प्रेम)
विम्बमा ‘पातमा प्रेम’ वियोगान्त प्रित हो । प्रेमिका छाडेर यायावरीका लागि मरूस्थल भासिन पुगेका आम नवयौवनाहरूको करुण प्रेम कहानी हो । तिनका अकिञ्चन आँसुहरूलाई टपक्क टिपेर कविताकार दिएकी छिन् उनले, कुचीकार क्यानभासमा उतारेको सुन्दरचित्रझैँ ।
(कवि सुनीता खनालकृत कविता सङ्ग्रह ‘ओ नायक’ माघ ६ गते काठमाडौंमा विमोचन हुँदैछ । कृतिलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।)