site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिन्दुबाट रेखा बन्ने यात्रा
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल



– घरमा ल्यान्डलाइन फोन थियो । घरिघरि बजिरहन्थ्यो । फोनको अर्को कुनाबाट आवाज आउँथ्यो, “म तिमीलाई मन पराउँछु । माया गर्छु ।”

अनिता बिन्दु त्यो आकर्षण घुलिएको आवाजलाई ठाडै अस्वीकार गरिदिन्थिन् । तर, त्यो आवाज गल्दैनथ्यो । बरु उल्टै धम्की दिन्थ्यो, “तँ आफू आफैंलाई के ठान्छेस् हँ ? तेरो अनुहारमा एसिड छ्यापिदिन्छु ।”

Agni Group

उखानै छ, ‘नडराउनू, नबिराउनू’ । “हिम्मत छ भने आइज छ्यापेर देखा,” अनिता ‘बोल्ड’ हुँदै चुनौती दिन्थिन् । पछि त्यो व्यक्ति आफैं गल्यो, फोन गर्नै छाड्यो । बढार्नुपर्ने कसिंगर हावाले उडाइदियो । ठीकै भयो ।

तर, त्यो धम्कीले उनलाई केही सचेत भने गरायो । एक्लै हिँड्दा के हो, के हो भन्ने भयो । उनले स्कुटर चढ्न थालिन् ।

Global Ime bank

– महेन्द्र पुलिस क्लबमा एकजना दिदी थिइन् । उनले एकदिन अनौठो घटना सुनाइन् । अनिताले भनिन्, “उहाँका एकजना आफन्त पर्नेको घर (पोखरा लामाचौर)मा ७ वर्षका बालक थिए । सधैं मैले नेपाल टेलिभिजनमा समाचार पढ्न थालेपछि उनले अगरबत्ती बालेर टेलिभिजनलाई पूजा गर्दा रहेछन् । उनलाई कसैले सिकाएको पनि हैन । घरका अरु सदस्य पनि त्यसो गर्दैनथे । अरुले समाचार पढ्दा पनि त्यसो गर्दैनथे उनी । म पोखरा गएका बेला त्यो बालकलाई भेट्न ती दिदीले आग्रह गरिन् । तर, मलाई भेट्न डर लाग्यो । मैले कहिल्यै भेटिनँ ।”

– अनिताको नजरमा आएका अर्का एक पात्र पनि अनौठा थिए । उनी भने अफिसकै एकजना दाइको घरमा फेला परेका थिए । अनिताका अनुसार सहकर्मीका नाति थिए उनी । अनिता टेलिभिजनमा देखिनेबित्तिकै उनी अनौठो व्यवहार देखाउँथे । अरु बेला साधारण लाग्ने उनी अनितालाई देखेपछि असाधारण बन्थे ।

सामान्यतया महिलाका पुरुष र पुरुषका महिला फ्यान बढी हुन्छन् भनिन्छ । तर, अनिताका भने पुरुषसरह नै महिला फ्यान छन् । उनलाई उपहार दिने फ्यानमा पुरुषभन्दा महिला धेरै छन् । अझै पनि उनलाई महिलाहरू मेकअप किट्सदेखि नङपालिससम्म उपहार पठाउँछन् । पुरुषहरू भने अक्सर कोठा सजाउने साम्रगी पठाउँछन् । जेहोस् उनलाई माया गर्ने अपरिचित फ्यानहरूको पनि कमी छैन ।

यति धेरै प्रशंसक कमाउनु सजिलो छैन । अनिताले पनि सजिलै कमाएकी होइनन् । यसको पछाडि लामो फेहरिस्त छ ।

माओवादी द्वन्द्व चर्केको थियो । उनको जागिर सरकारी टेलिभिजनमा । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो । नेपाल टेलिभिजनले माओवादीलाई ‘आतंककारी’ भनेर सम्बोधन गथ्र्यो । त्यही सम्बोधन गरेर लेखिएका समाचारका कपीहरू स्टुडियोमा आइपुग्थे । तिनै समाचार उनी जस्ताको तस्तै पढ्थिन् । 

समाचार स्रोतदेखि स्टुडियोसम्म आइपुग्दा त्यसले धेरै तह पार गरिसकेको हुन्छ । तर, यो जनकारी सबैलाई नहुन सक्छ । त्यसको भागीदार हुन्थिन् अनिता ।

‘तँ हामीलाई आतंककारी भन्ने को होस् ?’ भन्दै टेलिफोनमा धम्की आउँथ्यो ।

केदार खड्काको प्रो–पब्लिकले तयार पार्ने ‘असल शासन’मा पनि उनी बोल्थिन् । भ्रष्टाचारविरुद्धको विषय उठान गर्दा भ्रष्टाचारमा मुछिएकाले उनलाई बाक्लै धम्की दिन्थे । नाम उल्लेख नगर्ने शर्तमा आफूलाई धम्क्याउने कथित ‘हाई–प्रोफाइल’ को नाम उनले सर्सर्ती भनिन् ।

सधैं दुख्ने दिन

०५१ सालमा एसएलसी सकेर अनिता पढ्न स्याङ्जाबाट पोखरा झरेकी थिइन् । पढाइ चलिरहेकै थियो । बुवा माध्यमिक विद्यालयका हेडमास्टर थिए । परिवार राम्रैसँग चलिरहेको थियो । तर, त्यो वर्षको दशैं दशा बनेर आयो । 

असोज ९ गते, घटस्थापनाको दिन थियो । सदरमुकाममा प्राध्यापकहरूको मिटिङ सकेर बुवा घर फर्किंदै थिए । मिटिङले उनी प्राध्यापक रहेको विद्यालयमा दश जोड दुई थप्ने निर्णय गरेको थियो ।

त्यो खुसी बाँड्न उनी हतारहतार गाउँ फर्किंदै थिए । बाटैमा उनीमाथि आक्रमण भयो । उनले आँखा चिम्लिए ।

हत्या आरोपमा ६ जना पक्राउ परे । उनीहरूले हत्या स्वीकारे । पैसा र सुन लुट्न आक्रमण गरेको बयान दिए । तर, न सुन लुटिएको थियो, न पैसा नै लगिएको थियो । सुन र पैसा त बुवाकै साथमा थियो ।

२२ वर्षपछि सम्झिँदा पनि अनिताको मन भक्कानिन्छ । लाडप्यारले आफूलाई हुर्काउने बाबुको पाशविक हत्याको त्यो दिनले उनलाई सधैंजसो झस्काइरहन्छ । परेलीका डिल आँसुले भरिन्छन् ।

“हत्याको कारण सुन र पैसा लुट्नु थियो भन्ने हत्याराको बयान भए पनि हामीलाई त्यसप्रति विश्वास छैन । किनकि सुन र पैसा बाबाकै साथमा थियो,” पर्दापछाडि अरु नै कारण लुत्प रहेको हुन सक्ने उनको आशंका अझै छ ।

अनिताले परिवारको मुली गुमाइन् । परिवार थप सचेत हुनुपर्ने अवस्था आयो । उनीहरू विस्थापित भए । सुरक्षित बसोबास खोज्दै परिवार नै राजधानी बस्न आयो ।

नयाँ परिवेश, नयाँ जिन्दगी । उनले काठमाडौंमा बीएड पढ्न थालिन् । 

एकदिन उनी साप्ताहिक पत्रिका पढिरहेकी थिइन् । त्यहाँ एउटा विज्ञापन थियो– संगीत कक्षासम्बन्धी । स्कुल पढ्दा बालगीत गाउने अनितालाई संगीतप्रति गहिरो रुचि थियो । फुर्सदको बेला सिकिराखौं न भन्ने लाग्यो । सिक्न थालिन् ।

सिंहदरबारको बाटो

०५४ मा अनिताभन्दा अघिल्लो ब्याचका विद्यार्थीलाई गीतका लागि स्वर परीक्षा दिन भन्दै उक्त संस्थाले रेडियो नेपाल लिएर गयो । अनिताको ब्याचलाई पनि ‘रेडियो नेपाल हेर्न जाने भए हिँड’ भने । उनी पनि गइन् ।

अनिताका आँखा रेडियो नेपालको सूचनापाटीमा पुगेर अडिए । त्यहाँ महिला एंकरको मागसम्बन्धी सूचना थियो । उनले फर्म भरिन् । स्वर परीक्षा लिने दामोदर अधिकारी थिए । राम्रै माने शायद– उनी उत्तीर्ण भइन् ।

अनितालाई सिंहदरबारको ढोका खुल्यो । रेडियो नेपालको गेटले स्वागत गर्‍यो । कार्यक्रम गर्न दियो रेडियो नेपालले अनितालाई । पहिलो कार्यक्रम थियो– ‘हाम्रो गाउँघर’ । कार्यक्रमको थिम थियो– गाउँको परिचय दिँदै त्यहाँको विशेषता उल्लेख गर्ने ।

अनिताले नवीन दाहालसँग मिलेर ‘गीत लहर’ चलाइन् । उनले चलाएकामध्ये एक लोकप्रिय कार्यक्रम थियो त्यो । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनेर चलाइएको युवालक्षित उक्त कार्यक्रम युवा पुस्तामा लोकप्रिय थियो ।

रेडियोमा बोल्न थालेपछि उनलाई आफ्नो स्वर अझ दमदार बनाउनु थियो । परिस्कार र परिमार्जन गर्दै लैजानु थियो । आफूलाई अब्बल प्रमाणित गर्नु थियो । उनी पत्रकार सुमन खरेलको इन्स्टिच्युट ‘स्मारिका’ पुगिन् । त्यहाँ उनले आरजे, भीजे दुवैको तालिम लिइन् ।

“मलाई त्यो बेला दाइले सानो टेप रेकर्डर ल्याइदिनुभएको थियो । त्यसमा म ‘कान्तिपुर’ र ‘गोरखापत्र’का समाचार मात्रै होइन, विज्ञापन र समवेदनासमेत पढ्थें,” उनी सम्झिन्छिन्, “सुमन दाइले नै हो मलाई प्रो–पब्लिकको असल शासनका लागि रिफर गरिदिनुभएको ।” 

पत्रकार महिला कम थिए, त्यसैले माग बढी थियो । पत्रकार महिलाका लागि सुनौलो समय भन्दा फरक पर्दैन । उनी त्यो बेला निकै व्यस्त भइन् । रेडियो नेपालमा सातै दिन उनका कार्यक्रम थिए । हप्तामा तीन दिन त दुई–दुईवटा कार्यक्रम चलाउँथिन् ।

अनिता आफ्नो व्यस्त विगततर्फ फर्किइन्, “एकैदिन तीनटा डकुमेन्ट्री, चारवटा विज्ञापनमा भ्वाइसओभर र नियमित रेडियो कार्यक्रमसँगै समाचार पढ्थें ।”

उनले ०५७ देखि रेडियो नेपालको बिहानी सेवाको समाचारमूलक कार्यक्रम ‘आजको अखबार’ पढ्न थालिन् । त्यसको केही महिनापछि नै उनले रेडियो नेपालको प्राइम समाचार बुलेटिन पढ्न थालेकी थिइन् । समाचार पढ्दाका संघर्षका कथा उनको मनमा अझै गाँठो परिरहेका छन् । हामीसँग त्यो गाँठो फुकाउन चाहिनन् ।

रेडियोमा समाचार पढ्न थालेपछि उनलाई नेपाल टेलिभिजनले पनि बोलायो । बोलाउन त बोलायो तर त्यहाँ समस्या देखियो ।

उनको अनुहार स्क्रिनमा ‘बेबी स्किन’ देखियो । चार पटक उनले ‘स्क्रिन टेस्ट’ गराइन् । क्यामेरापसर्नले उनलाई ‘हेभी मेकअप’ गर्न सुझाए– परिपक्व अनुहार देखाउन । उनले त्यस्तै मेकअप गर्न थालिन् । र, ‘अन एयर’ भइन् । अरुलाई कलिलो अनुहार देखाउन समस्या, अनितालई परिपक्व मुहार कसरी देखाउने भन्ने समस्या । 

० ० ०

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन आयो । उनको जागिर खोसियो । करारमा काम गरिरहेकालाई निरन्तरता दिइरह्यो भने श्रम ऐन आकर्षित हुन्छ भनेर अरुसँगै उनलाई पनि निकालियो ।

तर, समय उनकै वरिपरि थियो । दुवैतर्फबाट उनलाई फिर्ता बोलाइयो । रेडियो नेपाल र नेपाल टेलिभिजन दुबैमा उनको जागिर स्थापित भयो । रेडियो नेपाल, नेपाल टेलिभिजन, डकुमेन्ट्री, विज्ञापन– उनलाई भ्याइनभ्याइ भयो ।

नेपाल टेलिभिजनमा स्थायी जागिरका लागि पटक–पटक आवेदन आह्वान भयो तर उनले भरिनन् । एउटै संस्थामा काम गरेर बाँधिनुभन्दा यस्तै ठीक छ भन्ने उनलाई लाग्यो । तर, बिस्तारै उनी परिपक्व हुँदै गइन् । समयले उनलाई सचेत बनाउँदै लाग्यो । विगतको समीक्षा गर्न र भविष्य देख्न सक्ने बनायो । उनले ७ वर्षअघि स्थायीका लागि नेपाल टेलिभिजनमा आवेदन हालिन् र परीक्षा दिइन् । नजिता उनकै पक्षमा आयो । जागिर स्थायी भयो । 

० ० ०

यसबीचमा अनिता नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भइन् । महासंघमा रहँदाका केही कटु अनुभव र केही सन्तुष्ट कामको फेहरिस्त उनीसँग लामै छ ।

उनकै कार्यकालमा सञ्चार नीति बन्यो । त्यही नीतिमा टेकेर अहिले ऐन, कानुन बन्दैछन् । “हाम्रो कार्यकालमा बनेको पोलिसीअनुसार ऐन, कानुन बने भने नेपालको पत्रकारिता जगतमा धेरै सुधार हुनेछ,” अनिता भन्छिन्, “हामीले पत्रकार, मिडिया मालिक र विज्ञापन एजेन्सी तीनवटै पक्षको हितमा हुने गरी मिडिया पोलिसी बनाएका छौं ।”

त्यसो त महासंघको यात्रामा उनले धेरै कुरा देखिन् । पार्टीको एजेन्डा बोकेर कार्यसमितिको बैठकमा छिर्ने र पार्टीकै गीत गाउने पत्रकारको पनि उनले सामना गरिन् । पत्रकार पार्टीको भन्दा पनि जनताको हुनुपर्नेमा उनको जोड छ ।

महासंघमै काम गरेर महासंघका कमजोरीबारे बोल्न उनी खुट्टा कमाउँदिनन् । “महासंघसम्म पुग्ने हाम्रो बाटो नै गलत छ । कुनै राजनीतिक दलको जगमा टेकेर महासंघ पुग्ने अवस्था अन्त्य हुनुपर्छ,” निर्धक्क हुँदै उनी भन्छिन्, “यस्ता व्यावसायिक संस्थाहरू राजनीतिक दलहरूको आडभरोसामा चल्ने होइन । त्यसको छाया पनि पर्नु हुँदैन ।”

परोपकारी पत्रकारिता

समाचार सूचना प्रसारमात्रै होइन, सेवा पनि हो । समाचार सधैं सुनाउन मात्रै पढिँदैन/लेखिँदैन । त्यसमा अन्तरनिहित उद्देश्य पनि जोडिएको हुन्छ । समाचारले सूचनामात्रै नदिएर कहिलेकाहीँ पीडितको उद्धार पनि गर्छ । सहयोगी हात र मनहरूसम्म विषय पुर्‍याइदिन्छ । यो सुनौलो अनुभव अनिताले पनि समाचार यात्रामा गर्न पाइन् । 

एकदिन बारामा ७ वर्षकी बालिका ५ वर्षदेखि दाम्लोले खोरमा बाँधिएको खबर समाचार कक्षमा आइपुग्यो । छोटो फुटेजसहित आएको त्यो समाचारले अनितालाई छोयो । उनलाई त्यसले भावुक बनायो । बारा रिपोर्टर रोशन न्यौपानेसँग विस्तृत बुझिन् । रोशनले अनितालाई थप सहयोग गरे ।

अनिता त्यसलाई रिपोर्ट बनाउनतर्फ लागिन् । आम दर्शकलाई छुने किसिमले त्यसलाई एंगल दिइन् । रिपोर्ट नेपाल टेलिभिजनबाट बज्यो । लगत्तै त्यसको असर पर्‍यो । मानसिक सन्तुलन कम भएकी ती बालिकालाई सहयोग गर्ने सहयोगी हात र सह्रदयी मन प्रशस्तै फेला परे । उनलाई काठमाडौं झिकाएर उपचार गरियो । उनी निको भइन् । अनिताको रिपोर्टले ती बालिका बन्धनबाट मुक्तिमात्रै पाइनन्, पुनर्जन्म पनि पाइन् ।

अर्को समाचारले पनि अनिताको मन पग्लियो । ब्लुबर्ड मलको हिमालयन जाभामा बसिरहँदा उनीसम्म तराईको एक जिल्लाबाट समाचार आइपुग्यो । उनलाई जिल्लाको नाम भने सम्झना छैन । सानो बच्चाको पेटमा ट्युमर भएको समाचार थियो त्यो । त्यसलाई अनिताले रिपोर्ट बनाइन् । त्यसले पनि तत्काल प्रभाव पार्‍यो । उनलाई तुरुन्त वीर अस्पताल ल्याइयो । सल्यक्रिया गरियो । तर, दुर्भाग्य ! चिकित्सकले उनलाई बचाउन सकेनन् ।

संगीत र भलिबल

पत्रकारितासँगै उनी गीत पनि गाउँछिन् । भलै उनले यसलाई पेशा बनाइनन् । बच्चामा बाल गीत गाए पनि ती रेकर्ड भएनन् । जिल्लामा हुने लोकगीत प्रतियोगितामा उनी प्रथम पनि भइन् ।

संगीतको शिक्षा पनि थोरबहुत आर्जन गरिन् । उनले लोकदेखि राष्ट्रिय गीतसम्म गाएकी छन् ।

उनले एक टुक्का राष्ट्रिय गीत नै हामीलाई सुनाइन्– 

सगरमाथा नउठे यो मेरो शीर उठ्दैन,
शान्तिको दियो लुम्बिनी नभए बल्दैन । 

लोक र राष्ट्रियमात्रै होइन, अनिता तीज गीत पनि गाउँछिन् । उनले हरेक वर्ष महिलाका पीर, व्यथा, वेदनासँगै अधिकार र मनोरञ्जनप्रधान तीज गीत निकाल्दै आएकी छन् । 

“म भलिबल प्लेयर पनि हुँ,” उनी भन्छिन्, “भलिबलको क्षेत्रीय प्लेयर हुँ । तर, पछि समय मिलाउन सकिनँ, त्यसलाई निरन्तरता दिन सकिनँ ।”

अहिलेको पत्रकारिता

समाजशास्त्रमा स्नातकोत्तर अनिताले पत्रकारिता नै पेशा बनाएपछि पत्रकारितामा पनि स्नातकोत्तर गरिन् । त्यसैले त उनी पत्रकारिताको व्यवहारिकमात्रै होइन, म्याक्वेलका सिद्धान्तहरूमा पनि बहस गर्न सक्छिन् । समाचारलाई चिरफार गर्ने हैसियत राख्छिन् ।

अहिले मूललधारको पत्रकारिता पछि पर्दै गएकोमा उनको चिन्ता छ । ग्याजेट प्रयोगको विस्तारसँगै सामाजिक सञ्चालमा समाचार हेर्नेको संख्या बढेको र तिनमा तथ्यहीन समाचारहरूकै बोलावाला रहेको उनले देखेकी छन् ।

समाचार सत्य, तथ्य र निष्पक्ष हुनुपर्छ । यसका लागि समाचारको ‘इस्यु’ बुझेको र पत्रकारितामा ‘प्यासन’ भएको व्यक्ति चाहिन्छ । यसको अभाव खट्किँदै गएको महसुस अनितालाई हुन्छ ।

पत्रकारिता सरकार वा संस्थाविशेषले नियन्त्रण गर्ने पेशा होइन । यो विश्वभर प्रचलित भइसकेको मान्यता हो । आफैंले बनाएको आचारसंहिता पालना गर्दै मर्यादित र जवाफदेही पत्रकारिता गर्न सक्नुपर्ने उनको मत छ । मर्यादित पत्रकारितामा खडेरी पर्न थालेकोमा उनी चिन्ता व्यक्त गर्छिन् ।

“पत्रकारिता शोखले चल्दैन, ग्ल्यामरले धान्दैन । यो त प्यासन हो, यसमा इमान चाहिन्छ, अध्ययन चाहिन्छ,” उनी भन्छिन्, “यो त कला हो, साधना गर्नुपर्छ । अनि मात्रै पत्रकारिताको गुणस्तर बढ्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC