साहित्य र कला

छोटा किस्सा

छोटा किस्सा

– लक्ष्मीप्रसाद देवकोटा


छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुइँ मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र समयको घोडदौडका कारण छोटो किस्सा टेबुलमाथिको आँपभन्दा मीठो सम्झिइन्छ । वास्तवमा छोटकरी रचना नै आजकल सच्चा साहित्य बनिरहेछ ।

नेपालमा पचासगजे नालिसको समय अझ राम्ररी छुटेको छैन । त्यसकारण कथा पनि थाङ्ने लम्बे हुनु अप्राकृत होइन । तर, थोरैमा मीठो र भरिलो हुनु छोटो किस्साको पानी हो ।

छोटो किस्सा सानु साहित्य होइन । यसले समाजलाई कति प्रभाव पार्न सक्छ, यो कुरा लिओ टल्स्टायका रचनाहरूबाट हामी अनुमान गर्न सक्छौँ । अलेक्जेन्डर कुप्रिन, रवीन्द्रनाथ ठाकुर, प्रेमचन्द इत्यादि लेखकहरू छोटो किस्साको मामुली हतियारले समाजउपर कति दक्खल राख्छन्, हामी सजिलैसँगै बुझ्न सक्छौँ । एकातिर कथाको औपन्यासिकता, सरसता र चाख, अर्कोतिर चरित्रचित्रण, भाव प्रदर्शन, आदर्शोद्घाटन, औपदेशिकता इत्यादिले छोटो कहानी रुचिलो मात्र होइन, विकासक पनि हुन जान्छ । यो जतिको समाजसुधारक र मनुष्यउपर प्रभावकारी कुरा अरू छँदै छैन कि भन्नेजस्तो लाग्छ । यसैमा सब रस निकाल्न सकिन्छ । यसैमा महान् संसारको प्रदर्शन हुन सक्छ । यसैमा प्रकृतिको चित्रण हुन सक्छ र अभिप्राय र आशयहरूको पारस्परिक संघर्ष, मनौवैज्ञानिक निदर्शन हुन सक्छ । यसैमा हृदयको सत्य अनौठा झलकमा झल्काउन सकिन्छ । यसैभित्र हड्डी-मासीमा घुस्ने गरी उपदेश भर्न सकिन्छ, यसैबाट राष्ट्रिय जागृति हुन सक्छ, यसैमा धर्मका निगूढ तत्त्वहरू भर्न सकिन्छ र यसमा दर्शन, छायाँवाद प्राकृत कार्यहरूको कथात्मक संवेदन इत्यादि अनेक चिज रहन सक्दछन् । छोटकरी, यो पनि एउटा संसार हो र महान् संसार हो ।

यसमा कला छ, त्यो कला- जसलाई रवीन्द्र ठाकुर र लियो टल्स्टायले एक छेउमा मात्र अलिकति भेट्टाएका थिए । एक कुनै पहिला दर्जाका नामी बेला वस्तादको भनाइ थियो कि २० वर्ष उनले हरहमेसा अभ्यास गरेर बेलाको वादन कलामा छेउटुप्पोसम्म भेट्टाएका थिएनन् र त्यहाँभित्र लुकेका देवदूत र अप्सराका आवाजहरू कहिले मात्र अचानकमा झल्किएर निस्कन्थे । छोटो कहानीको कला महाकाव्यको भन्दा कठिन र सूक्ष्म छ र तिनै देवदूत र अप्सराहरूको ध्वनि ननिस्की, यो छोटो कथा पनि सफल भएर निस्किँदैन ।

यसको ढंग नाटकीय हुन्छ । चट्ट जीवनलाई एक दृश्यमा छुन्छ, ठाउँ-ठाउँमा रङ दिँदै तस्बिर र चाल भर्दै जान्छ । प्रकृतिको नियममा सम्वर्द्धन लिँदै चल्दछ र नाटकीय किसिमले (अक्सर गरेर) टुंगिन्छ । तर, खालि बोलचालमा मात्र चरित्र र कार्यको चित्र यसमा हुँदैन, यसकारण यो कथा हो ।

यसको रचनामा दुई किसिमको तरिका भएजस्तो लाग्छ । एउटा आर्दानुगमको तरिका, एउटा प्राकृत सच्चाइको । जब म कलम लिन्छु, तब म वास्तविक अनुभवतिर फर्कन्छु र केही छाँटकाँट गरी रङ थपेर बनाउँछु, कि म एक आदर्शतिर फर्कन्छु र पात्र रचना गर्दै भित्री विचारलाई जीवनमा घटाउन लाग्दछु । दुवै किसिममा जीवनको अनुभवको जरुरत छँदैछ । तर, अक्सर यी ढंग एउटै भएर गाँसिन्छन् र विचित्र तवरले काम गर्दछन् ।

शब्द योजना र शब्दान्वेषणलाई रसायनी तराजु चाहिन्छ, थोरैले धेरै भनोस् र छोटकरीमा, मनमा बुझिने र बढाउने सूचनात्मक तत्त्वले भरिएका चित्रण या भाषण हुनुपर्छ । साहित्यको सच्चाइ जीवनको मुटु छुनुमा छ र छोटो किस्साले जब सच्चा अनुभूतिको मुटु पक्रिन्छ, तब साहित्य बन्छ । छोटो होस्, क्लिष्ट नहोस् । सजिलो होस् तर गाह्रो नहोस्, बुझिने होस् तर बुझ्न कठिन होओस् । जति बुझ्यो, उति बुझ्नयोग्य, जति पढ्यो उति मजा लाग्ने तर छोटो कथा एक बार सिवाय दुई बार कसैले पढ्छ/पढ्दैन- म भन्न सक्दिनँ । सच्चा पाठकले एक बार कथाको निम्ति, दोस्रो बार कलाको निम्ति, तेस्रो बार शब्द योजना र भनाइको निम्ति पढोस्, तब त्यो किस्सा अत्युत्तम ठहरिएला । अनि, कुनै किस्सा यस्ता पनि लेख्न सकिन्छ, जसमा केटाकेटीले उत्तिकै चाख मानून् र दार्शनिक दाढीवालहरूले सेतो फुलेको बुद्धिको गुच्छामा चाउरी परेको हात लगाएर मुसारून्, मनोवैज्ञानिकहरू छलफल गर्ने सामग्री प्रशस्त देखून् अथवा धर्मवेत्ताहरू या पारमार्थिक पुरुषहरू भाव र भावनाको विश्लेषण गर्दै लाभ उठाऊन् ।

तब कसरी लेख्ने ? यो त आफ्नै प्रतिभाले बताउँछ । गौँथलीलाई गुँड बनाउन कसले सिकायो ! कला पनि त्यस्तै छ । कुनै नैसर्गिक बुद्धिभित्रबाट निस्कन्छ तैपनि यति भन्न सकिन्छ कि पहिले कल्पनामा कथा बन्छ, पछि सेतो भुइँमा कालो बुट्टा भएर निस्कन्छ । यसकारण छोटो कथा लेख्नेले पहिले गुन्नुपर्छ, उन्नुपर्छ अनि छान्नुपर्छ, टिप्नुपर्छ र रङ्गाउनुपर्छ । तस्बिर राम्रो खडा भएपछि एक कुनाबाट सार्न सुरु गर्दछ, सेतो भुइँमा भित्र राम्ररी नदेखीकन लेखेको राम्रो होलाजस्तो लाग्दैन । यसकारण हरेक लेखकले मनमनै तस्बिर खिच्ने अभ्यास गर्नुपर्दछ, टकी बनाउनुपर्छ र त्यसलाई आँखा खोलेर जीवनमा यसो दृष्टि लगाएर निकाल्नुपर्दछ । मै के जान्दछु र ! एक-एक लेखकमा एक-एक विचित्रता हुन्छ र कलाको विषय विश्लेषणको पार छ । ‘मेरो प्रतिभा छैन भनेर म लेख्दिनँ’ भन्ने धेरै छन् । तर, प्रतिभा भनेको आखिर सरस्वतीको बरदान भए पनि यो पूजामा भन्दा अभ्यासमा निर्भर छ । एकजनाले यसको परिभाषामा लेखेका छन्, "प्रतिभा भनेको दुःख गरी उद्योग गर्न सक्ने सामर्थ्य हो ।"

हाम्रो सभ्यता त्यस सिँढीमा पुगेको छैन, जसमा मानिसहरू एउटा कमिला या भुसुनाको अध्ययनका निमित्त एक जीवन समर्पण गर्ने दृढ इरादा गरेर त्यसैमा लागून् । छोटकरी कथाको महिमा बुझ्न सक्नेले के यसैमा समुचा जीवन दिए चमत्कार निक्लँदो होओइन ? मिस्टर ‘शा’ले कतै भनेका छन्, "जीवनलाई एउटै अभिप्राय वा उद्देश्यमा जोत गर्नु सफलताको कुञ्जी हो ।" के हाम्रा नेपाली दाजुभाइमा एकजना कोही यस्तो होओइन ? अरू एक जनाले त्यसतर्फ लाग्दैमा अरू निराश हुने कारण पनि छैन । जति व्यक्ति उति उक्ति, जति भक्ति उति शक्ति अलम् ।

टल्सटायले त्याग गरेर, जनसुधारमा जीवन दिएर उनले यो छोटो किस्साको क्षेत्रमा धार्मिक र सामाजिक उपदेशहरूका बीजारोपण गरेर ठूलो प्रभाव पैदा गरेथे ।

जुन व्यक्तिमा मौलिकता छैन, सिर्जने शक्ति छैन, त्यसले पुराण, भागवत इत्यादि र अरू ग्रन्थहरूको किस्सा छोटकरी रूपमा दिन सक्तछ । ‘सहस्र रजनी’ छ, ‘इलिएट’ छ, सेक्सपियरका नाटक छन् । रोम र युनान सभ्यताका कथाहरू सिँगै बाँकी छन्, इतिहास छ, भूगोल छ, ज्योतिष छ, विज्ञान छ, जसमा छोटो किस्सा राम्ररी पोषण पाउन सक्छ ।

आर्को छ उल्था । दुनियाँमा छोटकरी किस्साको स्ट्यान्डर्ड किताबहरूबाट अनुवाद गर्न सकिन्छ । हिन्दीबाट गर्न त स्कुलका नानीहरूले पनि सक्छन् । कलकत्तामा पढ्ने र व्यापार गर्नेले बंगालीबाट उल्था गर्न सकून् । अनि, अंग्रेजीबाजले फ्रेन्च, जर्मन र अरू भाषाका कथा अंग्रेजी अनुवादमा हेरेर नेपालीमा निकाल्न सक्छन् । यस क्षेत्रमा साहित्यप्रेमीहरूको दृष्टि जाओस् भनेर मैले क्षुद्र बुद्धिले आफ्नो अल्पज्ञता प्रकट गरेको छु । कुनै दार्शनिकलाई आफ्नो दर्शन या सिद्धान्तहरू जीवनमा घटाएर औपदेशिक कथा अरू तवरले लेख्न मन लाग्यो भने के उसले छोटकरी किस्सा गर्न सक्तैन ? थोरै या धेरै कुराको संकेत दिएर लेख्नु पनि एउटा सर्टह्यान्ड हो ।

चार-चार पेज जतिको होओस्, कुनै सय किस्सामा आफ्नो संसार भर्न सकिन्छ, आफ्नो मत प्रचार गर्न सकिन्छ । एक किताबको नाम लिन सकिन्छ । राष्ट्रिय चैतन्यको लाभ दिन सकिन्छ र भानुभक्तीय रामायणको बराबर प्रभावकारी सर्वसाधारणको रुचि र उपदेशको महान् कार्य गर्न सकिन्छ । खाली कुनै मानिसले आँखा मात्र देखोस् । के यो दान होइन ? अनन्त काललाई एक अल्पायुबाट र पारावारलाई बुद्बुदबाट । त्यसउपर तमाखु र गोठाले ठट्टाको समयमा । यति काम गर्न सके कति काम भयो । के त आफ्नो विकास यसबाट हुँदैन ? के यो पनि एउटा स्कुल होइन ?

मैले पाएको सर्टिफिकेटलाई म त बोक्रो सम्झन्छु र अभ्यास तब सुरु भयो, जब मैले कलेज पार गरेँ र जीवनको पढाइ सुरु गरेँ ।

त्यसउपर सौन्दर्यको र कलाको रुचि सुसंस्कृत रूपमा बढाउनु सभ्यता मात्र होइन, आनन्द पनि हो । मैले पहिला कविता लेख्दा छन्दमा अक्षर मिलेको देखेर एउटा नयाँ आविष्कार गरेजस्तो लाग्दथ्यो । कथाको सिर्जनामा उही उज्यालो छ, जो एडिसनले बिजुलीबत्तीको रोसनीमा पाए । आफ्नो भनेको मजालाग्दो हुन्छ । आफ्नो सिर्जना छोराको म्वाइँजस्तै हुन्छ । र, आत्मप्रकाशनमा अर्कै आनन्द छ, जो इन्द्रका व्यञ्जनमा छैन । म आफूलाई निकाल्न चाहन्छु, सुन्दरतामा सत्यको आडमा सिर्जन चाहन्छु एउटा संसार ! आफूले भनेजस्तो त्यहाँ मेरा आकांक्षा सफलताको रङ लिन्छन्, म सन्तुष्ट हुन जान्छु अनि झन् बढाउन चाहन्छु, खान चाहन्छु, सिँगार्न चाहन्छु फेरि देखाउन चाहन्छु, प्रिय सुहृत् हृदयलाई, हेरेर मजा लिनेलाई, आगामी युगहरूलाई । कलामा म जित्न चाहन्छु र मेरो मर्त्यताउपर विजय गर्न चाहन्छु ।

पाठक महाशय ! नलेखेको भए लेख्न सुरु गर्नोस् । अरू नभए आत्मविश्वास त भयो । पहिले सफल नहुँला तर पहिला अभ्यास त भयो ।

लेखाडीहरूसँग म बिन्ती गर्छु, यो छोटो किस्साभित्र नयाँ-नयाँ संसार, सभ्यता भरिदिनुहोस् । यस निम्ति म हेर्न पाऊँ र मेरा साना केटाकेटीलाई कथा सुनाउन पाऊँ । र, मै पनि बुद्धिमान बन्न पाऊँ । रोम, ग्रिस, बेविलोन, चीन, जापानमा तपाईंहरू पुग्नुभएको छ । तिनको सभ्यताको सार अँगिनुमा न्यानो मान्दै सुन्न पाउनु छ । प्रकृति-इतिहास, वनस्पति, भूगोल, भूविद्या, ज्योतिष, देवविद्या इत्यादि इत्यादि हाम्रा भविष्यका स्वदेशी सेनालाई कथाको रूपमा किन बतलाउन नपाऊँ ? अंग्रेजीमा ‘पृथ्वी र पुच्छ्रेतारा’जस्ता किस्सा ‘विश्वासको पाठ’ इत्यादि जस्ता प्राकृत कहानी किन नेपालीमा नभरुँ ? अझ तपाईंहरू गहिरैतिर दगुर्नुहुन्छ भने पनि सरल तवरले सांकेतिक किस्सा किन हामीले नपाउनु ? छोटकरी किस्सा बढ्दै गएका देखिन्छन् हाम्री ‘शारदा’को वक्षस्थलमा, तैपनि यसको सम्भावना यति ठूलो देखिन्छ कि मलाई यति गन्थन नगरी चित्तै बुझेन ।

(विसं १९९९ वैशाखको 'शारदा'बाट)

(आवरण स्केच साभार: prasadproject.wordpress.com)
 

तपाईंको मत