साहित्य र कला

रेडलाइट डायरी

– निकुञ्ज तिवारी


जमिनलाई स्पर्श गर्दागर्दै हिउँका सेता फूल पानीरङ्गमा बदलिरहेका छन् । माथिबाट झरेका हिउँका मुलायम भुवा गल्लीका राता ट्युबलाइटमा खस्छन् र रंगीन पानी भएर भुइँमा पोखिन्छन् ।

झमक्क साँझ पर्दैछ । गल्लीका राता, पहेंला र खैरा पर्दाभित्र र बाहिर टल्किरहेका चमकदार चिममा अर्धनग्नहरू आकर्षक देखिन्छन् ।

तन्नामा मन तताउन बाँकी अर्धनग्नहरू काँचको ढोकानेरै हिटर राखेर तन तताइरहेका छन् । कोही चुरोट पिइरहेछन् । शायद कफी हुनुपर्छ– कोही सुरुपसुरुप पारिरहेका छन् । कोही एकआपसमा कुरा गर्दैछन् । हाँस्दैछन् । गल्लीमा बरालिइरहेका आप्रवासी युवकहरूलाई इसारामै बोलाइरहेका छन् । शायद बैंसको मोलमोलाइ चल्दैछ ।

नेपालमा छँदा मलाई चुनाव जिताउन एकदमै खटिएको किरणले ड्राइभरलाई भाडा दिँदै भन्यो, “ल नेताज्यू, झरौं । यहीँ हो तपाईंको रहरको ससुराली ।”

उसको मुखबाट अकस्मात् निस्किएको ‘तपाईको रहरको ससुराली’ भन्ने कुराले म झस्किएँ । चिफ गेस्ट भएर यो देशमा आउने निमन्त्रणा पाएलगत्तै किरणलाई ख्यालठट्टामै फोनमा मैले भनेको थिएँ, “किरण बाबु ! म त्यहाँ आएपछि मलाई रहरको ससुराली सुटुक्क घुमाइदिनुपर्छ है ?”

उसले सहजै भनेको थियो, “भइहाल्छ नि नेताज्यू ।”

मनमनै भनेको हुँदो हो, “हेर, पातकी बूढो । मर्ने बेलामा बैंस आ’को ।”

मेरैजस्तो उमेरको ड्राइभरले पैसा फिर्ता दिँदै मतर्फ फर्केर बोल्यो र मुसुक्क मुस्कुरायो । उसले बोलेको भाषा केही बुझिनँ । तर, हाउभाउ बुझेजस्तै गरिदिएँ । मुस्कुराउँदै उसकै भाषामा धन्यवाद र नमस्ते भनिदिएँ । उनीहरूको भाषामा नमस्ते र धन्यवाद भन्न मलाई किरणले नै सिकाएको थियो ।

मोबाइलले अहिले बाहिरको तापक्रम न्यूनतम –५ देखाएको छ । मौसम झन् चिसिँदै छ । आप्रवासी युवकहरूको भीड बाक्लिँदै छ ।

उत्तरका किम जङउनले ब्लास्ट गरेको मिसाइलले जमिन धम्धमाएजस्तै मेरो धड्कनको गतिले केटीएक्स रेललाई जितिरहेछ । डर, त्रास र भयले अनुहार नीलो र आँखा राता भएर फुट्लान् जस्तै भएका छन् । एक मनले ‘तुरुन्त यहाँबाट फर्के’ भनिरहेको छ । अर्को मनले भन्छ, “रहर र चाहना पूरा गर् । जे पर्ला, पर्दाभित्र छिरिहाल ।”

उनीहरू सेक्स गल्लीको पूर्वतिरबाट छिर्ने कुरा गरे । एक चक्कर सबैलाई हेर्ने, जुन राम्री लाग्छ र मलाई सुहाउने खालकी छ– उसैको कोठीमा पठाइदिने भन्दै अगाडि लम्किए । मलाई बीचमा हिँड्न आग्रह गरे । म पनि के कम, ग्राहकको प्रतीक्षा गर्दै हिटरमा बैंस सेकाइरहेका अर्धनग्नहरूलाई कर्केनजर लगाउँदै उनीहरूसँगै लम्किएँ ।

“किरण बाबु, यहाँ अरु नेपाली पनि आउँछन् ?”

“ल काका पनि, यो आप्रवासी युवकहरूको ससुराली हो । यहाँ नआउने शायदै होलान् । कोही सातामा एकपटक आउँछन्, कोही महिनामा । कोही–कोही वर्षमा एक–दुई पटक आउँछन् ।”

“बाबु मलाई डर लागिरा’छ– कसैले देख्लान् र सामाजिक सञ्जालमा भाइरल बनाइदेलान् भन्ने ।”

“ह्या, ल यो मास्क लगाउनुस् ।”

किरणको कम्पनीमा सँगै काम गर्ने नारायणले विपक्षी कार्यकर्ताकै शैलीमा थर्कायो । तर, मेरो मनकै कुरा बुझिदियो ।

“नेताज्यू, रहर पनि पूरा गर्न खोज्ने, अनि डर पनि लाग्यो भन्ने ? एकैछिन छोडिदिनुस् तपाईंको राजनीति । बिर्सिदिनुस् तपाईंका नेता–कार्यकर्ता । यो नेपाल होइन, विदेश हो । यहाँ हरेक किसिमका मान्छे आउँछन्, जान्छन् । कसैलाई केही मतलब छैन । तपाईंको मतलब गर्ने को हुन्छ ? यहाँ मेहनत, इज्जत र सम्मान हुन्छ । काम गरे खान पाइन्छ, नगरे पाइँदैन । यो पत्थरको शहर हो ।”

उनीहरू सबैले ‘हो’मा ‘हो’ मिलाउँदै मलाई उक्साए । स्थानीय भाषामा उनीहरूले के–के बोले, मैले बुझिनँ । तर, किरण मेरो गाउँले दाजुभाइ खलक हो । ऊप्रति म पूर्ण विश्वस्त छु । ऊ मेरो सच्चा कार्यकर्ता हो ।

म मौन रहेँ । उसले भनेको हो जस्तै पनि लाग्यो ।

“के हामी नेताहरूलाई रमाइलो गर्ने अधिकार छैन ? के नेताहरूको मन हुँदैन ? देशमा हुँदा जहिल्यै भाषण, सत्ता, सम्पत्ति र शक्तिको पछि दगु¥यो । यसो यता आएको बेला त बिर्सिऊँ न सब चिज । र, खुलेर रमाइलो गरौं । होइन, त बाबुहरु ?”

केटाहरू गलल हाँसे ।

हरिले पिउँदै गरेको चुरोट निराजनले तानेर मेरो हातमा थमाइदियो ।

“तपाईंलाई अलि चिसो बिझेजस्तो छ । हुन त, धूम्रपान स्वास्थको लागि हानिकारक छ । नेताज्यू, स्वाट्ट तान्नुस्, खासै कडा छैन । भित्र नछिरुन्जेल अलि न्यानो हुन्छ ।”

‘एकछिन है’ भन्दै किरण पसलतिर लाग्यो र चार वटा क्यान लिएर आयो ।

“नेताज्यूलाई खोलेर दे त,” किरणको सहकर्मीले क्यान खोलिदिँदै प्याच्च बोल्यो, “अब यो सर्लक्कै तान्ने, अनि पर्दा लगाउने । हाहाहाहा ।”

केटाहरु गल्ली नै थर्काउने गरी हाँसे । मानौं, म पिँजडाबाट फुत्केको सुगाजस्तै स्वतन्त्र छु । निष्फिक्री छु । एकदमै सुरक्षित छु । अब मलाई कुनै सुरक्षाको आवश्यकता छैन । एक क्यान र एकखिल्ली सर्लक्कै तानेपछि मनमा अलिकति जोस भरियो । आँट भरियो । अब म निसंकोच मस्ती गर्न सक्छु । अर्को एक खिल्ली पनि सकियो ।

हामी हेर्दैहेर्दै हिँडिरहेका छौं । पूर्वी गेटदेखि पश्चिम गेटसम्म आइपुग्दा धेरै नेपालीसँग अनुहार जुध्यो । मलाई कसैले शंका गरेजस्तो लागेन । हुन त उनीहरूको पनि बानी परेरै होला । विकसित देशहरुमा अपरिचित एकले अपरिचित अर्काको खासै वास्ता गर्दैनन् । उनीहरू आफैंमा व्यस्त हुन्छन् । उनीहरू अरुप्रति खासै चासो पनि राख्दैनन् ।

नर्थफेसको कालो ज्याकेट, खैरो ऊनीको गोलो टोपी, नीलो जिन्स, सेतो स्र्पोट्स जुत्ता लगाएको मेरो हुलिया पनि आफूहरू जस्तै समान देखिएको किरणले अगाडि नै भनिसकेको थियो ।

“यो चिसोमा हाम्रा नेताज्यूलाई मज्जाले तताउनेवाली कता छे, हेरओ केटा हो ।”

“नेताज्यू, तपाईं पनि मज्जाले हेर्नुस् है ! कुन मन पर्‍यो, भनिहाल्नुस् अनि पसिहाल्नुपर्छ । ढुक्कले गर्नुस् । परेको हामी बेहोरौंला नि ।”

चुच्चेनाके मेरो अर्को कार्यकर्ता निराजनले मप्रति व्यंग्य गर्‍यो र खितित्त हाँस्यो ।

हाम्रो समाजमा जुन प्रकारको काम बन्देज छ, घृणित छ, अवैध र अपमानित छ– त्यही काम गर्न मलाई यिनीहरू उक्साइरहेका छन् । अझ त्यसमाथि म नेता परें । म यो देशमा आएको धेरैलाई थाहा छ । यसरी साँझपख वेश्यालय आएको पनि थाहा पाए भने ? हुन त विचराहरूलाई फोकटमा के दोष ? रहर त मेरो हो नि !

म निकट सहकर्मी नेता–कार्यकर्ताले के भन्लान् ? विपक्षी पार्टीका नेता कार्यकर्ताले के सोच्लान् ? श्रीमती, छोराछोरी, इष्टमित्रले के सोच्लान् ? घर–परिवार, आफन्त र समाजलाई म कुन मुख देखाउँला ? हैट । मेरो के हाल होला ?

हुन त अरु नेताहरू पनि चोखा त कहाँ छन् र ! फ्ल्यासमात्र नभा’को हो । आखिर सरकारले मान्यता दिएर खुलाएको सुरक्षित ठाउँमा म जान के भो ? जबर्जस्ती करणी त होइन क्यार । आ, होस् ।

“बाबुहरू, म कोठीभित्र पस्दिनँ है । भो यस्तो काम नगरौं क्यार । कृपया, कर पनि नगर्नुस् ।”

“आ... नेताज्यू, कहाँ भित्र नजाने कुरा गर्नुभा’ ? बाहिरै गर्ने विचार छ क्या हो ?”

“हाहाहाहा,” केटाहरू मच्चिएर हाँसे ।

“तिमीहरू मलाई बाहिरै घुमाइदेऊ । बस, पुग्छ ।”

“ह्या, बुढा किन डराको ? हामीबाहेक कसैलाई पत्तो हुँदैन । एकपटक अनुभव पनि त लिनुप¥यो नि । कि कसो केटा हो ?”

दाइने हातमा केस बियरको क्यान लिएको र देबे्र हातले चुरोट तानिरहेको अर्को कार्यकर्ता जनकले उक्सायो । सबैले ‘हो हो’ भने र गलल हाँसे । म पनि ङिच्च मुस्कुराइदिएँ ।

विश्वस्तरका लिडरहरू पनि यो मामिलामा पछि परेनन् भने म त सामान्य देशको नेता । आखिर यो मामिलामा को पो अछुत छ र ? अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको र जोन ए केनेडीको सेक्स काण्ड, इलाटियन प्रधानमन्त्री सिल्भियो वेरलुस्कोनीको प्लेब्वाइ काण्ड, इजरायली पूर्वप्रधानमन्त्री मोसे कातसबको बलात्कार काण्ड चर्चित छन् । क्रेज रिपब्लिकाका वृद्ध राष्ट्रपतिको यौनकाण्ड, अमेरिकी कांग्रेसका एक नेताले विमानस्थल शौचालयमै गरेको यौन गतिविधि, फ्रान्सका एक नेताले कामदार महिलामाथि गरेको यौन अपराध, पटक–पटक बाहिर आउने रसियन नेताहरूका सेक्स गतिविधि यावत घटना छन् भने म त सुरक्षित छु । सुरक्षित ठाउँमा आएको छु । यस्तो मैका गुमाउनु हुन्न ।

हिउँ झर्ने क्रम रोकिएको छैन । र, आवतजावत गर्नेहरूको पनि । यस्तो लाग्छ– यो चिसो साँझमा तातो मेला लागिरहेको छ । र, युवकहरू चिसो पिएर तातो ओकल्न बार्गेनिङ गरिरहेका छन् ।

शक्ति, सम्पत्ति र सेक्स हरेक मान्छे चाहन्छ । र, आफ्नो पकडमा रहिरहोस् भन्ने चिताउँछ । यहाँ धेरै आप्रवासी युवा आएका छन् । भर्खर जुँगाको रेखी बस्न सुरु गरेकादेखि फुलेकासम्म । र, काला, गोरा, थ्पाप्चे, चुच्चे, डल्ले, अग्ले, मोटे, पातले सबै । अलिक उमेर पाको न हो, म आज उनीहरू समान हुँ ।

हातमा बियर र चुरोट समातेको एकजना युवकले पहेंलो पर्दाअगाडि हात र आखाँको इसारा ग¥यो ।

“कति हो ?” वाफमिश्रित कालो धूवाँ नाकको फोराबाट फ्याक्दै दायाँ हात र निधार सँगै उचाल्यो ।

पर्दाभित्र नब्बे प्रतिशत नग्न अवस्थामा बैंस बेच्न बसेकी पातलीले चार औला उठाई । र, औंलाकै इशाराले भनी, “नत्र हुन्न ।”

हिमाली जिल्लाको जस्तो देखिने त्यो युवकले केहीबेर बार्गेनिङ गर्‍यो । कुरा मिलाएछ क्यार । चुरोटको ठुटोलाई हातले कच्याककुचुक पा¥यो । भुइँमा खसायो र जुत्ताले किच्यो । हातमा समाइरहेको बियर घुटुघुटु पार्‍यो र लुसुक्क पर्दाभित्र छिर्‍यो ।

हामी यस्तै क्रियाकलाप हेर्दै अगाडि बढिरहेका छौं । घरिघरि केटाहरू मलाई ‘त्यो हुन्छे ? कि ऊ हुन्छे ?’ भन्दै इमोसनमा जिस्काइरहेका छन् ।

रेडलाइट एरियाको पूर्वतिर रातो पर्दा टाँगिएको एक ढोकाअगाडि चुरोट पिउँदै उभिइरहेको एक युवकले आफ्नो साथीको कुम कोट्याउँदै बोल्यो, “ओए हेर् त, उनीहरू नेपालीजस्तै छन् ।”

अर्कोले फनक्क फर्केर हेर्‍यो । र, भन्यो, “कालो जकेटवालालाई त चिनेजस्तो लाग्यो यार ।”

मौसमजस्तै चिसियो मन । नाकबाट चिप्लिरहेको मास्कलाई अलिक माथि सारें । र, बिस्तारै पछाडि फर्किएँ । उनीहरु अलि पर पुगिसकेछन् । मन ढुक्क भो ।

“सरकारले आप्रवासीका लागि खुला गरिदिएको रेडलाइट क्षेत्रमा सार्वजनिक बिदाको बेला भीड लाग्छ । त्यसो त देशका विभिन्न ठाउँमा यस्तो व्यवस्था छ । यहाँ आप्रवासीहरुको संख्यासँगै बलात्कार बढेपछि सरकारले मान्यता दिएर खुलाएको यो क्षेत्र सुरक्षित छ,” किरणले मलाई पटक–पटक सम्झाइरहेको थियो ।

“ल, योचाहिँ ठीक छे है,” हरिश मुस्कुराउँदै बोल्यो, “च्वाँक छे यार, हाम्रा नेताज्यूका लागि ठ्याक्कै सुहाउँछ ।”

किरणले पैसा तिरिहाल्यो । उनीहरूले केही कुराकानी गरे । युवतीले ‘ओके’ भनी ।

केटाहरूले मलाई ढोकाभित्र घचेटिहाले ।

जिन्दगीमा कहिल्यै नगरेको काम गर्न लागिरहेकोमा अलिकति डर लाग्यो । खिन्नता महसुस भयो । म मौन रहेँ । न चिनेको, न जानेको । भाषा त झन् आउने कुरै भएन ।

मेरो मौनतालाई तोड्दै उसले के भनी, बुझिनँ । ट्वाल्ल परेको देखेर मुस्कुराई र हात समाएरै भ¥याङ चढी । माथिल्लो कोठामा पुगेपछि इशाराले ‘पख है’ भनेजस्तो लाग्यो । ऊ बाहिर निस्किई ।

उसले ‘तयार भएर आउँछु’ भनेकी रहिछ । केही अगाडिसम्म अर्धनग्न ऊ यसपटक पूरै नांगिएर आई । मैले मूर्तिझैं जस्ताको तस्तै हेरिरहें । मलाई हेरेर ऊ मीठो मुस्कुराई । र, आफ्नो पेशा सम्हाल्न लागी । आफ्नो कर्तव्य निभाउन लागी । जसरी हुन्छ, ग्राहकलाई सन्तुष्ट पार्नु र फेरि आउने बनाउनु उसको कला हो ।

वृद्धावस्था छुन आँटेको म एकपटक फेरि दूधे बालकझैं भएँ । जता पल्टाई, उतै पल्टिएँ ।

उसले जे गरी, मैले सहिदिएँ । मैले जे गरेँ, उसले सहिदिई । केहीबेरको रस्साकस्सीपछि निधारमा चिट्चिटाएका पसिना पुछ्दै म खिस्स हाँसिदिएँ । उसले दुई औंला उठाई । र, पाँच औंला उठाएर बाहिर निस्किी । ‘प्रतीक्षा गर’ भनेकी होला भन्दै म कुरिरहें ।

हातमा केही स्याउका टुक्रा, भिटामिनको बोतल, पानी र कफी लिएर ऊ भित्र पसी । मानौं हामी लोग्नेस्वास्नी हौं र आज हाम्रो सुहागरात हो ।

ऊ पुनः दुई औंला उठाएर अघिजस्तै बस्न भनी । म चाहिँ ऊ गएको ढोका हेरिरहेँ ।

केहीबेरको प्रतीक्षापछि ऊ अघिकै अवस्थामा ढोकाबाट छिरी । मलाई फकाई र इमान्दारीपूर्वक आफ्नो पेशा निभाउनतिर लागी । म पुनः दूधेबालक भइदिएँ । ऊ पटक–पटक खुशीले मुस्कुराइरही । र, शिर निहुराएर बिदा गरी ।

केटाहरू बाहिर जम्मा भइसकेका रहेछन् ।

“ठीक पचास मिनट भयो । बूढाले भित्र के गरिरा’छन् हँ ? ठाउँको ठाउँ ठहरै त भएनन् ?” म ढोकाबाट निस्किँदै गर्दा निराजनले पिइरहेको आधी चुरोटको ठुटो किरणलाई दिँदै प्याच्च बोल्यो, “होइन, हामी त नेताज्यूले घर नै बसाउन लाग्नुभा’ कि भन्ने सोचिरा’ ।” 

अघाएर ढाडिएको बाघजस्तै घोक्रो फुलाउँदै म अगाडि लम्किएँ । केटाहरू गलल हाँस्दै मलाई पछ्याए । ढोकैअगाडि ट्याक्सी भेटियो । मैले मास्क लगाएकै थिएँ ।

ट्याक्सी चढिसकेपछि मास्क खोलेर लामो सास फेरें । नारायणले ठट्टा गर्दै सोध्यो, “नेताज्यू, कस्तो रह्यो त एक्सपिरियन्स ? ल सेयर गर्नुस् ।”

“बाबु हो, मलाई थकाई लाग्यो । एकछिन सुत्छु है । पछि भनुँला,” मैले टाउको अड्याएर आँखा चिम्लिएँ ।

“लौ, सबै नेपालीहरू पो हुनुहुँदो र’च,” ट्याक्सी ड्राइभरले मतिर औंलो सोझ्याउँदै भन्यो, “त्यही त, उहाँलाई कहाँ देखें, कहाँ देखें भन्ने लागिरा’थ्यो । समाचारमा पो हो र’च ।”

मनमा एक्कासि फुल भोल्टेजको करेन्ट लागेझैं भयो । म मानौं सयौं तला भवनबाट बिनाप्यारासुट हामफालिरहेको छु । शरीरमा एक्कासि सयौं कमिलाले टोकेजस्तो भयो ।

सम्हालिँदै भनें, “यसो घुम्न निस्किएको । नेपालमा पनि रेडलाइट एरिया खोल्ने कि भनेर अध्ययन गर्न आएको ।”

त्यसपछि ड्राइभरले कुरा बुझेजस्तो भावभंगिमा देखायो । म लाजले पानीपानी भएँ ।


(आवरण स्केचः monitor.co.ug )

तपाईंको मत