सम्पादकीय

रमिते सरकार धिक्कारको पात्र !

शासकहरू सर्वसाधारणको ज्यान जानु मामुली कारणाबाट जानुलार्इ सायद ठान्छन्

शासकमा मानवीय संवेदना नभएपछि जाजरकोटमा फैलिएको बिरामी के हो भनेर काठमाडौंमा अनुमान गरुन्जेल त्यहाँ मर्नेहरूको संख्या नौबाट नब्बे पुग्न सक्छ । तराईमा चलेको शीतलहरको कहरका बारेमा सामाजिक सञ्जालमा चर्चा गर्दागर्दै मर्नेहरू तीनबाट तीस पुग्नसक्छन् । एकातिर, शीतलहरले तराईमा कमजोरहरूको ज्यान लिन थालेको छ भने अर्कातिर, मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा रुघाखोकी र सरुवा ज्वरोका कारण नौ जनाको ज्यान गइसकेको समाचार आएको छ । विडम्बना, केन्द्र सरकार त यस्ता मानवीय समस्याप्रति उदासीन रहँदैआएको छ नै स्थानीय सरकारले पनि समस्या समाधानका लागि अग्रसरता देखाएन । सायद, नेपालको शासन संयन्त्रमा विद्यमान यो सबैभन्दा दुःखद पक्ष हो ।
जाजरकोटमा केही वर्ष पहिले पनि यसरी झाडापखाला महामारीकै रूपमा फैलिएको थियो । त्यसपछि स्वाइन फ्लुको शंका गरिएको बिरामीले पनि केहीको ज्यान लिएको थियो । यसपटक रुघाखोकी र ज्वरोले महामारीको रूप लिने संकेत देखिएको छ । शीतलहरको कहर त झन् तराईका जनताले बर्सेनि भोग्दैआएका छन् । सायद, शासकहरूका लागि शीतलहरमा केही कमजोर जनसाधारणको ज्यान जानु नियमित नियति नै हो । यसैगरी पहाडी क्षेत्रमा सानातिना सरुवा रोगले महामारीको रूप लिनुलाई पनि शासकहरूले स्वाभाविकै नै ठान्छन् । नभए त, यस्तो सामान्य बिरामीले महामारीको रूप लिने वा बर्सेनि आउने जाडोका कारण पनि ज्यान जाने अवस्थाको अन्त्य हुनुपर्ने हो ।

यसपटक यस्ता सामान्य र सजिलै रोकथाम गर्न सकिने कारणबाट जनसाधारणको ज्यान नजाला भनेर आशा गर्ने बाटो थियो । स्थानीय सरकारमा जनताले चुनेका प्रतिनिधिहरू छन् । तिनले त जनताको अवस्था र यथार्थ बुझेकै हुनुपर्छ । कतिबेला शीत लहर चल्छ भनेर तिनलाई पक्कै थाहा छ र त्यसबाट जोगाउन पेटमा अन्न र शरीरमा लुगा चाहिन्छ भन्ने पनि जानकारी होला । यस्तै, तिनलाई शीतलहरको कहरमा पर्ने जोखिममा भएकाहरूसँग घरमा खानेकुरा र हरमा लुगाफाटो नहुनसक्छ भन्ने पनि थाहा नै थियो होला । जाजरकोटमा पनि स्थानीय सरकारमा जनप्रतिनिधि चुनिएका छन् । त्यहाँ पनि रुघाखोकीका बिरामीलाई स्वास्थ्य संस्था लैजानुपर्छ भन्ने जानकारी स्थानीय सरकारका प्रतिनिधिलाई पक्कै छ । स्वास्थ्य संस्था नजिक नभए गाउँमा महामारी फैलेपछि जिल्ला र केन्द्रमा हारगुहार गरेर पनि चिकित्साकर्मी र ओखतीमुलोको प्रबन्ध मिलाउनुपर्छ भन्ने पनि थाहा नै थियो होला । स्थानीय वा केन्द्रीय शासकहरूको प्रमुख कर्तव्य जनताको जीवनको रक्षा गर्नु हो । स्थानीय र केन्द्रीय दुवै तहका सरकारमा रहेका प्रतिनिधिहरू यसमा चुकेका छन् । यिनलाई भविष्यले मात्र हैन वर्तमानले पनि धिक्कार्ने निश्चित छ ।  

तराईमा शीतलहरबाट ज्यान गुमाउन नपर्ने व्यवस्था मिलाउने वा जाजरकोटको रुघाखोकी र ज्वरोले थप ज्यान लिन नपाउने बन्दोबस्त गर्न केन्द्रीय र स्थानीय सरकारका सम्बन्धित सबै जनप्रतिनिधि र कर्मचारीले समवेत प्रयत्न तत्काल गरुन् । जाजरकोटमा चिकित्सक र ओखती तत्काल बिरामी भएकै ठाउँमा पुगून् । यी दुवै ठाउँमा गरिबीका कारण खान नपाएर रोग वा जाडो सहनसक्ने क्षमता कम भएको हुनसक्छ । तिनलाई खाद्यान्नको पनि प्रबन्ध मिलाऊन् । सरकारहरूले यतिमात्र गरे भने तिनीहरू धिक्कारको पात्रबाट धन्यवादका हकदार हुनपुग्नेछन् । रोजाइ भने उनीहरूकै हो । यद्यपि, यस्ता पटके महामारी रोक्न गैरसरकारी सामाजिक संस्थाको पनि भूमिका र उपादेयता हुन्छ । तिनले पनि आफ्नो औचित्य यस्तै अवस्थामा सिद्ध गर्नुपर्छ ।  

 

तपाईंको मत