site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सावित्राको सपना नेपाललाई गोल्ड मेडल दिलाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली स्टार खेलाडी सावित्रा भण्डारी यतिबेला चर्चामा छिन् । एकै खेलमा ४ ह्याट्रिक र एउटै प्रतियोगितामा ८ ह्याट्रिक गर्ने नेपालको पहिलो खेलाडी बनेकी सावित्रा एकाएक हिरो बनिन् । आखिर कसरी ?

नेपाली महिला फुटबलमा छिटफुट प्रतियोगिता हुने गर्छ । प्रतियोगिता थोरै हुँदा महिला खेलाडी निकै सकसमा पर्ने गरेका छन् । त्यसैलाई चिर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा यस्तो रेकर्ड बन्यो, जुन अब तोड्न निकै गाह्रो छ । 

सावित्राको उत्कृष्ट प्रदर्शनसँगै बिहीबार सम्पन्न राष्ट्रिय महिला लिगको उपाधि एपीएफ क्लबले कब्जा गर्यो । सावित्राले उत्कृष्ट प्रदर्शन मात्रै गरिनन्, आफ्नो नाममा सर्वाधिक गोलको रेकर्ड पनि राख्न सफल भइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कसरी सम्भव भयो ह्याट्रिकको वर्षा ?

विभागीय टिम एपीएफ क्लबले समूह चरणको आफ्नो पहिलो खेलमा मध्यपश्चिमाञ्चलाई २६–० गोलले पराजित गर्दा सावित्रा एक्लैले १२ गोल ठोकिन् । उनले पहिलो खेलमा नै ४ ह्याट्रिक गर्दै एकै खेलमा सर्वाधिक गोल गर्ने राष्ट्रिय कीर्तिमान पनि आफ्नो नाममा लेखाइन् ।

Global Ime bank

एपीएफको सानदार जितमा सावित्राले खेलको तेस्रो, १५ र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । त्यस्तै, उनले २४, ३४ र ४० औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । एकपछि अर्को ह्याट्रिक पूरा गर्ने क्रममा उनले खेलको ४७, ५२ र ५९ औं मिनेटमा गोल गर्दै तेहोरो ह्याट्रिक पूरा गरिन् । सर्वाधिक गोलको रेकर्ड राख्ने क्रममा उनले ६०, ७७ र थप गरिएको अतिरिक्त समयमा गोल गर्दै एकै खेलमा चार ह्याट्रिक पूरा गर्दै चर्चामा आएकी हुन् ।

पहिलो खेलमा १२ गोल गर्दै रेकर्ड राखेकी सावित्राले दोस्रो खेलमा थप ८ गोल गर्दै थप चर्चा बटुलिन् । दोस्रो खेलमा एपीएफको भेट पश्चिमाञ्चलसँग भएको थियो । पुस १९ गते बुधबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई १४–० गोलअन्तरले पराजित सावित्राको ८ गोल थियो । 

डबल ह्याट्रिकसहित आठ गोल गरेकी सावित्राले यसअघिको र यो गरी २ खेलबाट ६ ह्याट्रिक पूरा गरिन् । खेलको छैटौं मिनेटमा नै गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले २७ र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । दोहोरो ह्याट्रिक पूरा गर्ने क्रममा उनले पहिलो हाफको अतिरिक्त समय तथा ५० र ५४ औं मिनेटमा गोल गरिन् । उनले ८ गोल गर्ने क्रममा ६६ र ८९ औं मिनेटमा थप २ गोल गरेकी थिइन् ।

समूह चरणको अन्तिम खेलमा एपीएफको प्रतिद्वन्द्वी थियो, विभागीय टिम नेपाल आर्मी । आर्मी फुटबलमा त्यसै बलियो टिम हो । यसअघिको प्रतियोगिता जित्दै आएको आर्मीसँग लड्नु एपीएफको लागि ठूलै संघर्ष थियो । तर अन्ततः एपीएफले आर्मीलाई १–० गोलले स्तब्ध पारेरै छोड्यो । यो खेलमा पनि नायक बनेकी थिइन् सावित्रा ।

सावित्राकै गोलका कारण एपीएफ क्लब समूह बी को विजेता बन्दै सुपर लिग चरणमा प्रवेश गरेको थियो भने आर्मी उपविजेता बनेको थियो । सावित्राले खेलको ५० औं मिनेटमा गरेको एक गोल नै एपीएफको जितको आधार बनेको थियो । सावित्राले यो गोलसँगै ३ खेलमा २१ गोल पुर्याइन् ।

१६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत सुपर लिगमा एपीफको पहिलो भेट सुदूरपश्चिमाञ्चल विकास क्षेत्रसँग भयो । जुन खेलमा फेरि सावित्रा भण्डारी चम्किइन् । 
पुष २३ गते आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सुदूरपश्चिमाञ्चललाई ९–० गोलअन्तरले पराजित गर्दा सावित्राले डबल ह्याट्रिक गरिन् । 

खेलको १८औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी सावित्राले ४९औं र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । ७६औं, ८४ औं र ९० औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पूरा गरेकी सावित्राको प्रदर्शन देखेर सबै अचम्मित बनेका थिए । 

उनले आफ्नो ४ खेलबाट नै ८ ह्याट्रिक गर्दै एकै प्रतियोगिताबाट सर्वाधिक ह्याट्रिक गर्ने राष्ट्रिय कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भइन् । उनले ४ खेलबाट २७ गोल गरिन् । जुन गोल नेपाली फुटबलमा अहिलेसम्म कुनै खेलाडीले बनाएका छैनन् ।

सुपर लिगको दोस्रो खेलमा फेरी भेट भयो आर्मीसँग तर यो पटक भने सावित्राले गोल गरिनन् । तर उनले राम्रो प्रदर्शन गरेकी थिइन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा एपीएफ क्लबले आर्मीलाई सुपर लिगमा पनि २–१ गोलले पराजित गर्न सफल भयो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुष २७ गते बिहीबार प्रतियोगिताको अन्तिम दिन अर्थात् अन्तिम खेलमा एपीएफ क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दै थियो । जुन खेलमा फेरि सावित्रा नायक बनिन् । उनकै २ गोलको मद्दतमा एपीएफले पुलिसलाई ३–१ गोलअन्तरले पराजित गर्न सफल भयो ।

अपराजित यात्रालाई निरन्तरता दिँदै प्रतियोगिताको उपाधि जितेको एपीएफका लागि खेलको १७ र ७५ औं मिनेटमा सावित्राले गोल गरेकी थिइन् । सावित्राले यो प्रतियोगितामा २९ गोल गरेकी छिन् ।

प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर घोषित भएकी सावित्राले २५ हजार नगद प्राप्त गरिन् ।

गोलको वर्षा गर्दै उपाधि चुमेकी सावित्रा त्यति सन्तुष्ट भने छैनन् । उनी भन्छिन्, “मध्य पश्चिमाञ्चलविरुद्ध १२ गोल गर्दा म खुशी छैन । गोल त हाने तर म सन्तुष्ट छैन । किनभने प्रतिद्वन्द्वी भनेको ५०–५० होस् अनि बल्ल मजा हुन्छ । जिल्लाको टिम एपीएफ भन्नेबित्तिकै हार्छौं भन्ने मानसिकता हुन्छ । सरदर १२–१३ गोल हुन्छ कि भन्ने सोचेको थिएँ । एक्लैले १२ गोल हानेँ तैपनि म खुशी छैन ।”

उनी थप्छिन्, “प्रतियोगिता सम्बन्धी जिल्लाको टिमलाई सूचना पनि ढिलो भयो । तयारी पनि राम्रोसँग हुँदैन । केही दिनको तयारीले केही हुँदैन । कमजोर टिमसँग धेरै गोल हान्दै रेकर्ड त राखैं तर म कसरी सन्तुष्ट हुने ?”

पक्कै पनि जिल्लाको टिम निकै कमजोर हुने गरेको छ । फुटबलको सर्वोच्न निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), राखेप र जिल्ला फुटबल संघको कमजोरीका कारण क्षेत्रीय क्लबको प्रदर्शन फितलो हुनु स्वाभाविक नै हो 

‘मोजाको बल बनाएर खेल्थेँ’

चर्चाको शिखर टेकेकी सावित्रालाई कहिल्यै लागेको थिएन यो ठाउँमा पुग्ने । सुरुवाती दिन तथा बाल्यकालमा उनी मोजाको बल बनाएर खेल्ने गर्थिन् । मनाङमा जन्मिएकी सावित्रा ७ वर्षपछि लमजुङ परिवारसँगै झरेकी थिइन् । बाल्यकाल मनाङ र लमजुङमा विताएकी सावित्राले अनगिन्ती कठोर परिस्थितिको सामना गर्नुपरेको थियो । 

उनी सुनाउँछिन्, “म सानोमा मोजाको बल बनाएर फुटबल खेल्थेँ । पारिवारिक अवस्था पनि निकै कमजोर थियो । चार जना दिदीबहिनी र २ भाइ । परिवार पनि ठूलो भएकोले निकै गाह्रो थियो । दिदीको बिहेपछि घरेको सबै काम मैले नै गर्थें । हलो जोत्थें । उमेरले सानो भएपनि ठूलो काम गर्ने मेरो दैनिकी थियो ।” पारिवारिक काम, पढाइ र खेल सँगसँगै अघि बढाएकी सावित्राले कहिल्यै हार मानिनन् । त्यसकै नतिजा पनि हो यो ।

बहुप्रतिभाकी धनी

सावित्रा भण्डारी फुटबलसँग मात्रै जोडिन्नन् । बरु फुटबलमा भन्दा पनि पहिले नै उनी अरु खेलमा नै राम्रो प्रदर्शन गर्थिन् । स्कुलस्तरमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै पदक जित्ने गर्थिन् । उनी भन्छिन्, “स्कुल लेभलमा म भलिबल खेल्थें, एथ्लेटिक्स खेल्थें । स्कुल स्तरमा मैले थुप्रै मेडलहरू जितेकी छु ।” 

सावित्राले २०७० सालमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको १०० मिटरमा गोल्ड मेडल नै जितिन् । शारीरिक रुपमा पनि निकै फुर्तिली सावित्रासँग अन्य खेलाडी सधै निरिह नै हुन्थे । 

३ महिनाको अभ्यासले राष्ट्रिय टिममा 

लमजुङका पाखापखेरा चालेकी सावित्रा काठमाडौं छिर्छु भन्ने सोचमा थिइनन् । उनमा प्रतिभा थियो, जोस थियो तर अवसरको पर्खाइमा थिइन् । गाउँमै भएको स्थानीय फुटबल खेलमा राम्रो प्रदर्शन गरेको देखेपछि रेफ्री शुक्र लामाले काठमाडौं लाने प्रस्ताव सावित्रालाई राखेका थिए । 

सन् २०१४ मा काठमाडौं प्रवेश गरेकी सावित्रा फुटबलकै लागि आएकी थिइन् । उनलाई काठमाडौं ल्याउन रेफ्री शुक्र लामाले ठूलो भूमिका खेले । उनको प्रदर्शन हेरेपछि उनलाई काठमाडौं ल्याइएको थियो । एपीएफ क्लबमा सिधै आबद्ध भएपछि उनले नियमित रुपमा फुटबल अभ्यास गर्न थालिन् । गाउँमा मोजाको बल खेल्ने सावित्रा काठमाडौंमा आएर साँच्चिकै फुटबल खेल्न थालिन् ।

“यो स्थानमा ल्याउन शुक्र लामाको ठूलो हात छ । उनकै कारण म यहाँ छु,” सावित्रा भन्छिन् । उनीसँग एउटा नरमाइलो पल छ, जुन पटक पटक सम्झिरहन्छिन् । उनले त्यही नरमाइलो क्षणलाई शक्तिमा बदलेर फुटबललाई निरन्तरता दिइन् । 

उनी सम्झिन्छन्, “गाउँबाट फुटबलको लागि काठमाडौं झरें । गाउँका ठूलाबडा भनाउँदाले बाबाआमालाई भड्काउने काम गरेका रहेछन् । तेरो छोरी काठमाडौं गई, छोरी बिक्दिन अब, तेरो छोरीलाई कसले बिहे गर्छ भन्दा रहेछन् । तिमीहरूको त इज्जत छैन, हाम्रो पनि इज्जत जाने भो भनेर बाबाआमालाई तनाव दिने काम गरेछन् । यो सुन्दा मलाई सारै नराम्रो लागेको थियो ।”

काठमाडौं छिरेपछि उनी एपीएफ क्लबमा आबद्ध हुँदै अभ्यास गर्न थालिन् । २०१४ को साफ च्याम्पियनसिप पनि नजिकिँदै थियो । उनी तीन महिनाको अभ्यासले राष्ट्रिय टिममा पर्दै पाकिस्तान प्रवेश गरिन् । सावित्राले २०१४ मा पाकिस्तानमा सम्पन्न साफ च्याम्पियनसिपको डेब्यु खेलको ८८ औं मिनेटमा मैदानमा छिरेर गोल गर्न सफल भएकी थिइन् । त्यहीदेखि उनले राष्ट्रिय टिममा निरन्तर आफ्नो स्थान बनाउँदै आएकी छिन् ।

“२०१४ बाट मैले नियमित अभ्यास गरेकी हुँ । करिब ३ महिनाको ट्रेनिङले गर्दा नै म राष्ट्रिय टिममा परेकी थिएँ । मेरो कडा परिश्रमले गर्दा नै म यो स्थानमा पुगेको छु । तर पनि प्रतियोगिताहरू नहुँदा नरमाइलो लाग्छ । त्यसले गर्दा पनि फुटबलमा लागेर सन्तुष्ट पाइन्न कि जस्तो लाग्छ । पुरस्कार राशि पनि केटाहरूको एक करोड छ, महिलाको २ लाख । त्यसमा पनि वर्षमा एक पटक हुन्छ,” खिन्नताका साथ सावित्रा भन्छिन् । 

अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल पनि सावित्राकै नाममा

आफ्नो डेब्यु खेलदेखि नै चर्चामा आएकी खेलाडी हुन् सावित्रा । उनी राष्ट्रिय प्रतियोगितामा मात्रै चम्किने खेलाडी होइनन् । उनले गत वर्ष भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिप फुटबलमा पनि रेकर्ड राखेकी छिन् । 

उनले एक प्रतियोगितामा नेपालको तर्फबाट १२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राखेकी थिइन् । उनले भुटानविरुद्ध डबल ह्याट्रिक गरिन् । मल्दिभ्स विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी सावित्राले भारत विरुद्ध पनि एक गोल गर्न सफल भएकी थिइन् । 

उनले प्रतियोगितामा १२ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । यसअघि नेपाली खेलाडीले एउटै प्रतियोगितामा ११ गोल गरेको रेकर्ड थियो ।
एपीएफ क्लबमा स्थायी जागिरे सावित्रासँग नेपाललाई गोल्ड मेडल दिलाउने सपना छ । उनी भन्छिन् “भारतसँग जहिले पराजित हुँदै फर्किंदा अमिलो छाप छ । नेपाललाई गोल्ड मेडल दिलाउने मेरो सपना छ । हेरौं पूरा हुन्छ हुँदैन । मेरो तर्फबाट कडा परिश्रम गर्दै गोल्ड मेडलले नेपाली समर्थकलाई खुशी दिलाउने मेरो चाहना हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC