राजनीति
प्रदेश प्रमुखको नियुक्ति छिटो गरिदिन निर्वाचन आयोगको सरकारसँग आग्रह
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलको निवेदन दर्ता
- बाह्रखरी
- २०७४ पौष २८ शुक्रबार १७:२६:००
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको हुनाले तत्काल प्रदेश प्रमुखको नियुक्ति गर्न आग्रह गरिएको उल्लेख छ ।
प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । ‘‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानूनी बाध्यताका कारण राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ,” निर्वाचन आयोगको निर्णयमा भनिएको छ ।
त्यसैगरी राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते हुने गरी नेपाल सरकारबाट निर्वाचनको मिति तोके पश्चात् आयोगले सोको तयारी अगाडि बढाएको जनाएको छ ।
पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ सकेको र पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी आयोगले निर्वाचनको कार्यतालिका र निर्वाचन कार्यक्रम समेत स्वीकृत गरिसकेको छ ।
स्वीकृत कार्यक्रम अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलको निवेदन दर्ता
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनको समय दिएर आयोगमा दल दर्ता गर्न आह्वान गरेअनुसार शुक्रबार अन्तिम दिनसम्म २१ वटा राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका छन् ।
निवेदन दिएका राजनीतिक दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित भइसकेको छ ।