अक्षर काका
“रिक्सा चालक केदारप्रसाद तिमल्सिना फलोइङ यु,” गतहप्ता फेसबुकमा एउटा नोटिफिकेशन आयो ।
“आफ्नो नाम र थरका अघिल्तिर रिक्सा चालकको फुर्को किन झुन्ड्याउनुपरेको होला ?,” मनको कौतूहल रौतहटको चन्द्रपुर पुगेपछि मात्रै शान्त भयो ।
रौतहट चन्द्रपुरका रैथाने केदार तिमल्सिना पूर्वी तराईका ‘सोसियल आइकन’ हुन् र सहयोगका ‘रोल मोडल’ पनि । रिक्सा गुडाउँदै उपेक्षित उत्पीडितको सेवामा समाहार भएका केदारले गैरसरकारी तथा सरकारी निकायलाई उछिनेका छन् । यो शीतयाममा मात्रै उनले दुई हजार परिवारलाई दैला–दैलामा पुगेर राहत थमाइसकेका छन् । सयौँ केटाकेटीको आङ ओताइसकेका छन् ।
सोमबार, माघे सङ्क्रान्तिको अघिल्लो दिन । मकर सङ्क्रान्ति, मुसहरहरूको माघी महत्त्वपूर्ण चाडसमेत हो । तिनै रिक्साचालक केदार गुजरा नगरपालिका– २ मैढाका मुसहरहरूलाई राहत बाँड्न व्यस्त थिए ।
खाउँखाउँ लाउँलाउँका आफ्ना पनि केटाकेटी छन् । दिनभरी रिक्सा चलाएर बेलुका चुल्हो तताउनुपर्ने निम्छरो परिवार । घरका जहानले आश गर्दा होलान्– बेलुका बाबा आउनुहुन्छ र मीठो–मसिनो खाऊँला । तर, उनले रिक्सा थन्क्याएको सात दिन बढी भइसक्यो । बरु त्यही रिक्सामा दाताले गच्छेअनुसार दिएको राहतका पोका बाँध्छन् । दुःख र दरिद्री व्याप्त बस्तीमा पुग्छन् ।
किन त ?
“म त रिक्सै धकेलेर पनि एउटा परिवार पाल्न सकिहाल्छु नि । समाजमा कम्तीमा ‘मयुर’ किन्ने हैसियत बनाएको छु । देशमा यस्ता परिवार लाखौँ छन्, जसको हैसियत मेरो जत्तिको पनि छैन । तिनको अनुहारमा हाँसो फुलाउन सकियो भने जहान–बालबच्चा त्यसै हाँस्छन्,” समाजसेवातर्फ आकर्षित हुनाको कारण सुरूआतमै प्रष्ट्याए उनले ।
र, ठट्यौली पारामा आफ्ना कुरा सुनाउँदै गए ।
० ० ०
काभ्रेको तालढुंगा हो उनको घर । घामशीत मुस्किलले ओत्ने खरको झुपडी । भौतिक सुखसुविधाबाट सयौँ माइल टाढा, दूरदेश थियो त्यो । कदाचित बिरामी भइहाले सक्नेहरू डोकामा बोकेर सहर ल्याउँथे, नसक्नेहरू मृत्यु पर्खिएर बस्थे । खेतीकमाइ गरेर तीनमास पनि अँगेनो तताउन नसकेपछि उनको परिवारले पिता–पुर्खाको थलो छाड्यो र विक्रम् सम्वत् २०४५ सालमा तराईतिर खलो सार्यो ।
“सदरमुकाम आउन पनि दुई दिन लाग्थ्यो । सरकार होइन, गाडीको मुख देख्नसमेत धुलिखेल बास बस्दै आउनुपथ्र्यो । जन्मिएको ठाउँ भनेर माया मात्रै गरेर नहुने,” पोखिँदै गए उनी ।
७ वर्षको उमेरमा तालढुंगाबाट तराईमा फाल त हाले तर जिन्दगीको उडान सहज थिएन ।
त्यतिबेला चन्द्रनिगाहपुरमा १५ सय प्रतिकट्ठा थियो । “सडक छेउछाउमा जग्गा लिनुहुँदैन, गाडी हिँडेको हिँड्यै गर्छ । किच्यो भने !,” देहाततिर जग्गा किने उनीहरूले ।
जम्माजम्मी दुई कक्षा पढेका । मधेसको ठाउँ, यायावरीका अरू विकल्प थिएनन् । ऋण–धन गरेर १० हजार जम्मा पार्यो र परिवारले रिक्सा किन्यो । त्यही रिक्सासँगै जिन्दगी धकेल्ने यात्रा सुरू भयो उनको ।
विक्रम् सम्वत २०५४ सालतिरको कुरा हो यो ।
“अरूकहाँ काम द्याओ भन्न जानुभन्दा आफ्नै काम गरेर हातमुख जोड्छु भन्ने लाग्यो र रिक्सा पो ठेल्न थालेँ,” झन्डै २० वर्षअघि फर्किए उनी ।
० ० ०
उनी लोकभाकाका पारखी । तालढुंगा छाडे पनि त्यहाँको लय र ताल छाडेका थिएनन् उनले । रोसीको पानी र पाखामा घाम तापेर हुर्किएका उनले त्यहाँको भाका भुलेका थिएनन् । रौतहटमा भर्खर सामुदायिक रेडियो सञ्चालन आएको थियो, रेडियो नुनथर । एफएममा बोल्न उत्सुक थिए उनी । तिनताका उनी दिनहुँ रेडियोमा फोन गर्थे र गीतहरू सुनाउँथे । कहिलेकाहीँ राजनीतिका सङ्गती–विसङ्गतीबारे पनि आफ्ना विचार भावना मुखरित गर्थे । क्रमशः उनको चिनारीको परिधी फिँजिदै गयो ।
“रिक्सा लिएर घाँस काट्न जान्थेँ, रूखको टुप्पामा चढेरसमेत रेडियोमा फोन गर्थें,” उनको अनुहारमा सिन्दूरे आभा छायो ।
रेडियोको नियमित स्रोता । हरेक कार्यक्रममा फोन गर्ने र आफ्ना अभिव्यक्ति राख्ने । ‘लोकभाका’मा मीठो गीत पस्कने हुनाले रेडियोले रिक्साको निःशुल्क विज्ञापन बजाइदिएको थियो ।
“कहाँ हो केदारजी ? मलाई फलानो ठाउँसम्म पुग्नु थियो । छिट्टै आउनुपर्यो,” भ्याइनभ्याइ पो हुन थाल्यो । चन्द्रपुर होइन, सिंगै रौतहट जिल्लामा उनलाई नचिन्ने हुन छाडे । सामान्य रिक्साचालकबाट ‘सेलिब्रिटी’ पो बने उनी, रातारात ।
तीन वर्षअघि उनले रिक्सा बदलेका छन् । जसरी उनको परिचय फेरियो । रिक्सा चालकबाट ‘मयुर’ (इरिक्सा) चालकमा परिवर्तित भएका छन् उनी ।
० ० ०
रिक्साको पाउदानी जति घुमाए पनि गरिबी दूर भएको थिएन । परिवार पाल्न धौधौ नै थियो । जाडामा अति जाडो । गर्मीमा चर्को गर्मी । तराई होइन, बाँच्नै त्राहीत्राही । विक्रम् सम्वत् २०६२ सालमा पनि मुटु कमाउने जाडो थियो । एकसरो लुगा र सामान्य ओढ्ने–ओछ्याउनेले के न्यानो दिन्थ्यो ? मध्य शीतलहरमा स्युस्यु काढ्दै रात बिताउँथे उनीहरू ।
रोटरी क्लब ‘दाता’ बनेर उनीहरूको बस्ती पुग्यो र एकएक वटा सिरक बाँड्यो । सिरकले न्यायो त दियो तर मनचाहिँ खिन्न भयो उनको । कारण– उनले आफूभन्दा निकै गरिब समुदायमा देखेका थिए । एउटै थालमा चारजना बच्चाले भात मुछेर खाएको देख्दा छातीमा भुङ्ग्रो खडा हुन्थ्यो र आँसुले निभाउँथे उनी ।
भरदिन काम गर्दा पनि भनेजति ज्याला नपाउने र चिसोकै कारण चोला बिसाउनु परेको आँखैले देखेका थिए उनले । तिनको दुर्दशा र अभिशप्त नियतिले पिरोल्न पो थाल्यो उनलाई ।
तिनताका तराईका सिमान्तकृत मुसहर, चौधरीहरू राजमार्ग दक्षिणका मधेसीहरूको जीवन अतितम कष्टकर थियो । रोग, भोक र शोकका कारण शीतघाम दुवैको आहार बन्न विवश थिए । तिनैको सहारा बन्ने सोच जागृत भयो र आफैँले राहत लिएको हप्तादिन नबित्दै आफैँ राहत बाँड्न अग्रसर भए उनी ।
० ० ०
दीन–दुःखीको सेवा त गर्ने तर कसरी ? माध्यम बनाए सामाजिक सञ्जाल । विक्रम् सम्वत् २०६१ सालबाटै फेसबुकको सुरूआत भए पनि अहिलेजस्तो चल्तीको थिएन । रेडियो नुनथरका स्टेसन म्यानेजर फणि महतले उनको अकाउन्ट बनाइदिए र उनी सामाजिक सञ्जालमा जोडिए ।
फेसबुकमा धेरै साथी थिएनन् । दश–आठजना साथीहरू जोडिएका थिए ।
रिक्सा चलाउँदै जाँदा चन्द्रनिगाहपुर, राजपेडाको मुसहर बस्तीमा आँखा पुग्यो उनको । दीन–हीन मुसहर भोकैनांगै आगो तापिरहेका थिए । तिनका बालबालिका जन्मजात नांगै थिए । बस्ती फोहोरको साम्राज्य प्रतीत हुन्थ्यो । गरिबी, अभाव ‘हिउँदे पाहुना’सरह थिए । र्यालसिँगान काढिरहेका बालबालिका । चिसोले कुँजिएका वयोवृद्धा । आङ होइन, मन पो ठिहिर्यायो । अतिशय पीडा भएपछि उनले आफूसँग भएको मोबाइलले फोटो खिचे । तत्कालै साइबर गएर फेसबुकमा हाल्दै सहयोगको हारगुहार गरे ।
दुई दिनसम्म दुईचारवटा लाइक–कमेन्ट बाहेक सहयोग संकलन भएको थिएन । तेस्रो दिन लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतमसँग उनको सम्पर्क भयो । उनले तत्कालै २८ सय थान कपडा पठाइदिए । त्यो कपडा लगेर राजपेडाका मुसहरको आङ ओताइदिए । दीन–हीन मुसहरहरूको ओठमा अपूर्व लाली छायो । त्यही खुसीले उनलाई समाजसेवातर्फ पत्तै नपाइ डोर्यायो । पीडाको मल्हम बनायो, आजसम्म ।
“मुसहर बस्तीमा न्यानो बाँडेको तस्बिर फेसबुकमा हालेँ । लाइक, कमेन्टमात्रै आएन । जापान बस्ने चन्द्रनिगाहपुरका नमप्रसाद चौलागाईंले एउटा नोकिया फोन उपलब्ध गराइदिनुभयो । त्यसैले फोटो खिचेर सामाजिक सञ्जालमा हालेपछि मनग्ये सहयोग जुट्न थाल्यो,” कृतज्ञ देखिए उनी ।
० ० ०
आफ्नो गाँस काटेर अरूको पेट भर्ने केदारसँग खुसीका मात्रै कथा छैनन् । पीडा उनको जहान बनेको छ । र उनी ठान्छन्– यसले चिहानसम्मै पछ्याइरहनेछ ।
विक्रम् सम्वत् २०६४ सालमा यस्तै अप्रिय घटना घट्यो । ०५४ सालमा विवाह गरेर अर्धाङ्गिनी बनाएकी उनकी धर्मपत्नीले बाटो बिराइन् ।
रिक्सा चलाउँथे । छोराछोरीलाई राम्रै स्कुल पढाएका थिए । समाजप्रति नै जिम्मेवार बनेका उनी घरपरिवारप्रति बफादार नहुने कुरै भएन । तर पत्नीले साँध जोडिएको मानिससँग सम्बन्ध गाँसिन् र दश वर्षे वैवाहिक जीवनमा पूर्णविराम लगाइदिइन् ।
श्रीमतीले दोस्रो पुरुषसँग सजिलै सम्बन्ध जोडेपनि उनको मनले सम्बन्ध तोड्न मानेन र नमानी सुख पनि थिएन । तामाका मुनाजस्ता दुई छोराछोरी थिए । तिनको भविष्य र मातृविहीनताले पिरोल्नुसम्म पिरोल्यो उनलाई ।
“रोप्यौ छुरी चलायौ हुरी
देख्यौ तिम्ले अर्कैको त्यो धुरी
जता हेर्यो त्यतै अँधेरो
निष्ठुरीलाई नेभेटौँ भने नि
एउटै पर्यो पानी पँधेरो !”
छाडेर जाने पत्नीको सम्झनामा तिनताका यो गीत रेडियोमा खुब गुनगुनाए उनले ।
“गीत नसुन्ने र कथा नजान्ने रौतहटका मानिस नै भएनन्,” हाँसौ कि नहाँसौं, दोमनमा परे उनी ।
उनको कथा यतिमै सकिँदैन ।
पत्नी वियोगको वह उनले रेडियोमार्फत पोखिरहन्थे । नियमित श्रोता बनिछन्, धादिङ, चरौँदीकी युवती ।
निजगढ दिदीको घर आएका बेला केदारको आवाज नियमित सुन्दिरहिछन् । पछि तिनै युवती उनको जीवनमा आइन् ।
त्यसको पनि रमाइलो किस्सा छ–
उनले चितवनका साथीलाई ‘भातसात पकाएर खुवाउने र दुई छोरीको हेरचाह गर्ने’ मानिस खोजिदिन आग्रह गरेका थिए । तर लमी बनेका साथीले केटी खोजिदिएवापत दश हजार दिनुपर्ने पो शर्त तेर्स्याए ।
चलाख ती साथीले धादिङकी तिनै युवतीसँग कुरा चलाइदिन लागेका रहेछन् । त्यो थाहा पाएपछि उनले ‘प्रहरीको खोरमा पुर्याइदिन्छु’ भनेर झाँको झारेपछि किनारा लागे लमी ।
पछि दुवै परिवारको सहमतिमा लगतगाँठो कसे उनले ।
“विवाह गरेकै दिन फेसबुकमा लेखेँ– दोस्रो घरबार जोडियो । बधाईको त बाढी नै आयो । चुनाव जितेको नेताले पनि त्यत्रो बधाई कहाँ पाउँछन् ?,” मच्चिएर हाँसे उनी ।
० ० ०
पछिल्लो समय उनी राहतमा मात्र सक्रिय छैनन् । बालबालिकाको शिक्षामा पनि केन्द्रित भएका छन् । शिक्षाको पहारिलो घामबाट बञ्चिन भएको विपन्न झुपडीको आलोक बनेका छन् । ०७३ मा उनले रौतहटका १० वटा विद्यालयका बालबालिकालाई कापी कलम बाँडे । ०७२ सालमा सिन्धुपाल्चोकका भूकम्पपीडित पाँच विद्यालयमा पाँच सय थान स्वेटर वितरण गरे । प्राकृतिक प्रकोपदेखि शीतलहरसम्म पूर्वी तराईमा सबैले सम्झन्छन्, “रिक्सा चालक केदार कता गए होला ? राहत वितरण गर्थे कि ?” आश गरिरहन्छन् निमुखा ।
रिक्सा चलाउँदै बस्तितिर आइपुगे भने केटाकेटी झुत्तिन्छन्, “केदार दाइ, आज राहत खोई ?”
रिक्साचालक मजदुर भए पनि मनदूर छैन उनको । आपद्विपद् परेका पल सबैभन्दा अघि पुग्नुपर्छ भन्ने सफेद सोचाइ छ । त्यसैले ग्राहकबाट पनि राम्रै सद्भाव पाइरहेका छन् । “रिक्सा चलाएर पनि समाजसेवा गरिरहेका छौ । यो पैसाले गरिबको आङ ढाकिदिनू, तिमी भएनौ भनेत तराईका पीडित भोकै, नाङ्गै मर्छन्,” अधिकांशले पैसा फिर्ता लिन मान्दैनन् । त्यो सहयोग जस्ताको जस्तै उनी पीडितकहाँ पुर्याइदिन्छन् । दुःखीको हाँसोबाट तृप्त भएर फर्कन्छन् ।
तराईका निर्वाचित मन्त्री, सांसद्का टोल छिमेकमासमेत उनले राहत पुर्याएका छन् । “त्यसबाट आउने प्रतिक्रियाले संसारकै आनन्द दिन्छ र सेवाका लागि तत्पर बनाउँछ,” उनको समाजसेवाको निहितार्थ यही हो ।
पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् । तर ती चलायमान छैनन् । “जनप्रतिनिधि छानिएको नौ महिना भयो तर नौवटा सिन्कोसमेत भाँच्न सकेका छैनन् । भएका साधन देऊ हामी मागेर बाँड्छौँ भन्दा पनि गाडीसमेत उपलब्ध गराउन सक्दैनन्,” रोष प्रकट गरे उनले ।
“मेरो गाउँमा लगेर बाँड्नू,” कति जनप्रतिनिधिले आदेशसमेत दिएको कटू अनुभव छ उनीसँग ।
“यहाँको शीतलहरले मात्र होइन, नेतादेखि राज्यसत्ताको वेवास्ताले पनि धेरै मानिस मर्छन् । यो प्रदेश र त्यो प्रदेश चाहियो भनेर आन्दोलन उठ्छ तर गरिब दुःखीलाई कपडा खाद्यान्न चाहियो भनेर कतै आवाज उठ्दैन । मानिसहरू मरिरहन्छन्, सरकार मूकदर्शक बनिरहन्छ,” पीडा ओकल्छन् उनी ।
“समाजसेवाका लागि धनकै जरुरी पर्दैन सफा मन हुने हो भने लाखौँ हातहरू देशविदेशबाट जुट्छन् । राज्य छ भनेर चुप लाग्ने हो भने हामी दिनहुँ मलामी जानमात्रै बाध्य हुन्छौँ,” यति भनेर कुराकानी टुङ्ग्याए उनले ।