काठमाडौं । प्रदेश नम्बर ५ र ७ को मुकामको विषयमा विवाद देखिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।
प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा सत्तारुढ दलकै नेताबीच नै कुरा नमिलेका कारण बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ ।
यसअघि अपरान्ह साढे ४ बजेका लागि बैठक बोलाइएको अहिले स्थगित गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले जानकारी दिए ।
प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्तिका विषयमा आज बिहान बालुवाटारमा भएको कांग्रेसको आन्तरिक बैठकमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ को अस्थायी मुकामका विषयमा कुरा नमिलेको स्रोतले जनाएको छ ।
प्रदेश नम्बर ७ को राजधानी दिपायललाई तोक्नुपर्ने माग अघि सारेर डोटीका जनता आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढीलाई अस्थायी मुकाम तोक्ने मनशायमा रहेका छन् ।
बैठकमा कांग्रेस नेता रमेश लेखकले कञ्चनपुरको महेन्द्रनगरलाई राजधानी तोकिनुपर्ने प्रस्ताव राखेपछि अस्थायी मुकाम तोक्ने विषयमा थप अन्योलता सिर्जना भएको स्रोतको भनाई छ ।
नेता लेखक ७ नम्बर प्रदेशका लागि धनगढीभन्दा महेन्द्रनगर अस्थायी मुकाम उपयुक्त हुने दाबी गर्दै आएका छन् । तर उनले दिपायललाई राजधानी तोक्दा आफ्नो कुनै असहमति नरहने बाह्रखरीलाई प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री देउवालाई उनकी पत्नी डा. आरजु राणा देउवाले धनगढीलाई नै अस्थायी मुकाम तोक्नुपर्ने दबाब दिएको कांग्रेस स्रोतको भनाई छ ।
५ नम्बर प्रदेशको अस्थायी मुकाममा पनि सहमति जुट्न सकेको छैन । प्रदेश नम्बर ५ को राजधानी रुपन्देही तोक्न माग गर्दै कांग्रेसका सांसदहरुले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालार्ई निर्णय लिन असहज भएको सचिवालय स्रोतले जानकारी दियो ।
प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देही नै तोक्नुपर्ने माग गर्दै कांग्रेसबाट नेतृत्वमा पुगेका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले बिहान प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले प्रशस्त आधार तथा पूर्वाधारहरु रहेकाले रुपन्देहीलाई अस्थायी मुकाम तोक्नुपर्ने माग गरेका छन् ।