काठमाडौं । साविक विजेता नेपाल आर्मी र उपविजेता सुदूरपश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै आ–आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
आर्मी समूह ‘ए’ र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ को विजेता बन्न सफल भए । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा जारी प्रतियोगितामा आर्मीले मध्यपश्चिमाञ्चललाई ४–० गोलले पराजित गर्यो । आर्मीको जितमा देवसिंह धामी र दीपेन्द्र ऐरले समान २–२ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० गोलले पराजित गर्न सफल भयो । सुदूरपश्चिमाञ्चलका लागि दीपकराज जोशी र राजेश विष्टले गोल गरे ।
यता, महिलातर्फको राउन्ड रोविन लिगमा साविक उपविजेता आर्मी र पश्चिमाञ्चल विजयी भए । आर्मीले पूर्वाञ्चललाई ६–० गोलले पराजित ग¥यो । आर्मीकी सीतामाया बलले ४ तथा पिंकी सिन्जाली र टंकमाया खपाङ्गीले १–१ गोल गरे । लगातार दोस्रो जितसंगै आर्मी ६ अंकसाथ शीर्ष स्थानमा छ ।
अर्को खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १–० ले पराजित गर्यो । मधुकुमारी सराफले निर्णायक गोल गरिन् । डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चलको यो लगातार दोस्रो हार हो । पहिलो दिन सोमबार सुदूरपश्चिमाञ्चललाई आर्मीले हराएको थियो ।