दाङ । नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित गर्यो ।
विभागीय टिम एपीएफलाई जित दिलाउन अमृत अधिकारी गोल गरे । उनले गरेको गोल गनै निर्णायक बन्यो । खेलको ११ औं मिनेटमा उनले गोल गर्दै एपीएफ क्लबलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको एपीएफले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हराएको छ । थिलिप तामाङले ८७ औं मिनेटमा गोल गरे । विजेता दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र नेपाल प्रहरी तथा घोराहीमा पूर्वाञ्चल र नेपाल आर्मीबीच खेल हुनेछ ।
दाङमा ३३ वर्ष पछि राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्र्तगत तुलसीपुरमा ३ वटा र घोराहीमा ५ वटा खेलहरू हुनेछन । २०४४ सालमा दाङमा महिला राष्ट्रिय फुटबल प्रतियोगिता भएपनि त्यसयता कुनैपनि राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन ।
पाँच विकास क्षेत्रबाट एक/एक टोली र तीन वटा विभागीय टोली गरि कूल आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।