दाङ । प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज बिहीबार पनि दाङ बन्द छ । जिल्लामा आज पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
यसका साथै आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं. प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउनेलगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताए ।
राजधानी माग गर्दै मंगलबारदेखि भएको दाङ बन्द र आमहड्तालका कारण जनजीवन प्रभावित बन्दै गएको छ । यसैबीच दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ । अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समितिले गरेको छ ।