site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मूल्यका पक्षपाती
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


आईए पढ्ने बेला पहिलोपटक रेडियो नेपाल पुग्दा लामो लाइन बसेर सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियो हेर्न गएपछि श्रीरामलाई लागेको थियो– यहाँ सिसा र कुटले बेरेको कोठा (स्टुडियो)मा बोलेको कुरा स्याङ्जामा कसरी सुनिएको होला ?

पत्रकारिता पढ्दै गरे पनि रेडियो तरंगबारे उनको कलिलो दिमागले थाहा पाइसकेको थिएन । बरु एउटा लाहुरेको किस्सा दिमागमा ताजा थियो । जापानी कम्पनी पानासोनिक रेडियोले आँधीखोलामा ‘यो रेडियो नेपाल हो’ भनेपछि ‘नेपाली रेडियो पो परेछ’ भन्दै त्यहीँ फुटाएको किस्सा सुन्दा उनमा पनि धेरथोर त्यस्तै अवधारणा बनेको थियो । कालान्तरमा उनै श्रीराम रेडियोका अभिन्न अंग बने ।

Agni Group

० ० ०

प्रसारण माध्यममा रेडियो नेपालको एकछत्र वर्चस्व थियो । समाचार सुन्न रेडियो नेपालको विकल्प थिएन । प्रत्यक्ष (लाइभ) समाचार पढ्न त ‘महाभारत नै होला’ जस्तो लागेर कान्तिपुर एफएमले एउटा फम्र्याट बसाल्ने निर्णय गर्‍यो । ‘कान्तिपुर डायरी’मा एउटा समाचार पढिसकेर अर्को समाचार सुरू गर्नुअघि ‘ब्रिज ट्युन’ बजाउने । समाचारको बीचमा ४ सेकेन्ड लामो र फरक बिटको समाचार सुरू गर्नुअघि ११ सेकेन्ड लामो जिंगल बजाउने तय भयो ।

Global Ime bank

रेडियो नेपालले बिना ‘ब्रिज’ समाचार पढ्थ्यो । कान्तिपुर एफएममा चाहिँ किन चाहियो ?

अधिकांश पत्रकार रेडियोका लागि नयाँ थिए । समाचार पढेको अनुभव थिएन । त्यसैले पढ्दापढ्दै खोकी लाग्यो भने के गर्ने ? विकल्पमा ‘ब्रिज ट्युन’ आयो ।

“अहिले सुन्दा पत्यार नलाग्न सक्छ तर हामीले अप्ठ्यारो पर्‍यो भने खोक्नलाई बनाएका थियौं त्यो ब्रिज म्युजिक,” श्रीराम हाँस्दै भन्छन्, “समाचारमा गीत सुनाउने भनेर धेरैले त्योबेला खिसी गरे तर अहिले ब्रिज म्युजिकबिना समाचार बजाउन छोडियो । यो ट्रेन्ड नै सेट भयो ।”

० ० ०

रेडियो तरंगको दुनियाँमा रुचाइएको नाम हो, श्रीराम पौडेल । गहकिलो आवाज, त्यसमाथि अनौपचारिक शैली धेरैले रुचाए । तर, यो आवाजले रेडियो तरंगमा आउनुअघि निकै पापड बेल्नुपर्‍यो । रेडियोमा बोल्ने व्यक्ति सीमित थिए । उनीहरू सेलिब्रिटीसरह मानिन्थे । शायद त्यही चार्म र गुणस्तरीय आवाजको खोजीका कारण हुनुपर्छ– सुरुको ६ महिना नयाँलाई रेडियोमा बोल्न अनुमति नदिने नियम कान्तिपुरले बसालेको थियो ।

रेडियोमा काम गर्ने मान्छे, स्वर भने कहिल्यै नसुनिने ! एफएममा काम गर्छु भनेर सुनाउन पनि लाज लाग्ने । कसरी ‘अनएयर’ हुने ? बाटो खोजिरहेका थिए श्रीराम ।

जहाँ इच्छा, त्यहाँ उपाय । साथीहरूसँग मन मिल्यो, उनीहरूले साथ दिए । समाचार बुलेटिन पढ्ने साथी नियतवश आइपुगेनन् । समाचार सुरु हुन २० सेकेन्डमात्र काँकी थियो । श्रीरामलाई पढ्न पठाउनुको विकल्प भएन ।  उनी छिरे स्टुडियो । पढे पहिलो समाचार बुलेटिन । 

स्वरमा दाग लगाउने ठाउँ भेटिएन । शैली मौलिक थियो । आवाजमा दम थियो । त्यही दिनदेखि उनी समाचार वाचकमा पनि परिणत भए– रिपोर्टरबाट । नेपाली रेडियो तरंगमा अर्को नयाँ आवाज थपियो । असोजबाट काम सुरु गरेका श्रीरामले मंसिरमै समाचार पढ्न सुरु गरे । ६ महिने परीक्षणकाल सकिँदासम्म त फ्यानहरूले उनलाई पछ्याउन पो थालिसकेका थिए ।

“त्यो पहिलो समाचार बुलेटिन पढेर स्टुडियोबाट बाहिरिँदा चिच्याउन मन लागेको थियो,” पहिलोपटक बोलेको सम्झना साट्दा पनि उनको मुहारमा खुसीका रंगहरू झल्किरहेका थिए ।

० ० ०

०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राति नै श्रीराम एफएम पुगे । तत्कालीन राजा वीरेन्द्रसहित उनको पूरै परिवार मारिएको कुरा प्रायः सबैजसोलाई थाहा भयो । तर, यसबारे आधिकारिक रूपमा कोही पनि बोल्न मानेनन् । बीबीसीले भने बिहान साढे ४ बजे ‘ब्रेक’ गर्‍यो ।

बिहान साढे ६ बजेको समाचार बुलेटिन थियो । सरकारी अधिकारीहरूसँग कुरा गर्दा सबैले ‘हो’ भन्ने तर आधिकारिक रूपमा पुष्टि गर्न कोही पनि नमान्ने ।

समाचार कक्षले समाचार तयार गर्‍यो । समाचारको सार यस्तो थियो, गएको मध्यराति दरबारमा अनपेक्षित घटना घटेको छ । घटनामा बडामहाराजसहित सबै परिवारको दुखद अन्त्य भएको अपुष्ट समाचार छ । ... ।

समाचार लिएर श्रीराम स्टुडियो छिर्न खोज्दै थिए । स्टेसन म्यानेजर शरदराज गौतमले दरबारको समाचार हातबाट झ्वाट्ट खोसेर ‘बाँकी समाचार मात्रै पढ्नू’ भने ।

दरबार हत्याकाण्डको समाचार रेडियो नेपाल, नेपाल टेलिभिजनले नदिएपछि जनतामा भुसको आगो सल्किएको थियो । सञ्चारमाध्यम सुन्दा लाग्थ्यो– कसैले थाहै पाएका छैनन् र दरबारमा केही भएकै छैन । यो अन्योल चिर्नुपर्छ भन्ने सोचले तयार पारेको समाचार गौतमले खोसिदिएपछि श्रीराम अमिलो मन लिएर स्टुडियो छिरे । ‘मुड अन’ गर्नै सकेनन् । आधा घण्टा लामो समाचार बुलेटिन ११ मिनेटमा सकेर उनी समाचार कक्ष फर्किए ।

स्टेसन म्यानेजरसँग उनले समाचार खोस्नुको कारण खोज्दै बहस गरे । पत्रकारिता पढिरहेका श्रीरामले सिद्धान्तको कुरा गरे । तर, न सिद्धान्त, न उत्तरदायित्व, न जनताको सूचनाको हक !

उनले जवाफ पाए, “यो समाचार पढेको भए रेडियोको लाइसेन्स खोसिन सक्थ्यो ।” सञ्चारमन्त्री र सञ्चार सचिवबाटै ‘उक्त जानकारी दिन हतार नगर्नू’ भन्ने ‘आदेश’ आएको थियो ।

श्रीरामले आरआरमा पढेको पत्रकारिताको सिद्धान्त मन्त्री र सचिवको एक कल फोनले कतै थिचियो ।

नेपालमा रेडियोको इतिहास त्यति लामो छैन । त्यसमा पनि एफएम रेडियोको त झनै छोटो । अप्ठ्यारो परिस्थितिमा के गर्ने ? कसैलाई पत्तो थिएन । 

राष्ट्रप्रमुखको हत्या भयो । जनता खबर सुन्न आतुर छन् । सूचना सम्प्रेषणको ठेक्का लिएर बसेकाहरू मौन छन् । निजीलाई अधिकार छैन । जनताप्रतिको बफादारिता देखाउँदै सूचना सम्प्रेषण लाइसन्स नै खारेज गरिदिने चेतावनी थियो । कान्तिपुर एफएम पनि चुपचाप बसिरह्यो ।

२० गते बिहान साढे ६ बजेको समाचार पढेपछि ७ बजे रेडियो नेपालको समाचार ‘हुक’ गर्नुपथ्र्यो । दिनेश डीसीले ‘अब यहाँहरूको ध्यानाकर्षण राष्ट्रिय प्रसारणअन्तर्गत रेडियो नेपालको समाचारतर्फ गराउन चाहन्छौं’ भनेर रेडियो नेपाल ‘हुक’ गर्दा त्यहाँ समाचार होइन, शोकधून पो बजिरहेको थियो ।

त्यो शोकधूनले राजाको मृत्यु भयो भन्ने सन्देश पहिलोपटक दिएको थियो । केही समय शोकधून बजेपछि भाषा र स्वर दुवैमा ‘कमान्ड’ भएका जनार्दन शर्मा स्टुडियो छिरे । र, दरबारमा भएको घटनाबारे तौलीतौली बोले ।

त्यही बेला श्रीरामले बीबीसीमा समेत काम गरिसकेका पत्रकार ध्रुवहरि अधिकारीलाई सोधे, “यस्तो अवस्थामा एफएमहरूले के गर्न सक्छन् ?”

उनीसँग पनि ठोस जवाफ थिएन । स्वस्तिवाचन तथा पुराणका दुःखद घटना सुनाउँदा राम्रो हुने सुझाए । रेडियोहरूका लागि यो नयाँ र फरक घटना थियो । तीन दिन शोकधून र ७ दिन ‘सफ्ट म्युजिक’ बजाए ।

राजपरिषद् स्थायी समितिले दिएको राजपरिवार हत्यासम्बन्धी सूचना पनि रेडियो नेपालले भन्दा कान्तिपुरले २० सेकेन्ड पहिले दियो । सञ्चार सेट बोकेर बैठकको निर्णय कुरेर बसेका पत्रकारले त्यहीँबाट सूचना दिएका कारण कान्तिपुर रेडियो नेपालभन्दा छिटो भएको थियो । त्यो सूचना रेडियोबाट आमस्रोतालाई बाँड्ने पनि श्रीराम नै थिए ।

० ० ०

श्रीरामको आवाज लोकप्रिय हुँदै थियो । स्टुडियोबाट बाहिर निस्किँदा फ्यानहरूको फोन आइरहेको हुन्थ्यो । कतिलाई रेस्पोन्स गर्ने ? उनलाई भ्याइनभ्याइ हुन्थ्यो । “मसँग चिनाइदिन्छु भनेर जनकपुरका एकजना अपरिचित व्यक्तिले मेरा एक फ्यानलाई ठगेको सम्म थाहा पाएँ,” उनी सुनाउँछन् ।

स्वर परिस्कृत हुँदै थियो, अनुभव बढ्दै थियो । स्रोताको मायाले कामप्रतिको लगाव बढाउँदै थियो । उनलाई व्यवस्थापनले पत्याउँदै गयो । जिम्मेवारी थपिँदै गयो । समाचारमा मात्रै होइन, उनले ‘टक शो’ पनि गर्नुपर्ने भयो ।

विजयकुमार पाण्डेले ‘प्राइमटाइम विजयकुमारसँग’ नामक कार्यक्रम चलाउँथे । फरक–फरक विषयका व्यक्तिसँग गफ गरिने उक्त कार्यक्रमको पहिलो शृंखला थियो– पेमालाका सम्झना ।

विजयकुमारले ६ महिनापछि कान्तिपुर एफएमलाई बिदाइको हात हल्याए । ‘ब्रान्ड’ नाम उनले आफैंसँग लिएर गए । कार्यक्रमको नाम विजयकुमारसँगै गए पनि समय भने खाली भयो ।

के गर्ने ? 

नयाँ कार्यक्रम गर्ने । नाम राखे ‘न्युज हक’ । यो ‘टक शो’ श्रीराम र प्रवीण अधिकारी भएर चलाउन थाले । त्यो पहिलो प्रायोजित ‘टक शो’ थियो । 

० ० ०

वीरेन्द्रपछिका राजा ज्ञानेन्द्र महत्वाकांक्षी भए । शासन व्यवस्था आफ्नै हातमा लिए । मन्त्रिपरिषदको अध्यक्ष भए । जनताको सूचना पाउने हक निमोठे । कानुनतः एफएम रेडियोले समाचार प्रसारण गर्न पाउँदैनथे । त्यही कानुनी व्यवस्थालाई छल्न एफएमहरूले समाचार बुलेटिनलाई विभिन्न नामाकरण गरेका थिए । त्यसमा पनि ज्ञानेन्द्रले कर्के आँखा लगाए । एफएमहरूले समाचार दिन नपाउने नै अवस्था आयो ।

०६१ माघ १९ को शाही घोषणाले रेडियोहरू अन्योलमा परे । समाचार दिने कि नदिने ? आन्तरिक तथा सञ्चार मालिकहरूबीच बहस सुरु भयो ।

निष्कर्ष निस्कियो– रेडियो नै नरहे के समाचार ?

मालिकहरू संस्था जोगाउनतर्फ लागे ।

कान्तिपुर एफएमले माघ २३ गते दिउसो ३ बजेको समाचार पढ्दै त्यसलाई अन्तिम समाचार बुलेटिन बनायो । त्यो अन्तिम बुलेटिन पनि श्रीरामले पढेका थिए । जनता सूचनाको अधिकारबाट बञ्चित हुँदै थिए । त्यसको साक्षी श्रीराम आफैं बसिरहेका थिए ।

एफएमबाट समाचार हटाउनु पर्‍यो । हट्यो । श्रीराम कान्तिपुर टेलिभिजन पुगे । प्रोड्युसरको रूपमा काम गरे ।

० ० ०

निजी सञ्चारमाध्यमको जागिर, कहिले कता, कहिले कता ! पत्रकारहरू धेरै सञ्चार संस्था चहारिरहन्छन् । श्रीराम अपवाद होइनन् । उनले पनि थुप्रै सञ्चारमाध्यमका समाचार कक्ष चहारे । कतै संवाददाता, कतै सम्पादक भए । पद फरक थियो, जिम्मेवारी फरक थियो । तर, खेती समाचारकै थियो । खोज्नु सूचना नै थियो । सम्प्रेषण ‘अडियन्स’सामु नै गर्नु थियो । फरक यतिमात्रै थियो– कतै पाठक हुन्थे, कतै स्रोता त कतै दर्शक ।

उनी ‘इमेज ग्रुप अफ कम्पनी’ पनि पुगे । त्यहाँ रेडियो र टेलिभिजन दुवैका लागि काम गर्नुपथ्र्यो । शान्ति–प्रक्रिया चलिरहेको समय थियो । एकदिन बिहान ८ बजे बालुवाटारमा दलका शीर्ष नेताहरूको बैठक थियो । उनी साढे ७ बजे बालुवाटार पुगे ।

शीर्ष नेताहरू बैठकमा बसिसकेका थिए । बाहिर रहेका पत्रकारलाई केही पनि सूचना दिएका थिएनन् । टेलिभिनबाट फोन आयो । कन्ट्रोल रुमका टेक्निसियनले ‘लाइभ’मा बस्न भने । उनको फोन स्टुडियोसँग जोडियो । श्रीरामलाई न्युज एंकरले सोधिन्, “बैठकस्थलमा हुनुहुन्छ, के छ अहिलेको अवस्था ?”

विषयवस्तुप्रतिको गाम्भीर्यता नबुझी प्रश्न गरेको उनले थाहा पाए र भने, “बैठकका बारेमा सोध्न खोज्नुभएको हो भने तपाईंले पढ्नुभएको न्युज इन्ट्रोमा आएबाहेक दर्शकलाई दिने थप जानकारी छैन । नेताहरू बाहिर निस्किएका छैनन् । भित्रबाट पत्रकारको सम्पर्कमा पनि आएका छैनन् । बालुवाटारको वस्तुस्थिति सोध्नुभएको हो भने यहाँ अग्लाअग्ला रुख छन् । रुखमा चराहरू उडिरहेका छन् । बिहानको मौसम रमाइलो नै छ । पत्रकार साथीहरू चिया खाएर गफिरहनुभएको छ ।”

समाचार उत्पादन गर्ने व्यक्ति होस् या सम्प्रेषण गर्ने एंकर– विषयस्तुप्रति जानकार भएनन् भने त्यो सूचना सही रूपमा सम्प्रेषण हुँदैन । श्रीराम भन्छन्, “पत्रकारलाई पत्रकारिताको ज्ञान पनि हुनुपर्छ, सँगै अध्ययनशीलता पनि हुनुपर्छ । अनि मात्रै पूर्ण पत्रकार भइन्छ । सम्प्रेषण गर्न खोजेको सूचना सही तरिकाले अडियन्ससम्म पुग्छ । हैन भने त्यो रहरमात्रै हो, अडियन्सलाई धोका हो ।”

० ० ० 

पत्रकारिताको भाषामा ‘हार्ड न्युज’ लेख्ने र भन्ने निश्चित शैली हुन्छ । यसमा केही औपचारिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । तर, श्रीराम सधैं निश्चित ‘फम्र्याट’मा बस्न रुचाएनन् । उनी कहिलेकाहीँ अनौपचारिक पनि भइदिए/भइदिन्छन् । धेरैले उनको त्यही शैलीलाई रुचाए । उनी अन्तर्वार्ता सुरु गर्दा सधैं सीधै विषयवस्तुमा छिर्दैनन् । अन्तर्वार्ता दिने व्यक्तिलाई सहज बनाउन र आफ्ना स्रोता तथा दर्शकलाई फरक ‘टेस्ट’ दिन मौसमी गफबाट सुरू गर्छन् ।

“चिया खानुभयो ? सञ्चै हुनुहुन्छ ? कत्तिको जाडो या गर्मी छ ?” अक्सर यस्ता प्रश्न र संवाद कार्यक्रम मनोरञ्जनात्मक कार्यक्रममा गरिए पनि समाचार र अन्र्वार्तामा गरिँदैन । तर, उनी यसै गर्छन् ।

व्यक्ति उही तर फरक–फरक अनुभव । विषय उही तर भिन्न–भिन्न शैली । कति श्रीरामको तजबिजीले भए, कति समयको उपज ।

उनी फेरि एकपटक कान्तिपुर एफएमतिरै फर्किए । प्रसंग ‘न्युज हक’ सँग जोडिएको थियो । लाइभ अन्तर्वार्ता थियो । अघिल्लो दिन नै अतिथि तय गरिएका थिए । तर, उनले धोका थिए, मोबाइल अफ भयो ।

आपत ! तर, बेला–बेला भोगिरहेको । सम्बन्धित व्यक्ति को हुन सक्छ ?

राजेन्द्र खेतान ! फोन लगाए । उनी बोल्न त तयार भए तर सिमरा जाँदै थिए । घरबाट निस्किन लागेका राजेन्द्रले ‘एयरपोर्टसम्म पुगुन्जेल बोल्छु’ भने ।

श्रीरामले पूर्वनिर्धारित अतिथिले धोका दिएको स्रोतालाई जानकारी दिए । नयाँ अतिथि एयरपोर्ट जाँदै गरेको पनि भनिदिए । खेतान विमान नउडुन्जेल बोले ।

श्रीरामले कार्यक्रममा व्यावसायिक विश्राम लिए । दुइटा विश्राम लिँदा खेतान सिमरा पुगिसकेका थिए । उनले मोबाइलमा म्यासेज गरे, “विमान सिमरा अवतरण भइसक्यो । थप बोल्नुपर्छ भने म तयार छु ।”

फेरि श्रीरामले खेतान सिमरा विमानस्थलमा अवतरण भइसकेको र आफ्नो सम्पर्कमा आइसकेको जानकारी दिँदै उनीसँगको अन्तार्वार्तालाई निरन्तरता दिए ।

० ० ०

लामो समयको क्रियाशीलता, लामै अनुभव । श्रीरामसँग थुप्रै घटना जोडिएका छन् । केही तीता, केही मीठा सम्झना साँचेका छन् ।

भुटानी शरणार्थी झापाबाट पुल्चोक आएर संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि आएर धर्ना दिइरहेका थिए । उनले आफ्नो कार्यक्रमका लागि बेलडाँगी शिविरको क्याम्प नम्बर ३ र ४ बाट दुई प्रतिनिधि बोलाए– एक महिला र एक पुरुष । परराष्ट्रविद्का रुपमा स्टुडियोमा थिए, हिरण्यलाल श्रेष्ठ ।

श्रीरामले सोधे, “कस्तो अवस्थामा भुटान छोड्नु परेको थियो ?”

शरणार्थी महिला जवाफ दिँदादिँदै डाँको छोडेर रुन थालिन् । उनको अवस्थाबारे जानकारी दिँदै श्रीरामले माइकको भोलुम कम गरेर अर्का पुरुष शरणार्थीलाई सोधे । उनी आफू शिक्षक रहेकै अवस्थामा भुटान छोड्नु परेको भन्दाभन्दै गला अवरुद्ध भयो । श्रीराम हिरण्यलालतर्फ फर्किए । उनले जवाफ दिइसक्दा पनि महिला रोइरहेकी थिइन् । उनलाई सम्हालिन केही समय कार्यक्रम रोकेर फेरि सुरु गरेको श्रीरामको स्मृतिमा ताजै छ ।

बाल्य, किशोर र युवाकाल

बुवा शिक्षक थिए । परिवारको नाक राख्नै भए पनि पढ्नैपर्ने थियो । श्रीरामका तीन दाजुभाइ छन् । उनीहरू तीनै जनालाई करिअरको भागबन्डा लागेको थियो । जेठालाई डक्टर, माहिला श्रीरामलाई इन्जिनियर र कान्छालाई पाइलट परेको थियो ।

जेठा डक्टर त भए तर विद्यावारिधी । श्रीरामले इन्जिनियरिङ पढ्न थापाथलीमा ‘इन्ट्रान्स’ दिन खोजेका थिए । तर, उनी स्याङ्जाबाट इन्जिनियर बन्ने सपनाको छड्के झोला भिरेर काठमाडौं छिर्दा समय छड्किसकेको थियो ।

परिस्थितिले आरआर कलेज पुर्‍यायो । पत्रकारिता, राजनीतिशास्त्र र अंग्रेजी लिएर पढ्नुपर्ने भयो । सुरू गरे । बीएमा अंग्रेजी छाडे ।

श्रीराम नेपालमा पत्रकारिताको स्नातकोत्तर सक्ने पहिलो ब्याच (०५९) हुन् । स्नातकोत्तरको पहिलो वर्ष क्लास टप गरेका उनी पढाइ सकिँदा समग्रमा तेस्रो भए । पहिलो जगत नेपाल, दोस्रो सुरेन्द्र पोखरेल । तीन जना मात्रै थिए– प्रथम श्रेणीमा उत्तीर्ण हुने ।

उनले बीएल पनि गरे । राजाको प्रत्यक्ष शासनकालमा समाचार प्रतिबन्ध भएपछि उनलाई वकालती पेशा थालौं कि जस्तो लागेको थियो । उनी हाँस्दै भन्छन्, “ननप्रोफेसनल वकिल पनि हुँ । यसका लागि लाइसेन्स पनि लिएको छु ।”

पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी अहिले ‘सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनको अवस्था’ विषयमा पीएचडी गर्दैछन् । 

पत्रकारिताको रस

बीए पढ्दै थिए । जागिर खोज्नुपर्ने भयो । गाउँकै दाइ पर्ने तरुण पौडेलले धनञ्जय शर्मा सम्पादक रहेको ‘नेपाल जागरण’ साप्ताहिकमा कामका लागि भनिदिए । श्रीराम पहिलोपटक पत्रिकाको कार्यालयमा कारिन्दाका रूपमा प्रवेश गरे । एक वर्ष इन्टर्न गरेपछि उनलाई त्यसमा बस्न मन लागेन ।

गणेशवल्लभ प्रधानले सम्पादन गर्ने ‘जन्मभूमि’मा पुगे । त्यहाँ दुई वर्ष (०५३—०५५) काम गर्दा श्रीरामले धेरै कुरा सिके । पत्रिकाको पेज भर्नमात्रै नभएर आफ्ना लागि पनि स्टोरी गरे । त्यहाँ उनले वातावरण प्रदूषण, नाङ्लो पसले, सडक पूर्वाधारलगायतका फिचर लेखे । हप्तामा एउटा बाइलाइन स्टोरी छाप्थे । उनले काठमाडौंमा पीएल सिंह मेयर हुँदा नगरका सबै वडाध्यक्षसँग अन्तार्वार्ता लिएका थिए ।

‘जन्मभूमि’मा काम गर्दागर्दै उनलाई प्रकाश रिमाल (हाल ‘दि हिमालयन टाइम्स’का सम्पादक)ले कान्तिपुर एफएममा बोलाए । रेडियोको ‘ग्ल्यामर’ सम्झिए । नाइ भन्ने कारण थिएन । श्रीरामले ०५५ असोज २ गते जुनियर रिपोर्टरका रूपमा नियुक्तिपत्र लिए र रेडियो यात्रा सुरू भयो ।

राजाले शासन हत्याएपछि उनले दुई वर्ष ‘कान्तिपुर टेलिभिजन’मा प्रोड्युसरको रूपमा काम गरे । त्यसपछि भने उनी ‘इमेज च्यानल’ पुगे । ‘इमेज’बाट दुई वर्ष स्रोता तथा दर्शक माझ पुगेका उनका गोडा ‘अनमिन’तर्फ सोझिए । ‘अनमिन’मा ‘सिभिल अफेयर अफिसर्स’को रूपमा ६ महिना काम गरेका श्रीराम त्यसपछि भने ‘सगरमाथा टेलिभिजन’को समाचार कक्षमा पुगे । ‘सगरमाथा’मा पनि उनको बसाइ ६ महिनाभन्दा लामो हुन सकेन । त्यसपछि उनको यात्रा १८ महिनाका लागि एनजीओतर्फ लाग्यो ।

समयको चक्रसँगै उनी पनि घुमिरहे । ०६७ मा श्रीराम बीएफबीएस रेडियो पुगे । भूतपूर्व गोर्खा सैनिकलक्षित उक्त रेडियोमा सेवा–सुविधा राम्रो थियो, पारिश्रमिक चित्त बुझ्दो थियो । तर, उनलाई मूलधारको पत्रकारिताबाट पाखा लागेको महसुस हुन थाल्यो । अन्ततः ७ वर्ष लामो सहकार्य तोडर उनी नागरिक रेडियोमा सम्पादकका रूपमा आइपुगे । ०७४ वैशाख ११ बाट नागरिक रेडियोको सम्पादक रहेका श्रीरामलाई कात्तिक ६ बाट ‘नागरिकन्युज डटकम’ र ‘माइरिपब्लिका डटकम’को सम्पादकको जिम्मेवारी दिइयो ।

अहिलेसम्म उनले ५ हजारभन्दा धेरै व्यक्तिसँग अन्तर्वार्ता लिए । त्यसलाई पुष्टि गर्न उनले अन्तर्वार्ता लिएका अतिथिको नाम, कुरा गरेको मिति र विषय कम्युटरमा फाइल खोलेरै देखाए ।

कान्तिपुरको ‘न्युज हक’मा ६ वर्ष काम गर्दा ३ सय अंक चलाए । बीएफबीएमा ‘मिसन संविधान’ २४३ अंक र इमेलमा गरी ५ सय अतिथि नदोहोरिएको उनी पुष्टि गर्छन् ।

पत्रकारितासँगै उनी प्राध्यापनमा पनि सक्रिय छन् । स्नातकोत्तर पढ्दैदेखि ०६० बाट आरआरमा पत्रकारिता पढाउन सुरु गरका श्रीराम ०६५ बाट करारमा र ०७३ बाट स्थायी भएर पत्रकारिताको केन्द्रीय विभाग, आरआरमा पढाइरहेका छन् ।

अहिलेको पत्रकारिता

श्रीराम पी खरेलका विद्यार्थी हुन् । आरआर पढेका र पढाउँदै गरेका । बोल्न धक मान्दैनन्, पी खरेलजस्तै । सञ्चारमा सफा लगानी छैन । आफ्नो अर्को व्यवसायमा सहयोग होस् भन्ने ध्येयले सञ्चारमाध्यममा ‘साइनो न सम्बन्ध’ भएका व्यक्तिले लगानी गरेको उनको बुझाइ छ । संख्या बढ्यो, राम्रै भयो । पहुँच फराकिलो हुँदै गयो, राम्रै भयो । लगानी थपिँदै गयो, रोजगारी सिर्जना भयो, त्यो पनि राम्रै भयो । तर, उनी प्रश्न गर्छन्, “गुणस्तर बढ्यो ?”

जवाफ उनी आफैंसँग छ– बढेन । 

सञ्चारमाध्यममा लगानी बढाउनेले सामग्री उत्पादनमा किन लगानी बढाउँदैनन् ? यसको जवाफ पनि उनी आफैं दिन्छन्, “मिडियासँग ‘साइनो न सम्बन्ध’ नभएका व्यक्तिलाई के मतलव मिडियोको ‘कन्टेन्ट’सँग ? के मतलब ‘अडियन्स’को चाहना र मागसँग ?”

प्रविधि भित्रियो, प्रयोग भयो, पहुँच बढ्यो । त्यसले पत्रकारितालाई सहज बनायो । नागरिक पत्रकारिता सुरु भयो । तर, त्यसको सही प्रयोग हुन सकेन जस्तो लाग्छ श्रीरामलाई । उनी भन्छन्, “काठमाडौंका रेडियोले तयार पारेको जेब्राक्रससम्बन्धी कार्यक्रम सडकै नभएको कर्णालीको कुनै गाउँको रेडियोले बजाइरहेको छ, त्यसको के औचित्य ?”

मिडियामा लगानी गलत व्यक्तिको हातमा गएको उनको विश्लेषण छ । एउटै व्यक्ति र संस्थाका नाममा धेरै मिडिया हुँदा प्रयोग हुने सम्भावना रहेको उनी औंल्याउछन् । मिडियाले आफूअनुकूल जनमत बनाएर दुरुपयोग गर्न नहुनेमा उनको जोड छ । सञ्चारमाध्यम जनताको सम्पत्ति हो र यो व्यवसाय सेवामूलक हो भन्ने नबुझेका व्यक्तिको हातमा मिडियाको लगाम पुगेपछि पत्रकारिता जनताका लागि नहुने उनी बताउँछन् । मिडियामा वैदेशिक लगानी ठीक कि बेठीक ? उनी प्रश्न गर्छन् । 

“राज्यले आफैं लगानी गरेर आफैंलाई गाली गर्न लगाइरहेको छ,” श्रीराम भन्छन्, “अन्त यस्तो कहीँ हुँदैन । यहाँ लोककल्याणकारी विज्ञापनका नाममा सरकारबाट पाउने विज्ञापनको पैसाले चलेका अधिकांश साप्ताहिकहरू राज्यलाई गाली गरिरहेका छन् ।”

उनलाई व्यावसायिकभन्दा पनि पार्टी पत्रकारिता मौलाएकोमा चिन्ता छ । अध्ययनशील नभएको र विषयवस्तुको ज्ञान नभएकाले गर्ने पत्रकारितामा गुणस्तर हुनेमा उनलाई पत्यार छैन । कुन सञ्चारमाध्यमले कस्तो पत्रकारिता गरिरहेको छ भनेर यथार्थको धरातलमा बसेर समीक्षा गर्ने एउटा पारदर्शी संस्थाको खाँचो औंल्याउँदै श्रीराम भन्छन्, “मिडिया लिट्रेसी नबढेसम्म मेरो सञ्चार संस्थाको रेडिङ यो र वर्गीकरणमा यो भनेर विज्ञापनदातालाई झुक्काउँदै आत्मरतिमा रमाउनुबाहेक केही हुँदैन ।”

कुराकानीको बिट मार्दै श्रीराम थप्छन्, “गर्न मैले पनि सकेको छैन भनेर आत्मसमीक्षा गर्छु । तर, अझै पनि हाम्रा टेलिभजिन सञ्चालकहरूले चक्रपथभन्दा बाहिर क्यामरा पु¥याउन सकेका छैनन् । नेताका घर, राजनीतिक दलका पार्टी कार्यालय, सिंहदरबार र बालुवाटारमा मात्रै दौडिने क्यामराले टेलिभिजनको ‘ग्ल्यामर’ धान्न सक्दैनन् । ‘कन्टेन्ट’माथि लगानी नबढाएसम्म गुणरुस्तर उकालो लाग्दैन । संख्यामात्रै बढनुको औचित्य पुष्टि हुँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC