काठमाडौं । गएको १० वर्षमा ४० लाख ३ हजार ४ सय ८० नेपाली युवा रोजगारीका लागि विदेशिएका छन् । यसमा छिमेकी देश भारतमा गएका नेपाली कामदारको संख्या समावेश गरिएको छैन । भारतमा कति नेपाली रोजगारीका लागि जान्छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०–०५१ देखि ०६२–०६३ सम्म नेपालबाट ७ लाख ५८ हजार ६ सय ७५ जना वैदेशिक रोजगारमा गएका थिए । २०५० साउनदेखि २०७४ असार मसान्तसम्म विदेश जाने नेपाली कामदारको संख्या झण्डै आधा करोड अर्थात् ४७ लाख ६२ हजार १ सय ५५ रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०६३–६४ मा २ लाख ४ हजार ५ सय ३३ जना, ६४–६५ मा २ लाख ४९ हजार ५१, ६५–६६ मा २ लाख १९ हजार ९ सय ६५, ६६–६७ मा २ लाख ९४ हजार ९४, ६७–६८ मा ३ लाख ५४ हजार ७ सय १६, ६८–६९ ३ लाख ८४ हजार ६ सय ६५, ६९–७० मा ४ लाख ५३ हजार ५ सय ४३, ७०–७१ मा ५ लाख २७ हजार ८ सय १४, ७१–७२ मा ५ लाख १२ हजार ८ सय ८७, ७२–७३ मा ४ लाख १८ हजार ७ सय १३ जना र पछिल्लो आर्थिक बर्ष ७३–७४ मा ३ लाख ८३ हजार ४ सय ९९ जना नपाली वैदेशिक रोजगारमा गएका छन् ।
किन भयो उतार चढाव ?
वैदेशिक रोजगारमा जाने श्रमिकको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०६३–६४ देखि ०७०–७१ सम्म बढ्दै गएको देखिन्छ भने विगतका दुई आर्थिक बर्षमा घट्दै गएको देखिन्छ । यसरी घटबढ हुनुमा विभिन्न कारणहरु भएपनि सरकारका नीतिनियममा बेलाबेलामा आउने परिवर्तनलाई मान्न सकिने सरोकारवाला बताउँछन् । वैदेशिक रोजगार व्यवसायीमाथि सरकारबाट कुनै किसिमको अंकुश नहुनु, मुलुकहरुबाट धेरै माग आउनु लगायतका कारणले आव ०७०–७१ सम्म वैदेशिक रोजगारमा जानेहरुको संख्या वृद्धि भएको थियो ।
तर पछिल्ला बर्षमा सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटको नीति तथा खाडी मुलुकमा भएको आर्थिक संकट लगायतका कारणले विदेश जानेको संख्या घट्दै गएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए । उनले भने, “एक त २०७२ असार २३ मा सरकारले निःशुल्क विदेश पठाउने नीति ल्याएपछि व्यवसायीले केही समय काम नगरी सरकारी निर्णयविरुद्ध आन्दोलन गरे । त्यतिबेला केही समय अन्योल भयो । अर्को कारण थियो ०७२ सालको भूकम्प किनकी भूकम्प गएको केही समय खासै काम हुन सकेको थिएन ।”
पछिल्लो वर्षमा वैदेशिक रोजगार घट्नुमा अर्को प्रमुख कारण खाडीबाट माग कम हुनु रहेको उनले बताए । उनले भने, “पछिल्लो समय साउदीको आर्थिक संकट र कतारमा नाकाबन्दीका कारण पनि कामदारको माग कम भएको देखिन्छ ।”