Skip Advt.

विचार

लज्जाहीन राजनीतिका माहिर खेलाडी

लज्जाहीन राजनीतिका माहिर खेलाडी

पैसा र सैन्य बलका आधारमा राजनीतिक शक्ति प्राप्त हुने र दिगो भइरहने भए सायद यस देशमा मात्र होइन संसारको कुनै पनि देशबाट राजतन्त्र जाँदैन थियो । जनतालाई दबाएर शासन चल्ने भए रोबर्ट मुगाबेलाई तीस वर्षको शासनकाल पश्चात ९३ वर्षको बुढेसकालमा बन्दी बनाएर पदबाट बर्खास्त गरिने थिएन । जनतालाई त्रासमा राखेर, विरोधी पत्रकारको हत्या गराएर शासन सत्ता लम्मिन्थ्यो भने अलबर्टो फुजीमोरीले पेरुबाट भागेर जापानको शरणमा जानु पर्दैन थियो । सेनाको बलमा सधैँ शक्तिमा बसिरहन सक्ने भए इराकका तानाशाह सद्दाम हुसेनले जमिनमुनि लुकेर ज्यान जोगाउने असफल प्रयास गर्नुपर्ने थिएन । 

विदेशमा मात्र होइन नेपालमा पनि जनतालाई त्रासमा राखेर १०४ वर्ष शासन चलाएका राणा अन्ततः शासकका रूपमा रहेनन् । नेपाली कांग्रेसलाई २००७ सालदेखि झुक्याएर संविधान सभाको चुनाव हुन नदिई २०१५ सालमा प्रतिनिधि सभाको निर्वाचन गराएर २०१७ सालमा पूर्ण अधिनायकवाद स्थापित गर्न सफल राजसंस्था पनि २०६३ सालमा नारायणहिटीबाट सकसपूर्ण मौनसहित श्रीपेच फुकालेर डेरा सर्नुपर्यो । 

विसं २०४६ सालपछि पनि पैसाको बलमा सत्तामा पुगिन्छ भन्ने धेरै नेताको बेहाल भयो । पैसाकै बलमा शासन गर्छु भन्दा गिरिजाप्रसाद कोइरालाको सत्ता बारम्बार खोसियो । कार्यकर्ताको तुजुक देखाएर शासनमा टिकिन्छ भन्ने नेकपा (एमाले) पनि पहिलोपल्ट नौ महिनाको शासनकालमा विधिलाई मिच्न नसकेर सत्ताबाट ओर्लियो । सत्र हजार निर्दोष जनताको मृत्युको कारण बनेको नेकपा (माओवादी) पैसा र हिंसाको बलले सबैभन्दा ठूलो राजनीतिक दल बनेपछि पनि २०७० सालको निर्वाचनपश्चात निरन्तर पतनोन्मुख देखिएको छ । यति हुँदाहुँदै पनि सत्तामा बसेका कुनैपनि नेतालाई जनताप्रति उत्तरदायी हुनुपर्छ, जनताको समर्थनमा मात्र सत्तामा पुगिन्छ र तिनले समर्थन फिर्ता लिएको अवस्थामा आदेश शिरोपर गर्नुपर्छ भन्ने ज्ञान भएको देखिएन । शेरबहादुर देउवाको सरकारले अन्तिम समयमा जेजस्तो काम गर्दैछ त्यसले नेपाली कांग्रेसलाई फेरि सरकारमा फर्कन कति व्यवधान उत्पन्न गर्छ भन्ने चेत आएको देखिएन ।

भ्रष्ट सर र म्याडमहरूलाई नेपाली कांग्रेसको भविष्यको कुनै चिन्ता नहुनु अस्वाभाविक पनि हैन । तर, पुस्तौँ यही दलमा लागेर बिताएका नेतासमेत अहिले देखाएको ताण्डवले आउँदा चुनावमा क्रमशः भारतीय कांग्रेस बन्ने संभावना बढेर गयो भनेर बोल्न सकेका छैनन् । गणेशमान सिंहको पुत्र हुँ भनेर आफूलाई अझै प्रमाणित गर्न नसकेका प्रकाशमान सिंहले समेत नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा हुँकार गरेको सुनियो तर त्यस हुँकारको समर्थनमा अन्य नेताबाट म्याउ पनि सुनिएन । युवा पुस्ताका गगन थापा र नवीन्द्रराज जोशीले आआफ्नो समूह बनाएर नेतृत्वको गलत रवैयाविरुद्ध बोल्ने उपक्रम त गरे तर तिनलाई लोप्पा खुवाउँदै एज र एजेण्डाका प्रतिपादन गरे विश्वप्रकाश शर्माले । एउटा उदाउँदो छवि बोकेको त्यो व्यक्तित्व किन यसरी मलिन अनुहार बोकेर गलत नेतृत्वको भारी बोक्न कस्सिएको छ त्यसको जबाफ जनताले पनि पाउनु पर्ने त हो । 

हुनत, आफूले एक दिनमात्र बढी फाइदा लिन पाए भविष्यमा अरूलाई वर्षाैँ हानि हुने भएपनि मतलब नगर्ने परम्परा त छँदैछ । तैपनि धेरै लामो राजनीतिक जीवन भएका शर्माले यस्तो निर्णय किन लिए होलान् ? ‘चाँडो महाधिवेशन’ गर्नेे मागलाई कुल्चिएर प्रवक्ता पदको सिरक ओढ्न पुग्दा राजनीतिक न्यानो त होला तर त्यो न्यानो अल्पकालीन हुने विषयमा ध्यान नपुगेको त हैन ? नेतृत्वको जुनसुकै गलत कदमलाई सुनपानी छर्कने कोसिस गर्दा शर्माको क्षमताको सदुपयोग होला कि दुरुपयोग ?

सरकारबाट जानुअघि आफूले कमाएको पैसा आफैँले खर्च गर्न पाउनुपर्छ भन्ने गलत तर्क अघि सार्दा नेपाली कांग्रेसका समर्थकको शिर उँचो भएको छैन । जनतालाई सरकारले ६५ वर्षको उमेरदेखि नै सहयोग गर्छु भन्नु आफैमा गलत होइन तर म्यान्डेट पाएको अवसरमा गरेको निर्णय र देशको ढुकुटीमा भार पारेर आउने सरकारलाई समस्या पार्ने नियतले गरेको निर्णयको भेद जनताले सहजै थाहा पाउँछन् ।

भोलिको सरकारलाई अप्ठेरो पारेर जथाभावी नियुक्त गर्नु नेपाली कांग्रेसका लागि गर्वको कुरो होइन । एउटा व्यक्तिलाई खुसी पारेर कानुनी शासनको खिल्ली उडाउने कार्य गरेको पटक्कै सुहाएको छैन । अझ, ती पदमा उपयुक्त व्यक्तिलाई नभई पैसा तिर्न सक्नेलाई नियुक्ति दिइएको गाइन्गुइँ चलिसकेको छ । आफू कुनै पदको लागि सबैभन्दा उपयुक्त उमेदवार र नेपाली कांग्रेसको समर्थक हुँ भनेर दरखास्त हाल्नेलाई सिधै यति करोड लिएर आऊ नत्र हुँदैन भनिएको हल्लाले पनि बजार गर्मिएको छ । यस्ता कुरामा कुनै नयाँ तुक्का वा कसैविरुद्ध आरोप लगाएर उत्तर आउँदैन । सरकारले गरेको काम नै यस्ता विषय पत्याउने वा नपत्याउने कसी बन्छन् । 

भोलि केपी ओलीको सरकार आउने संभावना बढेर गएको छ । यो सरकार बन्न नदिन स्वदेशी र विदेशी शक्ति प्रयोग गर्न खोज्नुभन्दा कमरेड ओलीका ठूला भाषण र कार्यशैलीले नै यो सरकारलाई टुकुचामा डुबाउँछ भन्नेमा ढुक्क भए हुन्छ । यस कुरामा विश्वस्त भए अलिकति भएपनि सार्वभौम सोच अघि बढेको भान हुनेथियो । चीन जोड्ने रेल, नेपालमा पानीजहाज, घरघर पाइपमा ग्यास आदि नआउँदा नेपाली कांग्रेसलाई त्यसै राजनीतिक फाइदा भइहाल्छ । यीमध्ये केही कुरामा सफलता मिल्यो भने नेपाली जनतालाई फाइदा हुन्छ । जनतालाई फाइदा भयो भने नेपाली कांग्रेसले जति ठूलो स्वरमा विरोध गरे पनि भोट त काम गर्नेलाई नै जान्छ । त्यसैले नेपाली कांग्रेसले पनि आफूले जनताका लागि के काम गर्ने भन्ने विषयमा ध्यान दिनसके राम्रो । तर, अहिलेको अवस्थामा कम्युनिस्ट सरकार आफ्नै भारले आफैँ डुब्छ । कमरेड ओलीले सो कुराको लक्षण देखाइसकेका छन् ।

कमरेड ओलीले राजनीतिक फाइदाका लागि कालो धन शुद्धीकरणको मौका दिने संकेत गरिसकेका छन् । यो संकेत राजनीतिक फाइदाका लागि फालेको चारो हो वा अर्धआर्थिक विश्लेषणको फल हो अझै थाहा भएको छैन । व्यापारी अजेयराज सुमार्गीले ल्याउन खोजेको पैसाले देशको आर्थिक विकासमा सहयोग गर्छ भन्नेले भोलि बैंक र वित्तीय संस्था ठगहरूलाई कारबाही गर्न सक्ला वा नसक्ला ? पैसाको स्रोत नै नखोज्ने हो भने लागु औषध र हतियारको पैसा नेपालमा पस्ला कि नपस्ला ? 
कमरेड ओलीको आर्थिक विकासको अत्यन्त अयथार्थवादी महत्वाकांक्षाले एमाले–माओवादीको सरकार (बनेको खण्डमा) आफैँ जनताको नजरमा गिर्दै जाने आशा नेपाली कांग्रेसले गरेर बसे हुन्छ । तर, सो सरकारलाई अप्ठेरो पार्न देशको ढुकुटी रित्याउने कामले पाँच वर्षपछिको चुनावमा पनि कम्युनिस्टले बहाना पाउँछन् । यस्ता अदूरदर्शी निर्णयबाट पार्टीलाई बचाउन विश्वप्रकाश जस्ताले सहयोग गर्नु पर्नेमा आफैँ देउवा नजिक हुन प्रकाशशरण महत र बालकृष्ण खाँणसँग प्रतिस्पर्धा गर्न थालेपछि के होला ?


 

तपाईंको मत