विशेष
म केही वर्षदेखि पढाइको सिलसिलामा फिनल्यान्ड बस्दै आएको छु । यो थोरै जनसंख्या भएको चिसो देशका बासिन्दाहरू आफ्नो देशको उत्पादनको बिछट्टै माया गर्छन् । यात्रा गर्नुपर्दा जतिसुकै महँगो भए पनि ‘फिनएअर’ चल्ने ठाउँमा भरसक त्यसैमा यात्रा गर्छन् । किंवदन्तीअनुसार लिडल भन्ने जर्मन सुपरमार्केट चेनले आफूलाई यहाँ टिकाउन ठूलै मेहनत गर्नुपरेको थियो । यता हुने अरु सुपरमार्केटको तुलनामा धेरै सस्तो भए पनि फिनिसहरू किन्न गइदिएनन् रे ! हुन त आजकल पनि प्रायः जाँदैनन् । आप्रवासीकै भीड हुन्छ त्यहाँ । आफ्नो देशको उत्पादनको माया गर्न मलाई यो देशले सिकायो ।
कुरो एक वर्षजति अगाडिको हो । देशमा नाकाबन्दी लागेको थियो । नेपाल जानुपर्ने भयो । दसैं–तिहार नजिकिँदै थिए । टिकट छोइसक्नु थिएन । पैसा जोगाउन ट्रिक नलगाई भएन । यहाँबाट दिल्ली जाने र दिल्लीबाट काठमाडौं जाने टुक्रे टिकट (ननकनेक्टिङ) काट्ने निर्णय गरें । यसो गर्दा मलाई झन्डै २ सय युरो सस्तो पर्न गयो ।
नाकाबन्दीले चरम अभाव थियो देशमा । सबैमा भारतविरोधी भावना मौलाउँदै गएको थियो । म अछुतो हुने कुरै भएन । मैले दिल्लीबाट काठमाडौं जाने नेपाल एअरलाइन्सको टिकट काटें ।
बिहान साढे १० बजेको फ्लाइट थियो । म यताबाट चारै बजे दिल्ली पुगेको हुँदा काउन्टर खुल्नेबित्तिकै पहिलो पुग्ने मै थिएँ । त्यहाँ नेपाल एअरलाइन्सका लागि काम गर्ने कर्मचारीहरु सबै भारतीय रहेछन् । शायद एअर इन्डियाकै कर्मचारीले नेपाल एअरलाइन्सको पनि हेर्ने हो कि जस्तो लागेको थियो । उनीहरूको ड्रेस उस्तै थियो । बोलीमा गुनासो गर्नुपर्ने कुनै ठाउँ छैन, मीठो बोलिरहेका थिए । लगेर टिकट तेस्र्याएँ । धेरै बेर लगाएपछि काउन्टरमा हुने कर्मचारीले भने, “सर, तपाईंको त नाम नै छैन उड्ने लिस्टमा ।”
एक त रातभरि नसुतेको अनिँदो, अर्को यात्राको थकान । फेरि उड्न पाउने कि नपाउने नि निश्चित भएन ।
सोधें, “के गरौं त सर ?”
उनले भने, “साढे ८ बजे फेरि लिस्ट अपडेट हुन्छ, कुर्नुस् ।”
साइडमा उभिएर कुर्नुको कुनै विकल्प रहेन मसँग । त्यहाँ उभिएर वरपरका दृश्य हेरिरहें ।
दृश्य १) काउन्टरमा बस्ने कर्मचारी हरबखत कुनै एक जना ‘सर’सँग फोनमा कुरा गरिरहेका थिए । सबै उनै सरको निर्देशनमा चल्ने रहेछन् । ‘सर’ नै सिस्टम । लिखित केही नचाहिने । सरले भनेपछि टिकट हुने । धेरै ठूलाबडा र उनीहरूका आफन्त त बिनाटिकट नै एअरपोर्ट आइपुग्दा रहेछन् । सरले फोन गरेर टिकट त्यहीँ फिक्स हुने रै’छ ।
दृश्य २) सामानको बढी भएको वेटको पैसा कर्मचारी सिधै खल्तीमा हाल्दारहेछन् । हिसाब कतै लेखेको पनि देखिएन । न त बिल नै दिएको देखियो । आशा गरौं– उहाँ इमानदार हुनुहुन्छ । पछि गनेर हिसाब बुझाउनुहुन्छ । हतारोमा लेख्न नभ्याउनुभएको होला ।
दृश्य ३) चार जना साथीहरु काउन्टर बन्द गर्दैगर्दा आइपुग्नुभो । दिल्लीमा जाम भएकोले ढिला भएको रहेछ । उनीहरूलाई चेकइन गर्न दिइएन । उनीहरू दिल्लीमै काम गर्दा रहेछन् । भन्दै थिए, “अब नेपाल जाने पैसा छैन, यो दसैँ यतै हुने भो !”
त्यसको केही मिनेटपछि एकजना भद्र महिला आइपुगिन् काउन्टरमा । बन्द गरेर गएका कर्मचारी फेरि फर्किए र ती महिलालाई चेकइन गरी लिएर गए ।
लिस्ट त अपडेट भयो तर मेरो नाम आएन ।
कर्मचारीले भने, “यो टिकट काट्ने एजेन्टको गल्ती हो, उसैसँग कुरा गर्नुस् ।”
अरु टिकट पाइन्छ कि भनेर एकछिन अरु एअरलाइन्स चाहारेँ । कसैमा पाइएन । टीकाको दिनसम्म सबै बुकिङ भइसकेको रहेछ ।
नेपाल एअरपोर्टमा कुरिरहेका आफ्ना मान्छेलाई आउन नमिलेको खबर गरें । स्थलमार्ग हुँदै नेपाल जाने निर्णय लिएँ । लखनउ–नेपालगँज हँुदै दुई रातपछि काठमाडौं आइपुगें ।
एजेन्टलाई इमेल गरेको थिएँ, रिप्लाई ग¥यो, “नेपाल एअरलाइन्सले तपाईंको टिकट यात्रा गर्ने दिनको दुई दिनअगाडि क्यान्सिल गरिदिएको रहेछ, जानकारी गराएन । अब उतै कन्ट्याक्ट गर्नुस् ।”
दसैं–तिहार मनाइयो । संयोगले विहेबारी पनि भयो । म धेरै समयसम्म नेपाल एअरलाइन्सको अफिस जान भ्याइनँ । फर्किनुभन्दा हप्ता दिनजति अगाडि फोन गरेर सबै बेलीबिस्तार लगाएँ ।
उता फोन उठाउने कर्मचारी झर्किए, “समयमै किन इन्फर्म नगरेको ?”
पछि हेरिदिए र भने, “ए ! तपाईंको त टिकट रै’छ । केही समस्या देखिन्न । तपाईं जानुभएनछ । ‘नो सो’ देखाउँछ सिस्टममा ।”
अनि मलाई झोंक चल्यो, अफिस गएँ । फेरि सबै कुरा राखें । सम्बन्धित हाकिमसाप (गोपाल सर थियो नाम) बाहिर हुनुहँुदो रै’छ ।
“केही समयपछि आउनुस्,” कर्मचारीले भने ।
मैले उत्तिखेरै उत्तर फर्काएँ, “अरुसँग भए पनि भेटाइदिनुस्, मैले साह्रै दुःख पाएको छु ।”
उनले एकछिन गम खाए र भने, “दोस्रो तलामा जानुस् तर हामीले भनेको नभन्नुस् । त्यहाँ ठूलो हाकिम हुनुहुन्छ, उहाँसँगै कुरा गर्नुस् ।”
माथि जाँदा ठूलो हाकिमलाई भेट गर्न दिएनन्, साइडमा अर्कोतिर पठाइदिए । उनलाई पनि सबै कुरा भनें । उल्टै उनले पो आफ्नो गुनासो सुनाउन थाले, “नेपाल एअरलाइन्सले केही कर्मचारीमात्रै पठाएको छ । हामीले परमिट पाएका छैनौं । तपाईंले त्यतिखेरै हामीसँग सम्पर्क गर्नुपथ्र्यो । अब गोपाल सर आएपछि आउनुहोला अनि भेटेर कुरा राख्नुहोला ।”
गोपाल सर आएपछि फेरि गएँ म र आफ्नो कुरा राखें ।
उनले भने, “तपाईं एअरपोर्ट जानुभएको प्रमाण के छ ? कर्मचारीलाई केही लेखाएको सिग्नेचर गराएर ल्याउनुपथ्र्यो, अब म केही गर्न सक्दिनँ । टिकटको पैसाचाहिँ फिर्ता पाउनुहुन्छ, केही पर्सेन्ट कटाएर । एजेन्टमार्फत आउनुस् वा पछि इमेल गरे पनि हुन्छ । १ वर्षभित्रमा रिफन्ड हुन्छ ।”
उनले मलाई इमेल ठेगाना दिए ।
यता आएपछि एजेन्टलाई सम्पर्क गरें । उसले सिधै एअरलाइन्सलाई सम्पर्क गर्न भन्यो । गोपालजीले दिएको इमेल (sales@nac.com.np) मा बारम्बार इमेल पठाएँ, कहिल्यै उत्तर आएन । समय बित्दै गयो । मनबाट आशा हराउँदै गयो । त्यसपछि इमेल पठाउनै छाडें ।
नेपाल एअरलाइन्समा यात्रा गर्ने एकजना साथीलाई प्लेनभित्रको सेवा–सुविधाबारे सोधेको थिएँ । उनले बडो गजब छ रे ! त्यति छोटो यात्रामा खानापिना दुई–तीन पटक नै गर्न पाइन्छ रे ! व्यवहार पनि राम्रो छ रे । विमान परिचारिका दिदीबहिनीहरू असिनपसिन हुँदै काम गर्छन् रे ! दिल्ली–काठमाडौं उड्ने इन्डियन प्लेनहरूले एक गिलास पानीबाहेक केही दिँदैनन् ।
नेपाल एअरलाइन्सप्रति कुनै रिसराग छैन । दसैँको बेला टिकट नपाएर शायद कोही ठूलै वा आफ्नै मान्छेलाई टिकट मिलाउनुपर्ने पो भयो कि ! वा सिस्टममा कुनै कमजोरी पो भयो कि ! एजेन्टको त दोष भएन, टिकट त रै’छ नि सिस्टममा ! पैसाको आस मारिसकें । नाकाबन्दीको बेला डलरको भाउमा बिहे गरियो । यो टिकटको पैसा पनि मैले बिहे खर्चमै जोडें ।
बस् ! एउटा धोको रह्यो । चट्ट नेपाल एअरलाइन्सकै वेबसाइटमा गएर इन्टरनेटबाट टिकट काटेर यात्रा गर्न पाऊँ । अनलाइन टिकट काट्ने सिस्टम बनाउनुस् न है !
टिकट नम्बर : 2859391758373
जारी मिति : 08/10/2015
यात्रा मिति : 16/10/2015 (10:40-12:40 DEL-KTM)
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७३ १०:०८
प्रतिक्रिया दिनुहोस्