site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सप्तरी । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् । 
शम्भुनाथ नपा–८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र रु ९५ हजार नगद मागे । घुरन रामले रु पाँच हजारमा बन्ने राहदानी छिटो बनाउन रु १० हजार तिरे र राहदानीसहित रु ३५ हजार अनबारुललाई बुझाए । 
त्यसबेला विदेश जान अरुबाट लिएको रु एक लाख ऋणको मासिक ब्याजमात्रै रु पाँच हजार तिर्न परिरहेको उनको गुनासो छ । सो ऋण रकम काठमाडौँ जाँदा आउँदा, अनबारुललाई दिँदा र राहदानी बनाउँदा सकिएको उनको भनाइ छ । 
उनले भने– “एकदिन त भोलिको फ्लाइट छ भन्दै खबर गरे । रातारात घर परिवारसँग विदावारी भएर काठमाडौँ गएँ तर, फर्किएर आउनुप्र्यो ।” 
उनकी श्रीमती सीतादेवी रामले घरबाट कतार जाने भनी निस्किएका श्रीमान्लाई तीन चार पटक विदावारी गरेको तर, काठमाडौँ पुगेर श्रीमान् फर्किने गरेको स्मरण सुनाइन् । 
घुरन राम त्यसबेला लागेको ऋण तिर्न यसै साता भारतको दिल्लीमा जान लागेका छन् । त्यहाँ महिनाको रु १५ हजार पाउने गरी कामका जान लागेको उनले सुनाए । अनबारुललाई पटक÷पटक आफ्नो रु ३५ हजार फिर्ता गर्न आग्रह गरेपनि फिर्ता नगरेको उनले गुनासो गरे । 
शम्भुनाथ नपा–५ का रामनारायण सरदार अनबारुललाई रु ९५ हजार तिरेर कतार गएको डेढ महिनापछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किए । 
विदेश पुगेर स्वास्थ्य परीक्षण अनुत्तीर्ण भएमा स्वदेशमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा लागेको रकम तिर्नुपर्ने व्यवस्था छ । अनबारुलले स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट आफूले रकम उठाइदिन्छु भन्दै उनलाई गाउँ बोलाए तर, एक वर्ष बित्दासमेत उनले सो रकम दिलाउन लगाएका छैनन् । 

पैसा लिएर उल्टै पैसा दिएको कागज 
अझ अनौठो त के छ भने अनबारुलले ठगी गरेका व्यक्तिहरुलाई उल्टै रकम दिएको कागज गराउने गरेका छन् । 
साउदी अरबमा मासिक एक हजार २०० साउदी रियाल पाउने गरी राम्रो कामका लागि अवसर आएको र त्यहाँ पठाइदिने भन्दै अनबारुलले शम्भुनाथ नपा–९ बसवलपुरका मुसहर समुदायका कन्की सदासँग दुई वर्षअघि रु ६५ हजार लिए । 
अनबारुलले आफूले रकम लिएको कागज गर्नुको साटो उल्टै आफूले सदालाई रु ६० हजार दिएको कागज गराए । 
पीडित सदाले भने – “६५ हजार दिएको केही समयपछि अनबारुलले साउदीको भिसा आइसकेकाले जान रु एक लाख २० हजार लाग्ने भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए ।” 
सदालाई साउदी जाने भन्दै तीन चोटि काठमाडौँ बोलाए तर, आज भोलि भन्दाभन्दै दुई वर्ष बित्यो । न त उनको पैसा फिर्ता आयो न त उनी विदश नै जान पाए । 
कन्की सदासँग मात्रै होइन उनका दाजु सुकदेवा सदासँग पनि उनै अनबारुलले साउदी अरबमा रोजगारीका लागि पठाइदिने भन्दै रु एक लाख ४० लिएका छन् । 
अनबारुलले साउदी पठाएका सोही गाउँका रामचन्द्र सदाले पनि भने अनुरुपको तलव पाएका छैनन् । रामचन्द्रका बुबा जिलेवी सदाले मासिक रु एक हजार २०० साउदी रियल पाउने भनेर पठाएकामा छोराले मासिक रु छ सय साउदी रियलमात्रै पाइरहेको जानकारी दिए । 
रामचन्द्रबाट पनि अनबारुलले रकम लिएर उल्टै रकम दिएको कागज गराएका छन् । जिलेवीले भने – “जानुअघि रु ६० हजार अनबारुललाई दिएपछि थप रु ६० हजार पुगेन भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । त्यसमध्ये ४५ हजार तिरिसकें । अब १५ हजार तिर्न बाँकी छ ।” 
छोराका कमाइ राम्रो नभएकाले फर्किने दिनसम्म पनि जाँदा लिएको ऋण तिर्न नसकिने हो कि भन्ने चिन्तामा छन् जिलेवी । 
शम्भुनाथकै अशोक कुमार रायलाई अनबारुलले एक हजार १०० कतारी रियल तलव पाउने भन्दै कतार पठाए । उनले ७०० रियल मात्रै पाउँदै आएका छन् । 
जाँदा रु ८० हजार तिरेर गएका रायलाई थप रु ४० हजार तिर्न बाँकी रहेको कागज अनबारुलले गराएका थिए । भने अनुसारको काम र तलव नपाएपछि रायले बाँकी रहेको रकम तिर्न अस्वीकार गरेपछि उनकी श्रीमतीविरुद्ध प्रहरी चौकीमा उजुरी गरे । 
यसरी विदेश लैजाने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका अनबारुल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडा सदस्यमा निर्वाचित भए । 
सुरक्षित आप्रवास परियोजना (सामि)का परामर्शदाता निता चौधरीले अनबारुलले विदेश लैजाने भनी रकम लिएर नपठाएका, विदेश गइसकेपछि भनेअनुसारको काम र तलब नपाएका जस्ता एक दर्जनभन्दा बढी निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको जानकारी दिइन् । 
सामिको पहलमा घुरन राम, अरुन राम, रामनारायण सरदार लगायतले विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरीमा अनबारुलविरुद्ध उजुरी दिए पनि उनीमाथि अझै कारवाही हुन सकेको छैन । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले अनबारुलविरुद्ध प्रहरीमा परेको उजुरीबारे आफूलाई जानकारी नरहेको बताए । यसबारे स्थानीय प्रहरीबाट जानकारी माग्ने जवाफ पनि उनले दिए । 
राससले अनबारुलसँग टेलिफोन सम्पर्क गरी ठगीको आरोपबारे सोध्न चाह्यो तर गलत नम्बर परेको भन्दै उनले तत्क्षण फोन काटे । 

–किरण भट्टराई (रासस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC