site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'ग्ल्यामरस भएर मात्रै कलाकार भइँदैन\'
Sarbottam CementSarbottam Cement

रङ्गमञ्च हुँदै सेतो पर्दाको यात्रा तय गर्ने अभिनेत्री हुन्, सिर्जना सुब्बा । मण्डला थिएटरमा दर्जनौं नाटकमा अभिनय तथा निर्देशन गरिसकेकी उनी अहिले रजतपटमा पनि सक्रिय छिन् । उनले यो वर्ष सर्वोत्कृष्ट हिरोइनतर्फ इनास, कामनालगायतका अवार्ड हात पारिन् । ‘डाइङ क्यान्डल’बाट उनले अवार्ड जिते पनि यो चलचित्रले बक्स अफिसमा भने राम्रो उपस्थिति देखाउन सकेको थिएन । त्यसैले उनी चलचित्र हलमा चल्दैमा राम्रो र नचल्दैमा नराम्रो नहुने धारणा राख्छिन् । कस्ता चलचित्रलाई राम्रो भन्ने ? नेपालका चलचित्र अवार्डप्रति विश्वासगर्न सकिन्छ कि सकिँदैन ?आदि विषयमा केन्द्रित रहेर सिर्जना सुब्बासँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  

यो वर्ष अवार्डको पाइरहनु भएको छ, कसरी पाइँदोरहेछ अवार्ड ?
त्यो त मलाई पनि थाहा छैन । नेपालमा चलचित्रसम्बन्धी अवार्ड पनि धेरै छन् । कहाँ नोमिनेशनमा परिहरहेको हुन्छ, त्यो पनि सबै थाहा हुँदैन । समाचारमा आएपछि मात्रै पो थाहा पाइरहेको हुन्छ । अवार्ड दिने धेरै संस्था तथा मान्छेलाई पनि चिन्दिन । 

अवार्ड दिने मान्छे वा संस्थालाई कलाकारले चिन्न जरुरी छ र ?
मलाई साथीहरुले तँ आफ्नो काम बाहेकको क्षेत्रको मान्छेलाई चिन्दिनस् भनेर गाली पनि गर्छन् । आफ्नो काममा मेहनत गर्ने तर अरुको बारेमा खासै चासो नराख्ने गरेकाले पनि त्यसो भनेका होलान् । कलाकारको काम अभिनय गर्ने हो, अवार्ड दिने व्यक्ति र संस्था खोज्दै हिँड्ने होइन जस्तो लाग्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा अवार्डका लागि भनसुन गर्नुपर्छ भन्छन्, हो ?
मैले पनि यो कुरा सुनेको छु । यदि यसमा सत्यता छ भने यो पक्कै पनि राम्रो होइन । यस्तै कुराहरुले पनि होला सायद मलाई पनि अवार्डमा त्यति धेरै विश्वास लाग्दैन । अवार्ड पाउँदैमा मैले सबैलाई जितें, म जत्तिको कोही छैन भन्ने होइन र अवार्ड नपाउँदैमा सबै गुम्यो, मसँग केही क्षमता रहेनछ भन्ने पनि होइन । 
राम्रो काम गर्ने हो । आफूलाई दिइएको क्यारेक्टरमा भिजेर काम गर्ने हो । अवार्डका लागिभन्दा पनि दर्शकका लागि काम गर्ने हो । दर्शकको मन जित्न सकियो भने त्यो नै सबैभन्दा ठूलो अवार्ड हो । 

अवार्ड कलाकारको क्षमता मूल्यांकन गर्ने साधन होइन त्यसो भए ?
अवार्ड मात्रै चाहिँ कलाकारको क्षमता मूल्यांकन गर्ने माध्यम होइन । कलाकारको क्षमता मूल्यांकन गर्ने त दर्जनौं पक्षहरु हुन्छन् नि । 

Global Ime bank

त्यसो भए किन विश्वभर नै अवार्डकै आधारमा कलाकारको क्षमता र लोकप्रियता मापन गरिन्छ ?
हामीले हाम्रो चलचित्र उद्योगका मात्रै कमजोरी थाहा पाइरहेका छौं । बलिउड, हलिउड वा अन्य देशका चलचित्र नगरीका बारेमा त्यहाँको भित्री पाटो थाहा हुुँदैन । दर्शकलाई के थाहा, हलिउडमा पनि चिनजान र भनसुनकै आधारमा पो अवार्ड प्रभावित हुन्छ । 
अब्बल अभिनय नै अभिनेता वा अभिनेत्रीको कला क्षमताको मापन गर्ने मुख्य आधार हो अवार्ड होइन भन्ने लाग्छ । त्यही भएर म त अवार्ड पाए पनि ठिकै छ नपाए पनि ठिकै छ भन्छु । 

तपाईंले भने अनुसार बक्स अफिस रिपोर्ट राम्रो हुँदैमा चलचित्र राम्रो हुँदैन ?
हामी खास कुरा के हो नबुझी हल्लाको पछि लाग्छौं । कसैले कागले कान लग्यो भन्यो भने छाम्नतर्फ नलागेर कागको पछि दौडिन्छौं । 

चलचित्र रमाइलो मात्रै होइन । यसले सन्देश र शिक्षा पनि दिन्छ भन्ने बुझ्दैनौं । त्यही भएर त होला कलाकारलाई गहना भनिन्छ । कलाकार राज्यका गहना भनिएकोमा हाम्रा साथीहरु ठट्टा गर्छन्, ‘गहना मन लागुन्जेल लगाउने रहर पुगेको दिन फुकालेर फाल्दिने’ । कति चलचित्रले राम्रो व्यापार गरेका छन् नेपालमै पनि । नयाँ नयाँ रेकर्ड बनायो भनेर भनिरहेका छौं, के ती चलचित्र राम्रा हुन् ? निर्भिक भएर कलम चलाउने समीक्षकहरुले ती चलचित्रलाई राम्रो भनेर लेखेका छन् । यसबाट पनि पुष्टि हुन्छ नि बक्स अफिस रिपोर्ट नै चलचित्रको मापक होइन । 

त्यसो भए राम्रा चलचित्र किन चल्दैनन् ?
मैले अगाडि पनि केही प्रसंग उठाइसकेको छु । रमाइलोका लागि मात्रै चलचित्र हेर्ने हाम्रो बानी छ । आर्ट मुभीको संस्कृति निर्माणदेखि हेर्नेसम्ममा बानी बसिसकेको छैन ।

अर्को पक्ष मलाई त यस्तो लाग्छ नेपालमा सबैभन्दा ठूलो राजनीति चलचित्र उद्योगमा हुन्छ । चलचित्र बनाउन गाह्रो त्यो भन्दा पनि लगाउन गाह्रो । नयाँ नयाँ प्रोडुसर त पागल हुन्छ । यो अवस्थामा सुधार नभएसम्म राम्रा चलचित्र व्यावसायिक रुपमा सफल हुँदैनन् । 

तपाईंले जति पनि अवार्ड पाइरहनुभएको छ, त्यो सबै ‘डाइङ क्यान्डल’ बाट छ । यो चलचित्र पनि चलेन । कारण आर्ट मुभी हुनु नै हो ?
हो । जहिलेसम्म चलचित्र शिक्षा, अभिप्रेरणाका लागि पनि हो भन्ने बुझाइ आम दर्शकमा आउँदैन, त्यो समयसम्म आर्ट मुभीले राम्रो व्यवसाय गर्दैनन् । नचल्दैमा ‘डाइङ क्यान्डल’ नराम्रो र चल्दैमा ‘छक्का पञ्जा’ राम्रो भन्ने होइन । अर्को कुरा यहाँ यस्ता चलचित्र हलमा चलाउनै गाह्रो छ । 

तपाईंले वर्कसपबाट छोडेर हिँड्न लागेको चलचित्र हो नि हैन ?
तपाईंले पाउनु भएको सूचना सत्य हो । कथा, पात्र र तीनले गर्नुपर्ने अभिनयमा तालमेल मिलेन जस्तो लागेर मैले चलचित्र नै छोड्न लागेको थिएँ । परिवेश अनुसारको लवज र चालचलन हुनुपर्छ भन्ने मेरो मान्यता थियो । कतिपय कुरामा सुधार पनि गरियो । केही कुरा अझै पनि खड्किन्छ । 

कथा मन नपरेर त होइन ?
त्यस्तो होइन । पुरुष पात्रभए पनि यो चलचित्रमा महिलाको सोलो रोल जस्तै छ । चलचित्रमा दिदीको रोल जुन छ, त्यसमै पूरैचलचित्र घुमेको छ । दिदीको क्यारेक्टर सफल भए चलचित्र सफल हुने नभए असफल हुने देखिन्छ । यस्तो कथा भएको चलचित्र त थोरै मात्रै बन्छ । यस्तो कथामा अभिनय गर्ने कलाकार त भाग्यमानी हो भन्ने लाग्छ । यसर्थ म यो भाग्यमानी कलाकार पनि हो । 

यस्ता चलचित्र बजार अभावका कारण पनि नेपालमा बन्दैनन् । भारतमा हो भने केही संख्यामा बन्छन् । नेपालमा बसेर यस्तो चलचित्रमा अभिनय गर्न पाउनु आफैंमा ठूलो कुरा हो । 

समकालीनहरुका तुलनामा तपाईंका चलचित्र निकै कम छन्, किन ?
म कमै चलचित्र गर्छु । धेरै गरेर नराम्रो गर्नुभन्दा भन्दा थोरैगर्नु राम्रो हो भन्ने मेरो मान्यता छ । वर्षमा दुईटाभन्दा धेरै चलचित्रमा काम गर्दिन । 

अफर नै नआएर त हैन ?
तपाईंले भन्नु भएको कुरामा पनि केही सत्यता छ । अरु अभिनेत्रीहरुलाई जति अफर आउँछ, त्यो मलाई आउँदैन होला । तर आउँदै नआउने पनि होइन । धेरै स्क्रिप्ट नै चित्त बुझ्दैन । त्यसैले पनि खेल्दिन । अर्को कुरा पत्रकारहरुले हामी आर्ट मुभीमा मात्रै काम गर्ने कलाकार हौं भन्ने छापा बसाइदिनुभएको छ । यसकारण पनि धेरै त हामीसामु यसले बजारमा अहिले चलिरहेका जस्ता चलचित्रमा अभिनय गर्दिन भनेर आइपुग्नुहुन्न ।

अर्को पक्ष, हाम्रा निर्देशक, निर्माता र पत्रकारहरुमा हिरोइनको बुझाइ फरक छ । हिरोइन भनेको ग्ल्यामरस नै हुनुपर्छ भन्ने छ । यसले पनि एकहदसम्म काम गरिरहेको छ । 

तपाईंको बुझाइमा चाहिँ हिरोइन भनेको के हो त ?
ग्ल्यामरस मात्रै हेरोइन होइन । सबैभन्दा ठूलो कुरा त अब्बल अभिनय हो ।  यहाँ केटाहरुले ६० वर्ष पुग्दा पनि हिरो भएर खेल्दा हुन्छ । तर ३० वर्ष कटेपछि हिरोइनलाई ‘आमाको रोल त होला नि अब’ भनिन्छ । 

यो अवस्थाको अन्त्य कसरी हुन्छ ?
चलचित्रको कथा, निर्देशक र प्रोडुसरमा नै अहिलेको बुझाइभन्दा फरक हुनुपर्छ । चलचित्र रमाइलो मात्रै होइन कथा र अभिनय हो भन्ने सोचको विकास हुनुपर्छ । मलाई त यस्तो पनि लाग्छ,महिला कथाकार, निर्देशक, प्रोडुसर र पत्रकार पनि आउनुपर्छ अनि मात्रै विस्तारै पुरानो सोचमा परिवर्तन आउँछ । 

तपाईंले भनेजस्तै महिला निदेर्शक, निर्माता र पत्रकारको संख्या ठूलै छ नि अहिले तर तपाईंले भनेजस्तो त भैरहेको छैन ?
यो विस्तारै परिवर्तन हुने कुरा हो । बजारले पनि गाइड गर्छ । त्यसैले सोचमा परिवर्तन आउन पनि समय लाग्छ । यहाँ नायकले १७ लाख पारिश्रमिक माग्दा कसैले केही भन्दैन तर नायिकाले ५ लाख रुपैयाँ माग्यो भने त्यत्रो ! भनेर चकित हुनेहरु छन् । पुरुषप्रधान समाज भएकाले पनि यस्तो भएको हो । पुरुषकै पछाडि कथा घुम्छ । पुरुषले भट्टीमा मातेर हिँड्दा पनि त्यही कलाकार, एक्सन गर्ने पनि त्यही कलाकार अनि कमेडी र गम्भीर कथामा पनि एउटै कलाकारलाई खेलाउँदा वाह ! भन्ने हाम्रो समाज छ । तर महिला त मुस्किलले ३–४ सिनमा सहयोगी पात्रका रुपमा मात्रै देखिने हुन् । महिलालाई पनि केन्द्रमा राखेर कथा लेख्न थालेपछि मात्रै बल्ल कलाको सम्मान हुन्छ । अभिनयको सम्मान हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC