site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृगौलापीडित पत्नी स्याहार्दै क्यान्सर रोगी पति
Sarbottam CementSarbottam Cement

काठमाडौं । जोरपाटी, बेँसीगाउँको दुईवटा घुम्ती काटेपछि पुगिन्छ, अत्तरखेल । र, त्यहीँ छ चङ्खबहादुर विश्वकर्माको अभागी मुकाम !

आफ्नै उमेरका दुई थान सिरक । बिटले धर्म छाडेका तीन–चार थान डेक्ची । कालोको उपमा बनेको प्रेसर कुकर र दुईचार थान अन्य भाँडावर्तन उनको उदेकलाग्दो अभावको साक्षी बनेका छन् ।

सुख लुकाउन सकिएला, निःसन्देह । तर, टिठलाग्दो गरिबी कहाँ छिपाउन सकिँदो रहेछ र ! आफ्नै आवाज प्रतिध्वनीत हुने डेरा उनकै जीवनजस्तै छ, नितान्त रित्तो ।

Prabhu Bank
Agni Group
NIC Asia

विधाताले दलितको कोखमा जन्म दियो, नियतिले गरिबी उपहार दियो । दुःखी शरीरले नाफामा रोग आर्जन गर्‍यो । उनको परिचय जम्माजम्मी यत्ति हो । र, अहिले शरीरजस्तै अस्थायी डेरामा मृत्यको दारूण पर्खाइमा छन् ।

अनेकौँ हण्डर, ठक्कर । घात–आघात । आँसुको सागर तर्दै ६ महिनाअघि जोरपाटीको नागबेली सडकको घुम्तीनेर आइपुगेका हुन् उनी रोगी श्रीमतीको सहरा बनेर ।

Global Ime bank

तर, नियति यति निर्मम भइदियो कि उनी रोगले आफैँ थला बसे । लोग्ने–स्वास्नीका लागि काल पर्खने बाध्यता निरूपाय भइदियो ।

शनिबार वाग्मती तटले हुस्सुको मुखौटा उघार्दै थियो । बाटामा फाट्फुट्ट सवारी कोसौँ टाढा पुग्नुझैँ हतारिँदै थिए । रोगले निशामिश्रित बन्दै गएका चङ्खबहादुर पानी तताउँदै रहेछन् ।

“रोगी ज्यानलाई माया नगरौँ भने नहुने ? सुम्सुम्याउँदा सुम्सुम्याउँदै, कालको ढोका ढक्ढक्याउन पाए कत्ति जाती हुन्थ्यो होला हगी ?,” कुराकानीको सुरूमै मृत्युको विद्रूप कामना पो गरे उनले । 

क्रमशः उनले आफ्नो गथासो उधिने । र, कयौँपटक आँसुले उनका शब्द उछिने ।

० ० ०

ओखलढुंगा, सिद्धिचरण नगरपालिका, तलुवा हो उनको थातथलो ।

उपल्लो जातको छोइछिटो, हप्कीदप्की, दलन खपेका र आगाको रापिलो भुंग्रोमा शंख–चक्र नडामी तातो पेट गर्न नसक्ने पुस्तैनी दलित न हो उनको परिवार । सानैदेखि दुःख र पीडासँग मात्रै चिनापर्ची पाए उनले ।

बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म भाँडा पिट्यो, अर्जाप्यो, पाइन हाल्यो, मर्मत सम्भार गर्‍यो । पुर्‍याउन जाँदा धोक्रो भरिएला ठान्यो, विष्टहरूका रूखा वचनले मनचाहिँ भरिन्थ्यो ।

खलाँती चलाएर जीवनको चक्र नघुमेपछि चटक्कै छाडे उनीहरूले त्यो पेसा ।

“दुःखै–दुःख । आगासँग खेलेर हुर्कन कहाँ सजिलो छ र हजुर ? बाबुबाजेले मुटु हल्लिने गरी घन बजारेको देखेरै मन काम्यो,” अकिञ्चन अनुहार सोहोर्दै आँखीभौँ उचाले उनले ।
बाबुको शरीर अस्ताएपछि आरनमा आगासँग खेल्न पनि छाडे उनले र बनीबुतो गर्न थाले ।

हातपाखुरा दह्रै थिए । घाम हेर्दै दिन बिताउने जुम्सो पनि उनी होइनन् तर पाखुरी बजार्ने कहाँ ? एक बिहानमा जोती भ्याइने खोरिया । पानी नअडिने ढाँड । यिनै त थिए बाबुबाजेले आर्जेका खेतबारी । मरूतुल्य खेतबारीमा जति पसिना खन्याए पनि सुखको अनाज कहाँ उम्रन्थ्यो ? दिउँसो त रूखोपीठो खान्थे, कयौँ रात चिसै चुल्हो सुते उनीहरू ।

“ढाँड खोरिया खनजोत गरेर वर्षदिन धान्न कहाँ सक्नु हजुर, हामी दुःखी गरिबले ?” उनले पीडा पोख्दै गए, “आरन हुनेहरू विष्टको मुख ताक्थे, हामी छाडेकाहरू खोले–फाँडो उमाल्थ्यौँ, एक छाक मकै, अर्को छाक भोकै सुत्थ्यौँ ।”

जहान जोडे सुखले दैलो ढक्ढक्याउँछ कि ठानेर उनले । बिहे गरे । गाउँछेऊकै नृपसँग । लालाबाला जन्मिए । तर, दुःखमाथि दरिद्री पो थपियो । कुनै समय सहकाल भएर आएन । बाह्रै महिना बाह्रैकाल दुर्भिक्ष्य, अनिकाल पो छाइरह्यो ।

० ० ०

चार छोरी र दुई छोरा गरी छ सन्तान जन्मिए ।  दुःखैदुःखको ‘कुम्भिपाक’मै हुर्किए ती । सन्तान थपिएपछि सुखको बाछिटो देखिँदै थियो तर क्षणभुङ्गुर पो बन्यो त्यो ।

छ वर्षअघि पत्नी नृप एक्कासि बिरामी परिन् । हातगोडा सुन्निने, पेट डम्म फुल्ने । अनुहारमा मासुका थैला झुन्डिने । अचम्मको रोगले ङ्याक्यो उनलाई ।

लाउँलाउँ–खाउँखाउँकी श्रीमती थला बसेपछि चङ्खको नौनाडी गल्यो । निधारमा चिटचिट पसिना आयो । नाउँ चलेका धामी–जैसी हेराए । पाठो–पठ्याङ्ग्री बली दिए । चारचौरास मन्छिए । हेराउने–चिनाउनेले भनेझैँ गरे । तर, व्यथा बीसको उन्नाइस भएन ।

“आफूले पढेको छैन, गाउँका बुज्रुकले जेजे भने, त्यही माने, बरबादै भएछ नि नानी !,” अहिले थकथक मान्छन् उनी ।

तामाका मुनाजस्ता ६ सन्तानकी आमा । बालबच्चा टुहुरा हुने भयले कुँजिए चङ्ख । थलिएको एक वर्षसम्म रोग पत्ता नलागेपछि हारमान्नु भएर उनी टेकानपुर अस्पतालतिर लागे । तर, त्यहाँ पनि केही उपाय लागेन ।

“खै केही रोग पत्ता लाग्दैन, नेपालमा केही होलाजस्तो छैन,” चिकित्सकले निराशाको पुर्जी थमाए ।

जेठो छोरो लोराज तिनताक भारतमा ज्याला मजदुरी गर्थे । आमा बिरामी भएको चाल पाएपछि उनले खबर पठाए, “आमालाई लिएर सिलगुढी आउनू, म बचाउँछु आमालाई ।”

ऋणधन गरेर सिलगुढी पुर्‍याएपछि पो पत्ता लाग्यो, दुवै मृगौला चलायमान छैनन् । मृगौलाले काम नगरेकै परिणाम हो यो । चिकित्सकले जाँच गरेपछि भने, “मृगौलामा खराबी देखिएको छ । टन्न पानी पिउनू । यो औषधि नबिराइ एक महिना खानू, निको नभए पुनः आउनू ।” 

एक झोला औषधि बोकेर उनीहरू तलुवा फर्किए । औषधि खाएको एक महिनासम्म होलो भएजस्तो भयो  । आँगन–मझेरी गर्न पनि थालिन् ।

एक महिनापछि जस्ताको तस्तै । अतिशय पीडाले श्रीमती छटपटिन थालेपछि उनी कहालिए, “अलिअलि भएको पैसा सिलगुढीमै सकिइहाल्यो, अब कुन पैसाले उपचार गर्नु, हे भगवान !”

छिमेकी, आफन्तसँग हारगुहार गरेर टेकानपुरसम्म त पुगे तर चिकित्सकले झनै अत्याइदिए, “सिलगुढी पु¥याएर ल्याउनु भएको, बिरामी तंग्रिइहाल्छ कसरी भन्नु ? मन लागेको खान दिनु, हामीले भनेको मान्नुहुन्छ भने उपचार गरेर पैसा सक्नतिर नलाग्नूस् !”

उपचार गरेर निको पार्न लगेको बिरामीलाई मृत्यु पर्खिएर बस पो भनिदिए चिकित्सकले । वातावरणमा सन्नाटा होइन, कोलाहल नै छायो । 

“त्यसै मर्न दिन्न आमालाई, यहाँ नभए काठमाडौँमा त उपचार होला नि !,” जेठो छोराले जोडबल गरेपछि काठमाडौँ आइपुगेका हुन् उनीहरू पाँच वर्षअघि । र, नियमित डायलोसिस गरिरहेका छन् ।

“अस्पतालले चाँडो मृगौला फेर्नु भन्नुभएको छ । १२–१५ लाख लाग्छ रे ! त्यत्रो पैसा कहाँबाट ल्याउनु ? डायलोसिसले काल जति टार्न सक्छ टारोस्, सन्तानलाई ऋण थोपरेर मृगौला फेर्नुभन्दा, चिता हेर्नु निको !,” मझेत्रोको सप्कोले आँसु पुछिन् नृपले ।

अहिले नेपाल मेडिकल कलेजमा हप्तामा दुई दिन डायलोसिस गरिरहेकी छन् उनले । निःशुल्क भएकाले डायलोसिस गरेवापत अस्पताललाई रकम भुक्तान गर्नुपर्दैन । तर महिनामा चाहिने दुई पोका रगत र औषधिका लागि १५ हजार रुपैयाँ खर्च हुन्छ । त्यति जुटाउनसमेत महाभारत परिरहेको छ निर्धन विक परिवारलाई ।

० ० ०

श्रीमतीको ‘किड्नी फेल’, परिवारलाई एकपछि अर्को गरी नियतिले झेल गरिराखेकै थियो । ०७२ को भूकम्पले उनीहरूलाई पनि ओतविहीन बनाइदियो । रोग, भोक र शोकले मन विदीर्ण थियो, थात भुइँचालाले जीर्ण बनाइदिएपछि उनीहरू खुला आकाशमुनि जीवन व्यतीत गर्न अभिशप्त भए ।

“बल्लतल्ल सरकारले दिएको अनुदान पाएर जगसम्म खन्न सकेका छौँ,” चङ्ख निरीह हुँदै सुनाउँछन्, “नयाँ घरको दैलोभित्र टेक्न नपाउँदै प्राण जान्छ जस्तो पो लाग्न थालेको छ ।”

 ० ० ०

ज्याला मजदुरी, बनिबुतो गर्दै श्रीमतीको हेरचाहमा जुटेका विक परिवारमाथि ६ महिना अगाडि अर्को बज्रपात आइलागको छ ।

पैसा जोहो गरेर श्रीमतीलाई आफ्नौ मृगौला दिने सुरमा थिए उनी । चिकित्सकसँग परामर्शसमेत लिएका थिए । मृगौला फेर्न मिल्ने थाहा पाएपछि घरबारी बेचेर भए पनि अर्धाङ्गिनीको उपचार गर्न कस्सिएका थिए उनी ।

तर, हिँड्दाहिँड्दैका चङ्खको दुवै स्तनमा गिर्खा देखा परे र अस्वभाविक रूपमा बढेजस्तो पनि भयो । छातीको दुवै पाटामा अतिशय पीडा हुन थाल्यो । हिँड्दाहिँड्दै सास फुत्त जालाजस्तो पो हुन थाल्यो । चुरोट खान्थे । बेलुका असाध्यै गाह्रो हुँदा थकाइ मेटाउने बहानामा मदिरा लिन्थे । तर, लती थिएनन् । “के भयो होला त ?,” आश्चर्यमा परे उनी ।

तत्कालै मेडिकल कलेजमा गएर जँचाएपछि पत्ता लाग्यो, उनको फोक्सोमा क्यान्सरको संक्रमण देखियो र अस्पतालले मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा रिफर गरिदियो । 

“चिकित्सकले क्यान्सर पहिलो चरणमा भएकाले नआत्तिनू भन्नुभएको छ, उपचार गर्न ६० हजारदेखि एक लाखसम्म लाग्छ भन्नुभएको छ । सोमबारसम्मको समय दिनुभएको छ तर आफूसँग एक रुपैयाँ छैन । ज्याला मजदुरी गरेर कमाएको पैसा श्रीमतीकै उपचारमा सकिइहाल्यो,” पोल्टो छामछुम पारे उनले ।

श्रीमतीको दुवै मृगौलाले काम नगरेर परिवारै थलिएका बेला श्रीमानलाई क्यान्सरको संक्रमणले मुर्दामाथि कात्रोको लोकोक्तिलाई ओझेल पारिदिएको छ ।

छेवैमा कान्छा छोरा लोकराज थिए । “डाक्टरले विभिन्न स्क्यानिङ, परीक्षण गर्न भन्नुभएको छ, त्यसकै १० हजार लाग्छ, बाँकी कसरी उपचार गर्नु ?,” विकल्पहीन देखिए उनी ।

लोकराजले प्रवेशिका उत्तीर्ण गरेका छन् । त्यसबाहेक पाँचै सन्तानले स्कुलको दैलो टेकेका छैनन् । “म आफैँले कमाएर श्रीमतीको उपचार र परिवारको पालनपोषण गरेको थिएँ । आफैँलाई रोग लाग्यो, बिलखबन्दमा परेको छु,” खुइया.. काढ्दै भने, “कहिलेकाहीँ त ओछ्यानमै भुक्लुक्क मर्न पाए हुन्थ्योजस्तो लाग्छ । पीडा त सहनु पर्दैनथ्यो । आखिर गरिबको इलाज हुने होइन यो देशमा !”

कहिलेकाहीँ आफन्त आएर हप्काउँदा रहेछन्, “रोग किन पालेर बसेको ? रोग र ऋण उस्तै हुन्, जति सुम्सुम्यायो, उति खँजाहा बनाउँछन् ।”

“पैसा नभएर त कुँजिएर बसेको नि, पैसा भएको भए उपचार गरिहाल्थेँ नि,” पीडा सुनाए उनले ।

“मृत्युभन्दा माथि कोही छैन, आफैँ मरे त केही थिएन । श्रीमतीलाई केही भइहाल्यो भने यी छोराछोरीको विजोग हुन्छ हजुर ! कसैले दुईचार रुपैयाँ सहयोग गरिदिए श्रीमतीको इलाज गर्थें,” याचना गर्दै कुराकानी बिट मारे उनले ।


इच्छुक सहयोगीका लागि बिरामीको सम्पर्क नम्बर ९८१०१८५४४७, ९८२४०३२११९
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC