site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली खेलकुदको फड्को, यी हुन् विदेशी भूमिमा खेल्ने खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘आईपीएलको इतिहासमा पहिलो नेपाली, १७ वर्षे लेग स्पिनर सन्दिप लामिछानेलाई क्लबमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी मिलेको छ,’ गत साता इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन चलिरहँदा आईपीएल क्लब दिल्ली डेयरडेभिल्सले आफ्नो अफिसियल ट्विटर पेजबाट गरिएको यो ट्विट नेपाली खेलकुद इतिहासको लागि स्वर्णीम रह्यो ।

दिल्ली डेयरडेभिल्सको त्यो ट्विटसँगै नेपाली खेलकुदमा एक तरंग नै उत्पन्न भयो । नहोस् पनि कसरी ? खेलकुदमा विस्तारै माथि उठ्दै गरेको राष्ट्र, विश्व क्रिकेटको एसोसियट राष्ट्र नेपालका एक युवा खेलाडी सन्दिप क्रिकेटरको सपना रहेको प्रतियोगिता आईपीएल क्रिकेटका लागि भाउ लागेको थियो । जब कि विश्व क्रिकेटका चर्चित खेलाडीहरुको भाउ नलागिरहेको बेला सन्दिपलाई दिल्लीले बेस प्राइस २० लाख भारुमा क्लबमा भित्र्याएको थियो ।

दिल्लीले यू–१९ क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दिपलाई क्लबमा भित्र्याएसँगै आईपीएलको अक्सन हेरेर बसेका सारा नेपाली, खेल प्रेमी, समर्थकहरुको उमंग सायद अर्कै थियो । नेपाली खेलकुदमा बंगलादेशमा सम्पन्न सन् २०१४ को टि–ट्वान्टी विश्वकपमा नेपालले खेल्दा, नेपाली फुटबल टोलीले दुई वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक, बंगबन्धु कप फुटबल र गतवर्ष सोलिडारिटी कप फुटबलको उपाधि जितेपछि सबैभन्दा खुशीको क्षण यही थियो होला  ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले त, सन्दिप प्रधानमन्त्री, कलाकार, खेलाडी, राजनीतिज्ञ, खेलप्रेमी समर्थकहरुको बधाइको पात्र बने । सन्दिप अन्तर्राष्ट्रिय मिडियामा छाए, जुन मौका कमै नेपाली खेलाडीले पाउने गर्छन् ।

सन्दिप आईपीएल क्लबमा अनुबन्धित भएकै साता अन्य दुई नेपाली खेलाडी पनि विदेशी क्लबमा अनुबन्धित हुने मौका पाए । नेपाली टोलीका गोलरक्षक किरण चेम्जोङ र फरवार्ड बिमल घर्ती मगर भारतकै शिर्ष डिभिजनको लिग आईलिग क्लबमा अनुबन्धन भएका थिए । सन्दिप दिल्लीमा अनुबन्ध हुनुअघि नै किरणलाई मीनरेभा पन्जाब क्लबले भित्र्याएको थियो । सन्दिप आईपीएलमा अनुबन्धित भएको केही दिनपछि बिमल मोहन बगानसँग आबद्ध भए ।

Global Ime bank

सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बने । यसअघि नेपाली खेलाडी आईपीएल क्रिकेटको अक्सन सूचीमा समेत परेको रेकर्ड छैन । किरण र विमल धेरै लामो समयपछि आईलिग खेल्ने नेपाली खेलाडीको सूचीमा परेका हुन् ।

सन् २०१० देखि १२ सम्म रोहित चन्दले हिन्दूस्तान एरोनोटिक्स लिमिटेड एससीबाट आईलिग खेलेपछि नेपालबाट किरण र विमलले आईलिग खेल्न लागेका हुन् । त्यसअघि नेपाली टोलीका पूर्वकप्तान अनिल गुरुङले सन् २००० मा सिलोङ लाजोङबाट खेलेका थिए ।

सन्दिप, किरण र विमलको विदेशी क्लबको सम्झौतालाई नेपाली खेलकुदको एक फड्को नै मान्न सकिन्छ । यो फड्कोलाई नेपाली खेलकुदले एक पुलको माध्यम बनाउन सक्छ । उनीहरुको प्रदर्शनले अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली खेलाडीको प्रवेशका लागि महत्वपूर्ण ढोकाको रूपमा समेत स्थापित गर्नेछ । तीन खेलाडीको अनुबन्धनले नेपाली खेलाडीको स्तर वृद्धि हुनुका साथै नेपाली खेलाडीको ट्यालेन्ट पनि देखिएको छ ।

सन्दिप, किरण र बिमलमात्र हैन, पछिल्लो समय थुप्रै नेपाली खेलाडीहरु विदेशी क्लबमा आफ्नो खेल कौशल देखाउँदै आएका छन् । फुटबल, क्रिकेट, भलिबल, बक्सिङजस्ता खेलका थुप्रै नेपालीले विदेशी भूमिमा खेलिसकेका छन् ।

नेपाली टोलीका नियमित सदस्य रोहित चन्द हाल इन्डोनेसियाको लिगमा व्यावसायिक फुटबल खेल्दैछन् । व्यावसायिक लिग नभए पनि फुटबलर जगजित श्रेष्ठ र सुलभ मास्के अस्ट्रेलियाको लिगमा जम्दै आएका छन् ।

नेपाली भलिबल खेलाडीहरु मानबहादुर श्रेष्ठ, मञ्जु गुरुङ, प्रतिभा माली, कोपिला उप्रेती र अरुणा शाहीले माल्दिभ्सको क्लबबाट व्यावसायिक खेल खेलिसकेका छन् । यस्तै, नेपाली बक्सर मनोहर (म्याक्स) बस्नेत र सुलप मगरले गत वर्ष भारतमा पहिलो पटक भएको सुपर बक्सिङ लिग (एसबीएल) मा विभिन्न क्लबबाट खेल खेलिसकेका छन् । तर, पछिल्लो समय विदेशी क्लबबाट खेलिरहेका र खेल खेल्ने खेलाडीमध्ये सन्दिप, किरण, विमल र रोहित नै हुन् ।
 
विदेशी भूमिमा खेल्ने नेपाली खेलाडी :
 
सन्दिप लामिछाने (क्रिकेट), दिल्ली डेयरडेभिल्स

नेपाली खेलकुदमा पछिल्लो समय बढी पढिएको नाम हो क्रिकेटर सन्दिप लामिछाने । आईपीएल क्लब दिल्ली डेयरडेभिल्समा यो सिजनको लागि अनुबन्ध भएसँगै सन्दिप चर्चाका पात्र बने ।

टि–ट्वान्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान वेष्ट इन्डिजको क्रिस गेललाई आईपीएल क्लबले भाउ नलगाएको अक्सनबाट युवा क्रिकेटर सन्दिप बिक्री भए । योसँगै उनले आईपीएल खेल्ने पहिलो नेपालीको इतिहास बनाए । त्यसैले त स्पिनर सन्दिप विदेशी भूमिमा खेल्ने खेलाडीको सूचीमा पनि पहिलो स्थानमा पर्छन् ।

गेलमात्र हैन, इशान्त शर्मा, हसिम अमला, डेल स्टेयन, जो रुट, लासिथ मालिंगा जस्ता खेलाडीहरूलाई कसैले भाउ लगाएनन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसोसिएट राष्ट्र नेपालका एक खेलाडी सन्दीपले आईपीएलमा ठाउँ पाए । आईपीएलमा एसोसियटबाट स्थान पाउने एक्ला खेलाडी पनि हुन् सन्दिप ।

आईपीएलको यो (११ औं) सिजन ७ अप्रिलबाट सुरु भइ मे २७ मा सकिनेछ । आईपीएलको यो सिजन ८ टोलीले डबल राउण्ड रोबिन र प्लेअफ नकआउटका आधारमा खेल्ने छन् । ती ८ टोलिमध्येको एक टोली दिल्लीमा सन्दिप हुनेछन् ।

नेपाली क्रिकेटमा छोटो समय चम्किएका खेलाडीमध्ये एक हुन् सन्दिप । सन्दीपले छोटो समयमै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाए । सन्दिप हाल आईसीसी डिभिजन टु को लागि नामिबियामा नेपाली टोलिसँगै रहेका छन् । डिभिजन टुमा सन्दिपबाट नेपाली टोलीको आशा समेत रहनेछ ।

सन्दिपले आईपीएलको दौरान मैदान उत्रने मौका पाउँछन् या पाउँदैनन्, त्यो हेर्न बाँकी छ । तर, उनी प्रतिभावान खेलाडी भने पक्कै हुन् । दिल्लीमा सन्दिपले जेसन रोय, गौतम गाम्भीर, ग्लेन म्याक्सवेल, क्रिस मोरिस, कागिसो रबाडा, अमित मिश्रा, मोहम्मद सामी, ऋषव पन्त, श्रेयस ऐयर, ट्रेन्ट बोल्ट जस्ता खेलाडीसँग अभ्यास गर्नेछन् ।

सन्दिपको क्षमता देखेरै तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरको एक ट्रेनिङ सेन्टरबाट यू–१९ नेपाली टोलीको क्याम्पमा बोलाएका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी राष्ट्रिय टिमकै मुख्य सदस्य भइसकेका छन् ।

स्याङ्गजामा जन्मिएर भारतमा क्रिकेट सिकेका सन्दिपले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत दुई वर्षअघि काठमाडौँमा भएको नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । त्यो खेल नै सन्दिपको टर्निङ पोइन्ट रह्यो । पहिलो खेलमा नै न्युजील्यान्डलाई हराएको नेपालले दोस्रो खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै थियो । यस्तोमा आयरल्यान्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दीपले ह्याट्रिक गरेका थिए ।

आयरल्यान्डबिरुद्ध सन्दिपले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

आयरल्यान्डविरुद्ध सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । सन्दीप उक्त विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे ।

विश्वकपकै दौरान सन्दिप अष्ट्रेलियाका पूर्वक्रिकेटर तथा कप्तान शेन वार्नसँग दाँजिए । यस्तै सन्दिपले अष्ट्रेलियाकै पूर्वकप्तान माइकल क्लार्कको एकेडमीबाट क्रिकेट प्रशिक्षण तथा खेल्ने मौका पाए । क्लार्कसँगको भेट पनि सन्दीपको करियरमा थप कोशेढुंगा साबित भएको थियो ।

 
रोहित चन्द (फुटबल), पर्सिजा जकार्ता

नेपाली फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले नेपाली क्लबमा निकै कम खेल खेलेका छन् । २०६६–०६७ सालमा मच्छिन्द्र क्लबबाट डेब्यु गरेका रोहितले गत वर्ष मनाङ मर्स्याङ्दीबाट केही खेल खेलका थिए । त्यसबाहेक रोहित विदेशी क्लबमै व्यस्त रहँदै आएका छन् ।

रोहितले भारत र मलेसियाको क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । रोहित हाल इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्ने गर्छन् । सन् २०१३–०१५ को सिजन खेलेपछि रोहित पुनः गत वर्ष पर्सिजा जकार्तामा आबद्ध भएका हुन् ।

डिफेन्स र मिडफिल्डमा खेल्न माहिर रोहितले सन् २००९ मा नेपाली टोलीमा डेब्यु गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का उत्पादन रोहित उमेर समूह खेल्दै सिनियर टोलीमा पुगेका थिए । तर, पछिल्लो केही वर्ष चोटका कारण रोहित राष्ट्रिय टोलीमा परेका थिएनन् । चोटबाट मुक्त भएपछि ४६ क्याप खेलिसकेका रोहित नेपाली टोलीमा नियमित रहँदै आएका छन् ।

नेपाली खेलाडीहरु फुर्सदिलो भएको बेला फुटबलमा व्यस्त हुने खेलाडीमा पर्छन् रोहित । नेपालमा लामो समय भयो ए डिभिजनको लिग नभएको । त्यसैले नेपाली खेलाडीहरु गोल्डकप खेलेर बिताउनु पर्दा रोहित विदेशी फुटबलमा व्यस्त हुने गर्छन् ।

सुर्खेतमा जन्मिएका रोहितले सन् २०१० देखि १२ सम्म आईलिग क्लब हिन्दूस्तान एरोनोटिक्स लिमिटेड एससीबाट खेल्दै विदेशी क्लबमा डेब्यु गरेका थिए । त्यसपछि रोहित एक सिजन इन्डोनेसियाको पेकानबारूबाट व्यावसायिक फुटबल खेलेका थिए ।

सन् २०१३ बाट २०१५ सम्म इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेलेका रोहितले २०१६ मा मलेसियाको क्लब टी टीम एफसीमा फुटबल कौशल देखाए । गत वर्ष नेपाली क्लब मनाङबाट खेल्दै गर्दा रोहित पुनः जकार्तामा अनुबन्धित भएका थिए । रोहित इन्डोनेसियन लिगका स्टार खेलाडी मध्ये एक हुन्  ।

नेपालको लागि दुई गोल गरिसकेका रोहित खेलेर पैसा कमाउने थोरै खेलाडीको सूचीमा पर्छन् । किनकी टिमलाई आवश्यकता अनुसार मिडफिल्ड र डिफेन्समा खेल्न सक्ने २५ वर्षे रोहितलाई अनुबन्धित गर्न क्लबहरुले लाखांै खर्च गर्ने गर्छन् ।
 
किरण चेम्जोङ (फुटबल), मीनरेभा पन्जाब
 

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ हालै भारतीय लिग आईलिग क्लब मीनरेभा पन्जाबमा अनुबन्धित भए । योसँगै पछिल्लो दुई वर्षमा किरणले दुई देशको दुई क्लबबाट व्यावसायिक फुटबल खेल खेले ।

धनकुटाका २७ वर्षिय किरणले माल्दिभ्सको टीसी स्पोर्ट्सको गोलपोस्ट सम्हाल्दै अन्तर्राष्ट्रिय क्लबमा डेब्यु गरेका थिए । सन् २०१७ मा टीसी स्पोर्ट्समा आबद्ध भएका किरण माल्दिभ्स फुटबल अवार्डका लागि समेत मनोनयनमा परेका थिए । अवार्ड नजिते पनि किरण अवार्डको उत्कृष्ट विदेशी खेलाडीतर्फको मनोनयनमा परेका थिए ।

टीसी स्पोर्ट्समा रहँदा किरणले निकै उच्च प्रदर्शन गरेका थिए । जसको कारण किरण आईलिग क्लबको आँखामा परे । टीसी स्पोर्ट्ससँगको सम्झौता सकिए लगत्तै किरण मीनरेभा पन्जाबको गोलपोष्ट सम्हाल्न आईलिग पुगेका छन् । उनको टोली लिगको दोस्रो स्थानमा छ । गत मंगलबार इस्ट बेंगालविरुद्धको खेलमा किरण म्यान अफ द म्याच समेत चुनिएका थिए  ।

नेपाली टोलीका लागि ५० क्याप पूरा गरिसकेका किरण नेपालमा नियमित फुटबल गतिबिधि शून्य हुँदा विदेशी क्लबतर्फ लागेका हुन् । सन् २००८ मा एएफसी च्यालेन्ज कपमा मकाउ विरुद्ध खेल खेल्दै नेपाली टोलीमा डेब्यु गरिसकेका किरणले नेपालका ठूला क्लबबाट खेलिसकेका छन् । मच्छिन्द्र क्लबबाट करियर सुरु गरेका किरणले थ्री स्टार र मनाङ मर्स्याङ्दीको जर्सी लगाईसकेका छन् ।

 
बिमल घर्ती मगर (फुटबल), मोहन बगान
 

बिमल घर्ती मगर नेपाली फुटबलमा स्टार खेलाडी हुन् । जसले छोटो समयमा नेपाली फुटबलमा एक छाप छाडे । उनै बिमल हाल भारतीय लिग आईलिग क्लब मोहन बगानसँग आबद्ध भएका छन् ।

छोटो समयमा सिनियर टोलीमा स्थान बनाएका बिमलले पहिलो व्यावसायिक क्लबको रूपमा मोहन बगानसँग सम्झौता गरेका हुन्  । सन् १८८९ सालमा स्थापना भएको मोहन बगान क्लब नेपाली खेलाडीको लागि परिचित क्लब समेत हो । यो क्लबबाट पूर्वकप्तान हरि खड्का, श्याम थापा, देवनारायण चौधरी जस्ता खेलाडीले खेलिसकेका छन् ।

सन् २०१२ मा बंगलादेशबिरुद्ध नेपाली टोलीमा डेब्यु गरेका बिमल सन् २०१३ मा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपको दौरान चर्चित बनेका थिए । पाकिस्तानविरूद्ध मैदान छिरेको केही समयपछि नै गोल गरेपछि बिमल एकाएक चर्चामा आएका थिए । दशरथ रंगशालामा नेपाली टोलीका लागि पहिलो गोल गर्दा बिमल मात्र १५ वर्षका थिए ।

दुई वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक, बंगलादेशको बंगबन्धु कप र गत वर्ष सोलिडारिटी कप फुटबलको उपाधि जित्दा बिमल मुख्य खेलाडी थिए । एन्फा एकेडेमीका उत्पादन नवलपरासीका २० वर्षे बिमल छोटो समयमा बढी ‘एक्सपोजर’ पाउने खेलाडी समेत हुन् ।

बिमलले युरोपियन राष्ट्रहरु बेल्जियम, स्पेन, नेदरल्याण्डस जस्ता राष्ट्रमा गएर फुटबल निखार्ने मौका पाएका छन् । बिमलले बेल्जियमको पहिलो डिभिजन क्लबको एकेडमी एन्डरलेक्टबाट अभ्यास तथा खेल्ने मौका पाएका थिए । यस्तै नेदरल्याण्डको क्लब ट्वेन्टेमा समेत अभ्यास गर्न पाएका बिमलले स्पेनी क्लब मार्वेला युनाइटेडमा समेत ट्रायल दिएका थिए  ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC