site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असहायकी सञ्जिवनी सरिता
Ghorahi CementGhorahi Cement

“रानाभाट बाजे मुढा पल्टिएर लागेदेखि थला बसेका छन् । हिँडडुल गर्न सक्दैनन्,” काठमाडौँबाट गाउँ पुगेका बेला कसैले सुनाइदियो, सरिता गुरुङलाई ।

रानाभाट बाजेका बारेमा उनको दिमागमा अनौठो विम्ब कुँदिएको थियो ।

नाम र वतनसमेत नखुलेका रानाभाट बाजे वर्षौंअघि कास्कीको ढिकुरपोखरी आएका थिए । त्यहीँ कसैको घरमा ‘बाँधा’ बसे । यौवन, बल, बैँस पसिनामा मिलाए ।  हातपाखुरा चलुञ्जेल बनिबुतो गरे । आँखामा हाले पनि नबिझाउने लोकोक्तिलाई पछि पार्दै गाउँलेका हितैषी– जिउँदाको जन्ती र मर्दाको मलामी भए । विडम्बना ! उमेरले नेटो काटेपछि धनसार (गोठ)मा थन्क्याइए ।

Agni Group

२०६० देखि उनका हातपाखुरा चल्न छाडेछन् । दशकोष परको आकृति ठम्याउने आँखा धूमिल भएछन् । त्यो कुरा चाल पाएपछि उनी दगुर्दै रानाभाटको झुपडीमा पुगिन् । सरिताको मन बडो विदीर्ण भयो ।

“त्यति चाँडै त थला बस्नुहुन्नथ्यो होला, दाउरा काट्न जाँदा मुढा पल्टिएर लागेछ र उपचार नपाउँदा थलिनुभएको रहेछ !,” उनी सम्झिन्छिन् अहिले ।

Global Ime bank

अँगेनामा राम्रोसँग आगोसमेत बलेको थिएन । ओदानमाथिको भात अधकल्चो भएर एकातिर छड्किइरहेको थियो, अर्कातिर डढेर अँगारतुल्य भइसकेको थियो । बुढ्यौली र रोगले एकसाथ दागा धरेका थिए । ओछ्यानमै कुँजिएका रानाभाट न चट्पटाउन सक्थे, न उठन सक्थे सजिलरी ।

विद्रूप दृष्यले उनको चित्त काढियो । मन उद्विघ्न भयो । ती वयोवृद्धको उद्धार गर्ने सोच उनीमा पलायो । टेलिभिजनमा सुनेकी थिइन्– यस्ता अनाथ, असहाय वृद्धवृद्धालाई पशुपति वृद्धाश्रमले छहारी दिन्छ । 

तत्कालै काठमाडौँ आएर सोधपुछ गरिन् । प्रशासनबाट ‘हुन्छ, ल्याउनु’ भन्ने वचन पाएपछि उनले ती वृद्धलाई पशुपति वृद्धाश्रममा लगेर राखिदिइन् । ती वृद्धको प्राण पाशुपत भूमिमै विसर्जन भयो ।

“पशुपतिमा पनि सजिलै कहाँ बस्ने ठाउँ पाइँदो रहेछ र । त्यहाँ वयोवृद्धमध्ये कसैको प्राण गयो भने न ठाउँ खाली हुने हो । तर, रानाभाट बाजे भाग्यमानी हुनुहुँदो रहेछ । यता कागजपत्र तयार पार्दै थियौँ, उता वृद्धाश्रमसमेत खाली भयो र तिनले ओत पाए,” पुलकित देखिइन् सरिता ।

थला बसेको ६–७ महिनामा वृद्धाश्रममा पुर्‍याइएका थिए रानाभाट  । वास्तवमा सरिताको समाजसेवा–यात्रा यहीँबाट सुरू भएको हो ।

त्यसो त उनमा समाजसेवाको चेत झ्याङ्गिएको शैशवावस्थादेखि नै हो । आमा मैताकुमारी गुरूङ सुडेनी थिइन् । तिनताका अहिलेको जस्तो सुविधासम्पन्न अस्पताल थिएनन् । स्वास्थ्यचौकी पुग्न पनि चार कोसको बाटो हिँड्नुपथ्र्यो ।

काठमाडौँका अस्पतालमा आएर प्रसूतिसेवा लिने, सुरक्षित तरिकाले बच्चा जन्माउने कति नै थिए र ! उनकै आमा मैताले घरघर गएर सुडेनी सेवा दिन्थिन् । बच्चा जन्माउन सहयोग पुर्‍याउँदिन् । नवजात शिशुको हेरचाहबारे सिकाउँथिन्, सालनाल अड्किएमा निकालिदिन्थन् । आमा चार गाउँकै ‘सुडेनी’ भएको देखेकी सरिताले आफूसँगै सामाजिक कार्य गर्ने उत्कण्ठालाई हुर्काउँदै झाँगिलो बनाउँदै लगिन् ।

“आमाको समाजसेवा भाव ममा पनि सुटुक्क सरेछ कि क्या हो, आफूभन्दा पहिला सामाजिक कार्य गर्ने चेत पो हुर्किएर तन्नेरी भएछ,” पुलकित देखिइन् उनी ।

समाज–सेवाको भाव थियो मनमा । समाजका दुःख, पीडा, अभाव, गरिबी, रोग, भोक, शोकले विक्षिप्त तुल्याउँथ्यो । द्रवीभूत हुन्थिन् उनी । मनभित्र सेवाभावले वशीभूत हुन्थ्यो ।
तर कसरी सरिक हुने ? अकिञ्चन उनीसँग साधन–स्रोत केही थिएन ।

सामाजिक सञ्जालको प्रयोग गर्न थालेपछि भने उनी कहिल्यै पछाडि फर्कनु परेको छैन । उद्देश्यमा पुगेरै उनका पैताला रोकिएका छन् । सामाजिक सञ्जालमार्फत नै उनले शीत उभाएर घैला भरेकी छन् र पीडितको सेवा गरेकी छन् भन्दा हुन्छ ।

समाजसेवाको सुरुआती दिनको दुःखदायी घटनाबाट यात्रावृत्तान्त सुरू गरिन् उनले ।

तिनताका सरिता फेसबुक चलाउन पारङ्गत भइसकेकी थिइन् । उनलाई एउटा समाचार ट्याग भयो । आशय थियो– मकैखोला, भाचोक, नयाँकास्कीकी १९ वर्षीय बुद्धिमाया गुरुङका दुवै मृगौला फेर भएर जीवन र मरणको दोसाँधमा छिन् । उनको डेढ महिनाको काखे नानी पनि छिन् । तर, आर्थिक अवस्था अनिर्वचनीय नाजुक । डायलोसिस गराउनसमेत सक्ने अवस्था छैन उनको ।

“यो नै मेरो सही समय हो र सामाजिक सञ्जाललाई उपयोगसिद्ध बनाउने र समाजसेवाको नवीन अध्याय सुरू गर्ने !,” मनले निधो गरेपछि उनले त्यहीँको स्थानीय पत्रकारमार्फत सत्यतथ्य पत्ता लगाइन् र फेसबुकमा सहयोगको आह्वान गरिन् ।

“वास्तवमा त्यो मेरो ट्रायल (परीक्षण) थियो । सजिलै उत्तीर्ण गरेँ र सामाजिक सहयोगको कोर्षको पाना पल्टाउँदै अघि बढेँ,” उनले स्मरण गरिन् ।

नभन्दै पैसा आशातीत संकलन भयो । सुरुआती दिनमा उनले ६५ हजार संकलन गरेकी थिइन् । र, पत्रकार सम्मेलन गरेर पीडितका परिवारलाई थमाइन् ।

डायलोसिसमात्रै रोगको समाधान नभएकाले मृगौला फेर्ने नै तहमा पुगेर दश लाख संकलन भयो । तर, विरामी बौरिनन् । ६ महिनामै उनको चोला उठ्यो । उपचारबाट बाँकी रहेको

 ५ लाख २५ हजार रकम उनकी छोरी अनुषा गुरूङको नाममा जम्मा गरिदिइन् ।

“मृगौला प्रत्यारोपणका लागि श्रीमानलाई अनुनयविनय गर्दै मृगौला दिन भन्यौँ तर उनी विश्वस्त देखिएनन् । बरु भन्न थाले– आफू अपाङ्गग भएर रोगी श्रीमती के बचाउनू ! अन्तिममा निधन भयो उनको !,” अचानको उनको अनुहारको सौर्य बदलीयो र दीर्घ निःस्वास लिइन् ।

रकम संकलन गरेर पनि बचाउन नसकेको बिरामी बुद्धिमाया एक्ली होइनन्, रक्तक्यान्सर रोगी पाँच वर्षीय बालक रितिज श्रेष्ठलाई पनि उनले बचाउन सकिनन् । ४५ हजारजति संकलन भएको हुँदो हो, रितिजले अन्तिम स्वास लिइहाले ।

दुर्गम क्षेत्रमा पुगेर चिकित्सा सेवा प्रदान गर्ने डा. चित्रा वाग्लेको उपचारार्थ पनि उनले रकम संकलन गरेर हस्तान्तरण गरेकी थिइन्, त्यस्तै ९२ हजार जति ।

विडम्बना ! उनले पनि धरा छाडे ।

० ० ०

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा विनासकारी पहिरो गयो, करिब २५६ घरधुरीको एकै चिहान भयो । त्यही त्रासदीबाट बँचेको एक घर पहरी परिवारलाई पुनर्जिवन दिइन् उनले ।

जुरेको विनाशलिलाबाट बाँचेका जोगी पहरीका छोरा बखत पहरीको कम्मरमुनिको भाग नचल्ने । आयस्ता र आम्दानीको बाटो नभएकाले पहरी परिवारलाई धुरी धुवाउनै मुस्किल थियो । ५ लाख ५० लागतमा उनले ती परिवारको जुनी उकासिइदिइन् । जुरे–पीडाले चोइटिएको मनमा मल्हमपट्टि गरिन् ।

जुरेको घाउमा औषधिमूलो गर्दानगर्दै विनासकारी भूकम्पले दुःखी, पीडित बस्ती नै बढ्ता क्षयीकरण गर्‍यो । बलबुताले भ्याएसम्म गरेर भुइँचालाको पनि पीडा पन्छाउने प्रयत्न गरिन् ।

राहत र उद्धारमा सक्रिय भइन् । भूकम्पको केन्द्र बारपाक, लाप्राकसम्म पुगेर सहयोगको हात बढाइन् । भूकम्पले धुलाम्य बनाएको गोरखा थुमीमा १५ दिन व्यतीत गरिन् । विपन्न तथा लोपोन्मुख बराम जातिको घाउमा सक्दो ओखतीमूलो गरिन् । खान, बस्न, औषधोपचारलगायत सेवा प्रदान गर्दा करिब साढे पाँच लाख खर्च भयो उनको ।

पछिल्लो समय उनी भक्तपुर चाँगुनारायण, संगमबस्तीका रामकृष्ण सार्कीको घर बनाउन जुटेकी छन् । वैदेशिक रोजगारीमा साउदी पुगेका सार्की काम गर्ने क्रममा अचानक मुटु दुखेर अस्पताल भर्ना भएका थिए । उचित उपचार नहुँदा उनी कोमामा पुगे । गरिबको झिनाझप्टीमा परेको परिवार उकास्न परदेशिएका दलित अन्ततः अचेत अवस्थामा नेपाल फिर्ता भए ।

योसँगै दोलखामा २० लाख लागतमा बहिरा छात्राबास बनाउँदैछिन् । भीमेश्वर बहिरा प्राविको चार पर्खालभित्र उनले आवासीय भवन खडा गर्न लागेकी हुन् । 

सरिताको सामाजिक सेवाभावबाट अनुग्रहित भएर क्याप्टेन देव गुरूङले सघाउन लागेका छन्, यो परियोजनामा ।

“तिम्रो सामाजिक सेवा अद्वितीय छ, छात्रावास बनाउन म सहयोग गर्छु भनेर उहाँले भन्नुभएको छ,,” कृतज्ञ देखिइन् उनी ।

योसम्म गरी उनले ३० वटा अभियान चलाइसकेकी छन्, सहृदयीहरूसँग सहयोगको हात बढाएरै । पहाडमा पहिरो खस्दा होस् या, तराईमा बाढी पस्दा, भूकम्पको कहर होस् या वैदेशिक रोजगारीको जहर चाहे द्वन्द्वको बाछिटा नै किन नहोस्– उनी सबैको सहयोगी बनेकी छिन् । जात, धर्म, समुदाय, सम्प्रदायको संकीर्ण सोचलाई तिलाञ्जली दिएर विशुद्ध सामाजिक सेवामा जुटेकी छन् । र, विपन्न, रोगीहरूका लागि सञ्जिवनी बुटी बनेकी छन् ।

सर्पदंश, बाढी, शीतलहर आदि सामाजिक प्रकोपको विम्ब बनेको तराईमा यो शीतयाममा उनले सरिता गुरूङ फाउन्डेशनमार्फत् १४ लाख बराबरको राहत बाँडिन् ।

पछिल्लो समय समाजसेवाको बर्को ओढेर पद र पैसाको तर मार्न पल्किएकाहरू पनि नभेटिने होइनन् तर यसप्रकारको विकृत सोच र चिन्तनको अमीट दाग आफूमा नलागोस् भनेर सचेत छिन् । पत्रपत्रिकामा आएकै समाचारको भरमा भावावेशमा आएर सहयोग जुटाउन कम्मर कसिहाल्दिनन् पनि ।

सामाजिक सञ्जालाई फुर्सदको साथी बनाउने र उत्पादनशील समय बित्थामा काट्नेहरूको भीडबाट माथि उठेर सहयोग र सद्भाव आदन–प्रदानको कोसेढुंगा बनाउन उद्यत छिन् ।
“समाजका दुःखी, पीडितको सेवा गर्नु नै मेरो लगाव हो, यसैभित्र जीवनको सार्थकता खोजीरहेको छु,” यति भनेर कुराकानीको पयो गाँठो पारिन् उनले ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC