काठमाडौँ, रासस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।
प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो ।
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।
निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए ।
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए । “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने ।
समितिका उपाध्यक्ष नेकपा एमालेका नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी गराए ।