site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाम एक, परिचय अनेक
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


रेडियो नेपाल

‘गोरखापत्र’ दैनिकमा दुईपटक लिखितमा नाम निकालेर अन्तर्वार्ताबाट फेल भएका नवराज लम्साललाई रेडियो नेपालले भने पत्यायो । ०५१ सालमा करारमा रेडियो प्रवेश गरे । काठमाडौंमै काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे पनि रेडियोले सुनेन । क्षेत्रीय प्रसारण सुर्खेत पठाइदियो ।

Prabhu Bank
Agni Group
NIC Asia

०५१ वैशाख २१ गते पहिलोपटक उनले माइकमा बोले, “यो रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्र हो । तपाईंलाई अब हामी लालबहादुर चौधरीको स्वरमा गीत सुनाउँछौं ।”

नवराजले रेडियो नेपालमा पहिलोपटक बोलेको वाक्य यही हो । थोरै उत्साह, थोरै डर तर त्योभन्दा पनि राष्ट्रिय प्रसारण माध्यमको जिम्मेवारीबोधले उनको मन रमाइरहेको थियो ।

Global Ime bank

काम भर्खर सुरु भएको थियो । नयाँ उत्साह थियो । सुरुसुरुमा प्राप्त प्रशंसाले मन तरंगित भएको थियो । त्यसमा फ्यानको हौसलाले काम गर्न जाँगर उचालिएको थियो । सुर्खेतमा उनले स्थानीय स्तरमै रुचाइने कार्यक्रम तयार पारे । राउटेलाई जंगलमा पुगेर भेटे । अन्तर्वार्ता लिए । बजाए ।

उमेर युवा थियो । जोश उचो थियो । त्यसमाथि प्रशंसाले कार्यक्रम रंगीन भइरहेका थिए । त्यसले नवराजलाई अझ बढी मेहनत गर्न हौस्याइरहेको थियो ।

०५१ सालमा चुनाव जितेपछि एमाले नेता प्रदीप नेपाल सञ्चारमन्त्री भए । रेडियो नेपालले मन्त्री नेपाललाई घुमाउन क्षेत्रीय प्रसारण केन्द्र सुर्खेत लग्यो । निर्देशक शैलेन्द्रराज शर्मा र नेपाल हवाइजहाजमा सँगै गए । रेडियो नेपालका कार्यक्रम कस्ता हुनुपर्छ भनेर दुईबीच छलफल भयो । भोलिपल्ट मन्त्रीले रेडियोका कर्मचारीसँग चिनजान गर्ने कार्यक्रम थियो ।

तर, त्यसअघि नै केही कर्मचारी मन्त्री नेपाललाई ‘नवराज नेपाली कांग्रेसको मान्छे रहेछ, यसलाई निकाल्नुपर्छ’ भनेर डेलिगेसन गइसकेका रहेछन् ।

मन्त्रीसँग चिनजान सुरु भयो । सबैले आ–आफ्नो परिचय दिए । पालो नवराजको आयो । 

“तपाईं के काम गर्नुहुन्छ ?” मन्त्रीले सोधे ।

नवराजले कार्यक्रम चलाउने र उद्घोषण गर्ने जवाफ दिए ।

“कस्तो कार्यक्रम चलाउनुहुन्छ ? खोइ एउटा सुनौं त,” मन्त्री नेपालले भने ।

गाउँघर, चिनारी, हाम्रो परिचय, पत्रोत्तर लगायतका कार्यक्रम चलाउने नवराजलाई कुन सुनाउने कुन भन्ने भयो । आफ्नो एकल कार्यक्रम सुनाउँदा सहकर्मीले चित्त दुःखाउँछन् भन्ने लाग्यो ।

उनले अरुको पनि आवाज रहेको ‘गाउँघर’ कार्यक्रम ल्याए । कार्यक्रम रेडियो म्यागेजिन फम्र्याटमा थियो । सुरुमा राष्ट्रिय गीत बज्ने कार्यक्रममा त्यसपछि देश विकासको संवाद थियो । त्यसपछि मन छुने नाटक । कार्यक्रमका अन्य सामग्रीलाई जोड्ने कलात्मक स्क्रिप्ट थियो ।

नवराजले मन्त्रीलाई कार्यक्रम सुनाए । एकचित्त भएर सुनेका मन्त्री नेपालले कार्यक्रम सकिएपछि सोधे, “यो नाटक कसले लखेको ?”

नवराजले भने, “मैलै मन्त्रीज्यू !”

“स्क्रिप्ट पनि तपाईंले नै लेख्नुभएको हो ?” नेपालले फेरि सोधे ।

“हो मन्त्रीज्यू,” नवराजले जवाफ दिए ।

भोलिपल्ट बिहान मन्त्री नेपालले नवराजलाई एक्लै बोलाएर भने, “तपाईं कुन पार्टीको भन्ने कुरा हिजो साथीहरूले मसँग गरेका थिए । तपाईंका साथीहरू तपाईंलाई निकाल्नु पर्‍यो भनेर डेलिगेसन लिएर आएका थिए । हामीले हिजो प्लेनमा कार्यक्रमको ढाँचाबारे छलफल गरेका थियौं, तपाईंले त्यस्तै खालको कार्यक्रम सुरु गरिसक्नुभएको रहेछ । तपाईं रेडियो नेपालको गेटबाहिर कुन पार्टीको झन्डा बोक्नुहुन्छ, त्यो मतलबको कुरा भएन । तर, रेडियो नेपालको मूल ढोकाभित्र पसिसकेपछि तपाईं रेडियो नेपालको इमान्दार कर्मचारी भएर काम गर्नुस् । कसैले तपाईंलाई निकाल्न खोज्यो भने मलाई आएर भेटे हुन्छ । जुन हिजो तपाईंले सुनाउनुभएको कार्यक्रम छ, पर्फेक्ट छ ।”

मन्त्री नेपालले शर्मालाई बोलाएर भने, “यही मान्छेलाई काठमाडौं बोलाएर यो कार्यक्रम गर्न लगाउनू ।”

तर, काठमाडौंमा चलिरहेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम राजनीतिक थियो । त्यो राजनीतिक कार्यक्रममा नवराज समाहित भएनन् ।

राजनीतिक उग्रता थियो । आन्दोलनबाट भर्खर आएको एमालेमा तातो जोश थियो । त्यसमा पनि प्रदीप नेपाल पार्टीभित्रकै क्रान्तिकारी सोच भएका युवा ।

“उहाँले कार्यक्रमको स्क्रिप्ट, नाटकका संवाद र त्यसको प्रस्तुति शैली हेरेर मेरो जागिर सुरक्षित गर्दिनुभयो । म उहाँको त्यो व्यवहार र कदमप्रति अहिले पनि कृतज्ञ छु,” नवराजले स्मरण गरे ।

सुर्खेतबाट निस्किने पत्रिका ‘सुसेली’मा काम गरेपछि रेडियोका कर्मचारीले उनी नेपाली कांग्रेस भएको ठहर गर्दै निकाल्न मन्त्री गुहारेका थिए ।

तर, एकातिर स्रोताको अपार माया, अर्कातिर मन्त्रीको ढाडस । नवराजलाई पुगिहाल्यो । आफ्नो काममा लागिरहे । उनको हाइट बढ्यो । रेडियो नेपालले उनलाई ‘हाइप’ दियो । तत्कालीन मन्त्री नेपालसँग बोल्न अब डराउने अवस्थामा उनी रहिरहेनन् । त्यसैले अहिले कहिलेकाहीँ भेट हुँदा नवराज सोध्छन्, “तपाईंले त्यो बेला मलाई जागिरबाट किन निकाल्नुभएन ?”

प्रदीप भन्छन्, “मैले प्लेनमा रेडियोमा यस्तो कार्यक्रम बनाएर बजाउनुपर्छ भनेर तपाईंको डाइरेक्टरलाई जुन कुरा भन्दै थिएँ, त्यो त मभन्दा एक कदम अगाडि बढेर तपाईंले सुरु गरिसक्नुभएको पो रहेछ । जस्तो मान्छे रेडियोमा चाहिन्छ भनिरहेको थिएँ, त्यस्तै मान्छेलाई कसरी निकाल्न सक्थें र म ? मैले खोजेको नेपाल थिएन त्यो ।”

० ० ०

काठमाडौं फर्किएपछि उनलाई रेडियो नेपालको केन्द्रीय प्रसारणमा आफूलाई अब्बल प्रमाणित गर्नु थियो । देशभरका स्रोताको ध्यान आफूतर्फ खिचेर जनताको प्रिय प्रस्तोता बन्नु थियो । खुट्टा तान्नेहरूलाई भर्‍याङमुनि छाड्नु थियो । त्यसैले ऊर्जाशील उमेरको जोशलाई आवाजमा मिसाउन सकेको प्रयत्न गरे । ‘नओइलाउने फूलहरू’, ‘सुनाखरी’, ‘मार्गचित्र’, ‘मधुवन’, ‘सुरसंगम’ जस्ता कार्यक्रम चलाए ।

सांस्कृतिक चेत, ज्ञानको गहिराइ र बोलीमा धाराप्रवाह भएका नवराज तीन वर्षमा सुर्खेतबाट सिंहदरबार फर्किएपछि जीवनको लय फेरियो । अनुप्रासयुक्त शब्द छनोट, बोलीमा माधुर्य र कामप्रतिको लगनले उनको चर्चा फैलिँदै गयो । रेडियोमा आवाजका बादशाहहरू दाहाल यज्ञनिधि, पाण्डव सुनुवार, पुरुषोत्तम सापकोटासँग उनको आवाज मिसियो । नवराजको तिलस्मी आवाजसामु कति आवाज फिक्का लाग्न थाले ।

नवराजले फगत गीत बजाउने, उद्घोषण गर्ने काममात्रै गरेनन्, राजनीतिक विश्लेषण र राजनीतिक अन्तर्वार्ताको पूर्ण प्याकेज ‘घटना र विचार’ पनि चलाए । समसामयिक राजनीतिक विषयको कार्यक्रम ‘परिवेश’ मात्रै पनि होइन, नवराजले दिनको सुरुआत गर्ने धार्मिक कार्यक्रम पनि चलाए । अक्सर वृद्धवृद्धाले खुब मन पराउँथे यो ।

प्रधानमन्त्रीद्वारा प्रशंसा

नवराजको जिन्दगी बगेको पानीजस्तै हो । जहाँ खाली छ, त्यहीँ गएर भरिने । जस्तो पर्‍यो, त्यस्तै गर्दै जाने । त्यसैले त उनका फरक–फरक तह, उमेर र समूहका स्रोता छन् । फरक–फरक भूगोल र परिवेशका स्रोताको प्रिय पात्र बनेका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका थिए । मिडियाबाट आफ्नो विचार स्थापित गर्न रुचाउने उनको स्वभाव थियो । भट्टराईको यो स्वभाव थाहा पाएको रेडियो नेपाल, कार्यक्रम महाशाखाले महिनामा एउटा कार्यक्रम उनीसँग गर्न प्रस्ताव गर्ने निर्णय गर्‍यो ।

नवराजले प्रस्ताव तयार पारे । कार्यक्रम भट्टराईकै कार्यकक्षबाट प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव थियो । तर भट्टराईले त एक कदम अगाडि बढेर भने, “यहाँबाट झन्झट गर्नुभन्दा म स्टुडियो नै आउँछु ।”

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सुरु भयो । कार्यक्रम नवराजले चलाउन थाले । नवराजका प्रश्नसँगै चिठ्ठी, इमेल तथा टेलिफोनबाट स्रोताका जिज्ञासा लिने ढाँचा थियो । जनता प्रधानमन्त्री तथा सरकारको विपक्षमा आलोचना गर्दै प्रश्न सोधिऊन् भन्ने चाहन्थे । नवराज पनि जनताको तहबाट उठेका प्रश्न प्रधानमन्त्रीलाई गर्थे ।

प्रधानमन्त्री पनि आफूलाई जानकारी भएसम्मका र मिल्नेसम्मका उत्तर दिन्थे । कार्यक्रमबाटै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँथे । अर्को पटक आउँदा त्यसको प्रगति विवरण सुनाउँथे । लाग्थ्यो– कार्यक्रमबाट प्रधानमन्त्री भट्टराई सन्तुष्ट नै थिए ।

तर, एकदिन उनको सचिवालयका एक सदस्यले भने, “दिनभरि तनाव खेपर प्रधानमन्त्री साँझ तिम्रो गाली खान स्टुडियो आउने हो ? तिम्लाई अन्टसन्ट जे मन लाग्छ, त्यही सोध्न र केरकार गर्न प्रधानमन्त्रीलाई बोलाउने हो ? तिमीलाई बयान दिन उहाँ स्टुडियो आउने हो ?”

नवराज भन्छन्, “तर, प्रधानमन्त्री स्वयंले भने कहिल्यै केही भन्नुभएन । आफ्ना कर्मचारीले गाली गरेको पनि शायद उहाँलाई थाहा भएन होला ।”

राम्रो कामको नराम्रो अपजस नवराजको मनमा खिल बनेर गढेको रहेछ । तर मनमा लागिरह्यो– चोखो हृदयले जनताका लागि गरेको कामको मूल्यांकन पक्कै हुन्छ ।

उनको मनले जे सोच्यो, त्यही भइदियो । डा. भट्टराईले रेडियो नेपालको मुखपत्र ‘झंकार’मा लेख लेख्दै नवराजको प्रशंसा गरे । उनले आफ्नो लेखमा लेखे, “.... रेडियो नेपाल सरकारी सञ्चार माध्यम भएकाले राजनीतिक नेतृत्वसँग अलि डराउने र जे भन्यो, जीहजुरी गर्ने चलन छ भन्ने सुनेको थिएँ तर कार्यक्रम सञ्चालक नवराज लम्सालले जुन किसिमले मेराबारे, सरकारबारे र मेरै पार्टीका बारे पनि निर्भीक रूपमा प्रश्न राख्नुभयो र प्रष्ट गर्ने मौका जुराउनुभयो, त्यो पत्रकारमा हुनुपर्ने साहस थियो । मैले र मेरो सचिवालयले कहिल्यै पनि यो सोध, यो नसोध, यसो भन, यसो नभन भनेनौँ । उहाँ स्वतन्त्र हुनुहुन्थ्यो र उहाँले त्यो स्वतन्त्रताको पूर्ण पालना गरेको पाएँ । यसले सञ्चालकको मात्र होइन, रेडियो नेपालकै र सरकारी सञ्चारमाध्यमको इज्जत बढेको पाएँ । यसरी साथीहरूको पेशागत मनोबल बढाउन पाएकोमा पनि खुसी छु । यसप्रति उहाँहरू निरन्तर सक्रिय हुनुहुन्थ्यो र उहाँहरूकै सक्रियताले यो कार्यक्रमले उचाइ प्राप्त गरेको हो । नेपाली प्रसारणकै इतिहासमा एउटा नयाँ काम गर्ने संयोग जुरेकोमा र जुराइदिएकोमा रेडियो नेपाल परिवार, समस्त स्रोेता र फोन गर्ने, इमेल लेख्ने सबै शुभेच्छुकहरूलाई सधन्यवाद आभार व्यक्त गर्दछु ।”

१८ शृंखला चलेको यो कार्यक्रमले नवराजको आत्मबलमात्रै बढाएन, सरकार प्रमुखले गरेको प्रशंसाले उनलाई शिखरमा पु¥याइदियो । निर्भीक र स्वतन्त्र पत्रकारितामा लाग्न थप प्रेरणा प्राप्त भयो । नवराज थप स्पात भए ।

रेडियो नेपालमा पहिलो कला संवादाताको रुपमा बीबीसी  नेपाली सेवामा काम गरे । जहाँ उनले समाचारको सत्ययता र निष्पक्षताका विषयमा थप ज्ञान आर्जन गरे ।  

थरीथरीका फ्यान

नवराजको मधुर स्वरमा अनगिन्ती स्रोता लठ्ठिए । कति सम्पर्कमा आए, कति आउनै पाएनन् । केही यस्ता स्रोता आए, जसलाई उनले बिर्सिन सकेका छैनन् ।

०५५ सालमा नवराज पोखरा पुगेका थिए । कार्यक्रम थियो । २ सय सहभागी थिए । नवराजले बोलेका कुराबाट एक महिला प्रभावित भइछन् । निराशा नै निराशाले गिजोलिएर हरेस खाइसकेकी ती महिला नवराजको अभिव्यक्तिकै कारण तंग्रिइछन् । नवराजले बोलेका हरेक शब्द उनका लागि सञ्जीवनी बनिदिएछन् ।

“मैले पीएचडी गर्ने थाहा पाएपछि उहाँले मेरो खातामा १ लाख रुपैयाँ जम्मा गरिदिनुभयो,” नवराजले आफ्नो नाडीमा बाँधिएको घडी देखाउँदै भने, “यो घडी पनि उहाँले नै दिनुभएको हो ।”

यस्ता थुप्रै सम्झनाको खात छ नवराजसँग । नवराज भन्दै गए, “म नाम त भन्दिनँ तर कथा सुनाउँछु । पीएचडीका लागि मेरो खातामा पैसा जम्मा गरिदिने अर्का एकजना पनि हुनुहुन्छ । उहाँले ८० हजार रुपैयाँ जम्मा गरिदिनुभयो । म उहाँहरूसँग सधैं ऋणी छु । यो उहाँहरूले मलाई थमाइदिएको पैसाको बिटो होइन, जिम्मेवारीको पोको हो ।”

बिहान धार्मिक कार्यक्रम चलाउँथे उनी । त्यसकै सिलसिलामा प्रत्यक्ष प्रसारणका लागि उनी संकटा मन्दिर पुगेका थिए । उनको हातमा माइक थियो । एउटा बाइकमा दुईजना व्यक्ति आए । बाइकको पछाडि बसेकी महिला ओर्लिइन् । नवराजको छेउमा आइन् र सोधिन्, “तपाईं नवराज लम्साल होइन ?”

“हो ।”

उनले नवराजलाई एउटा प्याकेट थमाइन् र गइन् । त्यो प्याकेटमा ओशोका केही किताब थिए । त्यहाँ लेखिएको थियो, “नवराज लम्सालको धार्मिक कार्यक्रमको स्तर केही खिइँदै गएको छ । हामी नवराज लम्सालले पहिला चलाउनेजस्तै स्तरीय कार्यक्रमको अपेक्षा गर्छौं । यी ओशोका केही किताब छन् । यो पढेर भोलिबाटै पहिलाको जस्तै सशक्त नवराज लम्साल देख्न चाहन्छु । धन्यवाद ।”

ती महिला को थिइन्, नवराजले कहिल्यै थाहा पाएनन् ।

उनले अर्का एक फ्यानको कथा पनि साटे । माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । बाटो, बस जहाँ झोला देखिए पनि सबै झस्किन्थे । सेनाको बम डिस्पोजल टोली गुहारेर विष्फोटक पदार्थ हो/होइन, जाँचिन्थ्यो ।

एकदिन रेडियो नेपालमा ठूलो प्याकेट आयो । कभरमा लेखिएको थियो– नवराज लम्साल । 

विष्फोटक पदार्थ हो कि भनेर सबै डराए । प्रहरी बोलाउने कि आफैं खोल्ने, अन्योल भयो । नवराजले हिम्मत गरेर खोले । त्यहाँ त उडमाउन्ट गरेर पेन्सिलले तयार गरिएको स्केच पो देखियो ।  त्यसमा लेखिएको थियो– आर्टः आरडी ।

पछि नवराजले पत्ता लगाए । नेपालगन्जकी रीता देवान भन्ने उनकी फ्यान रहिछन् । ०५९ सालमा कविता महोत्सवमा प्रथम भएका बेला प्रधानमन्त्रीले पुरस्कार दिँदै गर्दा खिचिएको फोटोको स्केच रहेछ । “स्थानीय श्यामश्वेत पत्रिकामा छापिएको फोटो हेरेर उहाँले त्यो स्केच तयार पारी मलाई पठाउनुभएको रहेछ,” नवराजले सुनाए ।

त्यही तस्बिरको अर्को कथा पनि छ । “त्यतिबेला म ललितपुरको गुर्सिंगाल बस्थें । मेरी श्रीमती स्कुल पढाउँथिन् । म बसेको घरको छेउमा पसल थियो । त्यो पसलमा एकजनाले ‘यो नवराज लम्साललाई दिनू है’ भनेर गएछन् । खाम खोलेर हेर्दा त्यही तस्बिरलाई उडमाउन्ट गरेर सिँगारिएको रहेछ । आजसम्म पनि त्यो फोटो कसले दियो भन्ने पत्ता लगाउन सकिनँ ।”

परोपकारी पत्रकारिता

तनहुँको भानु गाविसमा मुक्तिनाथ आचार्य बस्थे । ७० वर्षका आचार्यले ‘विवेक चूणामणि’ भन्ने पुस्तक २० वर्ष लगाएर संस्कृतबाट अनुवाद गरेका थिए तर छाप्न सकेका थिएनन् । उनीसँग नवराजले गरेको अन्तर्वार्ता सुनेर चूणामणि गौतमले उक्त पुस्तक छापिदिए ।

आचार्यले विमोचनमा भने, “नवराज लम्सालसँगको सुन्दर अन्तर्वार्ताका कारण मेरो पुस्तक प्रकाशित भयो । मेरो जिन्दगीभरको सपना पूरा भयो । अब म मरेपछि सीधै स्वर्ग जान्छु ।”

०५५ सालमा सुनसरीको इटहरीमा ‘रामकृष्ण ढकाल स्वर्णीम सन्ध्या’ थियो । त्यो कार्यक्रममा नवराजले विनोद गन्धर्वलाई भेटे । कार्यक्रम सकिएपछि विनोदसँग उनले अन्तर्वार्ता लिए । उनले बजाएको सारंगीको धून, गाएको गीत रेकर्ड गरे र रेडियो नेपालमा बजाए । गोपाल कर्माचार्यले उक्त अन्तर्वार्ता सुनेर विनोदलाई काठमाडौं बोलाए । आफ्नै घरमा राखे र स्नातकसम्म पढाइदिए ।

नेपालगन्जकी मीना शाहीको जीवनमा पनि नवराजको परोपकार पत्रकारिता ठोक्कियो । मीनाकी आमा उनी सानै छँदा परलोक भएकी थिइन् । काम गर्न जाँदा भारतमै बुवाको मृत्यु भयो । दुबै आँखा देख्न नसक्ने मीना जीवनदेखि वाक्क भइसकेकी थिइन् ।

पद्यकन्या क्याम्पसको होस्टलमा उनी आफैंले आफैंलाई करेन्ट लगाएर जीवन त्याग गर्ने निर्णयमा पुगिछन् । रेडियो कार्यक्रमबाट नै नवराजले ‘प्रमोट’ गरेकी दृष्टिविहीन प्रकृति बस्नेतले ‘केही गरिदिनुपर्‍यो’ भनेपछि उनले अन्तर्वार्ता गरिदिए । सहयोगी हातहरू फैलिँदै मीनासम्म आइपुगे । उनले संगीत सिकिन् । कविता संग्रह निकालिन् । पछि कीर्तिपुरमा उनको प्रेम विवाह भयो । अहिले उनी सुखी जीवन बाँचिरहेकी छन् ।

जीवनको जग

बुवा कर्मकाण्ड गर्ने पण्डित थिए । गाउँमा पण्डितको ठूलो इज्जत थियो । कक्षा ७ सम्म पढेपछि थप पढ्न स्कुल टाढा थियो । बुवाको इच्छा नवराजलाई संस्कृत व्याकरण पढाएर पण्डित बनाउने थियो । त्यसैले उनी संस्कृत माध्यमिक विद्यालय रानीपोखरी भर्ना भए । संस्कृत छात्राबास राजनीतिको अखडा थियो । सत्ताविरोधी आन्दोलनको केन्द्र थियो । नेताहरूको जमघट बाक्लो हुन्थ्यो । कति राजनीतिक छलफल र योजनाहरू त्यहीँ बन्थे ।

अहिलेको नेपाली राजनीतिका बहुसंख्यक नेताहरूको थातथलो संस्कृत छात्राबास थियो । राज्यको आँखा छल्न उनीहरू त्यहाँ पुग्थे । बालकृष्ण खाँड, बलबहादुर केसी, नवीन्द्रराज जोशी हरेक दिनजसो खाना खाने बेलामा आउँथे । नरहरि आचार्य भने पुस्तकालयबाट पुस्तक लिन आउँथे । उनले कुन–कुन पुस्तक लैजान्छन् भनेर नवराजले विचार गर्थे । आचार्यले फिर्ता गरेपछि आफूले पढ्थे ।

छात्राबासमा १०६ विद्यार्थी बस्थे, जसमा मुस्किलले ६ जना अखिलका हुन्थे, बाँकी सबै नेविसंघका । पञ्चायतविरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलनमा छात्राबासका विद्यार्थी प्रत्यक्ष/अप्रत्यक्ष सहभागी हुन्थे ।

०४५ वैशाख १२ गते स्ववियू निर्वाचन भयो । आईए प्रथम वर्षमै उनी स्ववियूको सहसचिव भए । अर्कोपटक सभापति हुने रहर जाग्यो । बाल्मीकि क्याम्पस उनका लागि साँघुरो हुन थाल्यो । महत्वाकांक्षा बढ्यो । कहिल्यै पनि कांग्रेसले नजित्ने आरआर र ल क्याम्पसमा सभापति जित्न पाए ठूलो मान्छे भइन्छ भन्ने लालसा जन्मियो । नवराज आरआरमा पनि भर्ना भए ।

आरआरमा बीए पढ्न थालेपछि सभापति लड्ने रहर झनै हुर्कियो । तर, स्ववियू निर्वाचन भएन । उनको रहर जसरी हलक्कै बढेको थियो, त्यसैगरी छिनमै मर्‍यो पनि ।

चुनाव लड्नकै लागि क्याम्पस कुरेर बस्न उनको नैतिकताले दिएन । सभापति हुने रहर रहरमै सीमित भयो । “अहिले पनि आरआर पुग्दा त्यहाँको सभापतिमा लड्न नपाएको त्यो क्षण फर्किएर आउँछ,” उनी फिस्स हाँसे ।

० ० ०

०४२ को सत्याग्रहमा १० कक्षा पढ्दै गर्दा उनी प्रहरी हिरासतमा पुगे । महेन्द्र पुलिस क्लबबाट चार दिनपछि पुरुषोत्तम दाहालले छुटाए । त्यहीँदेखि पसेको राजनीतिक चस्का उनमा पछिसम्मै रह्यो । त्यसैले स्ववियू सभापति हुने रहर जगायो ।

०४३ सालमा एसएलसी दिए । एसएलसीपछि केही समय फुर्सदिलो भयो । काठमाडौं नगर पञ्चायत कब्जा गर्न भनेर हरिबोल भट्टराई र तीर्थराम डंगोललाई कांग्रेसले चुनाव लडाएको थियो । भट्टराईको चुनाव चिन्ह गाई र डंगोलको हवाइजहाज थियो । पार्टी कार्यालय जमलमा भए पनि गोप्य कार्यालय भने बागबजारमा थियो । त्यहाँ कांग्रेसका शीर्ष तीन नेता आउँथे । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग नवराजको भेट त्यहीँ भएको हो पहिलोपटक । 

ट्याम्पोमा माइकिङ गर्दै हिँड्थे । नवराज पनि त्यसमा सरिक हुन्थे । छन्दका कविता र गीत भन्थे । नेताहरूले ‘तिम्रो स्वर र शैली बडो मीठो छ’ भनेर प्रशंसा गर्थे । किशोर नवराजको मन पुलकित भएर उफ्रिन्थ्यो । झन् जोशिएर उनी क्रान्तिकारी कविताहरु वाचन गर्थे । माइकिङ गर्दागर्दै राज्यको कुदृष्टिले नवराजलाई पनि छाडेन । प्रहरीले समात्यो । ३२ दिन थुनिए ।

त्यहीँ नवराजले बालकृष्ण खाँडलाई नजिकबाट चिनेका हुन् । करिब २५ राजनीतिक बन्दी थिए । डीएसपीले आएर केही अभद्र शब्द प्रयोग गरे । खाँडले भने, “खबरदार ! हामी कुनै चोर–डाँका होइनौं । राजनीतिक बन्दी हौं । हामीलाई राम्रो ब्यबाहार गर्नुस् ।”

तँतँ र मम भयो । हात हालाहाल भयो । खाँडले डीएसपीलाई कुटे । “बालकृष्ण दाइले डीएसपी कुट्न थाल्नुभयो । बाँकी हाम्रो त होसहवासै उड्यो,” नवराजको ओठबाट हाँसो फुत्कियो ।

० ० ०

त्यतिबेला नवराजले गीत र कविता लेख्थे । तिनमा राजनीतिक प्रभाव देखिन थाल्यो । हरेक रचनाले आगो ओकल्न थाले ।

० ० ० 

नवराजले तीनपटक भागवत पुराण वाचन गरेका छन् । १३ दिनको किरिया गराएका छन् । विवाह, व्रतवन्ध र न्वारान पनि गराएका छन् । यतिमात्रै होइन, उनले बच्चाको नाम जुराउने र चिना लेख्ने काम पनि गरेका छन् ।

तर, जिन्दगीको यो पाटो भने उनले चटक्कै छोडे । पत्रकारिताको बाटो समाए ।

एसएलसीपछिको समयमा उनी खाली थिए । नयाँ व्यवस्थाका लागि सहयोग गरिरहेका थिए । केही काम पाए गर्न हुन्थ्यो भन्ने थियो । माणिकलाल श्रेष्ठको ‘समय’ दैनिक निस्किन्थ्यो । त्यसमा संवाददाता चाहिएको विज्ञापन थियो । एसएलसी पास भएको, नेपाली राम्रो बोल्ने र लेख्न सक्ने व्यक्ति चाहिएको थियो ।

तर, नवराज भने एसएलसी दिएको प्रवेशपत्र बोकेर सम्पादकको टेबलमा पुगे र भने, “म एसएलसी पास हुने कुरा लेखेर पठाइसकेको छु । नेपाली राम्रोसँग बोल्न र लेख्न सक्छु, मलाई जागिर दिनुभयो भने गर्न सक्छु ।”

“तिमीलाई राजनीतिबारे थाहा छ ?”

“छ ।”

“ल, के–के जानेका छौ लेख,” श्रेष्ठले रातो कलम र कागज दिँदै भने ।

नवराजलाई धेरै लेख्यो भने जागिर पाइन्छ भन्ने लाग्यो । नेपाली राजनीतिबारे सबै लेखे । सात पेज भयो । श्रेष्ठले एउटा लाइनमा नीलो मसीले गोलो लगाएर सोधे, “यसलाई विस्तृत रूपमा लेख्न सक्छौ ?”

नवराजले त्यहीअनुसार गरे । सानो समाचार बनाएर छोडे । श्रेष्ठले ‘आज समाचार खोज्न जाऊ, के पाइन्छ भोलि लिएर आऊ’ भने ।

समाचार त के पाइला र भन्दै उनी सिद्धिगणेश स्कुल सोह्रखुटे पुगे । त्यहाँ नेविसंघका विद्यार्थीले एकाइ गठन गर्न खोजेका रहेछन् । प्रहरीले हस्तक्षेप गरेर खेदेको सूचना पाए । ११ पटक पुनर्लेखन गरेर राति समाचार लेखेर भोलिपल्ट ‘समय’ दैनिक पुगे ।

“हिजै ल्याउनु पर्दैनथ्यो ?” श्रेष्ठले भने, “ल, आज पनि समाचार खोज्न जाऊ तर आज खोजेको समाचार भने आजै लेख्नुपर्छ ।”

समाचार खोज्दै जाँदा न्युरोड पुगे । भेडासिंहमा जनपक्षीय उमेदवार भनेर चिनिएका पद्यरत्न तुलाधर, जागृत भेटवाल, सोमनाथ प्यासीलगायतले भाषण गरिहँदा प्रहरीले हस्तक्षेप गरेर लखेट्यो ।

उनले त्यसकै समाचार लेख्ने निर्णय गरे । समाचारमा ‘फाइभ डब्ल्यू, वन एच’को फर्मुला त उनलाई थाहा थिएन तर प्रहरीले किन हस्तक्षेप ग¥यो, समाएर कहाँ लाग्यो, कहाँ राख्छ, कति दिन राख्छ होला भन्नेजस्ता प्रश्नमा आधारित रहेर उनले सूचना संकलन गरे । तर, त्यही सूचना नै समाचार बनाउन पर्याप्त भएछ ।

“जानेर हैन, सोधे भने जवाफ दिनुपर्छ भनेर संकलन गरेको सूचना झुक्किएर पत्रकारिताको फ्रेमभित्र परेछ,” नवराजले पत्रकारिताको दोस्रो दिन सम्झिए, “सम्पादकले लेख्न भन्नुभो । भोलिपल्ट पहिलो पृष्ठमा छापियो । मेरो जिन्दगीको पहिलो समाचार कटिङ राखेको थिएँ । धेरै वर्ष पछिसम्म थियो तर कोठा सर्दा कहिले हरायो, थाहै पाइनँ ।”

० ० ०

०४६ सालपछि उनले भानुभक्त मेमोरियल स्कुलमा तीन वर्ष पढाए । त्यही बेला उनले ‘गोरखापत्र’को सातौं तह (उपसम्पादक)मा परीक्षा दिए । दुईपटक लिखितमा नाम निकाले पनि अन्तर्वार्ताले उनलाई साथ दिएन । त्यही समय उनी शिक्षक संघको जिल्ला सदस्य निर्वाचित भए । 

०५१ मा रेडियो नेपालले करारमा कर्मचारी मागेको थाहा पाएपछि आवेदन दिए । पाण्डव सुनुवार, दामोदर अधिकारी र पुरुषोत्तम सापकोटा अन्तर्वार्ता लिन बसेका थिए । लामा–लामा संस्कृतका शब्द–मिश्रित स्क्रिप्ट पढ्न दिए । पुराण नै वाचन गर्ने नवराजलाई समस्या थिएन । अन्ततः ‘गोरखापत्र’ले नपत्याएका नवराजलाई रेडियो नेपालले चिन्यो । 

० ० ०

राजनीतिको रसले ताने पनि घरगृहस्थी चलाउनु थियो । नवराजका दृष्टिमा राजनीति पेशा/व्यवसाय थिएन । परिवार पाल्न जागिर चाहिन्थ्यो, त्यसैले राजनीति छोडे र जागिरे जीवनको श्रीगणेश गरे । 

राजनीतिको भोक नमेटिएकाले होला– उनी विद्यार्थी हुँदा स्ववियूको कार्यसमितिमा बसे । शिक्षक हुँदा शिक्षक संघमा आबद्ध भए । लेखक संघको केन्द्रीय अध्यक्ष भए । प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भए । हतारको साहित्यमा मात्रै होइन, फुसर्दको साहित्यमा पनि उत्तिकै सक्रिय रहे । ‘कर्ण’ र ‘धरा’ उनकै महाकाव्य हुन् ।

कुनै कालखण्डमा सक्रिय राजनीति गरिन्छ जस्तो लाग्थ्यो रे उनलाई । तर, त्यो सम्भावना उनी आफैंले लत्याए । भन्छन्, “अब राजनीति मैले सोचेको जस्तो रहेन । धेरै बेथिति र विसंगति भित्रिए । त्यसैले अब मेरा लागि राजनीति र राजनीतिका लागि म उपयुक्त रहेनौं,”

गीत लेखनमा पनि नवराजको नाम चम्किलो छ । ‘तिमी जून हौ’, ‘दिलको कुरा नगर दिलमाया’, ‘शायद मायामा फसें कि’, ‘धेरै बाटो हिँडिसकें’, ‘झरना भई झर्दै आऊ’, ‘नछोएरै पनि’, ‘कोही मान्छे ढुङ्गा हुन्छन्’ नवराजले लेखेका लोकप्रिय गीत हुन् । उदितनारायण झादेखि राजेशपायल राईसम्मले उनका गीत गाएका छन् ।

करिब सयभन्दा धरै एफएम रेडियोका लागि जिंगल तयार पारिदिएका नवराजले कुराकानीको मैजारो गर्दै टिप्स दिए, “सफल सञ्चारकर्मी हुनका लागि ज्ञानको गहिराइ, बोलीको प्रवाह र सांस्कृतिक चेतना चाहिन्छ । जुन ज्ञानको गहिराइ पुरुषोत्तम सापकोटासँग थियो । बोलीको प्रवाह दाहाल यज्ञनिधिसँग थियो र सांस्कृतिक चेतना पाण्डव सुनुवारसँग थियो । त्यसैले उहाँहरू समकालीनहरूमा सधैं अगाडि रहनुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC