जनसाधारणको सुविधालाई बेवास्ता गर्दा अर्बौं रुपियाँको लागतमा बनाइने भौतिक संचरनाले समेत जनतालाई थप सास्ती दिनपुग्छन् । चक्रपथ विस्तारमा देखाइएको अदूरदर्शी प्रवृत्तिले अहिले जनस्तरमा त्यसको चर्को विरोध भएको छ । आठ लेनको सडकमा बीचमा कुनै विभाजक छैन । पैदल मार्ग र साइकलका लागि बाटो पनि छैन । त्यतिमात्र हैन, सडक पार गर्नका लागि सुविधाजनक ठाउँमा बाटो काट्ने संकेत (जेब्रा क्रसिङ) पनि छैन । यसले गर्दा चक्रपथ कतै ‘मृत्युमार्ग‘मा परिणत हुने पो हो कि भन्ने डर जनमानसमा व्याप्त छ । जनताका मनमा रहेको यही सन्देहलाई नागरिक समाजका केही अगुवाले अहिले उठाउन थालेका छन् । सडक विभागका अधिकारीहरूले समेत चक्रपथ विस्तारका क्रममा डिजाइनमै कमजोरी रहेको स्वीकार गरेकाले नागरिक समाजका अभियन्ताहरूलाई अर्घेलो गरेको भन्नु न्यायोचित हुँदैन ।
चिनियाँ ठेकेदारले बनाउँदै गरेको सडक यसै अपेक्षा गरिएभन्दा बढी समयसम्म अधुरो नै छ । त्यसमाथि अहिले लगभग अन्तिम चरणमा आएर सडकको डिजाइनमै भएको त्रुटिका बारेमा आवाज उठाउँदा सडक अझै लामो समयसम्म अधुरो रहने पो हो कि भन्ने सन्देह पनि अस्वाभाविक होइन । अहिले आवाज उठाउने नागरिक समाजका अभियन्ताहरूले निर्माण कार्य सुरु नहुँदै वा डिजाइनकै चरणमा आवाज उठाउनु पथ्र्यो भन्नेहरू पनि ठूलै संख्यामा देखिएका छन् । कतिपयले त चक्रपथको डिजाइन ज्यानमारा भएको यथार्थ औंल्याउनेहरूलाई चिनियाँलाई काम गर्न नदिन वा बदनाम गर्न प्रायोजित हल्ला गरेको धारणासम्म प्रकट गरेका छन् । तर, तिनले चक्रपथलाई सर्वसाधारणका लागि सुविधाजनक बनाउनुपर्छ भन्नेहरूको स्वार्थ के छ भन्ने चाहिँ बताउन सकेका छैनन् । यसैले चक्रपथ सुधारका लागि उठाइएको आवाजलाई अन्यथा देख्ने दृष्टि नै पूर्वाग्रहपूर्ण मूर्खता हो भन्न हिचकिचाउनु पर्दैन ।
काठमाडौं उपत्यकामा चक्रपथ निर्माण गरिँदा कुनै दिन यसलाई दोब्बर फराकिलो बनाउनु पर्ला भन्ने सायद धेरैले सोचेका पनि थिएनन् । उपत्यकाको सहरीकरणका कारण अहिले चक्रपथ सहरभित्र परिसकेको छ । अर्थात्, नगर चक्रपथ बाहिरसम्म विस्तार भइसकेको छ । चक्रपथ जति नै फराकिलो बनाइए पनि यो अब काठमाडौं र ललितपुरका व्यस्त बजारभित्रको सडक हो । चक्रपथ वरपरको जनघनत्व निकै बाक्लो भइसकेको छ । यसैले चक्रपथ वारपार गर्नुपर्नेहरूको संख्या पनि निकै धेरै छ । बाक्लो बस्तीबीचको सडकलाई कसैले चाहेकै भरमा वा सरकारले त्रुटिपूर्ण डिजाइन बनाएकै आधारमा ‘द्रूतमार्ग’ बनाउन सकिँदैन । भौतिक संरचना सर्वसाधारण जनताको सुविधाका लागि निर्माण गरिने हो । जनतालाई सुविधा नभए भौतिक संरचना अर्थहीन हुन्छन् । चक्रपथ पनि यसको अपवाद हुनसक्तैन । सडक मोटर हाँक्नेका लागि मात्र हैन । यसैले नागरिक समाजका अभियन्ताले चक्रपथ विस्तारका क्रममा भएको त्रुटि सच्याउन माग गरेका हुन् ।
चक्रपथ निर्माणाधीन खण्ड कलंकी–कोटेश्वरको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ । अहिले नै सडकमा रहेको त्रुटि हटाउन लगाउन ठेकेदारसँग अर्को सम्झौता गर्नुपर्ने हुन्छ । त्यसले काम ढिलो हुने र खर्च पनि धेरै बढ्ने हुनसक्छ । यसैले सडक विभागका अधिकारीले सुझाएजस्तै ठेकेदारले सरकारलाई हस्तान्तरण गरेलगत्तै सुधारको काम सुरु गर्नु उचित र व्यावहारिक देखिन्छ । चिनियाँ ठेकेदारलाई समयैमा काम सक्न दबाब दिने र सडक विभागले बेलैदेखि सुधारको योजना बनाउने हो भने सुधार कार्य ढिलो पनि हुनेछैन । नागरिक अभियन्ताले सडक विभागमाथिको दबाब कायमै राख्ने, सडक विभागले सुधारको कार्ययोजना बनाउने र त्यसका लागि रकम जुटाउने तथा हस्तान्तरण भएलगत्तै सुधार कार्य थाल्न सकिनेगरी प्रशासनिक तयारीसमेत गर्नु जरुरी देखिन्छ । त्यसरी हुने सुधारका बारेमा बेलैमा सार्वजनिक सुनुवाइ गर्ने र विज्ञहरूको रायसमेत लिने व्यवस्था हुनुपर्छ । त्यति गर्न सकिएमा पक्कै पनि सडकमा पैदल मार्ग, बाटो काट्ने ठाउँ र सार्वजनिक सवारीका लागि लेनको व्यवस्था गर्न कठिन हुनेछैन । शासकहरूमा सामान्य जनताको हितलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ भन्ने ज्ञान पलाएमा यति गर्न खासै मुस्किल पनि हुनेछैन ।