देश

कामनपासँग साढे ७ सय सफाइ कर्मचारी, सडक सधैं फोहोर

कामनपासँग साढे ७ सय सफाइ कर्मचारी, सडक सधैं फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकासँग  ७ सय ५० जना सफाइ कर्मचारी छन् । काठमाडौं चक्रपथको लम्बाइ २७.५ किलोमिटर छ । यो हिसाबले चक्रपथको एक किलोमिटर सडक सफा गर्न २७ जना कर्मचारी उपलब्ध छन् । तर, सडकको अवस्था हेर्ने हो भने नियमित सरसफाइ भएजस्तो देखिँदैन । 

चक्रपथमात्र होइन, सहरी क्षेत्रका ‘व्यवस्थित’ भनिने स्थानका सडकको समेत महानगरपालिकाले नियमित सरसफाइ गर्न सकिरहेको छैन । त्यसो त, अहिले महानगर आफैंमा स्थानीय सरकार हो । महानगरसँग पर्याप्त मात्रामा आर्थिक स्रोत र जनशक्ति पनि उपलब्ध छ । यद्यपि, महानगरबासीले फरक महसुस गर्न पाएका छैनन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावताका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सञ्चालन गरी काठमाडौंलाई संसारकै सफा र नमुना सहर बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए । उनी मेयरमा निर्वाचित पनि भए । तर, काठमाडौंको फोहोर सफा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न कुनै प्रभावकारी कदम चालेको देखिँदैन ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा औसतमा २४ जना सफाइ कर्मचारी छन् । तर, तिनको प्रभावकारी परिचालन भएको देखिँदैन । सरसफाइ गर्ने कर्मचारीलाई सम्बन्धित सुपरभाइजरले परिचालन गर्ने भए पनि वडाध्यक्षहरुलाई मेयर शाक्यले निर्देशन नदिएका कारण काठमाडौंका सडक फोहोरले दुर्गन्धित बनेको सरोकारवाला बताउँछन् ।

हानगरमा जनप्रतिनिधि निर्वाचित भएको नौ महिना पूरा भइसकेको छ । जनप्रतिनिधि आएपछि काठमाडौं सफा र सुन्दर हुने भए पनि त्यसको उल्टो झन् हैरानी र सास्ती खेप्नुपरेको काठमाडौंबासी गुनासो गर्छन् । 

दशकयता छैन कर्मचारी भर्ना
काठमाडौं महानगरपालिकाले २०६३ सालयता सरसफाइका लागि नयाँ कामदार भर्ना गरेको छैन । महानगरका एक अधिकारीका अनुसार वृद्ध र रोगी कर्मचारीहरुले काठमाडौंको फोहोर बढार्दै आएका छन् । छाती दुख्ने, रिङ्गटा चल्ने, दम, खोकी आदिका रोगी कर्मचारीहरुलाई काम अह्राउन कठिन हुने भएको काठमाडौं महानगरपालिकाका प्रहरी निरीक्षक तथा सरसफाइ टिम लिडर मीनबहादुर थापा गुनासो गर्छन् । 

सरसफाइका लागि नयाँ कर्मचारी भर्ना गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने मेयर विद्यासुन्दर शाक्य बताउँछन् । “पुराना कर्मचारीका कारण फोहोर व्यवस्थापन नभएको भए नयाँ कर्मचारी भर्ना गर्छाैं,” उनले भने । काठमाडौंको फोहोर फाल्ने नुवाकोटको सिसडोलका स्थानीयबासीले त्यहाँ फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती थपिएको मेयर शाक्य बताउँछन् । 

एनजिओको चलखेल
काठमाडौं महानगरपालिकाको सरसफाइ संयन्त्रलाई कमजोर बनाई आफ्नो दबदबा कायम गर्न काठमाडौंमा सक्रिय केही गैरसरकारी संस्था (एनजिओ) सक्रिय रहेको महानगरपालिका स्रोत बताउँछ । सरकारले महानगरपालिकामा सरसफाईका कर्मचारी भर्ना गर्दा गैरसरकारी संस्थाले फोहोरमा गर्दै आएको चलखेल हट्ने भएकाले महानगरपालिकाले कर्मचारी भर्ना नचाहेको महानगरपालिकाका एक उच्च अधिकृतले बताए । काठमाडौं महानगरपालिकामा रहेका उक्त संख्याका कामदारलाई सहरको सरसफाईमा खटाउन महानगरपालिकाकै केही कर्मचारी र गैरसरकारी संस्था बाधक रहेको ती अधिकृतको भनाइ छ । 

“ती संस्थाले सफा स्थानमा झाडु लगाएको जस्तो गर्ने, सरसफाई गर्दै गरेको फोटो वेबसाइट र क्यालेन्डरमा राखेर दातृ निकायसँग डलर माग्ने गरेका छन्,” ती अधिकृत भन्छन्, “उनीहरुले सडक सरसफाई त भन्छन् तर झाडुदेखि बाल्टी र गाडीसम्म महानगरपालिकाकै प्रयोग गर्छन् । यसवापत महानगरपालिकाका केही कर्मचारीको खातामा पैसा जम्मा गरिदिन्छन् ।”

देखावटी सरसफाइ
सरकारी दिवस र विशेष उत्सवमा काठमाडौंको सफाइ गरिए पनि अन्य सामान्य दिनहरुमा यस कार्यले निरन्तरता पाएको देखिँदैन । बाबुराम भट्टराईको तत्कालीन सरकारले काठमाडौंका सडक विस्तार गरेपछि र २०७२ को भूकम्पपछि महानगरपालिकाले काठमाडौंका व्यस्त र मुख्य सडकको सरसफाइका लागि ८ जना कामदारको टोली तयार पारी नगर प्रहरीको नेतृत्वमा खटाइरहेको नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताए । 

थापाका अनुसार उक्त टोलीले बिहानको ७ बजेबाट १० बजेसम्म माइतिघर मण्डला–तीनकुने, त्रिपुरेश्वर–लैनचौर, जमल–रत्नपार्क, रत्नपार्क–सिंहदरबार, माइतीघर मण्डला–भद्रकाली हुँदै शहीदगेटसम्म नियमित सरसफाई गर्दै आएको छ । तालिका बनाएर दैनिक ३ घण्टा सीमित कामदारले सरसफाई गर्ने भएकाले काठमाडौंको सरसफाईको प्रगति सन्तोषजनक हुननसकेको थापाको भनाइ छ । 

मेलम्ची खानेपानीले सडक बिगारेको जनगुनासो आएपछि केही महिनाअघि देखि क्षेत्रीय सडक कार्यालय काठमाडौंले सडक सरसफाईका लागि एक सुपरभाइजरसहित आठ जना कामदार महानगरपालिकालाई दिँदै आएको थियो ।

तर कामदार अभाव भएको भन्दै गत बिहीबारबाट ती कामदार पुनः आफैंले फिर्ता ल्याउनु परेको क्षेत्रीय सडक निर्देशनालयका एक अधिकृतले बताए । २०७२ को भूकम्पले आंशिक तथा पूर्ण रुपमा भत्काएका काठमाडौंका विभिन्न स्थानका संरचनाहरुबाट निस्किने धुलो, माटो, इँटा, ट्रक र टिपरहरुले त्रिपाल नलगाई निर्माणजन्य सामग्री ढुवानी गर्दा र मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन खनेका सडक समयमै पुर्न नसक्दा काठमाडौं प्रदुषित बनेको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि कुँवरको भनाइ छ । 

खानेपानीको पाइप फुटेर पानी लिक हुँदा, होटल र घरहरुले सडकको छेवैको नालीमाथि स्लाब राखेका कारण ढलले निकास नपाउँदा काठमाडौं दुर्गन्धित र फोहोर बनेको उनले बताए । 

सुस्तायो ‘क्लिन द सिटी’ अभियान
काठमाडौं महानगरपालिकामा निर्वाचित भएलगत्तै ‘क्लिन द सिटी’ अभियान चलाउँदै शाक्यले भनेका थिए, “केही साता हामी यसरी नै अभियान चलाएर सरसफाई गर्नेछौं, काठमाडौं अब सफा हुनेछ ।” तर मेयर शाक्यले भनेजस्तो अभियान चलेको त्यसपछि देखिएको छैन । 

काठमाडौं महानगरपालिकामा हिउँदमा दैनिक चार सयदेखि पाँच सय टन र वर्खाको समयमा दैनिक आठ सय टन फोहोर उत्पादन हुने विभाग प्रमुख कुँवरले जानकारी दिए ।
  
  

 

तपाईंको मत