site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
देशका लागि गर्नुपर्ने कामको फेहरिस्त बनाउँदैछु
Sarbottam CementSarbottam Cement

रेडियो नेपालको सरकारी जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल वली महाधिवेशनबाट भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । राप्रपाबाट उनी एकाएक नेकपा एमाले प्रवेश गरिन् । दाङबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि बागी उमेदवारी दर्ता गराएकी उनलाई पार्टीले उमेदवारी फिर्ता लिन आग्रह गर्यो । शंकर पोखरेलसँगको लामो छलफलपछि बागी उमेदवारी फिर्ता लिएकी वलीलाई एमालेले राष्ट्रियसभामा लगेको छ । पत्रकारिता र गीतसंगीतमा ररिहरहेका बेला वली पत्रकारिताबाट देश परिवर्तन गर्न नसकिने रहेछ, त्यसैले राजनीतिमा प्रवेश गर्नुपर्यो भन्थिन् । कोमल वलीसँग अपेक्षा गरेकै पदमा पुगेपछि देश बदल्ने एजेण्डा के छन्, कला साहित्यका विषय संसदमा कसरी उठाउनुहुन्छ ? भनेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीः 

  ० ० ०
पत्रकारिता गरेर देश बदल्न सकिँदो रहेनछ, यसका लागि त सदनमै पुग्नुपर्ने देखेर राजनीतिमा होमिएँ भन्नुभएको थियो । अब सदनमा पनि पुग्नुभयो । के छ तपाईंसँग देश बदल्ने खाका ? 

हो, हाम्रो समाजको ‘रुट’ मा मात्र होइन, समाजमा आमूल परिवर्तन ल्याउन नेतृत्व वर्गमा पनि यतिका दिनसम्म समस्या थिए र छन् । पत्रकारिताबाट खबरदारी गर्न सकिने तर योजनाको ‘इम्प्लिमेन्टेसन’ मा समस्या देखिँदोरहेछ । त्यो समस्या समाधान गर्न सकेमात्र देशको विकास हुन्छ, देशमा परिवर्तनको आभास गर्न सकिन्छ ।

अब देश संघीयतामा गएको छ । ‘ग्रासरुट लेवल’ मा पनि मानिस सचेत भएका छन् । संघीयताको अभ्यासले स्थानीय स्रोत साधनको प्रयोग अवश्य बढ्ने छ । तर, यसमा के कुरामा सचेत हुन जरुरी छ भने त्यो स्रोत साधनको प्रयोगमा समानता हुनुपर्छ । त्यसका लागि ‘एड्भोकेसी’ मात्र होइन, खबरदारी पनि आवश्यक हुन्छ । र, यो कुरा सदनबाट उठ्दा जति प्रभावकारी हुन्छ, त्यति बाहिर बसेर गर्दा नहुने रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतिर, देशमा अहिले पनि महिलाको अवस्था कमजोर छ । केही प्रमुख पदमा महिलाको प्रतिनिधित्व त छ, तर छाउपडीमा महिलाले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् । महिलाको विकासमा पनि म ध्यान दिनेछु ।

सभ्य र सचेत समाजको निर्माणका काममा ध्यान दिने, दाङमा पुस्तकालय स्थापना गर्ने मेरा विसं. २०१८ का प्रतिबद्धता मैले सार्वजनिक गरिसकेकी छु । गाउँ, समाज राम्रो हुँदा देश सुन्दर हुन्छ । त्यसमा ध्यान दिनेछु । राष्ट्रिय सभामा रहेर गर्नुपर्ने काम आफ्नो ठाउँमा छन् । म त्योसँंगै राष्ट्रिय योजनाका साथ अगाडि बढ्नेछु । त्यसमा म एक्लै सहभागी भएर हुँदैन, सबैको साथ चाहिन्छ, त्यो वातावरण बनाएर काम गर्नेछु ।

Global Ime bank

अहिले म आफूले देशका लागि गर्नैपर्ने कामको फेहरिस्त तयार पारिरहेको छु, त्यो छिट्टै सार्वजनिक हुनेछ ।

कस्तो फेहरिस्त हो, केही भन्न मिल्छ ?
केही समयपछि सार्वजनिक भैहाल्छ । अहिले तयारीका क्रममा रहेकाले भन्नु हतार हुन्छ होला । 

लोकदेखि सुगम संगीत तथा निर्माता, निर्देशकदेखि चलचित्रकर्मीसम्मले एउटा कलाकार सदनमा पुग्नु भनेको समग्र कला क्षेत्रका लागि गर्वको विषय हो भन्दै शुभकामना दिएका छन् । यो भनेको तपाईंप्रतिको अपेक्षा हो । कसरी पूरा गर्नुहुन्छ ? 
एउटा सत् वचन छ, ‘एक्स्पेक्टेसन हर्ट्स् ।’ तर, म अब यसको अपवाद बन्ने प्रयास गर्नेछु । हेर्नुस्, हाम्रो सदन यसअघिसम्म पदको लुछाचँुडीमै अल्झन्थ्यो । अब त्यस्तो नहोला । नयाँ गतीमा देशको विकास हुनेछ । 

विडम्बना मान्नुपर्छ, यसअघि हाम्रो सदनले साहित्य, कला र सङ्गीतबाट धेरै सदस्य पाउन सकेन । विसं.२०५३ सालमा नारायण ढकाल सदनमा पुग्नु भयो, तर अहिले राजनीतिबाट उहाँ टाढिनु भएको जस्तै छ, साहित्यमा बढी देखिनु भएको छ । जे होस्, कला क्षेत्र यस अर्थमा पनि खुसी भएको हुनुपर्छ, किनकी यही क्षेत्रमा लामो समयदेखि लागेकी म सदनमा देखिँदै छु ।

अब म सदनमा राजनैतिक मात्र होइन, कलाका विषयमा पनि सान्दर्भिक कुरा राख्नेछु । एउटा देश तबमात्र समृद्ध हुन्छ, जब त्यहाँको कला, संस्कृति विकास हुन्छ, सम्मान हुन्छ । यो क्षेत्रलाई अझ मर्यादित बनाउन म लाग्नेछु । यो क्षेत्रका समस्याबारे बहस गर्न, छलफल गर्न सम्पूर्ण सर्जकहरुलाई अनुरोध गर्छु र उहाँहरुका कुरा सुनेर म त्यसलाई समाधान गर्न प्रयास गर्ने छु । म चाहन्छु मेरो प्रयासले उहाँहरुलाई महसुस होस्  ।

आफ्नै तलब सुविधा, निर्वाचन क्षेत्रको बजेट वृद्धिमा सरकार र प्रतीपक्षीको आलोचनामा रमाउने सदनमा तपाईंले कला, सिर्जनाका  विषय उठान गर्नुपर्नेछ । कत्तिको सहज होला ?
हेर्नुस्, जब बहस हुँदैन, आविष्कारको सम्भावना अन्त्य हुन्छ, जब कुनै विषय सुनाउन सकिँदैन, त्यो विषय यत्तिकै हराउँछ । त्यसैले सबैभन्दा महत्वपूर्ण विषयको थालनी हो, त्यो थालनी गर्न म तयार भएकी छु । र, कुनै पनि विषयको थालनी सहज हुँदैन ।

यो कोमलले सहज यात्रामात्र गरेकी छैन, अप्ठ्यारा भङ्गालाहरुसँग जुध्दै म यहाँ आइपुगेकी हुँ । त्यसैले सहज नहोला भनेर म केही विषयमा पनि पछि पर्दिनँ । असहज परिस्थितिलाई पनि सामना गर्न म तयार छु । सर्जकको स्वर तत्काल नसुनिए पनि कालान्तरसम्म जीवित रहन्छ, यो मैले बुझेकी छु । त्यसैले म यो क्षेत्रबारे आवाज उठाउन अप्ठ्यारो मान्ने छैन, बरु जसले यसलाई र सिर्जनात्मक कार्यलाई बेवास्ता गर्नु भएको छ, उहाँहरुलाई पनि स्वरमा स्वर मिलाउन अनुरोध गर्नेछु ।

मजदुर किसान पार्टीले नियमापत्ति जनाएजस्तै त हुने होइन तपाईंको अवाज ?
हुँदैन । किनकी सदनमा मेरो आवाज मेरो एक्लो, सिङ्गो हुने छैन । सिर्जनात्मक क्षेत्रका सबै जनाको प्रतिनिधित्व गर्दै मैले उठाउने विषयमा, मेरो आवाजमा सबैभन्दा ठूलो शक्ति किन पनि हुनेछ भने मसँग यो क्षेत्रका सबैको आवाज जोडिएर आउने छ । त्यो आवाज मेरो एक्लो आवाज होइन, कर्णालीको र माइखोलाको छङ्छङ्मा मिसिने हजारौंको आवाज हो । त्यो आवाज हिजो मेरी आमाले घर छेउको खोलामा कपडा धुँदा गाएको सुमधुर आवाज हुनेछ, मेरा सहेलीले पर्म जाँदा भाका हालेको आवाज हुनेछ, मेरा बहिनिहरुको आवाज त्यसमा मिसिने छ । मेरा बुवा, दाजुभाइको आवाजले त्यसलाई अझ सशक्त बनाउने छ ।
त्यसमाथि मेरो आवाज देशको आवाज हुने छ, पूर्व मेचिदेखी पश्चिम महाकालीसम्मको आवाजको एउटा माध्यम हुने भएकाले यो आवाज हराउने सम्भावना कल्पिन सकिएला र ?

सदनमा तपाईंका मुख्य एजेन्डा केके हुनेछन् ? 
राजनीतिक रुपमा पार्टीका अजेन्डा नै मेरा अजेन्डा हुनेछन् । पार्टीले गर्ने निर्णयमा मेरो सहमति हुनेछ । यस बाहेक नेपाली समाज विकासका अजेण्डा मेरो प्राथमिकतामा पर्ने छन् । महिला शसक्तिकरण, अध्ययनशील समाजको निर्माण, जनताको हक र अधिकार केन्द्रिकृत बहस, राष्ट्रिय मुद्दामा देशको पक्ष, कलाको क्षेत्र सुधारका योजना बनाउनु र कार्यान्वयनमा लैजानु, जनचेतना वृद्धि गर्न काम गर्नु, पारदर्शी राजनीतिक संस्कारको विकास, जवाफदेही नेतृत्वको वकालत लगायतका विषयमा म मुख्य रुपमा लाग्नेछु ।

राप्रपा छाडेर एमाले प्रवेश गर्नुभएको पदीय हिसावले त फाइदा नै भयो हैन ? 
सबैभन्दा पहिले के बिर्सिनु हुँदैन भने म पदका लागि एमालेमा प्रवेश गरेकी हैन । मेरो विचार, पार्टीले लिएको संकल्प, मैले सोचेको नेपाल र समाज, यो समाजका विभिन्न ‘डाइनामिक्स’ बारे मेरो र एमालेको समान बुझाइ लगायतका कारणले एमाले मेरो रोजाइ भएको हो ।

अर्को कुरा, परिवर्तन शास्वत सत्य हो । कसैले पनि परिवर्तन नकार्न सक्दैन । तर, एमालेमा प्रवेश नगर्दा यो परिवर्तनबारे राप्रपाले आत्मसात् गर्न सकेको थिएन ।
अब पदको कुरा, मलाई लाग्छ जीवनमा पदभन्दा  समाजलाई के दिन सक्छु भनेर सोच्नु महत्वपूर्ण हो । परिवर्तनको पक्षमा के गर्न सक्छु, मेरो स्थान के हुन्छ भनेर निक्र्यौल गर्न सक्नु हो । 

त्यसैले मलाई पद पाएँ भन्ने कुराभन्दा पनि बढी अब म के गर्छु भन्ने बढी महत्वपूर्ण छ । फाइदाको कुरा त अब मैले समाजलाई परिवर्तन गर्न चाहने विषयले निर्धारण गर्नेछ । हो, यो पद नपाएको भए देश र समाजका लागि मैले गर्न चाहेको कामको लेखाजोखा चाहिँ कम हुन्थ्यो होला । अब म नोटिस गरिने ठाउँमा भएकाले थप जिम्मेवार हुनेछु, मेरा कामबारे उठ्ने प्रश्नको जवाफ दिन तयार हुनेछु ।

कला क्षेत्रमा रहेर पनि राजनीति गर्नेहरुलाई के भन्नुहुन्छ ?
कला वा सिर्जना भनेको यो ब्रम्हाण्डको सबैभन्दा उत्कृष्ट विषय हो । संसारमा सिर्जना, सोच र कला जस्तो शक्तिशाली केही हुनै सक्दैन ।
अर्कोतिर राजनीतिबारे नराम्रा टिकाटिप्पणी हामी सुनिरहेका हुन्छौं । तर, ठ्याक्कै त्यस्तो पनि होइन । आखिर समाज ‘गाइड’ गर्ने भनेकै सिर्जना र राजनीतिले हो । कला क्षेत्रमा रहेर राजनीति गर्नेहरु अझ बढी जिम्मेवार हुनुपर्छ । त्यो जिम्मेवारी नै समाजका लागि वरदान सावित हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC