‘क्रान्तिकारी’ पत्रकार

‘क्रान्तिकारी’ पत्रकार

– नरेश फुयाँल


सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । त्यसको बाछिटा समाचार कक्षभरि छरिएका थिए । पत्रकार सूचना भएर पनि समाचार लेख्न सक्दैनथे । राज्य र विद्रोही दुवैतर्फको चेपुवामा थिए पत्रकारहरू । विनोद (ढुंगेल) त राज्य र विद्रोहीमात्रै होइन, आफ्नै साथीबाट पनि हप्की र धम्कीको शिकार बन्न पुगे ।

नुवाकोटका पत्रकार रवीन थपलियालाई तत्कालीन माओवादीले धम्की दियो । त्यो खबर रवीनले पत्रकार महासंघको केन्द्रीय सदस्यको हैसिततले विनोदलाई सुनाए । विनोदले सूचना विभागमा कार्यक्रम राखेर रवीन र उनको परिवारलाई धम्की दिइएको सार्वजनिक गरे ।

‘नेपाल समाचारपत्र’मा बरिष्ठ सहसम्पादक विनोद साँझ कार्यालयमा थिए । फोन आयो । फोनको तारको अर्को छेउबाट चेतावनीको भाषा पनि आयो । 

“के गरेको ? के गर्न खोजेको ?”

विनोदले सोधे, “तपाईं को हो ? के हो तपाईंको पोस्ट ?”

विनोदको आङ त्यतिबेला सिरिंग भयो, जतिबेला फोनको अर्को तारमा बोलिरहने व्यक्तिले आफ्नो परिचय दियो । ती त विनोदकै साथी थिए, पत्रकार साथी, जसले माओवादी आन्दोलनको समाचार लेख्थे ।

विनोदले उनको परिचयमा आशंका व्यक्त गरे । ती पत्रकारले आफूलाई पुष्टि गरे । उनले गालीमात्रै गरेनन्, त्रासमात्रै पनि देखाएनन्, ज्यान मार्ने धम्की नै पो दिए । महासंघमै बम हानेर विनोदलाई ‘उडाइदिने’ धम्की दिए ।

विनोद पनि गलेनन् । भने, “भन्नुस् । म कति बेला आएर महांसघमा बसूँ । मलाई झुक्याएर आक्रमण गर्नु पर्दैन । मलाई खबर गरेर आए पनि हुन्छ । बरु कोही नभएको बेला आएर बम हान्नुस्, तपाईंलाई नै सजिलो हुन्छ ।”

एक घण्टा लामो वार्तालापपछि उनले आफ्नो गल्ती स्वीकारे ।

० ० ०

द्वन्द्वका बेला माओवादीका ‘एक्सक्लुसिभ’ समाचार छापिएका पत्रिका फोटोकपी गरेरसमेत बिक्री हुन्थे । सीमित एफएम रेडियो थिए । रेडियोप्रतिको क्रेज उच्च थियो । भूमिगत माओवादी नेताहरूसँग रेडियो पत्रकारहरूको पहुँच कमै थियो । तर, विनोद अपवाद थिए । भूमिगत माओवादी नेता डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा लगायतका नेताहरू बेलाबेला स्याटबाट सम्पर्क गर्थे । आवश्यक सूचनाका लागि विनोद आफैं सम्पर्क सूत्रमार्फत सम्पर्क गर्थे ।

कम्युनिकेसन कर्नर र नेपाल एफएममा माओवादीहरूलाई समाचार मन परेन भने कल गरेर धक्याउँथे । विद्रोहको भन्दा धेरै त राज्यको आतंक थियो । सेनाले निकै दुःख दिन्थ्यो ।

उनलाई खोज्न अनुसन्धानदेखि नेपाली सेनाका अधिकारीहरूसम्म आउँथे । सेनाका अधिकारी आउँदा विनोद काम सकेर प्रायः निष्किसकेका हुन्थे । तेस्रो पटकको ताकेतामा भने उनी कार्यालयमा भेटिए । सेनाका अधिकारीले ‘जसरी पनि लैजान बाध्य भएको’ बताएपछि उनी सैनिक मुख्यालय पुगे ।

तत्कालीन शाही नेपाली सेनाका वरिष्ठ अधिकारी दिलीपजंग रायमाझीले विनोदलाई तीन घण्टा केरकार गरे । दिलीप घरि विनोदलाई ‘कमरेड’ भनेर सम्बोधन गर्थे, घरि माओवादी नेताको नम्बर माग्थे । तर, विनोदले कसैकाे नम्बर दिएनन् ।

एकातिर राज्यको कर्के आँखा, अर्कोतिर विद्रोहीको शंका र बेलाबेलाको धक्की, वातावरण सहज थिएन । माओवादीको टीकाटिप्पणी गरेर लेखिएका समाचारहरू ‘कसले लेखेको हो ?’ भनेर धम्की आएपछि आफ्नै मिडिया, सहकर्मी र हाकिमहरू ‘फलानोले’ भनेर पन्छिने गर्दा अर्को तनाव झेल्नुपथ्र्यो । त्यो तीतो अनुभव सुनाउँदा अहिले पनि विनोदको अनुहारको रंग उडेर फुंग हुन्छ ।

समय प्रतिकूल बन्दै थियो । खुलेआम हिँड्न पनि डराउनु पर्ने अवस्था आउन थाल्यो । मार्छन् या मरिन्छ नि भन्ने त विनोदलाई थिएन तर दुबै पक्षको बयानबाजी र धम्कीले ढुक्क हुने अवस्था थिएन ।

अक्सर फ्रेन्च कट दारी राख्ने विनोदले अनुहार सफाचट पार्न थाले । आफूले लगाउँदै आएको ज्याकेट फेरे । अाफ्नो कोठा छोडेर आफन्त तथा चिनजानका घरमा गएर बस्न थाले । आफ्नो बाइक छोडेर अर्कैको बाइक चढ्न थाले । पूरै हुलिया फेरे ताकि झट्ट कसैले नचिनोस् । लगभग अर्ध भूमिगत भए ।

रिपोटर्स विथआउट वोडर्सका नेपाल संवाददाता  विनाेदलाई तत्कालीन फ्रेन्च राजदूतले बोलाए । अवस्था सोधे । कूटनीतिक शब्दमा उनले ‘नेपाल सुरक्षित नभएको महसुस भए केही समय बाहिर जाने व्यवस्था मिलाइदिने’ बताए । तर, विनोदले भने, “पत्रकार महासंघको सदस्य छु । सक्रिय पत्रकारितामा छु । मलाई धेरैले नोटिस गर्छन् । मजत्तिको नागरिक नेपाल बस्न सक्दैन भने आम नागरिक कसरी बस्छन् ?  अवस्था निकै खतरनाक भयो भने खबर गर्छु ।”

० ० ०

तत्कालीन राजा ज्ञानेन्द्र मन्त्रिपरिषद् अध्यक्ष थिए । कानुन मरेतुल्य थियो । हुकुमी शासन थियो । एफएम रेडियोमा समाचार बजाउन रोक लगाइएको थियो । रेडियो पत्रकारहरू सडक आन्दोलनमा थिए । विनोद रेडियो संघर्ष समितिका सदस्य थिए । 

प्रेस स्वतन्त्रताका पक्षपातीहरू राज्यप्रति आक्रोशित थिए । विनोद ढुङ्गेलहरु सडकबाटै समाचार पढिरहेका थिए ।

ज्ञानेन्द्रको जन्मदिनको अघिल्लो दिन दरबारले प्रेस विज्ञप्ति पठायो । राजाको जीवनी रहेको उक्त विज्ञप्ति प्रकाशन तथा प्रशारण गर्नू भन्ने लेखिएको थियो । मन्त्रालयले समाचार प्रशारणका रोक लगाए पनि दरबारले नै प्रकाशन तथा प्रशारण गर्नू भने पछि त्यसलाई नै आधार मानेर त्यही विज्ञप्तिलाई समाचार बनाउने  निर्णय नेपाल एफएमको न्युजरुमले गर्‍यो । एउटामात्रै समाचार बजाउने कुरा भएन, अरु पनि समाचार चाहिए । समाचार बुलेटिन तयार भयो । एकपटक मात्र पनि के बजाउनु ! दिनभरि समाचार बज्यो । त्यही दिनबाट नेपाल एफएमबाट नियमित रूपमा समाचार प्रसारण हुन थाल्यो ।

सडक र अदालतबाट संघर्ष चलिरहेका बेला नेपाल एफएमले स्टुडियोबाटै प्रेस स्वतन्त्रताको बिगुल फुक्यो । साथमा अरु केही रेडियोहरू पनि थिए । त्यसको नेतृत्व विनोदले गरे ।

समाचार शुरु हुनुअघि नेपाल एफएमले दुइटा गीत बजाउँथ्यो । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’, ‘रक्तक्रान्तिको ज्वालामुखीमा..’ मा जस्ता रामेश रायन, जेवी टुहुरे, श्याम तमोटहरुका प्रगतिशील गीतहरु बज्थे । 

राजाले शासनसत्ताको बागडोर समातेका बेला, सेना सडकमा उत्रिएका बेला, समाचार प्रसारणमा रोक लगाएका बेला, पत्रिकाको समाचार सेनाका अधिकारीले सेन्सर गरिरहेका बेला राज्यबाट इजाजत लिएर प्रसारणमा आएको रेडियोले दिनदहाडै क्रान्तिकारी गीत बजाउनु आफैंमा ठूलो क्रान्तिसरह थियो । यस्ता क्रान्तिकारी गीतले स्रोताको ध्यान खिच्थे । अनि ‘जिरो आवर’मा समाचार प्रसारण हुन्थ्यो ।

आन्दोलन चलिरहेको थियो । भूमिगत माओवादीले काठमाडौंलाई घेरा हाल्दैछन् भन्ने हल्ला थियो । विनोद आन्दोलनको समाचार संकलनका लागि निस्किए । आन्दोलनमा आधाभन्दा धेरै स्याउला बोकका आन्दोलनकारी थिए । रिंगरोडभरि अन्दोलनकारीको उपस्थिति थियो । राजा र व्यवस्थाविरोधी नारा लागिरहेको थियो । तीनकुने आइपुगेपछि मिनी टाटामा जडान गरिएको माइकमा ‘गाउँ–गाउँबाट उठ’ गीत बज्यो । त्यही गीतमा भाका मिलाएर मुठ्ठी उठाउँदै आन्दोलनकारीले गाउन थाले । अर्को पनि क्रान्तिकारी गीत बज्यो । त्यसपछि समाचार बज्न थाल्यो । राज्य व्यवस्थालाई चुनौती दिएर सुरु गरिएको समाचार बुलेटिनले व्यवस्थाविरोधी गतिविधि कभरेज गरिरहेको थियो । सूचनामा कति शक्ति हुन्छ ! वाह ! विनोदको मन गर्वले ढक्क फुल्यो ।

राज्य क्रूर बन्दै गइरहेको थियो । अधिकांश दलका नेता नजरबन्दमा थिए । केही प्रहरी हिरासतमा थिए । नागरिक समाजका अगुवा पनि बाँकी थिएनन् । राज्यको कुदृष्टि परेपछि उनीहरू पनि प्रहरी नियन्त्रणको अनुभव सँगाल्न बाध्य थिए ।

विनोदलाई प्रहरी नियन्त्रणमा रहेका कनकमणि दीक्षितले फोन गरे । आग्रह गरे, “रिंगरोडमा आन्दोलन गरिरहेका नागरिकलाई सैनिक मञ्च पुगेर कब्जा गर्न आह्वान गर्नुपर्‍यो ।”

एउटा स्वतन्त्र तथा व्यावसायिक पत्रकारले स्टुडियोबाटै कुनै पनि व्यक्ति तथा व्यवस्थाको पक्ष वा विपक्षमा नागरिकलाई समाचारबाट आह्वान गर्न आचारसंहिताले रोक्थ्यो । पत्रकारिताको धर्मले छेक्थ्योे । यसबारे विनोदलाई राम्ररी जानकारी थियो । त्यसैले दीक्षितलाई भने, “नागरिक समाजको तर्फबाट तपाईं प्रहरी नियन्त्रणमा रहेकै ठाउँबाट सैनिक मञ्च कब्जा गर्न आह्वान गर्दै रिलिज पठाउनुस् । हामी त्यसलाई समाचारको रूपमा प्रसारण गर्छौं ।” 

विनोदको उपाय दीक्षितलगायतका नागिरक अगुवाहरूलाई पनि ठीक लागेछ । विनोदले त्यसलाई समाचार बनाए । केही क्षणमै प्रसारण भयो । 

तर, अवस्था सोचे जस्तो सहज थिएन । रिंगरोडको आन्दोलन भित्र त छिर्‍यो तर सुरक्षा चुनौतीका कारण पनि सैनिक मञ्च प्रवेश गर्नु उचित थिएन । खुलााञ्चमा पुगेर सभामा परिणत भयाे ।  

० ० ०

पत्रकारिता पेशा हो तर त्योभन्दा पनि बढी नशा हो । यो अनुवभ आफ्नो जीवनकालमा विनोद आफैंले भोगे । पत्रकारिताको सुरुआती दिनदेखि आजसम्म पनि उनलाई यस्तै लाग्छ । उनी ०६२/६३ सालको जनआन्दोलन र त्यसको रिपोर्टिङतिर फर्किंदा झापाका नारायण खड्कालाई सम्झन्छन् ।

आन्दोलन उत्कर्षमा थियो । काठमाडौंबाट छरिएको आन्दोलन देशका कुनाकुनामा पुगिसकेको थियो । झापा आन्दोलनको जन्मभूमि अछुतो रहने कुरै थिएन । नेपाल एफएमका लागि झापाबाट नारायण खड्काले आन्दोलनको रिपोटिङ लाइभ गरिरहेका थिए, “झापामा आन्दोलन उत्कर्षमा पुगिरहेको छ । राजनीतिक दलका, नेता, कार्यकर्ता, नागरिक समाजका अगुवादेखि सर्वसाधारण नागरिक आन्दोलनमा सरिक भएका छन् । प्रहरीले सकेसम्म आन्दोलनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । गोलीसमेत चलाएको छ । केही हताहती पनि भएको अनुमान गरिएको छ तर आधिकारिक जानकारी सम्बन्धित निकायले दिएको छैन । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । गोलीको छर्रा लागेर म पनि घाइते भएको छु । खुट्टामा छर्रा लागेको छ । रिपोर्टिङ सकेर म अस्पताल जाँदैछु ।”

त्यो सुनेर विनोद अवाक् भए । भन्छन्, “शरीरमा गोलीको छर्रा लागेर घाइते भएको पत्रकार अस्पताल नगएर समाचार सम्प्रेषण गरिरहेको छ । अनि म दृढ भएँ– पत्रकारिता भनेको नशा रहेछ ।”

अर्को घटना पनि विनोदको मस्तिष्कबाट बाहिर आउन सकेको छैन । मधेस आन्दालेन चलिरहेको थियो । राज्यको गोली जनताका टाउका र छातीमा बर्सिरहेका थिए । निरीह जनता भने आफ्नो अधिकार माग्न डराइरहेका थिएनन् । गोली थापेरै भए पनि अधिकारको लडाइँमा आफूलाई लामबद्ध गरिरहेका थिए ।

विराटानगरबाट पत्रकार विक्रम लुर्इंटेलले रेडियोमार्फत जनतालाई सुसूचित गरिरहेका थिए । उनले आन्दोलनको लाइभ गरिहेका थिए, “जनता जति आक्रोशित भइरहेका छन्, त्यत्ति नै प्रहरी प्रशासन निर्दयी बन्दै गइरहेको छ । लाठीचार्ज, धरपकड गरिरहेको छ । आन्दोलनकारी पनि आक्रोशित छन् । उनीहरुले आन्दोलनको विपक्षमा समाचार छाप्यो भनेर पत्रकारलाई बाधेर राखेका छन् । यहाँ पाँच जनालाई डोरीले बाँधेर राखेको छ । त्यसमध्ये म पनि एक हुँ । बाँधेकै अवस्थामा अहिले म तपाईंसँग बोलिरहेको छु ।”

विनोद भन्छन्, “ बाँधेका बेला आँखा छलेर विक्रमजीले हामीसँग रेडियोमा लाइभ गरिरहनुभएको थियो । आफ्नै जिन्दगी ठेगानमा नरहेका बेला रेडियोमा बोल्न केले हौस्याँछ र आँट आउँछ ? आखिर नशा त हो ।”

पत्रकारिताप्रतिको मोहको कुरा गर्दा विनोद फेरि एकपटक आफ्नो पत्रकारिताको सुरुआती करिअरमा फर्किन्छन् र आफ्नो पहिलो सम्पादकलाई सम्झिएर अर्को एकपटक भावुक हुन्छन् ।

०४५ माघमा उनी ‘विश्वभूमि दैनिक’ नामक नेवारी पत्रिकामा प्रवेश गरेका थिए । सम्पादक अशोक श्रेष्ठ थिए । पत्रिका नेवारी भए पनि विनोद भने नेपालीमै समाचार लेख्थे । त्यसलाई नेवारीमा उल्था गरेर समाचार छापिन्थ्यो । त्यहाँ विनोद पत्रिका बेच्नेदेखि पैसा उठाउनेसम्म काम गर्थे । बाराबाट काठमाडौं आएर पाटन क्याम्पसमा भर्ना भएका विनोदलाई खर्चपानीको जोहो पनि गर्नुपथ्र्यो । पत्रिका बेचेर फर्किंदा अक्सर उनी कमिशन स्वरूप २ रुपैयाँ पाउँथे । 

समाचार लेख्यो, बाइलाइन छापिन्थ्यो, मख्ख पर्‍यो, हिँडयो । पैसाको सधैं अभाव । जहाँ विज्ञापन देख्थे, त्यहीँ अप्लाई गर्थे । एक ठाउँमा २५ सय तलब, सवारीका लागि निजी साइकल, बस्न र खान सुविधासहितको जागिर मिल्यो । उनले सम्पादक श्रेष्ठलाई भने, “....यस्तो खालको जागिर मिल्यो । म छोडेर त्यता जाउँ कि के गराैं ?”

सम्पादक श्रेष्ठले भने, “अरे विनोद, जिन्दगीमा पैसा त सबैले कमाउँछ । तर, नाम कमाउन गाह्रो  छ । यी यहाँ (खिचापोखरी)मा मेरो घर सबैभन्दा सानो छ । मैले चाहेको भए पैसा कमाएर छेउका जस्तै ठूलो घर बनाउन सक्दिनथें ? तर, बनाएको छैन । यही नामका लागि हैन ?”

विनोदलाई सम्पादकको कुरा घत लाग्यो । २५ सयको जागिर माया मारे र ‘विश्वभूमि’मै बसे ।

“अशोक दाइ हामीबीच रहनु भएन । अहिले पनि उहाँको घर त्यस्तै छ खिचापोखरीमा । फिनिसिङ पनि गरिएको छैन,” विनोद पुरानो समयमा फर्किए । 

आफ्नै नातेदार दाइ नेत्रप्रसाद भट्टराईको चिनजानका आधारका ‘विश्वभूमि’ छिरेका विनोदले त्यहाँ आन्दोलनभरि नै काम गरे । पञ्चायती व्यवस्थाको विरोध गरेको भन्दै अन्य पत्रिका बन्द भए पनि ‘विश्वभूमि’ भने बन्द भएन । ‘विश्वभूमि’ फुटेर ‘न्यूह गु विश्वभूमि’ प्रकाशन हुन थाल्यो । त्यहाँ पनि उनले काम गरे ।

०४६ फागुन ७ गते टुँडिखेलमा सनातनी कार्यक्रम थियो । प्रधानमन्त्री मरिचमान सिंह कार्यक्रममा उपस्थित थिए । टुँडिखेलको सुकेकाे झारमा डँढेलो लाग्यो, भागदौड मच्चियो । प्रहरीले लाठी बर्साउन थाल्यो । केहीलाई पक्रिँदै भ्यानमा काेच्न थाल्यो । उनले भ्याएजति पक्राउ परेकाहरूको नाम र घर सोधे । त्यसैलाई समाचार बनाए । पहिलो पृष्ठमा बाइलाइनसहित छापियो । मुख्य समाचारका रूपमा छापिएको त्यो समाचारले दिएको खुसी २८ वर्षपछि साट्दा पनि विनोदको अनुहारमा खुसीका लाभा उसैगरी छरिन्छन् ।

० ० ० 

विनोदले समाचार लेख्न थालेका थिए । समाचारको बानी बसिसकेको थियो । तर, उनले लिएको औपचारिक शिक्षा भने पत्रकारिता थिएन । अभ्यासले मात्रै पत्रकार पूर्ण हुँदैन, सैद्धान्तिक ज्ञान पनि चाहिन्छ भन्ने लाग्न थालेको थियो । सिद्धान्तका मोटामोटा ठेली नघोकेसम्म बहस गर्न सकिँदैन । आवश्यक परेको ठाउँका तत्काल सही निर्णय लिन सकिँदैन भन्ने चेत पलाएको थियो ।

विनोद ०४८ मा नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)मा भर्ना भए, १० महिने कोर्सका लागि । पछि भने दुइटा विषयमा मास्टर्स गरेका विनोद अहिले पत्रकारिताका स्नातकोत्तरका विद्यार्थीलाई पढाउँछन् । उनले प्रेस काउन्सिल र श्रम सम्बन्धि खोजमुलक केही पुस्तक पनि लेखेका छन् ।  

प्रजातन्त्र पुनर्बहालीपछि पत्रकारिता खुकुलो हुँदै गएको थियो । सम्भावनाका रंगीन रेखा कोरिन थालेका थिए । निजी क्षेत्रबाट पत्रिकाहरू बाक्लै प्रकाशन हुन थालेका थिए । पत्रकारिताको लत लागिसकेका विनोद ०४९ मा ‘दृष्टि’ साप्ताहिक पुगे ।

जलस्रोतमन्त्री पशुपतिशमशेर राणा भएका थिए । उनले अन्तर्वार्ताका लागि समय दिए । त्यही दिन विनोदको इकोनोमिक्सको स्नातकोत्तरको परीक्षा थियो । परीक्षा हल पुगेर हाजिर गरी विनोद निस्किए । मन्त्री राणाका सचिवालय सदस्य बल्खु पुलमा विनोदलाई पर्खिरहेका थिए । उनको बाइक चढेर विनोद अन्तर्वार्ता लिन मन्त्रालय पुगे ।

०५२ सालसम्म ‘दृष्टि’मा काम गरेर विनोद ‘दृष्टि’बाट फुटेको ‘जनआस्था’मा पुगे । त्यहाँ उनले ‘अतीत’ नामक स्तम्भ लेखे । ‘अतीत’ मा झापा आन्दोलनका क्रममा जेल ताडेर भागेका तथा सहिदका परिवारसँग कुरा गरेर लेख्थे । त्यसले विनोदको पहिचान उचालियो, लेखनीमा थप निखार थप्यो ।

‘जनआस्था’पछि उनी ‘जनता’ साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरे । करिव चार महिनामै पत्रिका बन्द भयो । प्रकाशकले घुँडा टेके । त्यही कार्यालयको सबै सामान अर्को संस्थाले किन्नयाे । त्यहीँको भौतिक संरचनामा ‘प्रतिपक्ष’ पत्रिका प्रकाशन आरम्भ भयो । ‘जनता’ बाट किनेकाे कुर्सीमा बसेर नै विनोदले ‘प्रतिपक्ष’को काम गर्न थाले– त्यही जिम्मेवारीमा । ‘प्रतिपक्ष’ ११ महिना प्रकाशन भयो । विनाेदसहितकाे टाेलीले आठ महिनाको तलबै पाएन ।

निरन्तरको लगाव र मेहनतका बीच पनि दिगो पत्रकारिताको अभ्यास गर्न सकिरहेका थिएनन् । एकातिर पत्रकारिताप्रतिको मोह, अर्कातिर व्यर्थ गइरहेको मेहनत । दिक्क लागिरहेको थियो । फुलटाइम विद्यार्थी भएर पढ्न नपाएको भोक थियो । विनोदले ऋण काढेर लाइबेरी एन्ड इन्फरमेसन साइन्स पढ्न थालेका थिए । पत्रकारिताका साथीसंगीको सम्पर्कबाट बाहिर थिए । राजनीति घटना/परिघटनाबाट टाढै बसेका थिए ।

सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार तथा सहकर्मी पत्रकार किशोर श्रेष्ठले विनोद बसेको घरको नम्बर पत्ता लगाएर फोन गरे । भेट्न आग्रह गरे तर उनले मानेनन् । किशोरले निरन्तर फोन गरिरहे । रेडियो नेपालको ‘घटना र विचार’को सञ्चालक भएर जान आग्रह गरे । रेडियोमा कहिले पनि काम नगरेका र रेडियो नेपालको स्वर परीक्षामा फेल भएका विनोद तर्किरहे । तर, किशोरको जिद्दीका अगाडि विनोदले हारे । उनी ‘घटना विचार’को सञ्चालक भएर रेडियो नेपाल पुगे ।

सरकारी रेडियो भएकाले राजनीतिक हस्तक्षेपको प्रयास हुन्थ्यो । सत्तारुढ दलले आ–आफ्ना मान्छे पाठाउँथे । सञ्चारमन्त्री राधाकृष्ण मैनाली भन्थे, “तपाईं नै हो अहिलेको घटना र विचारको प्रमुख । जो आए पनि तपाईंको अन्डरमा बसेर काम गर्ने हो ।”

विनोदभन्दा वरिष्ठ बन्न खोज्नेलाई मैनालीले सँगै राखेर यही निर्देशन दिए । तर, पनि राजनीतिक उतारचडावका कारण चार महिनामा विनोदले ‘घटना र विचार’ छोडे ।

सरकारी सञ्चार माध्यम विनोदलाई फापेन । नेपाल टेलिभिजनले आग्रह गरेर सुरु गरेको टक–शो ‘समय’मा पनि उनले भनेका सेवा–सर्तहरू पालना भएनन् । कार्यक्रम सेन्सर हुन थाल्यो । उनले भीमार्जुन आचार्य र हरि रोकासँग लिएको अन्तर्वार्ता नेपाल टेलिभिजनले बजाएन । सरकारी सञ्चार माध्यमको केही तीतो केही मीठाे अनुभव सँगाल्दै त्यहाँबाट विनाेद बाहिरिए । 

०५६ मा विनोद ‘नेपाल समाचारपत्र’को न्युजरुम पुगे । त्यहाँ ०६० माघसम्म काम गरे । बरिष्ठ सहसम्पादकको जिम्मेवारीमा रहेका विनोदले त्यहाँ रहँदा डेस्कमा बस्थे । त्यहाँ रहँदा उनले सरकार माओवादी द्वन्द्वसँगै विभिन्न विटको रिपोर्टिङ गरे । 

त्यसपछि उनको यात्रा ‘कम्युनिकेसन कर्नर’तिर सोझियो । ०६० चैतमा कम्युनिकेसन कर्नर पुगेका विनोदले त्यहीँबाट ‘नेपाल एफएम’को यात्रा थाले । सम्पादकको जिम्मेवारीमा रहँदा त्यहाँ उनले टक–शो ‘समय समीक्षा’ चलाए । हप्तामा ६ दिन प्रसारण हुने उक्त कार्यक्रम विनोदले करिब ४ वर्ष चलाए ।

‘समय समीक्षा’ तत्कालीन समयमा रुचाइएको टक–शो थियो । उनलाई यो कार्यक्रम सुनेर दैनिक प्रतिक्रिया दिने र साप्ताहिक रूपमा फोन गरेर ६ दिनको एकै दिन प्रतिक्रिया दिने व्यक्ति धेरै रहेको विनोदलाई आज पनि सम्झना छ ।

एकदिन पत्रकार प्रतीक लामिछानेसँग मोबाइल किन्न न्युरोड पुगेका विनोदलाई चिनेर पसलेले सोधे, “तपाईं नेपाल एफएममा बोल्ने विनोद ढुंगेल हैन ?”

“ती पसलेले मैले केही नभनी एउटा मोबाइलमा ३ हजार छुट दिए,” विनोद सम्झन्छन्, “ट्याक्सी चढ्दा मेरो स्वर चिनेर मलाई भाडा नलिने र आधामात्रै लिने पनि धेरै भेटिएका छन् ।”

० ० ०

समय राजाकै थियो । जगजगी सेनाकै थियो । समाचार सेन्सर गर्न न्युजरुममा सेनाका क्याप्टेनहरू बस्थे । एक दिन कम्युनिकेशन कर्नरमा समाचार पढिरहेकै बेला सेनाका एक अधिकारी पुगे । समाचार पढेर सँगै बाहिर निष्किरहेका सहकर्मी श्रीधर पौडेलले विनोदलाई भने, “आजै समाचार पढ्ने अन्तिम दिन जस्तो छ ।”   

माओवादी नेताहरूको अन्तर्वार्ता छाप्न जो–कोही तयार हुँदैनथे । तर, विनोदलाई भने प्रचण्डको अन्तर्वार्ता लिन मन थियो । अन्तर्वार्ताका लागि आग्रह गरेको लामो समयपछि प्रचण्डका सम्पर्क व्यक्तिले खबर गरे । नेपाल एफएमले भन्यो, “अन्तर्वार्ता त लिनुस् तर बजाउने बेला भने अलि भएको छैन । आर्काइभका लागि भने हुन्छ ।”

आफ्नै रेडियोले नबजाउने भएपछि अन्तर्वार्ता लिएको के अर्थ ? अन्तर्वार्ता त लिने तर केमा छाप्ने ?

उनले नियमित रुपमा समाचार विश्लेषण लेखिरहेको ‘मूल्यांकन’ लगायत त्यती बेलाका चलेका म्यागेजिनलाई भने । कसैले छाप्ने आँट गरेनन् । युवराज घिमिरेलाई ‘समय’मा छाप्न आग्रह गरे । उनले ठट्यौली पारामा भने, “ छापे मैले छाप्ने हाे  नछापे कसैले छाप्दैन ।”

युवराजले केही पैसा पनि दिए विनोदलाई । विनोद काठमाडौंबाट दिल्ली पुगे । दिल्ली पुगेको दुई दिनपछि प्रचण्डसँग दिल्लीमै भेट भयो ।  पहिलो दिन सामान्य परिचयमात्रै भयो । भोलि कुरा गरौला है भनेर प्रचण्ड बिदा भए । 

प्रचण्डका सम्पर्क व्यक्तिले दिल्ली नजिकै हरियाणामा बोलाए । ‘बस चढेर आउनू है’ भनेका ती सम्पर्क व्यक्तिले सानो छाप्रोमा पुर्‍याए ।

भनेकै समयमा प्रचण्ड आइपुगे । लामो अनौपचारिक कुराकानीपछि अन्तर्वार्ता सुरु भयो । भूमिगत नेता प्रचण्डसँगको अन्तर्वार्ता सौहार्दपूर्ण रह्यो । विनोदले प्रचण्डसँग अन्तर्वार्ता लिएको दिन अनिश्चतकालीन आन्दोलनको तेस्रो दिन चलिरहेको थियो । 

‘समय’मा अन्तर्वार्ता छापियो । विनोदले 'प्रचण्डले अध्यक्ष छाड्ने दिन' शिर्षकमा फिचर पनि लेखे ।

समयमा छापिएपछि भने सुरुमा छाप्दिनँ भनेको ‘मूल्यांकन’ले पनि माग्यो । ‘समय’मा नसमेटिएका कुरा ‘मूल्यांकन’ले अन्तर्वार्ताका रूपमा छाप्यो । विनोदले त्यहाँ पनि एउटा फिचर लेखे । शिर्षक थियो, प्रचण्डको मृत्यु–इच्छा । 

आन्दोलन उत्कर्षमा पुगेपछि भने ‘नेपाल एफएम’ले पनि उक्त अन्तर्वार्ता बजायो । ‘समय समीक्षा’का तीन शृखंलामा लगातार बज्यो । त्यतिबेला जेलमा रहेका माओवादी नेताद्वय सुरेश आले मगर र मातृका यादवले उक्त अन्तर्वार्ताको अडियो जेलमै मगाएर सुनेको विनोद बताउँछन् ।

“नेपाल एफएमबाट जनताले पहिलोपटक प्रचण्डको आवाज सुनेका हुन् । चर्चा भएपछि त्यसलाई अडियो क्यासेटमा उतारेर बेच्न म्युजिक नेपाल अडियो किन्न भन्दै नेपाल एफएम पुगेको थियो रे तर एफएमले दिएन,” विनोद सुनाउँछन् ।

अहिलेको पत्रकारिता

‘पत्रकारिता आवाजविहीनहरूको आवाज हो’ भनिए पनि व्यवहारमा कमै लागू हुन्छ । विनोललाई त झनै विश्वासै छैन ।

“पावर सेन्टरमा न्युज जन्मिन्छ र इकोनोमिक पावरमा विज्ञापन जन्मिन्छ,” विनोद भन्छन्, “यिनीहरू दुबैसँग पावर गेन गरेर मिडियाले पनि आफूलाई पावरफुल बनाउने प्रयास गरिरहेको हुन्छ ।” 

दुःखी गरिबका आवाज बोल्ने सञ्चारमाध्यम त्यही क्षेत्रमा मात्रै रुचाइन्छ । तर तिनीहरूले व्यवसायीबाट विज्ञापन नपाउने भएकाले त्यस्तो अभ्यासै गर्दैनन् भन्ने विनोदको धारणा छ । शक्तिकेन्द्रलाई लगाम लगाउन सक्ने सञ्चारमाध्यमको विकास हुँदै जानु पर्ने उनको धारणा छ । 

'शाही शासनमा स्वतन्त्र रेडियो दमन र प्रतिरोधको कथा' पुस्तकका लेखक समेत रहेका विनाेद सञ्चार माध्यमले भाैतिक संरचनामा लगानी पर्याप्त गरे पनि मानवीय स्रोत–साधनमा भने दिल खोलेर लगानी गर्न नसक्दा अपेक्षित रूपमा पत्रकारिताको गुणस्तरमा वृद्धि हुन नसकेको बताउँछन् ।

सञ्चारमाध्यमहरू पत्रकारका लागि व्यवबसायिक रूपमा कति सुरक्षित छन् भन्ने त्यहाँ पत्रकारको ‘टर्न ओभर’लाई हेरेर मूल्यांकन गर्न सकिन्छ भन्छन् विनोद ।

पत्रकारिता नाफा–घाटा र सेवा दुबै भएकाे संस्था हाे भन्रनेमा लगानीगर्नेहरू यसमा स्पष्ट हनुपर्ने बताउने विनोद जागिरे चेत र बयानबाजीको समाचारले प्रधानता पाउने अवस्था अन्त्य नभएसम्म गुणस्तरीय सामग्रीको खडेरी लागिरहने बताउँछन् ।

तस्बिरः सौरभ रानाभाट
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

निःसन्तान दम्पतीको छटपटी र खटपटी 'प्रसाद'

“राम्रो फिल्म हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि

‘गोरखापत्र’ सुधार्ने मिसन

– नरेश फुयाँल लगाव वन्यजन्तुप्रति थियो । पक्षी र माटोप्रति थियोे । एसएलसीपछि उनलाई कृषि विषय लिएर पढ्न मन लाग्यो ।

जित्न सक्लिन् शृंखलाले मिस वर्ल्डको ताज ?

काठमाडौं । शृंखला खतिवडाले मिस वर्ल्डमा दुईवटा टाइटल जितेकी छन् । ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ नामक

संसार हेर्ने प्रकाशको चाहना

वि.सं. २०४५ साल भदौ ५ गते भूकम्प गयो । उदयपुरको मुर्कुर्चीलाई केन्द्र बनाएर गएको ५.५ रेक्टर स्केलको भूकम्पले देशभर ७५०