site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वृद्धवृद्धालाई किन सहँदैन समाजले ?
Sarbottam CementSarbottam Cement

–अक्षर काका


देवघाट (चितवन) । देब्रेतिर त्रिशूलीको चिसो सिरेटो, दाहिने कालिगण्डकीको उच्चाटयुक्त हुनहुनाइ । देवघाटधाममा जोर नदीको सुुसाइमात्रै छैन, पाकाहरूको टिठलाग्दो सुस्केरा पनि सन्निहित छ । वयोवृद्धाको आँसुसमेत मिसिएर नारायणी बनेको छ ! र, त्यही नारायणीको नाद सुन्दै पर्खिरहेका छन् कठोर काललाई उनीहरू ।

प्रत्येक दिन सूर्यले लामो फेरो मार्छ, साँझ ढल्कनै मुस्किल हुनेगरी । शीतयामका रातहरू पनि उस्तै दीर्घ लाग्छन् । मानौँ, समयको गति पनि आफ्नै जीवनजस्तो छ, धीमा, मन्द !

Prabhu Bank
Agni Group
NIC Asia

परित्यक्तहरूको आश्रयस्थल हो देवघाट । हिमवत्स खण्डको आदिप्रयाग देवघाटधाम समाजमा दपेटिएका र परिवारबाट लखेटिएका वृद्धवृद्धाहरूको आश्रययुक्त चौतारी बनेको छ । अझ भनौँ न, काल पर्खने छहारी बनेको छ ।

आफ्नै उमेरसरहको गलेश्वर आश्रम । १६ औँ शताव्दीको चक्रवर्ति मन्दिर । चक्रेश्वर शिला । उनीहरूको जीवनका कुञ्ज बनेका छन् । र, त्यही चहारेर जीवनको दौडधूप छोट्याउँदैछन् उनीहरू ।

Global Ime bank

वर्षेनी तीलको दानाबराबर ठूलो हुने विश्वास गरिएको चक्रेश्वर शिला कति बढ्दो हो थाहा छैन तर उनीहरूका पीडाको आयतन फैलँदोछ, दिनानुदिन !

० ० ०

बिहीबार ढिला गरी सूर्यले आङ ततायो । तुवाँलो छिचोल्दा बियाँलो भयो, सायद । छेवैको आश्रमबाट गलेश्वर मन्दिर पुग्न पनि एक बिहान लाग्छ । “मन चलेर के गर्नु हातगोडा चल्न छाडेपछि जीवन पत्तै नपाइ कुँजिदो रहेछ,” मन्दिर छेउमा भेटिएका गोपी अधिकारीले लामो निःस्वास लिए र पिठ्युँमा धेरैबेर हात अड्याए ।

पोखरा सुइखेतका गोपीलाई सायदै ज्ञात हुँदो हो, जीवनको आखिरीखण्ड कालिगण्डकी तटमा बिताउनुपर्छ । उमेरमा सिलोङसम्म पुगेका उनी जीवनको उत्तरार्द्धमा सहाराविहीन भएपछि ओत खोज्दै आइपुगेका हुन्, देवघाट ।

“बल, बैंसमा पो आकाश–धर्ती आफ्नै लाग्छ, बूढेसकालमा त चिहानको बाटो तताउनुपर्ने रहेछ,” बेलाबखत आफैँलाई धिक्कार्छन् उनी र निःसहाय बन्नुपर्दाको पीडा आँखाबाट बगाउँछन् । फेरि सम्हालिन्छन् र भन्छन्, “हाम्रो शाश्वत धाम यही वृद्धाश्रम हो । बाँचुञ्जेल खान त पाउँछौँ, सुखै छ भनौँ न ।”

डुल्दाडुल्दै उमेर सकियो । पाखुरा चलुञ्जेल कसैको साथको जरुरत परेन । कञ्चट फुल्न थालेपछि पो झल्याँस्स भए– बिहे गर्न पाएको भए ! उनी बेसहारा बन्नुको कारण यही हो ।

६७ वर्षमात्रै लागे, यतिसाह्रो बुढ्यौलीले नगाँज्नुपर्ने हो । तर, मनमा चैन भए पो शरीर तन्दुरुस्त हुनु । दम, खोकी, स्याँस्याँ उनको साथी बनेका छन् । र, यिनैले कतिबेला निल्ने हुन्, थाहा छैन उनलाई ।

“जति घुमेपनि सुख भन्ने चिज भेटिएन । अब शरीरलाई ठेगान लगाउनुपर्छ भनेर घाटको बाटो तताएँ बाबु,” देवघाट आउनुको तात्पर्य खुलाए उनले ।

जहाँ, जसलाई दुखे पनि व्यथाको रङ्ग मिल्छ । आँसुको आकार पनि फरक हुँदैन । वृद्धाश्रममै भेटिएका आफूजस्तै दुःखी, विरही उनका साथीसंगी बनेका छन् । तिनैका वेदना सुन्दै दिन बिताउन सजिलो पनि भएको छ ।

समय नकटे पर्तिरको सत्सङ्ग पाटीमा जान्छन् र कीर्तन गाउँछन्– ‘यो पनि हरिको, त्यो पनि हरिको, सारा संसार हरिको मै पनि हरिको !’

० ० ०

देवघाट क्षेत्र विकास समिति अधिनस्थ वृद्धाश्रममा २९ जना वृद्धवृद्धा आश्रित छन् । त्यहाँ आएका अधिकांश वृद्धावृद्धाको पीडा समान छ– निःसहाय, परिवारको हेलाहाँसो ।

त्यही उपेक्षाको पात्र बनिन् चन्द्रकला मरासिनी । जन्मघर स्याङ्जा हो उनको । “माइतीलाई घाँडो भएकी म, ठाउँ किन चिनाउनू,” आफ्ना भन्नेहरूदेखि उदेक लागेर आउँछ उनलाई ।

७० वर्ष उमेर पार गरिसकेकी चन्द्रकला १५ वर्षकै उमेरमा विधवा भइन् । “भर्खर नछुने भएकी थिएँ, श्रीमान् बित्यो भनेर पो रातो लुगा उजाडे,” जीवनको करूण कहानी उधिन्न थालिन् उनी ।

आठ वर्षकै उमेरमा बिहे गरेर तनहुँ दिइएको थियो उनलाई । लक्का जवान् श्रीमान् काम खोज्न भारत गएका, उतै वेपत्ता भए । कमाएर ल्याउलान् ठानेको, मरेको खबर पो ल्याए !

“त्यस्तै आठ वर्षपछि मरेको खबर आयो बाबु ! के काममा गएको हो, थाहा पनि छैन, कस्ता रङ्गका थिए, राम्रोसँग जान्दिन पनि,” अधैर्य भइन् उनी र धेरै बेर निःशब्द भइन् ।

श्रीमान् नभए पनि श्रीमान्कै घर रुँगेर जीवन व्यतीत गरिन् । अनुहार चाउरी पर्न थालेपछि सबैले छिःछिः र दूरदूर पो गर्न थाले । अतिशय बुहार्तन खप्नुभन्दा आफैँ पन्छनु उत्तम ठानेर वृद्धाश्रममा आइपुगेकी हुन् उनी ।

“बल छँदा सबैले आइजो, खाइजो भने, उमेर सकिएपछि हेलाँ पो गर्न थाले,” आफैँले मौनता चिरिन् ।

जस्तै भए पनि बिहे गरेर दिएको घर हो भनेर अनेक यातना खपिन् । आँसुका भेल छिचोलेर अर्मपर्म गरिन् । मेलापात भरिन् । तर, उमेरले नेटो काटेपछि वृद्धाश्रमको बाटो नतताई सुखै पाइनन् उनले ।

उमेरमा धेरै पटक कालिगण्डकी तट नुहाउन आएकी थिइन् । किनारमा वृद्धाश्रम छ भन्ने सुनेकी पनि थिइन् । “यो उमेरमा आफैँ पो पाहुना लाग्न आउनुपर्‍यो,” अनुहारमा सन्नटा छायो, बोल्नै सकिनन् चन्द्रकला ।

उमेरमा दरबार, उत्तरार्द्धमा वृद्धाश्रम

बालखैमा श्रीमान् गुमाउने चन्द्रकला एक्ली होइनन्, उनीसँगै ओछ्यान जोडिएकी उमादेवी खनालको नियति पनि त्यस्तै छ ।

उमादेवीको कहानी त झन् औपन्यासिक लाग्छ । काठमाडौँ गोकर्णकी रैथाने उमादेवीको बिहे पनि आठ वर्षको उमेरमै भयो । र, बिहे गरेको वर्षदिनजतिमै श्रीमान्ले परलोकको बाटो तताए ।

काठमाडौँ र ललितपुर गरी माइतीको प्रशस्तै सम्पत्ति थियो । बिहे गरेर सितापाइला दिइएको थियो, त्यहाँ पनि नपुग्दो केही थिएन । तर, श्रीमान् बितेपछि पाउनु–नपाउनु दुःख उनको पोल्टामा पर्‍यो । घरमाइतीले देखि सहेनन् ।

उमेरमा त उनी दरबारसम्म पुगिन् । राणा परिवारदेखि झ्याङ्गिएको उनको निकटता राजदरबारसम्मै पुग्यो । राणा–राजपरिवारको बत्ती कातिदिने, पूजा–भाँडा माझ्नेदेखि यज्ञादि कार्यका सामग्री तयार पार्नेसम्म गरेर रिझाएकी थिइन् उनले । तर, घर रिझाउन सकिनन् । बरु आँखाको कसिङ्गर बनिन् ।

“बाँके, बर्दियादेखि बनारससम्मै पुगेर राजपरिवारको सेवा गरेकी छु, धन्दा गर्दिएकी छु । तत्कालिन रानी ऐश्वर्याले पनि औधी मन पराउनुहुन्थ्यो । अन्तिममा वृद्धाश्रम नआई भएन,” विक्षिप्त देखिइन् उनी ।

एक सय तीन वर्षिया उमादेवीले ५० वर्ष त दरबारकै सेवामा समर्पित गरिन् । “अन्तिममा वृद्धाश्रम नै प्यारो भयो ! जीवन कहिले दरबारमुनि, कहिले वृद्धाश्रम मुनि !,” निःशब्द हुँदै आँसु बगाउँछिन् उनी ।

सुरू–सुरूमा सन्तान नभएकाले वृद्धाश्रम आउनु परेको हो कि जस्तो लाग्थ्यो उनलाई । सन्तान भएकाहरूले पनि वृद्धाश्रमको चिसा सिँढी कुरिरहेको र बूढेशकालमा निस्तो च्युरा–पानीसँग निलिरहेको देख्दा छोराछोरी नभएको खासै चिन्ता छैन । छोराछोरीले पनि के नै गर्ने रहेछन् र !

चिन्ता त यही एउटा छ– निर्दयी काल किन छिटो आउँदैन ?

छेवैमा सीताकुमारी घिमिरे थिइन्, उनको नियति पनि अघिल्ला दुई आमैको भन्दा कम छैन । दोलखाकी घिमिरेको पनि सहरा नभएका होइनन् । आफ्ना पो जन्मिएनन् त देवर जेठाजुका छोराछोरी घरभरि थिए । तर, उमेरसँगै पराइ भए ती । र, तिनले पनि वृद्धाश्रमको छिँडी नकुरी सुखै पाइनन् ।

०  ०  ०
वृद्धाश्रम हाम्रो घर
सन्तान भए पर, हरि तिम्रै भर !

बिहानीपख निरन्तर हरि कीर्तनको आवाज आउँछ । तर, ८४ वर्षकी लक्ष्मीमाया श्रेष्ठको हात अझै बसिसकेका छैनन् । उमेरअनुसार आँखा पनि टठीलै छ भनौँ । सत्सङ्ग पाटी छेउको भान्छाघरमा गोलभेँडा काट्दै थिइन् उनी । त्यस्तै परे पकाउँछिन् र सबैलाई खुवाउँछिन् ।

सिन्धुली बजार हो उनको पुर्ख्यौली थलो । सन्तान नभए पनि श्रीमान् छउञ्जेल दुःखको पहाड चढ्नुपर्ला भनेर उनले कल्पनासम्म गरेकी थिइनन् । तर, १५ वर्षअघि श्रीमान् आफूभन्दा अघि लागेपछि घरकाले वृद्धाश्रमकै बाटो देखाइदिए उनलाई ।

“श्रीमान् छउञ्जेल सबै आफ्ना थिए, नभएपछि सबै पराइ भए,” यत्ति भनिन् उनले ।

समस्यामा एकल महिला

वृद्धाश्रममा १९ जना महिला छन् । तीमध्ये अधिकांश एकल महिला हुन् । उमेरमै श्रीमान् बितेका, सन्तान नभएका महिलाले वृद्धाश्रम नआई सुखै नपाउनेजस्तो देखिएको छ ।

“प्रायः महिला समस्यामा परेको देखिन्छ, सन्तान भएका पुरूषहरू पनि वृद्धाश्रम नआएका होइनन्,” देवघाट क्षेत्र विकास समितिका नासु ढकराज कोइराला भन्छन्, “२०५२ सालयता एकल महिला नै यहाँ बढी आएका छन् ।”

सिन्धुलीका लक्ष्मीप्रसाद श्रेष्ठ त सन्तानले ज्यान लिने भयले भागेर वृद्धाश्रम आइपुगेको बताउँछन् । “सम्पत्तिका लागि आफैँले जन्माएका सन्तान शत्रु बन्न आँटे बाबु ! मेरो ज्यान जोगाउनु पर्‍यो,” श्रेष्ठले यसो भन्दा छाँगाबाट खसेझैँ भएका थिए ढकराज !

“सम्पत्तिको लोभ गर्ने तर आमाबाबुको वृद्धावस्थाको चिन्ता नगर्ने परिपाटी मौलाउँदै गएको छ,” चिन्तित छन् उनी । सौता खपेका, बालखैमा श्रीमान् बितेएका महिलाचाहिँ वृद्धाश्रम आउनु अनिवार्यजस्तै भएको उनको अनुभव छ ।

बाह्मण–क्षेत्रीका आमाबाबु बढी पीडित

प्रायः वृद्धाश्रमको बाटो तताउने ब्राह्मण, क्षेत्री समुदायका बढी छन् । त्यस वृद्धाश्रममा पनि ब्राह्मण–क्षेत्री समुदायकै वृद्धवृद्धाको बाहुल्यता छ । “अन्य जातिको तुलनामा क्षेत्री–ब्राह्मण समुदायको पारिवारिक संरचना एकल परिवारउन्मुख छ । त्यसैले पनि सन्तानको हेलाहाँसो हुनेबित्तिकै अभिभावकको विचल्ली हुने गरेको देखिन्छ,” उनले समस्याको चुरो पहिल्याए ।

छोरा–बुहारी दिनभर काममा व्यस्त हुने, नातिनातिनी स्कुल, कलेज जाने हुँदा वृद्धवृद्धाहरूमा अनेक समस्या देखिएको छ । स्मृति ओझेल पर्ने वृद्धावस्थाको मुख्य समस्या हो ।

त्यसबाहेक वृद्धवृद्धाको मनोविज्ञान बुझ्ने, बुढ्यौलीमा देखा पर्ने रोगहरूको बारेमा हाम्रो समाज जानाकार भइसकेको छैन । देवघाटका वयोवृद्धाहरूको उदेकलाग्दो जिन्दगी त्यसैको उत्पादन हो ।

“बाल मनोविज्ञानको चर्चा हुन्छ । बालबालिका स्याहारको कुरा हुन्छ । उस्तै संवेदनशील उमेर वृद्धावस्थाबारे कसैलाई चासो छैन, भनौँ न मानिसहरूलाई आफू पनि बूढो होइएला भन्ने भय नै छैन,” निराशा व्यक्त गर्छन् उनी ।

सरकाले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता त दिएको छ तर त्यो रकममा पनि सन्तानकै हालिमुहाली चल्छ ।

वृद्धवृद्धाको व्यवस्थापन

वृद्धाश्रम सञ्चालन गर्न सरकाले यसवर्ष ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर, वृद्धाश्रम चलाउन मासिक ५०–६० लाखको हाराहारीमा खर्च हुन्छ ।

परिवारको उपेक्षाको निर्मम सिकार भएका । रोगले गाँजेका वयोवृद्धा । नियमित उपचार गर्नुपर्छ । कहिले त दिनमै दुईजनाको निधन हुन्छ । सदगत गर्नैपर्‍यो । त्यति पैसाले धान्नै सकिँदैन भन्छन् उनी । ०५२ यता २०० जना वृद्धवृद्धाले चोला बिसाइसके ।

“कसरी चलाउने त वृद्धाश्रम ?”

“उही दाताकै भर त हो । कसैले तिथि श्राद्धका दिन वृद्धवृद्धालाई भोजन गराउने मन गर्नुहुन्छ, यस्तै सिधा बटुलेर वृद्धवृद्धाको रहर पूरा गर्नुपर्ने बाध्यता छ,” ढकराजको जवाफ छ ।

वृद्धाश्रमका आफ्नै समस्या छन् । परिवारबाट त्यागिएका वृद्धवृद्धा त्यहाँ आउँछन् । ती समूहमा बस्नै मान्दैनन् । अरूको झिँझो–झर्को सहँदैनन् । रोगले थलिएका, अशक्तहरूका आफ्नै समस्या हुन्छ । त्यसबाहेक अर्को चुनौती हो– सडकमा मागेर खाने वृद्धवृद्धा !

ती वृद्धवृद्धालाई वृद्धाश्रममा ल्याएर आश्रय दियो, पुनः हात पसार्न सडकमा निस्किहाल्छन् । “मागेरै किन नहोस्, मीठै खाएका हुन्छन्, त्यस्ता वृद्धले आश्रमलाई गालमात्रै पार्छन्,” ढकराज थप्छन् ।

मृत्युपछिको मोह

बाँचुञ्जेल त सुख भोगेनन् नै, मृत्युपश्चात् भने मोक्ष प्राप्त गर्ने मोह छ वृद्धवृद्धाहरूमा । त्यसैले त्यहाँ दिवङ्गत हुने वृद्धवृद्धलाई विरलै जलाइन्छ । कसैलाई जलसमाधी दिलाइन्छ भने अधिकांशलाई गाडिन्छ ।

कालिगण्डकीको किनारमा गाडिन पाए शालिग्राम बनिन्छ भन्ने आदिम विश्वास पनि छ । यही विश्वासलाई जीवित राखिराख्न पनि जलाइँदैन । पर्यावरणीय दृष्टिले जलाउनुको साट्टो गाड्नु नै उत्तम ठान्निछ पनि ।

“बाँचुञ्जेल भोकै, अनिदै जाग्राम, मरेपछि शालिग्राम बन्नुको के अर्थ हुँदो हो र ?” फिस्स हाँस्छन्, ढकराज ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC