site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘फ्रि भिसा फ्रि टिकट’ले म्यानपावर व्यवसायी झनै मालामाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्याग्दी बेनीका बृषराम पुनले खाडी मुलुकमा रोजगारीका लागि जान ७० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाए । सर्लाहि बसन्तपुरका जितु मण्डल र उनका ३ जना साथीले पनि कतार जानका लागि ५०–५० हजार बुझाएको बताए । म्यानपावरलाई बुझाएको रकमबारे उनीहरु खुलेर बोल्दैनन् । कतिपय भने म्यानपावर तथा एजेन्टले सिकाएको भाषा बोल्छन् । 

कतिपयसँग एजेन्ट पनि सँगै भएका कारण बोल्न अप्ठ्यारो हुन्छ । कतार जान लागेका कपिलवस्तुका समसुद्धिनले चाहिँ खुलेर आफ्नो कुरा राखे । उनले भने, “यो भिषा हामीलाई उताबाट फ्रिमै आउँछ । यहाँ त्यसलाई बेचिन्छ । नेपालमा कानुन छ जस्तै लाग्दैन । हामीलाई बाहिर जानुपर्ने बाध्यता छ । त्यही बाध्यतामा दलाली भइरहेको छ । यहाँ त म्यानपावरले श्रम बनाउन पनि लाग्ने भन्दा दोब्बर, तेब्बर बढी पैसा लिन्छन् । तर यहाँ कसले हेर्छ यो कुरा ?”   

कुवेतमा जानका लागि सप्तरीका मनिषकुमार विश्वास र उनका साथीले म्यानपावर व्यवसायीलाई १ लाख १६ हजारका दरले रकम बुझाए । उनीहरुलाई गार्मेन्ट कम्पनीमा कपडा सिलाइको काममा ९० कुवेती डिनार केडी दिइने भनिएको रहेछ । तर, कुवेत पुगेका उनका साथीले जम्मा ६५ केडी मात्रै पाएको, आफूले पैसा बुझाएर जान पनि नपाएको र पैसा फिर्ता माग्दा पनि विभिन्न कुरा गरेर झुलाइरहेको मनिषले सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

१४ महिनाअघि कतारमा रोजगारीका लागि गएका नवलपरासीका हेमराज कँडेलले आफूसहित ३० जना साथीहरुले प्रतिव्यक्ति १ लाखका दरले रकम बुझाएर गएको सुनाए । उनले दिएको जानकारी अनुसार म्यानपावर व्यवसायीले लिने रकम सबैको लागि बराबर हुँदैन । एउटै देशको एउटै कम्पनीमा जाने कामदारसँग पनि मनपरी रकम उठाउने गरिएको नेपाली कामदारहरु बताउँछन् । “एकैठाउँमा आउनको लागि पनि ८०–९० हजारदेखि सवा लाखसम्म लिएकोे देखिन्छ,” कतारबाट कँडेलले भने । 

कार्यान्वयन भएन फ्रि भिसा
विदेश जाने नेपाली कामदारले अत्यधिक शुल्क तिर्नुपरेको भन्दै सरकारले फ्रि भिसा प्रणाली ल्यायो । तर, यसको कार्यान्वयन भने प्रभावकारी देखिएको छैन । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन आचार्य यसलाई प्रभावकारी कार्यान्वयन गराउन नसकिएको स्वीकार गर्छन् । “यसमा थप प्रभावकारी कदम चाल्नुपर्ने बेला भएको छ । यो अनिवार्य कार्यान्वयन गराउनुपर्छ । त्यसको लागि हामीले नयाँ नियमावली समेत बनाएर पठाएका छौं । अब नयाँ सरकारले त्यसको प्रक्रिया अगाडि बढाउला भन्ने लागेको छ,” उनले भने । म्यानपावर व्यवसायीहरुले दुईतर्फबाट नाफा खान खोजेको उनको भनाइ छ । “कामदार चाहिएको कम्पनीले भिसा फ्रिमात्रै हैन, कतिपय कम्पनीले कामदार पठाएकोमा कमिसनसमेत दिने गरेका छन्, म्यानपावर व्यवसायीले उताबाट पनि र यता कामदारसँग पनि पैसा लिएका छन्, यो गैरजिम्मेवारपूर्ण काम हो,” प्रवक्ता आचार्य भन्छन् । 

Global Ime bank

यसको कार्यान्वयन र प्रभावकारी अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय वैदेशिक रोजगार विभागमार्फत पनि कुनै काम हुन सकेको देखिन्न । विदेश जाने युवाले बढी पैसा तिर्नु परिरहेकै छ । तर, विभाग यो कुरामा सहमत छैन । विभागका निर्देशक एवं प्रवक्ता मोहन अधिकारी सरकारले दिएको जिम्मेवारी आफूहरुले पालना गरेको बताउँछन् । उनले भने, “हामीले आफ्नो जिम्मेवारीअनुसारको काम गरेकै छौं । कोही व्यक्ति उजुरी लिएर यहाँसम्म आए तोकिएभन्दा धेरै रकम लिने व्यवसायीलाई कारबाहीको प्रक्रियामा लैजान्छौं,” उनले भने । विदेश जाने कामदारले आफू विदेशमा गएर समस्यामा परेको अवस्थामा मात्रै आफूले दिएको रकमको यथार्थ जानकारी दिने तर विदेश जानु अगाडि थाहा नदिने उनले बताए । 

विभागका प्रवक्ताले भनेजस्तै वैदेशिक रोजगारमा जाने कामदारले जानुअगाडि आफूले दिएको सही रकम बताउँदैनन् । सरकारले सेवा शुल्कबापत बढीमा २० हजारमात्रै लिन पाउने व्यवस्था गरेको छ । तर, धेरै कामदारले बिनारसिद योभन्दा बढी रकम बुझाएका हुन्छन् । “उनीहरुले बाहिर देखाउनको लागि १०–१२ हजारको रसिद बनाइदिन्छन्, त्यसको कैयौं गुना बढी बिनारसिद र बिनाप्रमाण लिन्छन्,” वैदेशिक रोजगारमा रहेका एक नेपालीले भने । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता आचार्यले पनि यो राष्ट्रका लागि ठूलो नोक्सानी रहेको भन्दै म्यानपावर व्यवसायीमाथि कडा निगरानी राखिने बताए । 

नागरिक तहबाट समेत यसबारे आवाज नउठेको होइन, तर सम्बन्धित सरकारी पक्ष नै गैरजिम्मेवार बन्न पुगेको सरोकारवाला बताउँछन् । पिपुल फोरम निःशुल्क कानुनी सहायता केन्द्रका कार्यक्रम संयोजक अधिवक्ता कृष्णप्रसाद न्यौपाने वैदेशिक रोजगारका नाममा दिनहुँ सयौं नेपालीहरु ठगिने क्रम बढिरहेको बताउँछन् । उनले भने, “फ्रि भिषा फ्रि टिकट एक प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन, सरकारले यो गम्भिर आर्थिक अपराध गरिरहेको छ ।” म्यानपावर व्यावसायीले सेटिङ मिलाउने गरेका कारण पनि पहिले नै धेरै पैसा लिएको खबर बाहिर नआउने उनको भनाइ छ । उनले भने, “फ्रि भिसा फ्रि टिकटको व्यवस्थापछि कामदारहरु झनै बिचल्लीमा पर्न थालेका छन् । फर्केर आएपनि उनीहरुसँग सबै पैसा तिरेको रसिद वा प्रमाण हुँदैन, जसका कारण व्यवसायी वा एजेन्ट उम्कन सजिलो भएको छ ।” म्यानपावरलाई पैसा दिँदा अनिवार्य बैंकबाट मात्रै दिनुपर्ने व्यवस्था मिलाउने हो भने यस्तो आर्थिक अपराध रोक्न सकिने उनले बताए । 

म्यानपावरले १० हजारको रसिद काटेर एकजना कामदारवाट ८० हजारदेखि डेढ लाखसम्म असुलेको पीडितहरुको गुनासो छ । म्यानपावर व्यवसायीहरु भने विदेश जाने कामदारहरु धेरैजसो एजेन्टमार्फत आउने भएकाले उनीहरुले रकम पनि एजेन्टलाई नै दिने भएकाले आफूहरुलाई थाहा नहुने बताउँछन् । 

सरकारले २०७२ जेठ २६ गते मलेसिया तथा खाडी मुलुकमा जाने कामदारले भिसा र टिकटको रकम तिर्नु नपर्ने निर्णय गरेको थियो । बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुबेत र मलेसिया जाने नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा एवं आउनेजाने हवाइ टिकटको खर्चसमेत व्यहोर्ने तथा कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो । 

केही समयअघि खाडी मुलुकको स्थलगत निरीक्षणमा गएको संसदीय उपसमितिले त्यहाँ पुग्ने नेपाली कामदारहरूबाट ५० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलेको तथ्य फेला पारेको प्रतिवेदन दिएको थियो । हालसम्म बढी रकम लिएको भनेर कुनै पनि म्यानपावर कम्पनीलाई कारबाही गरिएको विभागको रेकर्ड छैन ।  गत वर्षमात्रै १ हजार ३ सय ८८ व्यक्तिगत र १ हजार ४ सय ५२ संस्थागततर्फका उजुरी दर्ता गरिएकोमा धेरै रकम लिएको अधिकांशको गुनासो छ । विभागले त्यस्ता मुद्दामा कामदार र म्यानपावर सञ्चालकलाई बोलाएर आपसमा सोधपुध र छलफलमार्फत मिलाउने काम गर्दै आएको विभागका प्रवक्ता अधिकारीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC