काठमाडौं । नीलम कार्की निहारिकाकृत ‘योगमाया’ इतिहास र मिथकीय विघटन भएको वक्ताहरूले औँल्याएका छन् । वि.सं. १९८० को दशकमा सामाजिक सुधारको छवि बनाएकी इतिहास–पात्र योगमाया न्यौपानेको जीवनवृतान्तमा आधारित उपन्यास ‘योगमाया’ विमोचनमा वक्ताहरूको त्यस्तो धारणा आएको हो ।
योगमाया उपन्यासमाथि समालोचकीय धारणा राख्दै प्राध्यापक कृष्ण गौतमले योगमाया ‘फ्याक्ट र फिक्सन’को अन्तरघुलन भएको टिप्पणी गरे । २०७० को पद्मश्री पुरस्कार विजेता लेखकको अघिल्लो उपन्यास ‘चीरहरण’लाई ‘स्त्रीलिङ्गी महाभारत’को उपमा थमाएका गौतमले योगमाया ‘सिंगो अरूणको भेल’ भएको टिप्पणी गरे ।
योगमाया मानवतावादी आन्दोलनको युगीन प्रवोध भएको बताउँदै पितृसत्ता–सुधारको इतिहास–चेत भएको उनले औँल्याए । “आजसम्म महिलाको इतिहास कमै लेखिएको थियो, यो महिलाको इतिहासको विच्छेद पनि हो,” उनको तर्क थियो । त्यस्तै उनले योगमाया महाख्यान भएको बताए ।
उपन्यासमाथि बोल्दै डा. सावित्री कक्षपतीले योगमाया विसंरचनावादी धारमा बगेको बताइन् । “योगमायामा लेखकले आफ्नो शैली निर्माण गर्न लागिपरेको देखिन्छ,” कृतिमाथि उनको टिप्पणी थियो, “उपन्यासले विगतको क्रान्तिको मियो समातेर यथार्थको बोध गराउँछ ।” उपन्यासको महत्ता चित्रण गर्दै उनले ‘योगमाया’ आँखी झ्यालमात्रै नभएर कौसीमै गएर हेर्ने सुविधा दिएकोसमेत बताइन् ।
त्यस्तै सन् १९८० को दशकमा योगमायाबारे अध्ययन, अनुसन्धान गर्ने अमेरिकी अनुसन्धानकर्मी बारबारा अजिजले योगमाया अध्ययनमा धेरै इँट्टा थपिएको बताइन् । उपन्यास विमोचनकै लागि नेपाल आएकी अजिजले लगनशील लेखिकाले इतिहासको गहिराइमा गएर खोज गरेको भन्दै उपन्यास जीवन्त रहेको विश्वास व्यक्त गरिन् ।
उपन्यासकारी कार्कीले उपन्यासका पात्रहरू ९९ प्रतिशत सही भएको बताउँदै पुस्तकले योगमायाबारे धेरै कुरा छर्लङ्ग पारेको धारणा राखिन् । उपन्यासले योगमायामाथि विगतमा गरिएको केही खोज, अन्वेषणमाथि तथ्यपरक प्रश्न उठाएको र केही प्रश्नको निरूपणसमेत गरेको बताइएको थियो ।
उपन्यासकारकी माता मीनाकुमारी केसी र अजिजद्वारा लोकार्पित कृति ‘योगमाया’लाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
पुस्तक वि.सं १९२३ मा भोजपुरको नेपाले डाँडामा जन्मिएकी योगमाया न्यौपानेको जीवनमा आधारित कृति हो । न्यौपानेले विसं. १९९८ असार २२ गते शनिबार आफ्ना ६८ जना अनुयायीलाई लिएर जलसमाधि लिएकी थिइन् ।