नेपाली तारा सिजन–३ जलजला परियारका लागि अवसरको ढोका बनेर आयो । त्यही ढोका हुँदै उनी नेपाली सांगीतिक दुनियाँको यात्रा गर्न तम्तयार भइन् । गला सुरिलो थियो । त्यसलाई बाद्यवादनको तालसँगै सुरमा मिलाउनु थियो । प्रयास गरिन्, सफलता हात लाग्दै गयो ।
निर्णायकहरु रामकृष्ण ढकाल, सुरेश अधिकारी र प्रकाश गुरुङले उनको स्वरलाई मन पराउँदै गए त्योभन्दा पनि धेरै त उनलाई दर्शकले साथ थिए । उनको यात्रा अगाडि बढ्दै गयो । टप सिक्समा पुगेपछि भने नेपाली तारामा उनको यात्रा टुंगियो ।
हार्नु हराउनु होइन, आफ्ना कमजोरीलाई समीक्षा गर्दै थप मजवुत हुनु पनि हो । ठेस लाग्नु नै यात्राको अन्त्य होइन, त्यसबाट पाठ सिकेर थप सजग हुँदै सफल यात्राका लागि पुनः पाइला चाल्नु हो ।
जलजला नेपाली ताराबाट घर त फर्किन् तर संगीतप्रति उनको मोह मरेन । घरमै साधना गर्न थालिन् । प्रतिस्पर्धामा आफूलाई खरो उतार्नु थियो । गुरुकोमा गएर संगीत सिक्न थालिन् । स्वर माझिँदै गयो । सानैदेखि गायनमा आफूलाई स्टेजमा उतार्दै आएकी उनले ११ वर्षको उमेरमै आधुनिक गीत गाइन् । आधुनिक गायनबाट सुरु भएको जलजलाको यात्रा अहिले भने शून्य प्रायः छ ।
स्वास्थ्यमा क्रमशः शिथिलता आएपछि अस्पताल पुगेकी उनलाई चिकित्सकले मिर्गौलामा समस्या आएको सुनाइदिए । संगीतमा करिअर खोज्दै गरेकी उनलाई एकै पटक उनका आँखा रसाए । जिन्दगी शून्य लाग्यो । उनलाई अहिले चिकित्सकले सकेसम्म नबोल्नु भनेका छन् । उनी बोल्दिनन् । विस्तारै उठाइदिन आग्रह गर्छिन् र सुनिरहन्छिन् आफूबारे आफ्नो बुवा, आमा र भाइले गरेका कुरा । र, विस्तारै टाउको हल्लाउँछिन् ।
टिचिङ अस्पतालको ३०६ नम्बर वार्डमा जलजलासँगै उनको गायन पनि शिथिल छ । मिर्गौला फेल भएपछि जलजला एक महिनादेखि बेडमा छिन् । बाँकी जिन्दगी खोजिरहेकी उनी हप्तामा दुई दिन डायलसिस गरिरहेकी छिन् ।
एक महिना अगाडि टिचिङ ल्याइपुर्याएकी उनलाई एक हप्तादेखि सरकारले निःशुल्क डायलसिस गराइदिइरहेको छ ।
केही दिनअगाडि टिचिङको ३०२ नम्बर वार्ड पुग्दा उनी आमाबुबा र भाइसँगै थिइन् । पत्रकार भनेपछि उनी बोल्न खोजिन् तर घाँटीबाटै डायलसिस गरेकाले उनी बोल्न सकिनन् । उनकै बुबाले जलजलाबारे कहे ।
“नेपाली तारामा सहभागी भएपछि उनलाई धेरैले चिन्न थालेका थिए । उनले ११ वर्षमा गाएको गीत अहिले सुन्दा उमेर पुगेको व्यावसायिक गायिकाले गाए जस्तो सुनिन्छ,” जलजलाका बुवा नारायण परियारले भने, “नेपाली तारामा राम्रो गाएपछि उनले संगीत सिक्न थालिन् । अहिले उनी संगीतमा ब्याचलर गरिरहेकी छिन् । तर, यस्तो भैदियो ! के पो हुने हो उनको पढाइ ।”
नारायण मृत्युसँग जुधिरहेकी छोरीको भविष्यलाई लिएर चिन्ता गरिरहेका बेला जलजलाका आँखा भरिएर आँसु गालातिर खस्छन् । सँगै रहेकी आमा लाडप्यारले छोरीलाई सुम्सुम्याउँछिन् । र, मायालु हातले आँसु पुछिदिन्छिन् ।
० ० ०
छोरीसँगै नारायण जोरजाम पारेर दुई लाख रुपैयाँ लिएर टिचिङ छिरेका थिए । कही दिनमै दुई लाख उनको हातबाट अस्पतालको हातमा पुग्यो । विलखबन्दनमा परे नारायण ।
केदार घिमिरे (माग्ने बुढा) जलजलालाई हेर्न पुगे । केही सहयोग गरे । उपचारका लागि आवश्यक रकम बारे सोधे ।
नारायणले आफ्नो अवस्था सुनाए । जलजलाको शारीरिक अवस्थाबारे चिकित्सकले दिएको सल्लाह सुनाए । उपचारका लागि मोटो रकम चाहिएको सुनेका घिमिरेले जलजला मिर्गाैला फेल भएर उपचाररत रहेको र सहयोगको आवश्यकता रहेको कुरा बाहिर ल्याउनुपर्ने बताए ।
नारायणलाई केही थाहा थिएन, उनले सुनीमात्रै रहे । घिमिरे उपचारका लागि रकम संकलन गर्ने उपाय दिए । नारायणलाई मनासिब लाग्यो ।
जलजला मिर्गौला रोगबाट थलिएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक भयो । नारायणको मोवाइल नम्बरमा घण्टी बज्न थाल्यो । फेसबुकमा सहयोगका लागि इनबक्स गर्नेको संख्या बढ्यो । सिधै सम्पर्कमा आइ नपुग्नेहरु आफन्त तथा चिनेजानेकाहरुमार्फत आउन थाले ।
सहयोगी मन र हातहरु बढ्न थाले । बैंक खातामा सहयोग रकम जुट्न थाल्यो । उपचारका लागि आर्थिक अभाव हुन थाल्यो । अस्पतालको शैय्यामा मृत्यसँग संघर्ष गरिरहेकी जलजलालाई जीवनका आशा पलाउन थाल्यो ।
‘बाटो मुनीको फूल–२’ मा उनले यशकुमारसँग गीत गाएकी छिन्, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ...।’
यो गीतले उनलाई चिनायो । यही गीतले उनलाई बचायो पनि । “सहयोग जुट्नुमा नेपाली ताराको भूमिका त छँदैछ त्यो भन्दा पनि धेरै ‘बाटो मुनीको फूल–२’ मा गाएको गीतको हात छ,” नारायण मलिन स्वरमा भन्छन्, “यही गीतले नानीलाई बचाउँदैछ । सहयोगी हातहरु अगाडि बढ्नुमा यो गीतको ठूलो हात छ ।”
० ० ०
सहयोग रकम जम्मा हुन थाल्यो । नारायणको आत्मबल बढ्दै गयो । जलजलालाई मिर्गौला दिन उनकी आमा तयार भइन् । नारायणले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालसँग परामर्श गरे ।
विडम्बना ! अस्पतालले कम्तिमा तीन महिना लाग्ने बतायो । “छोरी दिनदिनै गल्दै गैरहेकी छिन् । हप्तामा दुईपटक डायलसिस गरिरहनु परेको छ । शरीर गल्दै गैरहेको छ, खर्च बढिरहेको छ तर अस्पतालले तीन महिना अझै कुर्नु भन्छ । त्यसैले अब यहाँ पर्खिनुभन्दा भारत गएर प्रत्यारोपण गर्ने सोचमा पुगेका छौं,” नारायण भन्छन्, “नेपालमै प्रत्यारोपण गर्ने समय मिल्ने हो भने हामीलाई अब करिब करिब पैसा पुग्छ तर भारत जानुपर्ने अवस्थामा पुदैन । त्यसैले म यहाँहरुसँग आग्रह गर्छु मेरी छोरी जलजलालाई बचाउन चाहन्छु । कृपया सहयोग गरिदिनु होला । जजलला र म सधैं सहयोगी हात र सहयोगी मनहरुप्रति ऋणी हुनेछौं ।”
नारायण जलजलालाई मेदान्त हस्पिटल लैजाने तरखरमा छन् । त्यसका लागि नेपालबाट गीता पौडेलले सहयोग गरिरहेकी छन् भने मेदान्त हस्पिटलमा डाक्टर नृपा चौधरीले उपचारको व्यवस्था मिलाइरहेकी छन् । चौधरी जलजलाकी संगीत गुरु पनि हुन् । जलजला छात्रवृत्तिमा कोलकतामा शास्त्रीय संगीतमा दोस्रो वर्षमा अध्ययनरत थिइन् ।
० ० ०
“मैले केही हल्ला पनि सुनेको छु । जलजलाको सहयोगका लागि करोडौं रुपैयाँ उठिसकेको छ भनेर मलाई आरोप लागिरहेको छ,” नारायण स्पष्ट पार्छन्, “नानीको उपचार भएर स्वस्थ भए हामीलाई पुग्छ । हामी आँशुमा डुबिरहेका बेला हामीमाथि लाग्ने यस्तो आरोपले हामीलाई झनै कमजोर बनाउँछ ।”
“डा. चौधरीले मिर्गौला प्रत्यारोपणका लागि लाग्ने खर्चको विवरण पठाइपछि हामी यति खर्च लाग्ने रहेछ भनेर सबैलाई भन्छौं र आवश्यक सहयोग आएपछि हामीलाई चाहिने रकम जुटिसक्यो भनेर सहयोग लिन बन्द गर्छौं,” नारायण भन्छन्, “उपचार गरेर केही रकम बच्यो भने हामी मिर्गौला पीडितलाई नै सहयोग गर्ने छौं । नानीको चाहना पनि यही छ ।”
बाबुका कुरा सुनिरहेकी जलजला बोल्न नसकेपनि ‘हो’ सूचकको टाउको हल्लाइरहेकी थिइन् ।