site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पार्टी एकतापछि प्रचण्डको सम्पूर्ण जिम्मा हामी लिन्छौं 
Ghorahi CementGhorahi Cement

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने एकताका लागि सोमबार बेलुका ७ बुँदे आधार तयार भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका प्रभावशाली नेताहरुले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्तामध्येका एक हुन् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम । नेकपा एमाले र माओवादी केन्द्रबीच करिब १० वर्षदेखि नै एकताको प्रयास गर्दै आएका गौतम अब भने एकताको अन्तिम चरणमा पुगेको बताउँछन् । तर पनि अझै केही चुनौतिहरु बाँकी रहेको उनको धारणा थियो ।

Agni Group

मंगलबार दिउँसो बाह्रखरीकर्मी बलराम पाण्डेसँग आफ्नै निवास भैँसेपाटीमा नेता गौतमले पार्टी एकता, अहिलेसम्म गरिएका प्रयास, अबका चुनौति लगायतका विषयमा करिब २ घण्टा कुराकानी गरे ।

कुराकानीका क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस, भारतीय अधिकारी र युरोपियन युनियनका केही प्रतिनिधिले पटक पटक युद्धकालिन घटना सम्झाएर तर्साएको बताए । उनले पार्टी एकतापछि प्रचण्डको जिम्मा पनि पार्टीले नै लिने धारणा राखे ।
प्रस्तुत छ, गौतमसँग गरिएको कुराकानीको अंश :

Global Ime bank


लामो प्रयासपछि पार्टी एकताको अभियान सफल हुने चरणमा पुगेको छ । सातबुँदे सहमतिपछि अब तपाईँहरु कसरी अघि बढ्नुहुन्छ ?

कम्युनिष्ट आन्दोलनको एकता प्रत्यक कम्युनिष्ट सदस्यका लागि महत्वको विषय हो । कुनै पनि सदस्यले कम्युनिष्ट पार्टीमा फुट आओस् भन्ने चाहँदैन । नेपाली जनताको चाहना पनि त्यही हो । हामी देशमा सबैभन्दा ठुलो शक्ति आजमात्रै बनेको होइन । २५ वर्ष अघि नै बनेका थियौं । तर विभाजनको अवस्थामा रहनुपर्यो । 

पार्टी विभाजन हुँदा जनता पनि विभाजन भए । त्यसको फाइदा अर्को पार्टीले उठाइरहेको छ । अर्को पार्टीले पनि विकास गरेको भए त हुन्थ्यो नि । त्यो पनि गर्न सकेन ।

अरुले पनि विकास गर्न सक्थे कम्युनिष्ट नै चाहिँदैनथ्यो होला तर नेपालमा त्यस्तो हुन सकेन । अमेरिकामा विकास गर्न कम्युनिष्ट पार्टी त छैन नि, त्यो हेरेर पनि नेपालमा विकास गर्न सकिन्थ्यो तर गर्न सकेनन् ।

जनताले यत्रो समर्थन गरेका छन् तर पार्टी विभाजित अवस्थामा छ । बेलायत, जापान, अमेरिकाको विकास कम्युनिष्ट पार्टीले गरेको होइन । संसारभर कम्युनिष्ट पार्टीले मात्रै विकास गरेका छैनन् तर नेपालमा विकास गर्न कम्युनिष्ट पार्टी नै चाहिने भयो ।

यो सबैको चाहना हो । अहिलेको परिस्थिति र समयले हामी सबैलाई एकठाउँमा पुर्याएको हो ।

अब पार्टी एकता कहिले हुन्छ ?

यो घोषणा सम्भवतः यहि महिनाको अन्तिम या चैतको पहिलोसाताभित्रै हुन्छ । २१ गते संसद बैठक बोलाइएको छ । २५ गते राष्ट्रपति निर्वाचन छ । त्यसको ४, ५ दिनमा सबै संरचना तयार हुन्छन् । त्यसपछि हामी एकता घोषणा गर्छौं । 

त्यसपछि निर्वाचन आयोगमा गएर दर्ता गर्छौं । अर्को पार्टी विधिवत रुपमा जन्माउनुपर्यो । चैतको पहिलो सातासम्म यी सबै काम सकिहालिन्छ ।


यहाँहरुले सातबुँदे सहमतिमा नीतिगत कुराहरुमात्रै धेरै गर्नुभएको छ । तर जनताले अहिले पार्टीको नेतृत्व कसले गर्ने, सरकारको नेतृत्व कहिलेसम्म केपी ओली र कहिलेदेखि प्रचण्डले गर्ने भन्ने विषयमा बढी चासो छ । यसका बारेमा बताइदिनोस् न के सहमति भएको हो ?

दुईवटा पार्टीका विगत फरक फरक छन् । एउटा सिधै हिँसात्मक र अर्को शान्तिपूर्ण जनआन्दोलनबाट आएको हो । विगतमा केही थिए होला तर ४७ साल पुस २२ गते गठन गरेको नेकपा एमाले हो । पुराना पार्टीबाट एकता गरेका थियौं ।

हामी संसदमा, जनसंघर्षमा केन्द्रित भएरै आएका हौं । हामीले शान्तिपूर्ण संघर्षलाई मुख्य रुप बनाउँदा कम्युनिष्टको एउटा हिस्सा माओवादी सशस्त्र संघर्ष गर्ने भनेर आयो ।

त्यसपछि पनि हामीले माओवादीसँग भिन्नै तरिकाले छलफल चलाएका थियौं तर तत्कालिन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि हामीले शान्तिपूर्ण संघर्षमा कांग्रेससहितका ७ वटा पार्टी र माओवादी मिल्न वाध्य बनायो ।

माओवादीलाई पनि त्यही अवस्थामा शान्तिको बाटोमा ल्यायौं । त्यसबेलादेखि नै हामीले एकताको कुरा गरेका थियौं ।

शान्ति प्रक्रियामा आएपछि पनि माओवादीमा सत्ताकब्जा गर्ने नीति रहिरह्यो । तर पछिल्लोसमयमा शान्तिपूर्ण तरिकाले पनि मुलुकलाई निकास दिन र समाजको परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्षमा माओवादी पनि पुग्यो । यसमा हामी धेरै पहिले पुगेका थियौं ।  

हाम्रा लक्ष्य, उद्देश्य एउटै भएपछि हामी किन अलग पार्टी बनाउने भन्ने भयो । कि पार्टी मिलेर शक्तिशाली हुन्छन् कि समाप्त हुन्छन् । समान नीति, विचार, समान आधार बनेपछि एकताको निष्कर्षमा पुगेका हौं ।

नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टीबीच नै मुख्य प्रतिष्पर्धा हो । त्यस्तो प्रतिष्पर्धामा अर्को पार्टी जन्मिन खोज्छ तर कुनै एउटाको नजिक हुन पुग्छन् । कम्युनिष्ट पार्टी कम्युनिष्टसँग नै मिल्यो भने शक्ति बढी हुन्छ । यस्तोमा केही समय खेल्ने प्रयास त हुन्छ तर हुने एउटै कम्युनिष्ट पार्टी नै हो ।

यस्तो अवस्थामा हामी एक ठाउँमा आएका छौं । कसैले नचाहँदा नचाहँदै हामीलाई एकठाउँमा ल्याएको हो । हामीले प्रयास गरेको ०६३ सालदेखि नै हो । 

पार्टी एकता नचाहने व्यक्तिहरु एमाले र माओवादी दुवैभित्र देखिए । सबैलाई मिलाउने अवस्था अहिले मात्रै आएको हो । उनीहरु अझै पनि सक्रिय हुन खोज्छन् । 
माओवादीका नेता कार्यकर्ताले पनि अध्यक्षलाई एकता गर्नुपर्छ भन्नेमा पुर्याए एमालेमा पनि अध्यक्षलाई एकता गर्नैपर्छ भन्ने अवस्था आयो । त्यसपछि एकता प्रक्रिया अघि बढेको हो ।

चैतको पहिलो सातासम्म बन्ने नयाँ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष को हुन्छ ? केपी ओली अथवा पुष्पकमल दाहाल ?

दुवै अध्यक्ष हुन्छन् । हामी को–चेयरम्यान प्रणालीमा जाँदैछौं । यो भनेको सुन्दा सह–अध्यक्ष भए पनि दुवै अध्यक्ष नै हुने हो । हामीले विकास पनि त्यसरी नै गरेका छौं । दुवै नेता पार्टीको अध्यक्ष रहनुहुनेछ । एकता महाधिवेशनसम्म उहाँहरुले पालैपालो गरेर बैठकको अध्यक्षता गर्नुहुन्छ ।

एउटा बैठकमा एकजनाले अर्को बैठकमा अर्कोले अध्यक्षता गर्ने हो कि यसको मोडालिटी नै फरक हुन्छ ?

अहिले आलोपालो भन्ने भएको छ । प्रत्येक बैठकमा परिवर्तन गर्ने कि ६ महिना एउटा अर्को ६ महिना एउटाले गर्ने भन्ने विषयमा हामी छलफलकै क्रममा छौं । तर आलोपालो भन्ने सहमति भएको छ ।

सरकार पनि त्यस्तै हो ?

सरकार ६÷६ महिनामा बदल्न हुँदैन । अहिले केपी ओलीले नेतृत्व गर्नुभएको छ । पछि सल्लाह होला । 

पाँचवर्षसम्मै केपी ओलीले मात्रै नेतृत्व गर्ने हो ?

पार्टी एउटै भएपछि सरकार पनि बदल्ने कुरा भयो भने राम्रो सन्देश जाँदैन । सरकार एउटाले सञ्चालन गर्छ । तर सरकार सञ्चालनका लागि पार्टीले निर्णय गर्ने हो ।

मन्त्री कसलाई पठाउने, कसलाई फिर्ता गर्ने भन्ने अधिकार पार्टीमा रहनुपर्छ । पछि के गर्ने भन्नेबारेमा अहिले केही भनिएको छैन । तर नेकपा माओवादीले सरकार र पार्टी दुवैको नेतृत्व आलोपालो हुनुपर्छ भन्ने प्रस्ताव राखेको छ ।

अब अहिले दुईवटा अध्यक्षबीच यो विषयमा पनि सहमति भएको छ । उहाँहरुले उपयुक्त समयमा सरकारको नेतृत्व कसले गर्ने भन्ने हामीले नै निर्णय गर्छौं भन्नुभएको छ । निर्णय गर्ने जिम्मा पनि उहाँहरुलाई नै हुनेछ । हामीलाई सरकारको नेतृत्वका बारेमा केही भन्नुभएको छैन ।

भनेपछि पार्टीको नेतृत्वले चाहेका बेला प्रधानमन्त्रीलाई पनि फिर्ता गराउन सक्ने भयो है, त्यही होइन त ?

हो । पार्टीले निर्णय गर्न सक्नेछ । पार्टीले आवश्यक ठानेमा प्रधानमन्त्रीलाई पनि फिर्ता बोलाउन सक्छ । 

स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको चयन कसरी गर्नुहुन्छ ?

त्यसका लागि हामीले सोमबार नै दुईवटा कार्यदल बनाएका छौं । पार्टी एकता संयोजन समितिले राजनीतिक र विधान तयार पार्नका लागि दुईवटा कार्यदल बनाइएको छ । कार्यदलले नै बाँकी विषयको निर्धारण गर्नेछ ।


बाहिरबाट हेर्दा त दुई पार्टीबीचको एकताजस्तो देखिएको छ तर धेरैले यसलाई माओवादीलाई एमालेमा विलय गराइएको रुपमा पनि अर्थ्याएका छन् नि !

होइन, त्यस्तो होइन । मिसाइएको होइन । अहिले पनि माओवादीलाई हेर्ने दृष्टिकोण मात्रै फरक परेको हो । कतिपयले अझै पनि माओवादी भनेको हतियार नै उठाउने पार्टी हो भनेर हेरेका छन् । त्यस्तो छैन । आजभन्दा १० वर्षअघिको माओवादीलाई हेरेर हुँदैन ।

माओवादी हतियार विसाएर शान्तिपूर्ण बाटोमा हिँडेको धेरै भैसक्यो । माओवादी अहिले शान्तिपूर्ण आन्दोलनमा छ । जनसंगठन र पार्टी संगठनमा छ । संसदबाट सरकार बनाउने बाटोमा गयो । जुन बाटोमा हामी धेरै पहिले नै गएका थियौं । संवैधानिक राजतन्त्र भएका बेला गएन नभए हामी गएको सबै बाटोमा माओवादी आयो ।
अहिले हामी र माओवादीमा कुनै फरक छैन । कम्युनिष्ट पार्टी हुने हो भने एउटै बाटो र गन्तव्य भएका बेला एक भएका हौं । विलीन भएका होइनौं ।

यहाँले भनेजस्तै एमाले र माओवादी दुवैमा पार्टी एकता नचाहने व्यक्तिहरु अझै पनि छन् । उनीहरुले एकता हुन नदिने सम्भावना अझै कति छ ?

यी सधैं चुनौतिको रुपमा रहेका छन् । यस्ता सम्भावना आउन सक्छन् । तपाइँले भनेको कुरा सही हो । यस्ता समस्या चिर्दै हामी अघि बढेका हौं ।

म जहिलेदेखि पार्टी एकतामा सामेल भएको छु त्यो अवस्थादेखि आज अर्थात माओवादी र एमालेबीचको एकतासम्म आइपुग्दा यो एकता प्रक्रिया ४६ औं हो ।

माओवादीको पनि ३६ औं रहेछ । यसभन्दा अघि कति पार्टी एकता भए होलान् २०२२ सालदेखि । त्यसयता भएका एकता यतिधेरै छन् । भोलि फेरि फुट्दै फुट्दैन भन्न सकिँदैन । त्यो अवस्था आउन पनि सक्छ ।  

दुवै पार्टीका केही थोरै व्यक्तिहरु छन् जसले एकता चाहेका छैनन् । उनीहरु आफ्नोमात्रै स्वार्थ हेरेका छन् । हरेक पार्टीमा यस्ता समस्या हुन्छन् । तर विफल बनाउनुपर्छ । 

एमाले र माओवादीका कार्यकर्ताले नेतृत्व स्वीकार गर्लान् ? प्रचण्डलाई एमालेका कार्यकर्ताले र ओलीलाई माओवादीका कार्यकर्ताले स्वीकार गर्ने सम्भावना कत्तिको छ ?

स्वीकार भइसक्यो । गएको निर्वाचनमा यो कुरा पुष्टि भइसक्यो । तलका कार्यकर्ताले एक भयौं भन्ने सन्देश दिइसकेका छन् । दुवै अध्यक्षले नै हामी माओवादी हौं कि एमाले भनेर बिर्सन्छौं भनेर भाषण नै गरिसक्नुभयो चुनावका बेला ।

अहिले हामीले पार्टी एकताको आधारलाई अघि सार्यौं । यो सन्देश जाँदा दिपावली गर भन्ने हो भनेर आजै हुन्छ । यो काम देशभर हुन्छ । त्यसोहुँदा तल समस्या पर्दैन ।

तर प्रचण्ड कहिले एमालेसँग कहिले कांग्रेससँगै अघि बढ्नुहुन्छ । कसरी विश्वास गर्ने ? 

हामी किन मिलेका हौं भने हाम्रो मानसिकता र परिस्थिती नै त्यस्तै आयो । प्रचण्डजीसँग मेरो सम्बन्ध अलि बढी नै राम्रो छ । मैले उहाँलाई जोड गरेर भन्न सक्छु उहाँले पनि मलाई जोड गरेर भन्न सक्नुहुन्छ ।

यो हामीबीचको सुमधुर सम्बन्ध हो । तर मैले उहाँसँग कहिले पनि मेरो स्वार्थ कसरी पूरा गर्ने होला भनेर आजसम्म भनेको छैन ।

देश र कम्युनिष्ट आन्दोलनको लागि नै मैले कुरा गरेको हुँ । बेला बेलामा उहाँले मलाई साथीकै रुपमा सल्लाह पनि माग्नुहुन्छ । त्यसबेला मैले उहाँलाई एमाले भएर होइन इमान्दार साथी भएर सल्लाह दिने गरेको छु । अब अर्को पार्टी अर्थात कांग्रेससँग फेरि जाने भन्ने कुरा आउँदै आउँदैन ।

कांग्रेससँग सरकारमै रहेका बेला माओवादी र कांग्रेसबीचको सम्बन्ध तपाइँले कसरी भत्काउन सफल हुनुभयो ?

भत्काउने भन्दा पनि माओवादी कांग्रेससँग किन गयो ? भन्ने महत्वपूर्ण प्रश्न हो ।

सरकारमा किन गयो त ? त्यो भन्दा अघि जानुपर्छ । केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रचण्डले मलाई त्यसबेला बोलाउनुभयो । त्यसबेला एमाले र माओवादी लगायतका दल मिलेर केपी ओलीको नेतृत्वमा सरकार बनाएका थियौं ।

प्रचण्डले मलाई राष्ट्रिय सरकारबारे कुराकानी भइरहेको छ । तपाइँले यसबारेमा के विश्लेषण गर्नुभएको छ भनेर सोध्नुभयो । 

मैले आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढालेर अर्को सरकार बनाउने कल्पना पनि गर्न सक्दिनथेँ ।  अनि मैले नै त्यो प्रस्ताव पार्टीमा कसरी लैजान सक्छु ? भनेर उहाँसँग भनेँ । 

मैले सोधेँ –तपाईँ यस्तो निष्कर्षमा किन पुग्नुभयो प्रचण्डजी ?

उहाँले ‘मलाई द्वन्द्वकालीन घटना उचालेर सिध्याउने षडयन्त्र भएको महसुस भएको छ । र मलाई निकै ठूलो दबाब पनि आएको छ’ भनेर भन्नुभयो । 

हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट कारवाही गराउने सम्भावना बढ्यो । त्यसले आजसम्मका सबै उपलब्धी समाप्त हुन्छ । अब त्यसलाई जसरी पनि रोक्नुपर्यो भनेर मैले राष्ट्रिय सहमतिको सरकार बनाउने विचार बनाएको हुँ । यसका लागि कांग्रेस पनि तयार छ । तपाईँहरुले सहयोग गर्नुभयो भने सहमतिको सरकार बन्छ भन्नुभयो ।
मैले सोधेँ–यो दबाब कहाँबाट आयो त ?

उहाँले भन्नुभयो –देशभित्रबाट पनि आयो बाहिरबाट पनि आयो ।

मैले फेरि सोधेँ–एमालेबाट आएको छ ? फोरम लोकतान्त्रिकबाट आएको छ ? नेपाली जनताबाट आएको छ ? गठबन्धनबाट आएको छ ? एमालेकै कोही नेताबाट आएको छ ? 

उहाँले होइन भन्नुभयो ।

त्यसोभए तपाईँलाई कांग्रेसबाट आएको हो ? भनेर सोधेँ ।

उहाँले हो भन्नुभयो ।

अनि मैले भारतबाट पनि आएको छ ? भनेर सोधेँ ।

उहाँले हो भन्नुभयो ।

युरोपियन युनियनबाट आएको छ भनेर पनि सोधेँ ।

हो भन्नुभयो ।

अनि मैले देशभित्र र बाहिरबाट आएको यस्तो दबाबबाट आफूलाई कसरी जोगाउनुहुन्छ ? भनेर सोधेँ ।

तपाईँलाई जोगाउने हो भने जनताले र एमालेले मात्रै जोगाउन सक्छ भनेँ । परिवर्तनका बाहकले जोगाउन सक्छन् भनेर मैले भनेँ । हामीले भनेको नमाने सिध्याउँछौं भन्नेले जोगाउँदैनन् भनेर मैले सुझाव दिएँ ।

उहाँले भन्नुभयो–जनयुद्ध जारी रहँदा हामी एउटा यस्तो स्तरमा पुगेका थियौं । पराजित हुन पनि नसक्ने जित हासिल गर्न पनि नसक्ने अवस्था हासिल भयो ।

त्यही भएर मैले नै देशी विदेशी शक्तिलाई उपयोग गरेर यो युद्धलाई शान्तिमा रुपान्तरण गरेर आएको हुँ भनेर भन्नुयो ।

अनि मैले त्यो तपाइँले उपयोग गर्न सक्ने क्षमता भएको बेला गर्नुभयो । तपाईँसँग हतियार थिए, स्थानीय सत्ता थियो । जनताको समर्थन थियो । आज तपाइँ शान्ति प्रक्रियामा आएर चुनाव जितेर आउनुभयो । तर पहिलो चुनावमा भन्दा तपाइँ कमजोर हुनुभएको छ । आज तपाइँ तेस्रो पार्टी हो । पहिलो र तेस्रो पार्टीबीचको फरक हेर्नुस् त भनेर पनि सम्झाएँ ।

तपाइँले पाएको मत पनि निकै थोरै छ । त्यसबेला दुवैको स्वार्थ थियो तपाइँलाई ल्याए । आज त तपाइँलाई काखमा राखेर कोतरेर सिध्याउन सक्छन् भनेर मैले उहाँलाई भनेँ ।

तपार्इँको तर्क गलत छ कुनै हालतमा नजानुहोला भनेर पटक पटक भनेँ । मैले साथीको नाताले सुझाव दिन्छु तपाइँ नजानू, आज पनि तपाईँ नेपालको हिरो हो । तपाईँलाई धेरै मान्छेले हेरेका छन् नजानुहोस् भनेर आग्रह गरेँ । तपाइँलाई उपयोग गर्न सक्छन् भनेर भनेको थिएँ । मैले एमालेसँगै मिलेर तपाइँ प्रधानमन्त्री बने हुन्छ भनेर भनेको थिएँ । 

तर उहाँले तपाइँले भनेजस्तै प्रधानमन्त्री र एमालेले चाहेको छैन भनेर भन्नुयो । 

उहाँले मलाई त्यसपछि सोध्नुभयो – तपाईँले मलाई एमालेको समर्थनमा प्रधानमन्त्री बनाउन सक्नुहुन्छ त ?

अनि फेरि सोध्नुभयो – केन्द्रीय कमिटीमा तपाइँका कति सदस्य छन् ? निर्णय गराउन सक्नुहुन्छ ? 

मैले गठबन्धन कायम राखेर प्रचण्डलाई प्रधानमन्त्री कायम राखौं भनेर अध्यक्षलाई भन्छु भनेर भनेँ ।

उहाँले भन्नुभयो–तपाईँले गर्नुहुन्छ भन्ने विश्वास त छैन तर तपाइँले गर्न सक्नुभयो भने यो निर्णय पुनर्विचार गर्छु भनेर भन्नुभएको थियो ।

तर हाम्रो पार्टीबाट त्यो प्रस्ताव स्वीकार गरिएन । स्वीकार नगरेपछि हामीले बजेट प्रस्तुत नहुँदासम्म पर्खिनुपर्छ भनेर भन्यौं । बजेट प्रस्तुत भएपछि उहाँ कांग्रेससँग मिलेर सरकार बनाउनुभयो । मलाई त्यसबेला दुःख लाग्यो ।

कांग्रेस र माओवादीको सहमतिमा सरकार बनेपछि पनि भत्काउन निरन्तर तपाईँ नै लाग्नुभयो है ?

हो त । सरकार बनेपछि पनि यो कसरी भत्काउन सकिन्छ भनेर म लागिरहेँ । माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले माओवादीमा कांग्रेससँग जानुहुँदैन भन्नुभएको थियो । 

त्यसपछि उहाँ र मेरोबीचमा निरन्तर कुराकानी चल्यो । 

एकदिन मलाई हाम्रो अध्यक्षले बोलाएर फेरि भन्नुभयो । प्रचण्डको सरकार बनेको त्यस्तै ३ महिनापछि नै होला–यो गठबन्धन तोड्नुपर्यो । मैले साँच्चै हो त भनेर अध्यक्षलाई भनेँ ।

उहाँले हो भन्नुभयो । 

त्यसपछि छलफललाई झनै तीव्रता दिइयो । 

स्थानीय तहका बेला पनि सहमतिको प्रयास भएको थियो तर सफल हुन सकेन ।

पछिल्लोपटक म, विष्णु पौडेल र जनार्दन शर्माबीच छलफल भयो । दुवै पार्टीका अध्यक्षलाई पनि पहिले थाहा दिएनौं । पटक–पटक छलफल भएपछि एउटा निष्कर्षमा पुगेका हौं । त्यसपछि असोज १७ गते घोषणाको चरणमा पुगेका हौं ।

तपाईँले भनेजस्तै प्रचण्डलाई भारतीय, युरोपियन युनियन अथवा नेपालका कुनै पार्टी, व्यक्तिले त सधैं ‘थ्रेट’ दिने भए नि त । अब प्रचण्डको जिम्मा तपाईँहरु लिनुहुन्छ ?

पार्टी एकता भएपछि प्रचण्डको सम्पूर्ण जिम्मा हामी लिन्छौं । हो त, जिम्मा नलिएर हुन्छ ? त्यो त पार्टीकै कुरा हुन्छ । तर पहिले प्रचण्डले कम्युनिष्टले जिम्मा लिँदा नहुने कांग्रेसले गर्दा हुन्छ भन्ने तरिकाले पनि सोच्नुहुँदैनथ्यो ।

हामी त अब मन, वचन, काम र व्यवहारले एकता हुने हो । 

एकताको सुत्रधार तपाईँको भूमिका एकीकृत पार्टीमा के हुन्छ ?

छैन । केही छैन । मैले खोजेको पनि छैन । मलाई केही देलान् भनेर गरेको पनि होइन । मलाई कसैले कम्युनिष्ट पार्टीमा आइज भनेका होइनन् म खोज्दै गएको हुँ । 

एकताको कुरा चलिरहँदा पनि ओली र प्रचण्डबीच आरोप प्रत्यारोप हुन्थ्यो । एकले अर्कालाई निकै चर्को स्वरमा आलोचना गर्थे । यस्तो आलोचनामा उत्रिने नेताहरुलाई मिलाउन कत्तिको समस्या पर्यो ?

हाम्रो पार्टीभित्र सबैभन्दा तिखो आलोचक नै केपी ओली हुनुहुन्थ्यो । तर अहिले परिस्थितिले एकठाउँमा आउने अवस्था बन्यो । समय नै यस्तो बन्यो कि जतिसुकै आलोचक भए पनि सँगै बस्न सकिन्छ भन्ने देखाएको छ । अहिले त उहाँहरुबीच राम्रो सम्बन्ध बनेको छ । त्यस्ता समस्या र विवाद बेलाबेलामा देखिए । तर अहिले सम्बन्ध निकै राम्रो छ ।

एकताका लागि अबको चुनौति के हुन सक्ला त ?

अबको चुनौति भनेको पार्टीभित्रै खेल्ने दाउपेच नै हो । पार्टीभित्र मेरो हैसियत के हुने भनेर बिगार्ने प्रयास गर्ने नै हो । कसैलाई म महासचिव हुन्छु भन्ने होला, कोही के होला ? यस्तो अवस्थामा बिगार्ने सम्भावना बढी हुन्छ । 

माओवादी युद्धकालमा एमालेका नेता तथा कार्यकर्ता ३ सय बढी मारिएका छन् । त्यो कुरा फेरि पनि उठाउने प्रयास हुन सक्छ । हामीलाई बनाउनका लागि जति समय लागेको छ बिगार्नका लागि त्यति चाहिँदैन ।

पार्टीमा एमालेका कार्यकर्ताहरु केपी ओलीसँग जति नै प्रचण्डसँग बहस गर्न सक्ने अनि माओवादीका कार्यकर्ताले प्रचण्डसँग जति नै केपी ओलीसँग बहस गर्ने अन्तरघुलन नहुँदासम्म समस्या आइरहन सक्छन् ।

पार्टीमा गुटबन्दी हुन दिनुहुँदैन । नेता नै कार्यकर्ताको अगाडी खुसुखुुसु कुरा गर्ने परिपाटी नै अन्त्य गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC