एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा एटलान्टासँग १ – १ गोलको बराबरी खेलेको डर्टमण्ड समग्रता जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।
इटालियन क्लब एटलान्टासँग उसैको घरेलु मैदानमा बराबरी खेलेपछि डर्टमण्डले समग्रमा ४ – ३ को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्यो । डर्टमण्डको अन्तिम १६ को यात्रामा पहिलो लेगको साँघुरो जित महत्वपूर्ण बनेको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमण्डले एटलान्टालाई ३ – २ ले हराएको थियो ।
एटलान्टाको घरेलु मैदानमा भएको दोस्रो लेगमा भने डर्टमण्डका मार्सेल श्मेलजर नायक बने । श्मेलजरले ८३ औं मिनेटमा गोल गर्दै हारको नजिक पुगेको डर्टमण्डलाई खेलमा फर्काएका थिए । त्यसअघि पहिलो हाफको ११ औं मिनेटमा राफायल टोलिको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लिएको थियो ।
युरोपा लिग अन्तर्गत बिहिबार राति भएको दोस्रो लेग पछि सेल्टिकलाई समग्रमा ३ – १ ले हराउदै जेनिथले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यस्तै मार्सेलीले ब्रागालाई समग्रमा ३ – १ तथा लियोनले भिल्ला रियललाई समग्रमा ४ – १ ले हराउदै अन्तिम १६ को यात्रा तय गरेको छ ।