site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तस्बिरमै समर्पित जीवन
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


 ‘कान्तिपुर पब्लिकेसन्स’को ‘नेपाल’ पाक्षिकमा काम गर्थे नरेन्द्र । ०५७ असोजको कुनै दिन । उनलाई कामदेखि वाक्क लाग्यो । राजीनामा दिने मनस्थिती बनाए । बाटोभरि मनमा यस्तै कुरा खेलिरहे, “बिजनेस या यस्तै कुनै पेशा गरेर बस्नुपर्ला, यो फोटो खिचेर नहुने भयो, न सुखसयलको जिन्दगी छ, न जस ।”

युद्ध हारेको सिपाहीजस्तो मन बोकेर उनी ठमेल सञ्चकोषको भवनछेउ पुगेका थिए । एउटा अग्लो कदको मान्छे हिँडिरहेको देखे । कहाँ देखेको मान्छे हो यो ? उनको मनमा कूतुहल जाग्यो । झट्ट सम्झिए । उनी त राजा वीरेन्द्रका एडीसी पो हुन् । नरेन्द्रले अगाडि–पछाडि नियाले । लौ ! राजा वीरेन्द्र र रानी ऐश्वर्य पो ? !

Prabhu Bank
Agni Group
NIC Asia

उनको बाइक तुफानसँग कुद्यो । ठमेलको पार्किङमा बाइक छोडेर उनी रिक्सा चढी सञ्चयकोषको भवनतिर लागे । उनले राजालाई त्यहीँ देखे । वीरेन्द्र अघिअघि, ऐश्वर्य पछिपछि । उनले रिक्साको पछाडिपट्टिबाट कपडा यसो उठाएर तीन शट के हानेका थिए, वीरेन्द्र मोडबाट छड्की गए । 

धन्न फोटो खिचेको कसैले देखेन । देखेको भए एडीसीले क्यामेरै जफत गर्न बेर थिएन । उनी कुदेर ल्याब छिरे । लौ बर्बाद ! दुइटा शट त पूरै धमिलो । धन्न एउटा शट भने सफा आएछ । तर, फोटोमा वीरेन्द्रको मात्रै अनुहार थियो, ऐश्वर्या छेलिएकी थिइन् ।

Global Ime bank

सादा पोशाकमा रहेका राजारानीको फोटो त खिचियो तर कहाँ छाप्ने ? ‘कान्तिपुर’ दैनिकका समाचार सम्पादक नारायण वाग्लेलाई फोन गरे । नरेन्द्र फोटो लिएर ‘कान्तिपुर’ गए । भर्‍याङमै भेटेर नारायणलाई फोटो दिए अनि घर फर्किए । भोलिपल्ट राजारानीको सादा पोशाकको फोटो ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’ दुवैको पहिलो पृष्ठमा छापियो । वीरेन्द्र रानीसहित गर्भवती छोरी श्रुतिलाई भेट्न अस्पताल जाँदै भनेर छापिएको तस्बिरमा नाम नरेन्द्र श्रेष्ठको थियो ।

राजारानीलाई सिभिल पोशाकमा, त्यो पनि बाहिर पैदल हिँड्दै गरेको भेट्याउनु मणि फेला पार्नुसरह थियो । राजारानीको फोटो खिच्न दरबारले चिठ्ठी पठाएका सीमित फोटोग्राफरले मात्रै पाउँथे । त्यसरी फोटो खिच्न पाउने पत्रकार औंलामै अटाउँथे । “दौरा सुरुवाल लगाएर ठाँटबाँटका साथ दरबार जानुपथ्र्यो, त्यो पनि दरबारले नै निमन्त्रणा कार्ड पठाएपछि,” नरेन्द्र सम्झिन्छन्, “दरबारले निमन्त्रणा पठाएर फोटो खिच्न बोलाउने फोटोग्राफर निकै कम थिए ।”

एउटै फोटोले नरेन्द्रको करिअरमा कायपलट ल्याइदियो । सबैको वाहीवाही पाए । उनलाई लाग्यो– फोटो त गजबै खिचिएछ । तर, त्यो तस्बिर लिन उनले छिनभरकै भए पनि गरेको दौडधूप र सही समयमा लिएको सही निर्णयले काम गर्‍यो । “एक शट मात्रै गलत भएको भए र समय तलमाथि परेको भए त्यो तस्बिर मेरो क्यामेरामा अटाउँदैनथ्यो,” नरेन्द्र सम्झिन्छन् ।

तस्बिरको जताततै चर्चा भयो । त्योभन्दा बढी चर्चा नरेन्द्रको भयो । विजयकुमारले नरेन्द्रलाई एयरपोर्ट पछाडिको एउटा होटलमा सेकुवा खुवाएर फकाए । नरेन्द्रले काम छाडेनन् । 

\"\"

परेलीमा अड्किएको त्यो आँसु

दोलखाकी भावना थामीको मुखभरि रौं नै रौं थियो । रौं हटाउन शल्यक्रिया हुँदै थियो । विजयकुमारले नरेन्द्रलाई भने, “भावनाको मोडल अस्पतालमा शल्यक्रिया हुँदैछ । अब उनको पुरानो फेस रहँदैन । म उनका बुवासँग टेलिभिजनका लागि अन्तर्वार्ता लिँदैछु । तिमी पनि फोटो खिच्न हिँड है ।”

बसपार्कको एक होटलमा विजयकुमारले अन्तर्वार्ता लिन थाले । “तपाईंकी छोरी यस्तो हुँदा कस्तो महसुस गर्नुहुन्छ ?” भनेर विजयकुमारको प्रश्नमा भावनाका बुवाले भने, “...म त यति ठूलो मान्छे, मलाई त जसले जे भने पनि सहन सकुँला तर यति सानी यो बच्ची स्कुल जान पाएकी छैन । बोक्सी भनेर उसलाई साथीहरूले जिस्काउँदा उनको मन कस्तो हुन्छ होला ? उसले कसरी सहन्छे होला ?”

कालुमान थामी भावुक भए, विजयकुमारका आँखा रसाए । सबै स्तब्ध भए । दुइटा क्यामेराले अन्तर्वार्ता खिचिरहेका थिए । फोटो खिच्न भनेर गएका नरेन्द्र अन्तर्वार्ता सुनेर बसिरहेका थिए । उनले भावनातिर हेरे । उनको आँखामा एक थोपा आँसु आएर परेलामा अड्किरहेको थियो । त्यही आँसुको थोपालाई नरेन्द्रले आफ्नो क्यामेरामा कैद गरे ।

साँझ उनले फोटो कम्प्युटरमा राखे । र, केही फोटो विजयकुमारलाई देखाए । विजयकुमारले भने, “अब म यो अन्तर्वार्ता ड्रप गर्दिन्छु । टेलिभिजनमा हैन, पत्रिकामा यो फोटोसहित छाप्छु ।”

‘कान्तिपुर’मा नरेन्द्रले खिचेको भावनाको उक्त फोटोसहितको स्टोरी छापियो ।

नरेन्द्र विजयकुमारसँगको फोटो अनुभव सुनाउँछन्, “विजय सरजस्तो फोटो चिन्ने सम्पादक मैले कमै देखेको छु मेरो फोटो यात्रामा । उहाँसँग फोटोमा मेरो जति विवाद भए पनि उहाँजति मलाई माया गर्ने अर्को सम्पादक पनि छैन ।”

त्यही वर्ष ‘फोटो जर्नलिस्ट क्लब (पीजे क्लब)’को फोटो प्रतियोगितामा नरेन्द्र भावनाका पाँच वटा फोटोसहित सहभागी भए । १ लाखको पुरस्कार उनकै हात पर्‍यो । कर कटाएर उनको हातमा ६५ हजार रुपैयाँ आयो । नरेन्द्रले त्यहीँ घोषणा गरे, “यो पुरस्कारबाट प्राप्त भएको रकम भावनालाई दिन्छु ।”

तर, अचम्म ! भावनाका बुवाले त्यो पैसा लिन मानेनन् । 

किन ? 

“तपाईंले दिएको यो पैसा मैले खर्च गरिहाल्छु । मैले छोरीलाई १८ वर्ष पुगेपछि के जवाफ दिऊँ सर ? तिमीलाई दिएको पैसा खर्च गरेर सकेँ भनूँ ? त्यसैले म यो पैसा लिन्नँ,” भावनाका वुबाले नरेन्द्रलाई भने ।

नरेन्द्रले ६५ हजारमा ३५ हजार रुपैयाँ थपे । १ लाख बनाएर भावनाको नाममा ‘फिक्स्ड डिपोजिट’ खोलिदिए । भावना वयस्क भएपछि निकाल्न मिल्ने गरी जम्मा गरिदिए ।

“पैसा सबै थोक हो र हैन पनि । आज छ, भोलि छैन । पैसाको सदुपयोग भने गर्न जान्नुपर्छ । कहिलेकाहीँ कसैलाई गरेको सहयोगले निकै ठूलो आनन्द दिन्छ,” नरेन्द्र भन्छन्, “कोही अप्ठ्यारोमा परेको व्यक्तिलाई सहयोग गर्दा मनमा जति आनन्द र आत्मसन्तुष्टि प्राप्त हुन्छ, त्यो अन्त कतै खर्च गर्दा पाइँदैन ।”

\"\"

चङ्गाको त्यो तस्बिर

दशैं नजिकिँदै थियो । केटाकेटीलाई दशैंले छपक्कै छोपिसकेको थियो । घरका छत र खुला ठाउँमा चङ्गा उडाउने केटाकेटीको घुइँचो देखिन्थ्यो । पारिलो घाम लाग्न थालेको थियो । त्यो घाममा घुम्नुको मजै बेग्लै थियो । नरेन्द्रले साथीलाई घुम्न जाऊँ भने । साथीसँगै उनी भैंसेपाटीको पल्लो छेउ पुगे । खोकनाको छेउमा रहेको त्यो पारिलो खुला ठाउँमा चङ्गा उडाउने केटाकेटीको घुइँचो थियो । आकाशभरि चङ्गैचङ्गा थिए । साथीले फोटो खिच्न थाले । नरेन्द्रले भने त्यही दिन क्यामेरा बोकेका थिएनन् । साथीले खिचिसकेपछि उनले त्यही क्यामेरा मागे । उनले चङ्गाले भरिएको आकाश, आकाशमा उडिरहेका चङ्गा हेरिरहेका बच्चा र रुखभरि अड्किएका चङ्गाको फोटो खिचे । नरेन्द्रले ‘यति नम्बरदेखि चाहिँ मैले खिचेको फोटो है, मलाई मेल गरिदे’ भने । साथीले पनि ‘हुन्छ’ भने ।

दुई–तीन दिन भइसक्यो तर साथीको मेल आएन । उनले फेरि सम्झाए । साथीले ‘हुन्छ’ भन्न पनि छाडेनन्, फोटो पनि पठाएनन् । नरेन्द्रलाई पनि रिस उठ्यो । उनी क्यामेरा बोकेर पुरानै ठाउँमा पुगे ।

उफ् ! त्यहाँ त जम्मा एउटा चङ्गा र तीन जना केटाकेटी मात्रै पो छन् । चङ्गाले डम्म भरिएको रुख आज त नांगै । त्यही एउटा चङ्गा भए पनि खिचेर कुँडिएको मन बोकेर नरेन्द्र फर्किए ।

त्यही फोटो ‘हिट’ भयो । आजकल दशैं आउँदा प्रायः त्यो फोटो धेरैले प्रयोग गर्छन् । तर, नरेन्द्र स्वयंलाई भने त्यो फोटोले उति धेरै आकर्षित गर्न सकेन । उनी भन्छन्, “त्यो तस्बिर आफैंमा राम्रो र धेरैले खिच्न नसक्ने फोटो हैन । आज पनि त्यस्तो तस्बिर जसले पनि खिच्न सक्छ । अहिले पनि दशैंको बेला जुनसुकै ठाउँमा पनि त्यस्तो फोटो जोसुकैले खिच्न सक्छ । तर, साथीको क्यामेराबाट खिचेको तस्बिर भने निकै राम्रो थियो । त्यो तस्बिर आजसम्म पनि मैले भुल्न सकेको छैन । क्यामेराको लेन्सबाट बाहेक त्यो फोटो मैले आजसम्म देखेको छैन ।”

\"\"

भूकम्पले हल्लाएको देश

०७२ वैशाख १२ । नरेन्द्र छोरी सान्सीसँगै थिए पाँचौं तलामा । घर अचानक हल्लिन थाल्यो । उनी छोरीलाई उचालेर ढोकाको चौकोसमुनि बसे । भूकम्प रोकियो । उनी कौसीमा पुगे । छैटौं तलामा रहेकी श्रीमतीलाई पनि कौसीमै बोलाए । कौसीबाट सहर हेर्दा धूलो उडेको मात्रै देखिन्थ्यो ।

सान्सीलाई श्रीमतीको जिम्मा लगाए । उनी क्यामेरा बोकेर बाहिर निस्किए । भाउजुले अर्को टोलमा मान्छे पुरिएको सुनाइन् । नरेन्द्र त्यतै दौडिए । घर भत्किएको थियो । मान्छे पुरिएका थिए । परिवार तथा आफन्त रोइरहेका थिए । उद्धार गर्नेहरू लागिपरेका थिए । उनले शुरुमा विष्णु खड्काको फोटो खिचे । काजी बोगटीको फोटो खिचे । र, उनी अन्तै लागे ।

“म उद्धार गर्ने ठाउँमा फोटो खिच्न गएको छु भने या आफू सहयोग गर्ने अवस्थामा छु भने फोटो खिचेर उद्धारमा सहयोग गर्छु । यदि सक्दिनँ भने उनीहरूलाई डिस्टर्ब गरेर पनि बस्दिनँ । पाँच मिनेटभित्र पनि निस्किसक्छु । त्यहाँ पनि काजी बोगटी र विष्णु खड्काको अर्ध पुरिएको अवस्थाका फोटो खिचिर हिँडें,” नरेन्द्र वैशाख १२ को स्मरण गर्छन्, “नजिकै अर्को होटलमा पुग्दा त्यहाँ एउटा शव थियो । नजिकै बसेकी सानी नानी ‘पापा पापा’ भन्दै रोइरहेकी थिइन् । त्यतिबेला म झल्याँस्स भएँ । छोरी सान्सी र श्रीमतीलाई मैले किन खुला चौरमा निकालिनँ ?”

आत्मग्लानिले छोप्यो । तारन्तार फोन बजिरहेको थियो । उनी दौडिदै घर पुगे । घरमा कोही थिएन । सान्सी र श्रीमती सरस्वती कलेजको चौरमा पुगेका रहेछन् । नरेन्द्रले बल्ल भेटे । त्यही बेला नरेन्द्रले धरहरा ढलेको, बसन्तपुर दरबार र काष्ठमण्डप ढलेको, अस्पताल मृतक र घाइतेले भरिएको समाचार सुने ।

मोबाइलमा अफिसको घण्टी बज्यो । तस्बिर मागिएको थियो । फोटो पठाउन घर जानुपर्ने भयो । त्यहीबेला सान्सीले नरेन्द्रको हात च्याप्त समातेर भनिन्, “बाबा, म तपाईंलाई जानै दिन्नँ । हामीसँगै बस्नुस् न आज ।”

नरेन्द्र भावुक बने । छोरी डराइरहेकी थिइन् । मन अमिलो भयो । तर, पनि कामको प्रकृति नै त्यस्तै । गह्रुंगो मन लिएर उनी घरतिर लागे ।

घरको पाँचौं तलामा पुगेर उनी कम्प्युटरमा फोटो सार्दै दिए । परकम्पले घर बेस्सरी हल्लियो । उनी एक सासमा सडक पुगे । तारन्तार फोनको घण्टी बजिरहेको थियो । उनी फेरि पाँचौं तलामा पुगेर तस्बिर पठाइदिए । 

दिनभरि घुमेर नरेन्द्रले खिचे । साँझ ‘टाइम’ म्यागेजिनका सम्पादकले फोन गरेर भने, “मेरो टेबलमा विभिन्न एजेन्सीका ४ सयवटा फोटो छन् । त्यसमध्ये तपाईंको फोटो मन पर्‍यो । त्यसैले हामी तपाईंकै फोटो प्रयोग गर्दैछौं ।”

‘न्युयोर्क टाइम्स’ले पहिलो पृष्ठमा तीनवटा फोटो छाप्यो, जसमा नरेन्द्रले खिचेको काजी बोगटी र धरहराको फोटो थिए ।

\"\"

मथिंगल हल्लाएको त्यो तस्बिर

नरेन्द्रलाई किन–किन केही महिनादेखि फरक खाले तस्बिरको भोक लागिरहेको थियो । सोचिरहन्थे– के हुन सक्छ त त्यस्तो फरक खालको तस्बिर, जुन कमैले खिचेका छन् या खिचेकै छैनन् ?

ट्विटरमा सक्रिय नरेन्द्रले तराईमा सम्भावित बाढी र डुबानबारे ट्विट फलो गरिरहेका थिए । नरेन्द्रले निर्णय गरे– यो हप्ता बाढीको यस्तो फोटो खिच्छु, जुन हामीले आजसम्म खिचेकै छैनौं ।

तर, तराईको कुन जिल्ला ? ‘फ्लड अलर्ट’ हेरे । मौसमबारे विभिन्न वेबसाइट र एप हेरे । धेरैले सप्तरीलाई जोखिमको जिल्लामा राखेका थिए ।

उनले एउटा प्रोजेक्टसँग कुरा गरे । समय र आग्रह एकै समयमा परेछ । नरेन्द्रलाई प्रोजेक्टले ‘ओके’ भन्यो ।

शुक्रबार नरेन्द्र सप्तरी पुगे । शनिबारबाट वर्षा शुरु भयो । प्रहरीलाई सोधे, “सबैभन्दा धेरै कुन ठाउँमा बाढी र क्षति छ ?”

प्रहरीले कुलारी गाउँबारे जानकारी दियो । गाडी लिएर नरेन्द्र कुलारी पुगे । गाडी धेरै भित्रसम्म जान सकेन । गाडी छोडेर उनी भित्र पसे । नरेन्द्र सम्झिन्छन्, “लाग्यो म समुद्रमा थिएँ । जता हेरे पनि पानीमात्रै । कहाँ गहिरो छ, कहाँ हिँड्न सकिन्छ भन्ने मलाई थाहा थिएन तर त्यहाँ क्यमेरा देख्न बित्तिकै स्थानीयले मलाई समातेर धेरै पानी र क्षति भएको ठाउँमा लगिदिनुभयो ।”

त्यो बाढीमा उनले थरीथरीका तस्बिर खिचे । उनले एक जना व्यक्तिले बाख्रा काँधमा बोकेर सुरक्षित ठाउँतर्फ निस्किँदै गरेको तस्बिर खिचे । त्यति फोटो खिच्दासम्म क्यामेरा भिजिसकेको थियो । सयौं शट भइसकेका थिए । उनले सोचे– आज योभन्दा राम्रो तस्बिर खिच्न सकिँदैन । योभन्दा धेरै तस्बिर खिचे क्यामेराले भोलि काम गर्दैन ।

उनी होटल गए । क्यामेरा सफा गरे र भोलिका लागि तयारी अवस्थामा बसे ।

भोलिपल्ट उसैगरी एक तमासको वर्षा भइरहेको थियो । कुलारी गाउँ समुद्र बनिसकेको थियो । घर आधाभन्दा धेरै पानीभित्र डुबेका देखिन्थे । स्थानीयहरूले ज्यान जोगाउन अग्लो ठाउँ खोज्दै घर छोडिसकेका थिए ।

“विजयकुमार सर अन्तर्वार्ता लिइरहेका ठूलाठूला व्यक्ति पनि क्यामेरा तेर्साएपछि हच्किएको देखेर भन्नुहुन्थ्यो, ‘फोटोग्राफरहरू एक्सप्रेसन र पोजिसन मिलाउन केन्द्रित भएकाले उनीहरूका आँखामात्रै खुलेका हुन्छन्, कान बन्द हुन्छन् ।’ त्यो सही पनि हो,” नरेन्द्र भावुक हुँदै भन्छन्, “त्यो एउटा थ्योरी होला तर हामी फोटोग्राफरले आँखासँगै कान पनि खुला राख्नुपर्छ । त्यो दिन त्यही भयो । मैले करिव दुई घण्टा फोटो खिचिसकेको थिएँ । त्यहाँ गाइँगुइँ सुनें– त्यो गाउँमा एउटा बच्चा म¥यो नि । मैले विस्तृत सोधें । बाढीपहिरोमा यति मरे, उति मरे भनेर सुनेका नरेन्द्रलाई लाग्यो, अकालमा परिवारको सदस्य गुमाएको आफन्तको अवस्था कस्तो हुँदो रहेछ, बुझ्नु प¥यो । अनि मैले लोकेशन पछ्याएँ ।”

नरेन्द्र ढिलो भएछन् । उनले बाटोमा बच्चा ल्याउँदै गरेको मानिस भेटे । उनले तस्बिर खिचेनन् । सोधे, “के भयो ? कहाँ लैजानुभएको ?”

मृतक बच्चाका काका बोलेनन् । गाउँलेले ‘शव बगाउन कोसीमा लैजान लागेको’ बताए । सोधे, “संस्कार नै यस्तै हो मृतकलाई कोसीमा बगाउने ?” 

त्यसपछि थाहा पाए, जलाउन ओभानो जग्गा नभएको र पानी परिरहेकाले बच्चाको शव बगाउन लागिएको थियो । 

नरेन्द्रले उनीहरूलाई पछ्याए । एक किलोमिटर हिँडेपछि कोशी आयो । त्यहाँ बच्चालाई बगाइयो । त्यही तस्बिर नरेन्द्रले आफ्नो क्यामेरामा कैद गरे ।

त्यसबेलासम्म नरेन्द्रले ४ सयभन्दा धेरै तस्बिर क्यामेरामा कैद गरिसकेका थिए । तर, जब त्यो तस्बिर उनको क्यामेरामा अटायो, उनको दिमाग हल्लियो । 

साँझ पर्‍यो, उनी होटल फर्किए । तर, उनले त्यो तस्बिर फाइल गरेनन् । त्यो रातभरि उनलाई त्यही तस्बिरले झक्झक्याइरह्यो । भोलिपल्ट बिहान उनले टेलिभिजन हेरिरहेका थिए । सप्तरीमा ज्यान गुमाउनेको नाम समाचार बाचकले पढिरहेको थियो, समाचार सकियो तर उनले फोटो खिचेका बच्चाको नाम आएन ।

नरेन्द्र १० बजे जिल्ला प्रशासन कार्यालय पुगे । प्रमुख जिल्ला अधिकारीलाई सोधे, “त्यो बच्चाले ज्यान गुमाएको तपाईंलाई थाहा भएन ?”

उनले सजिलै लटरपटर जवाफ दिए, “थाहा त पाको तर के भएर मरेको हो, थाहा नभएर सूचना नपठाएको ।”

त्यसपछि उनले त्यो तस्बिर युरोपियन समाचार समिति ईपीएमा पठाए । त्यही तस्बिर पछि सामाजिक सञ्जालमा भाइरल भयो । 

\"\"आर्मी अफिसरको सपना

नेपाली सेनाका ठूलै अधिकारी नरेन्द्रका छिमेकी थिए । उनका छोरा नरेन्द्रका बालसखा । बुवाको शानशौकत देखेर छोराको मनमा पनि आर्मी अफिसर बन्ने सपना पलाएको थियो । उनले सधैंजसो नरेन्द्रलाई त्यही कुरा सुनाइरहन्थे । नरेन्द्रको मनमा पनि सैन्य अधिकारी हुने सपनाले घर हाल्यो । दौडदेखि फुटबल, भलिबल, ब्याडमिन्टन जस्ता खेल खेल्न थालेका थिए । शारीरिक रूपमा तन्दुरुस्त हुन क्लब धाउन थालेका थिए ।

०४९ मा दुवै साथी सेनामा भिड्न गए । उनीहरूसँगै नरेन्द्रका दाइ राजेन्द्र पनि पुगेका थिए । तर, नरेन्द्रका दाजुभाइ नै फालिए । साथीलाई भने आर्मीले भर्ना लियो ।

०५२ मा बीएको पढाइ सकेर उनले इन्स्पेक्टरका लागि प्रहरीमा आवेदन दिए । यसपालि भने उनलाई खासै डर थिएन । प्रहरी उच्च अधिकारी कृष्णमोहन श्रेष्ठ र विज्ञान शर्माले उनको सर्टिफिकेट प्रमाणित गरेका थिए । छनोटको दिन आयो । नरेन्द्रलाई नेपाल प्रहरीले पनि पत्याएन । सर्टिफिकेटको फोटोकपी र फोटोमात्रै खेर गयो । रित्तो हात घर फर्किए ।

नरेन्द्रको आत्माले भन्यो, “सुरक्षा निकायमा जागिर खाने मेरो रहरमात्रै रहेछ । यो मेरा लागि होइन । अब मैले अरु नै कुनै पेशा अपनाउनु पर्छ । मेरो भाग्यमा लेखेको पेसा अर्कै कुनै छ ।”

गायक बन्ने त्यो रहर

सेना र प्रहरीको सपना टुटिसकेको थियो । विकल्पहरू त थिए तर कुन ? कसरी छिर्ने र सफल हुने ?

बाटो देखाउने कोही थिएन । नेपाली सांगीतिक क्षेत्रमा नयाँ–नयाँ गीत हिट आइरहेका थिए । आधुनिक गीतको मार्केट पप गीतले ओगटिरहेको थियो । सञ्जय श्रेष्ठ, धीरज राईलगायतका पप गायकहरू आक्रामक रूपमा लोकप्रिय हुँदै थिए । सञ्जय श्रेष्ठको ‘क्रस रोड’ एल्बम हिट भएको थियो । आफ्नो लागि यही क्षेत्र ठीक हो भन्ने लागेर नरेन्द्र संगीत सिक्न ‘फैलँदो स्कोप’ नामक इन्स्टिच्युट पुगे । ड्रम बजाउँथे नरेन्द्र । चार जना मिलेर ब्यान्ड खोले । मेजर नेपालीका विद्यार्थी भएकाले गीत लेख्ने जिम्मा नरेन्द्रको भागमा थियो । 

हर दिन आउँछ याद कसैको 
हर रात आउँछ सपना कसैको 
शायद त्यो तिमी नै हो...

गीत कम्पोज पनि भयो । गीत रेकर्ड गर्न १५ हजार रुपैयाँ लाग्थ्यो । नरेन्द्र भोकलिस्ट र ड्रमर दुबै भएकाले उनको भागमा ५ हजार र बाँकी साथीले ३–३ हजारका दरले पैसा जम्मा पार्ने सल्लाह भयो ।

ब्यान्डका गिटारिस्ट साथी विराटनगरका थियो । दशैं आउन लागेको थियो । विराटनगरको साथी तिहारपछि ३ हजार रुपैयाँ लिएर आउँछु भन्दै दशैंमा घर गए । दशैं सकियो, तिहार सकियो, मंसिर, पुस, माघ गर्दै ६ महिना बित्यो तर ती साथी फर्केर आएनन् । गीत रेकर्ड गर्ने नरेन्द्रको सपना रहरको गर्भमै रहिरह्यो ।

साथी नआए पनि आशैआशमा ६ महिना बितिसकेको थियो । घरमा तीन जना साथी भेला भएर अभ्यास गर्थे । तर, उनीहरूको ‘गाना बजाना’ले दिक्क भएर छिमेकीले घरमा ‘कम्प्लेन’ गरिरहन्थे । बुवा नरेन्द्रसँग कराइरहन्थे । एकातिर साथीले दिएको धोका, अर्कोतिर छिमेकीको रातदिनको कचकच । नरेन्द्रलाई पनि अति भयो ।

उनले ड्रमसेट बेचे । ५५ सय हात पर्‍यो । अब के गर्ने ?

साथीले भन्यो, फोटोग्राफी सिक्न जाऊँ ।

नरेन्द्र उनैक पछि लागेर कमलपोखरीको ‘क्रिस्टल इन्स्टिच्युट’ पुगे । “कमल महर्जन भन्ने साथी थियो मेरो । ऊ बिहान १० बजेसम्म सुत्थ्यो तर फोटोग्राफीको क्लास बिहान ६ बजे हुन्थ्यो । मैले पनि क्लास लिएँ भने बिहानै उठाउने मान्छे हुन्थ्यो भनेर उसले मलाई फोटोग्राफी सिक्न जाऊँ भनेको थियो । म उसको साथीको रूपमा गएको थिएँ,” नरेन्द्र हाँस्छन् ।

०५२ तिर राष्ट्रिय दैनिकको ह्विम नै आयो । ‘समाचारपत्र’, ‘लोकपत्र’ र ‘श्री सगरमाथा’ दैनिक प्रकाशन भए । उनले ‘लोकपत्र’मा फोटोग्राफरका लागि आवेदन दिए । त्यहाँ प्रवीण वन्त र हरि रेग्मीको नाम निस्कियो । नरेन्द्रको नाम वैकल्पिकमा थियो । उनलाई वैकल्पिक भनेको के हो, थाहै थिएन । जागिर भएको हो कि होइन, चाल पाएनन् । ‘लोकपत्र’को कार्यालय पुगेर सोधेपछि बल्ल थाहा पाए– प्रवीण र हरिमध्ये कोही नआए वा छोडे उनले जागिर पाउँछन् । यो प्रसंग सुनाउँदा नरेन्द्र अहिले पनि लजाउँछन् ।

‘लोकपत्र’मा जागिर पाएनन् । एफएफपी फोटो पत्रकार देवेन्द्रमान सिंहको सिफारिसमा नरेन्द्रले ‘समाचारपत्र’ पुगेर प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई भेटे । हेमा लामा र यात्रा थुलुंग ‘समाचारपत्र’का फोटोग्राफर थिए । पुष्करलालले परीक्षणमा काम गर्न भने । उनी पनि राजी भए । ‘समाचरपत्र’, ‘साधना’, ‘कामना’ र ‘महानगर’मा उनले सहायकको रूपमा काम गरे ।

महिना मरेपछि उनले ३ हजार तलब पाए । जम्मा ३ हजार ? नरेन्द्र ‘भोलिबाट आउँदिनँ’ भन्दै हिँडे । उनी घर पुग्दा फोन आयो । पुष्करलालले सोधे, “किन छाडेको ? ६ महिनापछि ५ सय बढाइदिन्छु, भोलिबाटै आऊ ।” घरकाले पनि जान भने । उनी ‘समाचारपत्र’मै फर्किए । पहिलो महिनाको तलब लिएर उनी सिधै विशालबजार गए । २८ सयमा छालाको जुत्ता किने र घर गए । भोलिपल्ट साथीलाई सोधे, “गेस गर् त, कति पर्छ !”

“साथीले ८ सयमा किनिस् होला भन्यो । मनै भरङ्ग भयो मेरो त,” नरेन्द्र हाँसे ।

नरेन्द्र गएको ६ महिनामै हेमा र यात्रा दुवैले ‘समाचारपत्र’ छाडे । उनी एक्लैले कामना प्रकाशन गृहका चारवटा पब्लिकेसनका लागि फोटो खिच्थे । 

“चढ्नलाई बाइक थिएन । दिनभरि हिँडेर फोटो खिच्न जानुपथ्र्यो । धेरै हिँडेर पैतालामा खिल आयो, टिचिङ अस्पताल गएर अप्रेसन गरें, तर अप्रेसन गर्दा पनि रेस्ट नगरेर म फोटो खिच्न जानुपथ्र्यो,” नरेन्द्र सम्झिन्छन्, “मैले अप्रेसन गर्दा पनि हिँडेर अफिस गएको देखर दाइले आफ्नै बाइक दिनुभयो । पछि उहाँले त्यो बाइक कहिल्यै माग्नुभएन । मैले पनि फिर्ता गरिनँ ।”

‘समाचारपत्र’मा पुगे पनि उनलाई ‘कान्तिपुर’ दैनिक जाने इच्छा थियो । ‘कान्तिपुर’ले पाक्षिक ‘नेपाल’ म्यागेजिन निकाल्ने भयो । चन्द्रशेखर कार्कीलाई सघाउने फोटोग्राफर चाहिएको थियो । उनले नरेन्द्रलाई बोलाए । नमुना अंकमा काम गरिरहेकै बेला चन्द्रशेखर फेलोसिपका लागि जर्मनी जाने भए । नरेन्द्र ‘नेपाल’मा पनि एक्लै भए ।

‘नेपाल’मा काम गरे पनि ‘कान्तिपुर’मै जाने उनको इच्छा मरेको थिएन । चार वर्ष काम गरेपछि उनको यात्रा अन्ततः ‘कान्तिपुर’तर्फ मोडियो । युवराज घिमिरे सम्पादक भएका बेला उनलाई त्यो अवसर जुर्‍यो ।

फोटो खिच्दै गए । पेशामा निखारिँदै गए । जुनियर सब–एडिटरबाट ‘कान्तिपुर’ प्रवेश गरेका नरेन्द्र भूकम्पपछि ‘कान्तिपुर’ छोड्दा फोटो सम्पादक थिए । अहिले उनी युरोपियन प्रेस फोटो एजेन्सी (ईपीए)मा काम गर्छन् ।

अक्सर अहिले पनि अधिकांश पत्रकारले नयाँ फोटोभन्दा पनि समाचारकै फोटो खिच्ने गरेको नरेन्द्रको अनुभव छ । “२० वर्ष काम गरेको पत्रकारलाई आफूले खिचेका पाँच वटा राम्रा तस्बिर देखाऊ त भन्दा उसले देखाउन सक्दैन,” चार पटक अस्ट्रेलियन ओपन टेनिस खिचिसकेका नरेन्द्र भन्छन्, “फोटो पत्रकारको ध्यान फिचर फोटोमा बढी केन्द्रित हुनुपर्छ ।”

फोटो पत्रकारलाई हेर्ने दृष्टिकोणमा अझै पनि सुधार नआएको देख्दा नरेन्द्रलाई चित्त बुझ्दैन । “कति मिडिया हाउसले मलाई फोटोपत्रकार हायर गर्न अन्तर्वार्तामा बोलाउनुहुन्छ । त्यहाँ मडिया हाउसका मालिकले घुमाएर सोध्छन्– बाइक र क्यामेरा छ कि छैन ? तीन लाखको बाइक र तीन लाखको क्यामेरा किनेर १५ हजारको जागिर खान बाध्य छन् अहिले पनि फोटोपत्रकार ।”

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC