site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उपन्यास लेख्ने हुटहुटी
Sarbottam CementSarbottam Cement

रामेछाप, मन्थलीको हाम्रो पुस्ता दुःखले दपेटेपछि बसाइँ सरेर जनकपुर झर्‍यो । तिनताक तराई उर्बरथलो मात्र थिएन, अभाव र विपन्नतासँग सिँगौरी खेलिरहेकाहरूको आश्रय–थलोसमेत थियो ।

अहिलोजस्तो होइन, तिनताक वर्षभरि पाखुरा जोत्दा पनि तीन पर्वत पन्छाएर गृहस्थीको दियो जगाउन धौ भएपछि तराई मधेस झरेको कुरा सुनाउनुहुन्थ्यो, हजुरबुबा ।

बराजुका चार छोरा थिए । जसका छोरा उसका धन, जसका भैँसी उसका वन– पहाडी कहावत नै हो । तर, उहाँलाई अकालमै व्याधीले उखेलेछ । आयस्था बिक्री हुँदैनथ्यो । खेतबारी नै बेचेर उपचारको यत्न पनि गरिएको रहेछ । ऋण लागेर जग्गाजमिन निख्रिएपछि तराई झर्नुपरेको दुखेसो गरिरहनुहुन्थ्यो हजुरबुबा ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेस झरेपछि हाम्रो परिवार व्यापार, व्यवसाय र यायावरीका अनेक कृत्यमा लाग्यो । फाँटको धान ठेक्का लिने र बेचेर मुखमा माड लगाउने उपाय पहिल्याउनुभएको रहेछ हजुरबुबाहरूले ।

पछि हजुरबुबाले पियनको जागिर पाएपछि सँगोलबाट बाहिर आउनुभयो । र, आफ्नो घरद्वार सम्हाल्नुभयो ।

Global Ime bank

परिवेश, पर्यावरण, पात्र, परिस्थिति, मनोदशा भिन्नभिन्न थिए त्यहाँका । धेरथोर परिचित हुने मौका पनि पाएँ । देहात अन्नको मात्र होइन, गरिबीको समेत भण्डार थियो । दुःखका अनेक आयामसँग चिनापर्ची हुँदै जाँदा ममा साहित्य–चेत पनि उम्रिँदै गयो ।

० ० ०

म जन्मिँदासम्म पनि परिवारले दुःखबाट पार पाइसकेको थिएन । अध्ययन र जागिर खोजीकै दौरानमा हुनुहुन्थ्यो बुबा । उहाँमा हुटहुटी थियो– सरकारी जाखिर खाने ।

व्यापार–व्यवसायबाट खासै मुन्टो नउकासिएकाले होला– हजुरबुबाले पियनकै वेतनमा चित्त बुझाउनुभएको थियो, त्यसको जैविक गुण बुवामा सरेको थियो शायद ।

म जन्मिनुअगावै बुवाले काठमाडौँ आएर लोकसेवाको तयारी गरिरहनुभएको थियो । लोकसेवाको तयारी होइन, जागिरको साधना थियो त्यो । त्यसैले उहाँलाई सघाउन आमा पनि आउनुभएको थियो ।

आमाको गर्भभित्र भ्रूणका रूपमा मेरो जीवन–सङ्घर्ष जारी थियो, उहाँहरूको पौँठेजोरी जिन्दगीसँग थियो । चिकित्सकले दिएको ‘डेट’ नजिकिँदै जाँदा बुवाले आमालाई भन्नुभएछ, “तिमी वीरगन्ज जाऊ, बच्चा पैदा हुने बेलामा मलाई खबर गर ।”

त्यसबखत वीरगन्जमा हजुरबुबा कृषि विकास बैंकको जागिरे हुनुहुन्थ्यो, अधिकृत तहका । सिंगै वीरगन्जमा उहाँको बेग्लै प्रतिष्ठा थियो । लोकसेवाको तयारी गरिरहेका पति, आमाले पनि नाइनास्ती गर्ने कुरा भएन ।

वीरगञ्जमै जन्मिएको हुँ, २०५४ सालमा ।

पछि आमाले सुनाउनुहुन्थ्यो, “बच्चा जन्मिने बेलामा खबर त गर्‍यौं तर उहाँ आउँदा तँ जन्मिएको साता–दश दिन भइसकेको थियो ।”

प्रसूति आमा । हेरविचारका अतिरिक्त पोषणयुक्त आहार–व्यहार पनि पुगोस् भनेर बुवाले वीरगन्ज पठाउनुभएको हुँदो हो, शायद ।

म जन्मनुपूर्व बुवा धुम्रपानको अम्मली हुनुहुन्थ्यो । मद्यपान गर्नुहुन्थ्यो/हुँदैनथ्यो थाहा भएन तर बेस्सरी चुरोट खानुहुन्थ्यो, ‘चेन स्मोकर’जस्तै ।

चुरोटको कसले छातीमा खराबी आइसकेको थियो । चिकित्सकले टीबीको जोखिम औंल्याएका थिए । छातीमा अतिशय पीडा हुन थालेपछि औषधि खान थाल्नुभएको थियो ।

तर, म जन्मिएपछि चुरोट सेवन गर्न चटक्कै छाड्नुभयो । यता लोकसेवामा नाम पनि निस्कियो ।

बुवाको जीवनको ‘टर्निङ पोइन्ट’ थियो त्यो । भनौँ न, उहाँको सफलताको कोसेढुंगा बनेँ म । मेरो उपन्यास ‘फाइभ मन्थ्स’मा कतै न कतै पटाक्षेप भएको छ यो ।

० ० ०

बाल्यकाल आमबालकसरह नै बित्यो । शिक्षाले सपनाको उडान भर्न सजिलो हुन्छ । यही ठानेर पढाइमै जोडबल गर्नुभयो बुबाममीले । निजी स्कुलबाटै प्रवेशिका परीक्षा उत्तीर्ण गरें । निजी स्कुलको चार पर्खालभित्र फलामे अनुशासनमा शिक्षा–दीक्षा ग्रहण गरे पनि केटौले प्रेमका अनेक आयामसँग परिचय पाएँ । प्रेममा लहसिएका साथीसंगी, तिनका प्रणयउद्वेग, कामाकूतिका कूतुहलता आदिसँग साक्षात्कार भएँ । योगपछि प्रेम जेथा बन्छ, वियोगपछि प्रेम व्यथा बन्छ– साथीसंगी भुक्तभोगी थिए यसका ।

एउटै बेन्चमा कुम जोडेर बसेका साथीसङ्गी बालसखा हुँदै प्रेमजोडी बनेका दृष्टान्त मस्तिष्कको उपल्लो तहमा संगृहीत हुँदै गयो । र, कथा–भ्रूणको रूपमा विकास भयो ।

हिम्स स्कुल पढेको हुँ मैले । रुद्रमतीको तट । घर आउँदा–जाँदा किशोर–प्रेमालाप देख्न पाउँथे । अभिभावकको आँँखा छलेर टुँसाउँदै गरेका, चिचिलामै बसाएका, कोपिलामै निमोठिएका प्रेमका स–साना आयाम सँगालेर तयार पारेको हुँ– ‘फाइभ मन्थ्स’ ।

किशोरवय सघन कूतुहलताको उमेर हो । चरम जिज्ञासु, कल्पनाशील क्षण उनीहरूले बेहोर्छन् । र, अधिकांश किशोरकिशोरीको प्रणयवेग यही १४–१९ बाटै आरम्भ हुने गर्छ । बाटो नभेट्टाएपछि या बिराएपछि कुबाटो हिँड्न अभिशप्तसमेत छन् कतिपय । तर, बेखबर छन् बाबुआमा ।

निजी स्कुल पढेकाले मँसग केही वैयक्तिक अनुभवसमेत छन् । प्रायः अभिभावक छोराछोरी स्कुल पठाएपछि ढुक्क हुन्छन् । मानौँ न, छोराछोरी स्कुल गएपछि ती फुक्काफाल हुन्छन् । कतिपय अभिभावकलाई बोझ बिसाएको प्रतीत पनि हुँदो रहेछ ।

सन्तान आमाबाबुका भविष्य हुन् । तर, तिनै सन्तान बाल्यकालमा बोझ, झिँझो बन्छन् । बालबालिकाको झर्कोबाट पार पाउन कतिले होस्टलको सहारासमेत लिन्छन् ।

अभिभावक र शिक्षकको आँखेसाङ्लोमा बाँधिउन्जेल सद्दे देखिने र उनीहरूको आँखाबाट ओझेल पर्नासाथ बद्मासीको चक्रव्यूहमा फस्ने उमेर त्यही हो भन्ने ज्ञान कमैलाई छ ।

हिजोको जस्तो प्रेम रहेन आज । यो रुद्रमती, बाग्मतीको पानीजस्तो भइसक्यो, कलुषित र अत्यन्तै प्रदूषित । प्रेमको सर्वव्यापकता र अपरिमेयतालाई हामीले नजरअन्दाज गरिसक्यौँ । शारीरिक संसर्ग र विवाह नामको बन्द बाकसभित्र कैद गर्न प्रेमको बाटो रोज्छौँ हामी । अझ प्रष्ट्याऊँ न, अनुभूति होइन, कामाकूति भइसक्यो यो ।

उमेर नपुग्दै गरिने प्रेम र यौन–विलासले जीवनप्रति नै वैराग्यता जन्माउन सक्ने र जिन्दगीप्रति मोह भङ्ग हुन सक्ने भयले बेस्करी चिमोट्यो मलाई । ४–५ कक्षा पढ्दादेखि नै केटा र केटी साथीको चक्करमा लागेर जिन्दगी चोकर बनाउनेहरूको भीडमा हाम्रा बालबालिका कहाँनेर छन् भनेर खोज्नुपर्ने बेला भएको छ । त्यही छट्पटीले जन्माएको कृति हो, ‘फाइभ मन्थ्स’ । प्राथमिक तहमा अध्ययन गर्दादेखि नै सुरू हुने र प्रवेशिका परीक्षा पास नहुँदै अनेक पटक दुर्घटित भइसक्ने केटौले प्रेमको फेहरिस्त पनि हो ‘फाइभ मन्थ्स’ ।

किशोर वयमा प्रेमसम्बन्धी थुपै उपन्यासमा आँखा पुर्‍याएँ । कति पढेर सरस भएँ, कति पढेर निरस । जति पढ्थेँ, कहीँ भेट्टाउँदिनथेँ आफूलाई । उपन्यासमा आफू र किशोर प्रेम नभेटेपछि ‘फाइभ मन्थ्स्’ नै जन्माउनुपर्ने बाध्यता आइलाग्यो मलाई ।

० ० ०

धेरैले भन्छन्– किशोर उमेरमै किन उपन्यासमा हाम फालेको ?

किशोरका कथा किशोर उमेरमा नलेखे कहिले लेख्नू ? किशोर–अनुभूति किशोर उमेरमै नरङ्ग्याए कहिले रङ्ग्याउनू ? यही ठानेर उपन्यास लेख्ने साहस जुटाएको हुँ ।

उपन्यासका कतिपय ठाउँमा म आफैँ थिए । कतिपय पात्र मैले देखे–चिनेका थिए । त्यसैले उपन्यास लेख्न, धेरै कन्नु, गम्नु, उँघ्नु परेन । एकपछि अर्को कथाक्रम तयार भए र झन्डै एक वर्षजतिमा पाण्डुलिपि पूरा गरेँ । लेख्दै गर्दा कति ठाउँमा बाबुलाई सम्झिन्थेँ, कति ठाउँमा आमा । त्यसैले कुनै न कुनै ठाउँमा उहाँहरूका संवाद आएका होलान् ।

अन्त्यमा, ‘फाइभ मन्थ्स्’ किशोरकिशोरीको आँखाबाट प्रेम बुझ्ने उपन्यासमात्र होइन, आमाबाबुले छोराछोरीको प्रेम बुझ्ने उपन्याससमेत बनेको छ ।

(अक्षर काकासँगको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC