site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तरमनको अतृप्त तृष्णा
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारका लागि सिंहदरबार र संसद् भवन धाइरहेका छन् । नीति निर्माताहरूलाई घच्घच्याइरहेका छन् । संविधानमा लेखिएअनुसार कानुन बनाउन सरोकारवाला निकायलाई खबरदारी गरिरहेका छन् । ठीक यही बेला उनीहरू अर्थात तेस्रोलिंगीकै अधिकारको वकालत गर्ने गरी नाटक ‘जिउँदो आकाश’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । यद्यपि तेस्रोलिंगीले अधिकार माग्नु र नाटक ‘जिउँदो आकाश’ मञ्चन हुनुबीच बाघ कराउनु र बाख्रो कराउनु जस्तै हो । अर्थात् संयोग मात्रै ।

नाटकले तेस्रोलिंगीको खुलेर वकालत गरेको छ । सीमान्तकृत विषयलाई उजागर गरिदिएको छ । समाजले हेर्ने कुदृष्टिबाट बच्न आन्तरिक रूपमा गौरवले गरेको अन्तरसंघर्ष नै नाटकको सारांश हो ।

Agni Group

बालक भएर जन्मिए पनि हुर्किने क्रममा स्त्रीशुलभ गुणहरू विकसित हुँदै गएपछि स्त्रीकै वेशमा बाँच्नका लागि गौरवले गरेको अन्तरसंघर्षको कथा नै ‘जिउँदो आकाश’को ‘वनलाइन स्टोरी’ हो ।

गौरव जन्मिँदा बालक हो तर उसमा बिस्तारै स्त्रीका गुणहरू देखिन थाल्छन् । सँगैका साथीहरू केटीलाई जिस्काउन थाल्छन् तर उसलाई भने केटा मन पर्न थाल्छ । कक्षामा केटा देखेर लजाउने गौरव केटीको बेन्चमा बस्छ । तर, शिक्षकलाई त्यो सह्य हुँदैन । शिक्षकले नै उनलाई ‘छक्का’ भनेर अपमानित गर्छन् । साथीहरू उसलाई देखेर खिस्याउन थाल्छन् । परिणाम– विद्यालय जाने उसका गोडाहरू घरमै कुँजिन्छन् । पढाइमा पूर्णविराम लाग्छ ।

Global Ime bank

गौरवले आफैंलाई घरमा कैद गर्छ । घरमा कोही नभएको मौका पारेर केटीमान्छेका लुगा लगाउँछ । आमाका मेकअप सामग्री लगाउँछ । भित्री मनको तृष्णा मेटाउँछ । तर, परिवारले थाहा पाएर उसलाई त्यो व्यवहार परिवर्तन गर्न आग्रह गर्छ । दबाब दिन्छ । गौरव भने बिस्तारै दीपकलाई मन पराउन थाल्छ । उनीहरूबीच शारीरिक सम्बन्ध पनि स्थापित हुन्छ । तर, दीपकले पारिवारिक दबाबमा केटीसँग विवाह गर्छ । आफूलाई गौरव नभएर गरिमा ठान्ने गौरव बुवाको निरन्तरको ‘किचकिच’का कारण दिलचस्पी नभए पनि सेनामा जागिर खान इलाम पुग्छ । त्यहाँ सेनाकै उच्च अधिकारीबाट बलात्कृत भएर ऊ लखेटिन्छ ।

कतै पनि आफूअनुकूल वातावरण नभएपछि गौरव साँझ आफूलाई गरिमामा परिणत गर्छ र डान्स क्लब पुग्छ । त्यहाँ पनि रतिरागमा रमाउनेको दुव्र्यवहारमा परेपछि उसले अन्ततः आत्महत्या गर्ने प्रयास गर्छ । आमाले बचाउँछिन् । 

उसको दारुण कथा सकिँदैन । बरु अगाडि बढिरहन्छ । लोकलाजकै कारण परिवारले उसको विवाह गरिदिन्छ । ऊ श्रीमतीका अगाडि मर्द हुने प्रयास पनि गर्छ तर सक्दैन । श्रीमतीले पनि उसलाई बुझ्दिन ।

समयको चक्रसँगै घडीको सुइँ घुम्दै जान्छ । उसकी श्रमतीले पनि गौरवलाई बुझ्न थाल्छे । अन्नतः श्रीमतीले गौरवलाई गरिमा बनेर बाँच्ने अनुमति दिन्छे । परिणामः गौरव लामो संघर्षपछि अँध्यारो घरबाट गरिमा बनेर बाहिर निस्किन्छ । रङ्गमञ्चको छेउमा रहेको पिँजडाभित्रको सुगा भुरुरु उडेर आकाशमा हराउँछ । रङगमञ्चको पर्दा खस्छ । दर्शकदीर्घाबाट लामो समयसम्म ताली बजिरहन्छ ।

तेस्रोलिंगीले अहिले मागिरहेको वैवाहिक अधिकार र ‘जिउँदो आकाश’को निष्कर्ष मेल खान्छ । चन्द्रप्रसाद पाण्डेले तेस्रोलिंगीको नाडी छामेर नाटक लेखेका छन् । अनिल सुब्बाले तेस्रोलिंगीको मनोविज्ञानभित्र छिरेर अभिनय गरेका छन् । नाटक निर्देशनमा आरके मेहता रोशन पनि अब्बल प्रमाणित भएका छन् । एकएक हाउभाउमा उनले अनिललाई दुरुस्त तेस्रोलिंगी उतारेका छन् ।

समाजमा लुकेर बसेको विषयलाई नाटक बनाउनु मात्रै सफलता होइन, त्यसमा भिज्न सक्नु चाहिँ ठूलो कुरा हो, जसमा तीनै पक्ष (लेखक, निर्देशक र अभिनेता) सफल देखिएका छन् ।

एक घण्टाभन्दा लामो नाटकमा अनिल सोलो अभिनेता हुन् । उनी तेस्रोलिंगीसँगै बुवा, काका, आमा, शिक्षक, साथी, प्रेमी, आर्मी अफिरलगायत थुप्रै चरित्रको एक्लै अभिनय गर्छन् । निर्देशक रोशनले गरेको भरोसालाई अनिलले कुशलतापूर्व निभाएका छन् । सेकेन्डमै उनले जसरी आफूलाई एउटा पात्रबाट अर्को पात्रमा रुपान्तरण गर्छन्, त्यो उनको प्रशंसनीय पक्ष हो । यस हिसाबले उनी नाटकमा तारिफयोग्य पात्र हुन् ।

नाटकका विभिन्न शैलीमध्ये ‘सोलो पफर्मेन्स’ अपनाएर निर्देशक मेहताले अन्याय नै त गरेका छैनन् तर उनले बहुचरित्रमार्फत नाटक मञ्चन गरेको भए कथाले अझै बढी न्याय पाउने थियो । फरक–फरक चरित्रअनुसार पात्रलाई उभ्याइएको भए दर्शकलाई बुझ्न अझ सजिलो हुने थियो । निर्देशकसँग ‘सोलो पर्फमेन्स पनि नाटक प्रदर्शनको प्रचलित शैली हो’ भनेर तर्क गर्दै उम्किने ठाउँ त छ तर दर्शकलाई बहुचरित्रको आफ्नै महत्व छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC