ad

साहित्य र कला

अर्थ, अनर्थ, मानार्थ

अर्थ, अनर्थ, मानार्थ

– रवि मिश्र


सबैभन्दा पहिले हुन्छ- अर्थ । त्यसपछि हुन्छ- बेअर्थ  । अनि लाग्छ- अनर्थ । अनि आउँछ मानार्थ ।

‘मानार्थ’ पद वा उपाधि संस्थागत उटटापको उच्चतम् डिग्री हो । यसले कहिले साँच्चिकै गुलाबका फूलमा एक्रेलिक रङ दलेर झिलिक्कै सजाइदिन्छ । कहिले सुनमा बेसार दलेर पहेंलै टल्काइदिन्छ । फेरि कहिले चैं प्लास्टिकका फूलमा अत्तर छरेर मगमग पार्दिन्छ । यसले कहिले गाईलाई 'चेइचेइ' भन्न बेर मान्दैन, कहिले गधाका गोबरले घर, पिँढी लिपेर घरलाई मानार्थ पवित्रता प्रदान गर्न बेर मान्दैन । सुपर ल्वाँठ मानार्थ बुद्धिजीवी कहलिन सक्छन् । ब्रह्म विद्वान मानार्थ ल्वाँठ घोषित हुन सक्छन् ।

उहिले नेपोलियन बाजेले 'असम्भव भन्ने मूर्खको डायरीमा मात्रै हुन्छ' भन्दा हाम्रा ऋषि धमलाज्यू उनका पछाडि रहेनछन् । नत्र सोध्थे, "तर छ नि नेपालियनजी ! सम्भव चैं कहाँ हुन्छ ? तपाईंको कोटको खल्तीमा, पाइन्टको खल्तीमा, त्यो बिट ठूलो भाको डेक्चीजस्तो ह्याट टोपीभित्र कि परीक्षार्थीले लुकाएको चिटझैं मोजाभित्र ? आजको दिनमा बताइदिनोस् ! जनता जान्न चाहन्छन् ।"

नेपोलियनले भन्नेथिए, "त्यै मानार्थेहरुको होमवर्क कापीमा ।"

केही अघि केही थान मानार्थ बुज्रुक सापहरुले राष्ट्रकविज्यूलाई झन्डै परेड खेलाएनछन् । वयोवृद्व कविज्यूको ताकतले परेड खेल्न नसकेको हो वा उटटापेहरुलाई यो लेबलको उटटाप नफुऱ्या हो, बर्दी मात्रै लगाएर छोडेछन् । मानार्थ रथीको पद भिराइदिएछ्न् । साहित्यका यी शिखरपुरुषलाई लघार्दै फेंदीमा ल्याएर मानार्थ रथी भिराएको देख्दा अरुलाई झैं आफैंलाई नि हल्का झोक नचलेको होइन । तर, सोचिल्याउँदा पछि फेरि झोकलाई मानार्थमा सीमित गरियो । जब सोचियो- टुप्पीभन्दा माथी रौं नभएझैं राष्ट्रकविभन्दा माथि के होला ? अब राष्ट्रकै सर्वोच्च पद राष्ट्रपति मानेर मानार्थ राष्ट्रपति दिएको भए नि उनको घटुवा नै हुन्थ्यो । किनकि राष्ट्रपतिको राष्ट्रको पछाडि पति जोडिया'छ । पतिलाई कस्ले चिन्छन् ? उनकै पत्नीले त हो । हुन त घर–परिवारमा नि चिन्लान् । एक-दुई घर छिमेकीले नि चिन्लान् । ससुराली, मावलीले नि चिन्लान । पारिका मित, मितबा, मितिनीआमा, मित्दाइले नि चिन्लान् । कविलाई देश परदेशले चिन्छ्न् । राष्ट्रपतिभन्दा त राष्ट्रकवि कति हो कति गुना ठूला हुन् भने उनको स्तरको पदै खै र ? फुच्चे पदमा रथी दिए पो के ? पति दिए पो के ?

त्यसपछि मनमा बुरुक्क भाको राष्ट्रझोकलाई पनि मानार्थ रथी झोकको बर्दी पहिऱ्याएर थामथुम पार्दै सोचलाई कोल्टे फिराइयो ।

एकजना अर्का शिखर राजनीतिका । शिखर नि कम्ताका होइनन्, उनकै पार्टी, उनकै राष्ट्रवादी गुटको लागि त सगरमाथै । अर्को गुट आफ्नै पार्टीको लागि नि कन्चनजङ्गा  बराबर । अरुका लागि पनि माछापुच्छ्रे, मनास्लु जस्ता, विपक्षीले नै हेर्दा नि गणेश हिमाल जत्तिका । तर, औपचारिक पढाइमा भने बूढा भुइँफुट्टा । नपढेका नि सानातिनाको लहैलहैमा लागेर होइन । खुद सिद्धार्थ गौतमको लहैलहैमा लागेर । तिनी त नपढी बुद्ध भए, म चैं किन पढ्ने ? भन्दै पढाइ छोडी राजनीतिमा होमिएका रे ! पछि तिनैमाथि बुद्धता नआए नि विद्वानता आइलाग्यो । तिनै शिखर ७-८ वर्षअघि मानार्थ विद्यावारिधीले सुशोभित भए । केही दिन आश्चर्यले वातावरण कुइरीमण्डल भयो । पछि पत्ता लाग्यो- उनलाई मानार्थ विद्यावारिधी दिने विश्वविद्यालय नै मानार्थ पो रहेछ । यही घानमा मानार्थ विश्वविद्यालयले लोकसेवा पास मन्त्रीसहित दुई अभिनेतालाई समेत डाक्टरसाप बनाउन भ्यायो । र, मानार्थ विश्वविद्यालय अन्तरध्यान भएर रेस्टुरेन्ट, क्याटरिङको काममा लाग्दो भयो ।

नपढिकन मानार्थ विद्वान । नपरिकन मानार्थ अनुभवी । प्रतिभाबिनै मानार्थ प्रतिभाशाली । ह्याउबिनै मानार्थ ह्याउकाजी बनाउन सक्ने यो मानार्थ उपाधि साँच्चिकै गज्जब छ । त्यसैले यसलाई अझै विकाश र विस्तार गर्दै मानवजातिको उच्चतम हितमा प्रयोग गर्न आवश्यक छ ।

अब कविलाई मात्रै किन मानार्थ रथी र उपरथी ? अब सेनाका जर्नेल, कर्नेलहरुलाई नि मानार्थ आदिकवि, महाकवि, आँशुकवि, कविशिरोमणी पदले सुशोभित गरम् । वरिष्ठ नेतालाई ‘मानार्थ विश्वविद्यालका’ कुलपति, उपकुलपति, प्राध्यापकहरुलाई मानार्थ प्रधानमन्त्री, मन्त्री, सांसद बनाम् । अचेल वाम गठबन्धन र सरकारमा भागबण्डाले टाउको दुखाइरहेछ । मिलाउन एक अध्यक्ष बन्नू, अर्का मानार्थ अध्यक्ष बन्नू । एक प्रधानमन्त्री बन्नू, अर्का मानार्थ प्रधानमन्त्री । कोही केन्द्रिय सदस्य बन्नू, कोही मानार्थ केन्द्रीय सदस्य । कोही मन्त्री, कोही मानार्थ मन्त्री । असम्भवलाई नि सम्भव बनाउने मानार्थको यो गुणले पार्टी एकतामा नि फाइदै गर्छ ।

अर्कातिर काङ्ग्रेसमा नि रोनाधोना किन ? आफूलाई फ्याट्ट चुनावको मानार्थ विजेता घोषणा गर्नू । त्यसमा नि मानार्थ बहुमतप्राप्त । मानार्थ सरकार बनाउनू, चलाउनू । हुन त छाया सरकार नि मानार्थ सरकारकै दाजुभाइ हुनुपर्छ । यसैगरी सभापतिज्यूबाट असन्तुष्टहरुलाई मानार्थ सभापति बनाइदिनू । नेतृत्व फेर्ने कष्ट नै परेन ।

मानार्थले कर्मगुणले अप्राप्य चिज प्राप्य बनाउँदो र'छ । यहाँ कौवाहरु मानार्थ कोइली बन्न सक्छन् र कोइलीहरु मानार्थ कौवा । यत्रो असीमित सम्भावना बोकेको मानार्थको क्षेत्रमा गर्नुपर्ने धेरै छन् । अब राजेश हमाललाई मानार्थ गायक बनाउनुपर्छ । रामकृष्ण ढकाललाई मानार्थ नायक बनाउनुपर्छ । महजोडीलाई मानार्थ विरक्तलाल उपाधि दिनुपर्छ । रुवाउने अभिनेताहरुलाई मानार्थ कमेडिन बनाउनुपर्छ । एनसेललाई मानार्थ नेपाल टेलिकम भन्दिम्, नेपाल टेलिकमलाई मानार्थ एनसेल भन्दिम् । नेबिको बिस्कुटलाई मानार्थ वाइवाइ चाउचाउ बनाम्, वाइवाइ चाउचाउलाई मानार्थ नेबिको बिस्कुट । कालो रङलाई मानार्थ सेतो रङको उपाधि दिम, सेतोलाई मानार्थ कालो । फेरि रातोलाई मानार्थ हरियो, हरियोलाई मानार्थ रातो ।

लास्टमा अब मुलुककै चिन्तामा फर्किम् । धेरै भयो मुलुकलाई सिङ्गापुर बनाउने कुरा सुन्या । ४-५ महिनै भयो चन्द्रमामा रकेट पठाउने कुरा सुन्या । अब ढिला नगरी मुलुकलाई मानार्थ सिङ्गापुर घोषणा गरम् । रत्नपार्क गोङ्गबु रुटको एउटा माइक्रोलाई मानार्थ रकेट बनाम् । अन्तरिक्षतिर हुँइक्याम् ।

तपाईंको मत