ad

विचार

कांग्रेसको नसुध्रने प्रतिज्ञा

कांग्रेसको नसुध्रने प्रतिज्ञा

भारतको उत्तर पूर्वी क्षेत्रमा पाँचवर्ष पहिलेसम्म पनि दृश्यपटलमै नदेखिएको भारतीय जनता पार्टी अहिले निर्णायक विजयीे दल बन्नपुगेको छ । अर्कातिर, उत्तरपूर्वमा अहिलेसम्म सबैभन्दा प्रभावशाली रहिआएको भारतीय राष्ट्रिय कांग्रेस भने मेघालयबाहेक अन्यत्रबाट बढारिएको छ । मेघालयमा पनि कांग्रेसले स्पष्ट बहुमत ल्याउन सकेन । (हार त कम्युनिस्ट गठबन्धनको पनि भएको छ । लगातार २० वर्ष मुख्यमन्त्री रहँदा पनि भ्रष्टाचारको दाग नलागेका मणिक सरकार भारतकै सबैभन्दा स्वच्छ र इमानदार मुख्यमन्त्री मानिन्थे ।

सामाजिक विकासमा उनको पालामा त्रिपुरामा ठूलो प्रगति भएको थियो । तर, तिनैले नेतृत्व गरेको कम्युनिस्ट पार्टीहरूको गठबन्धन चुनावमा नराम्ररी दक्षिणपन्थी भारतीय जनता पार्टीसँग हार्‍यो । यसपटक पनि कम्युनिस्टहरूलाई बनाउने ममता बनर्जीले छुट्टै पार्टी तृणमूल कांग्रेस बनाइन् । उनी पनि पहिले पश्चिम बंगाल कांग्रेसकै नेतृ थिइन् । कांग्रेसबाट मुख्यमन्त्रीसमेत भइसकेका नेता पनि भारतीय जनता पार्टीमा गए र त्रिपुराबाट कम्युनिस्ट हराउनेमात्र हैन कांग्रेस पनि सिध्याउने काममा सहयोग गरे । राजनीति !) कांग्रेसको हारमा  विश्लेषकहरूले आश्चर्य भने मानेनन् । 

भारतीय राष्ट्रिय कांग्रेसको हारको समीक्षाका क्रममा विश्लेषकहरूले औँल्याएका कारणमा केही भाजपाका चतुर्‍याइँ, प्रचारशैली,  चालवाजी र आक्रामक रणनीति थिए भने मूलतः कांग्रेसको कमजोरी । भाजपाका चतुर्‍याइँका बारेमा अहिले चर्चा नगरौँ । नेपाली कांग्रेससँग धेरै चरित्र र इतिहाससमेत मिल्ने भारतीय कांग्रेसका कमजोरीका रूपमा विश्लेषकले औँल्याएका ३ वटा कमजोरी चाखलाग्दा र नेपाली कांग्रेसको चरित्रसँग मिल्ने प्रकारका छन् । उनीहरूका अनुसार कांग्रेसमा ठालु प्रवृत्ति (इलिटिस्ट), जनतासँग संवादहीनता र कुनै नयाँ सन्देशको अभावजस्ता कमजोरीकै कारण चुनावमा नराम्ररी परास्त भएको हो । नेपाली कांग्रेसमा पनि यी तीन कमजोरी थप अवगुणसँगै रहेका देखिन्छन् । 

नेपाली कांग्रेस तीनै तहको चुनावमा नराम्ररी परास्त भएपछि हारका कारण खोजिने र सुधार हुने अपेक्षा केहीले गरेको देखिन्थ्यो । कांग्रेसका नेताहरू विशेषगरी शीर्ष नेताहरूको चरित्र र प्रवृत्ति तथा युवा भनिएका नेताहरूको लाचारी थाहा पाएकाहरूले भने कांग्रेस सुध्रिएला भनेर पत्याएका थिएनन् । अन्ततः भयो पनि त्यस्तै । चुनावपछि हारको जिम्मेवारी कसैले लिएन । पुस्तैनी समर्थकले दिएको समानुपातिक मतका बलमा परिजन र पुरजनलाई सांसद बनाएका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा चुनाव जित्नु कुनै बहादुरी हैन । आश्चर्य भने शशांक कोइरालाहरू पनि पार्टीलाई सिध्याउन देउवासँगै अगाडि सर्नु हो । जेहोस्, कांग्रेसका नेता सुध्रिने लक्षण देखिएन । 

नेपाली कांग्रेसका नेताहरूले पार्टीको मौलिक चरित्रविपरीत आफूलाई 'संस्थापन’का संरक्षक ठान्न थालेपछि नै ठालु प्रवृत्ति बढेर गएको हो । अहिले कांग्रेसका अधिकांश ठूला नेताका घरमा खानपानदेखि बोलीबचनसम्ममा राणा दरबारको सिको गरिन्छ । यसैले धनी, सम्भ्रान्त र नवधनाढ्य भुइँफुट्टाहरूको हितरक्षक बन्यो नेपाली कांग्रेस । जनतासँग मात्र हैन गाउँका कार्यकर्तासँग पनि संवाद टुटेको वर्षौं भइसक्यो । यसैपल्टको चुनावमा पनि कांग्रेसले जनतालाई कुनै सन्देश दिन सकेन । पार्टीका सभापति र महामन्त्री यसै पनि जनतालाई आकर्षित गर्ने वक्ता त हुँदैहैनन् । जनताले बुझ्ने शब्दमा बोल्न जान्नेहरूसँग पनि भन्ने कुरै छैनन् । सन्देश र सञ्चार दुवै शून्य भएपछि चुनाव कसरी जित्ने ?

देउवाले संसदीय दलको नेता बन्ने लोभ नगरेका भए पार्टीमा बिस्तारै नेतृत्व हस्तान्तरण हुने सन्देश जाने थियो । अहिलेलाई त्यो बाटो पनि थुनियो । परस्परमा दोषादोष गर्नुबाहेक चुनावपछि कांग्रेसका कुनै पनि नेताले न जनताका लागि केही भनेका छन् न कार्यकर्तालाई नै कुनै सन्देश दिएका छन् । पार्टीलाई कतिसम्म हेपिएको छ भन्ने त अन्दाज पनि छैन होला । भारतकी विदेश मन्त्री सुषमा स्वराज नेपाल आउँदा त शेरबहादुर देउवा प्रधानमन्त्री नै थिए । तर, सुषमाले उनीसँग भेट्नका लागिमात्र भेटिन् । महत्त्व पटक्कै दिइनन् भन्ने सबैले थाहा पाएका थिए । पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीले त नेपाली कांग्रेसका नेतालाई वास्तै गरेनन् । कांग्रेस नेतृत्वको यति उपेक्षा सम्भवतः पञ्चायत कालमा समेत भएको थिएन होला । तैपनि, सभापति देउवा चुनावमा ’पार्टी नहारेको व्यक्तिमात्र हारेको’ भन्दैछन् । पार्टीभित्र समीकरण सन्तुलन प्रतिस्पर्धा जो जे गर्नुछ जसरी गर्नुछ गरे हुन्छ । जनताले त्यसमा टाउको दुखाउँदैनन् । तर, सार्वजनिकरूपमा त सत्य बोल्ने र स्वीकार गर्ने आँट गर !

स्थानीय तहमा कांग्रेसबाट ११ हजार ४५६ जना निर्वाचित भएका छन् । यिनलाई कसरी काम गर्ने ? के काम गर्ने ? पार्टीको नीति कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा अहिलेसम्म कसैले केही भनेको छैन । देशका लागि केही गर्ने सोच भए वा गर्नुपर्छ भन्ने लागेमा आफ्नो बहुमत भएको स्थानीय निकायमा काम गराउन सक्नुपथ्र्यो । अरू दलको हातमा भएका भन्दा भिन्दै देखाउन सक्नुपर्थ्यो । कम्तीमा प्रयास त गर्नुपथ्र्यो । तर, कांग्रेसभित्र अहिलेसम्म स्थानीय तह पनि छ भन्ने नै हेक्का नभएजस्तो देखियो । जनतालाई सेवा र सुविधा दिनमात्रै पनि कांग्रेसका प्रतिनिधि अरूभन्दा जनमुखी देखिए समर्थन त यसै बढ्थ्यो नि ! काठमाडौं महानगरपालिकाका प्रमुख हदैसम्म अलोकप्रिय भएका छन् । कांग्रेसले सम्पदा संरक्षण, पुनर्निर्माणलगायतका विषयमा जनमुखी नीति अपनाएर जनताको ध्यानाकर्षणमात्रै गर्न खोजे पनि संगठन विस्तार र सुदृढ हुन्थ्यो । तर, अहँ कांग्रेसका नेतालाई यस्तो कुनै पनि रचनात्मक काममा रुचि नै देखिँदैन ।

राष्ट्रपतिको चुनाव हुँदैछ । नेपाली कांग्रेसका उमेदवार जित्दैनन् । तैपनि कांग्रेसले निर्णायक हस्तक्षेप गर्न सक्थ्यो । राष्ट्रपति पदको गरिमा सुहाउँदो राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपति बनाउन सत्तापक्षसँग संवाद गर्नसक्थ्यो । के कांग्रेसले केदारभक्त माथेमा, डा. देवेन्द्रराज पाण्डे, नीलाम्बर आचार्यजस्ता व्यक्तिहरूलाई राष्ट्रपति बनाउनुपर्छ भनेर बेलैमा भन्नु हुँदैनथियो ? कम्युनिस्टहरूले मानी पो हाल्थे कि ? नमाने पनि एउटा सत्प्रयास गरेकोमा जनताले सराहना नै गर्थे होलान् । 

परन्तु, नेपाली कांग्रेसका अहिलेका नेतामा सिर्जनाशीलता र सरकारात्मकता नै छैन । यसैले कांग्रेस सुध्रने लक्षण पनि देखिँदैन । कम्युनिस्टहरूलाई हराउन भने भारतमा जस्तै कांग्रेसकै नेताले तर अर्को पार्टीबाट प्रयास गर्नुपर्ने हो कि? कांग्रेसको कुन पुस्तामा कहिले त्यस्ता नेता निस्कलान् ? अहिलेकाले त कहिल्यै नसुध्रिने कसमै खाएजस्तो छ !

तपाईंको मत