– नरेश फुयाँल
भयंकर ठूला सपना कहिल्यै देखेनन् । सानो छँदा राजनीति र अध्यापन गरेर जीवन धान्ने सपनाले थिच्यो । ठूलो भएपछि मुलुकलाई द्वन्द्वको चपेटाबाट बाहिर ल्याऊँ भन्ने जिम्मेवारीले थिच्यो । कहिले पत्रकारको नेता बन्ने रहरले थिच्यो, कहिले पत्रकारिताबाटै संसार चिहाउँछु भन्ने संकल्पले थिच्यो ।
अहिले उनी राजनीति त गर्दैनन्, तर अध्यापनको बाल्यकालीन सपना पछ्याइरहेका छन् । सुरेश आचार्य नाम एउटा हो, काम र भूमिका अनेक छन् ।
राजनीति
दुई जना दाइले मेडिकल र इन्जिनियरिङ पढेका थिए । सुरेशलाई साइन्स पढ्न मन लाग्यो । अस्कल क्याम्पसमा भर्ना भए । स्कुलमा नजानेरै राजनीति गरेका सुरेशलाई भविष्यमा राजनीति गर्नुपर्ला भन्ने लागेको थियो । साइन्स पढेर गाउँमा मास्टर हुने र राजनीति गर्ने सोच थियो । पञ्चायत सिद्धिहाल्छ भन्ने सोचेका थिएनन् । त्यसैले गाउँमा बसेर पञ्चायतविरोधी राजनीति गर्नुपर्छ भन्ने लाग्यो ।
नेपाली विद्यार्थी संघ र स्ववियूमा नभए पनि उनलाई राजनीति गर्ने विद्यार्थीका रूपमा चिन्थे मान्छेहरू । पञ्चायतमा नेताहरू भूमिगत थिए । विद्यार्थीको काम नेताहरूलाई लुकाउने र भात खुवाउने थियो ।
०४२ मा आईएसी दोस्रो वर्षको पढाइ सकिएको थियो तर परीक्षा हुन बाँकी थियो । मुलुकमा सत्याग्रह शुरु भयो । सुरेश पनि पक्राउ परे । सात दिन हिरासतमा राखेपछि उनी भद्रगोल जेल चलान भए । कागज गरे पुलिसले छोड्दिन्थ्यो तर सुरेशले हस्ताक्षर गरेनन् । राजनीतिक आस्थाको बन्दीका रूपमा उनी भद्रगोलमै रहे ।
जेलमा ११० राजबन्दी भए पनि आईएसीको परीक्षा जेलबाट दिने भने सुरेश एक्लै थिए । सुशील कोइराला पनि उनीसँगै जेलमा थिए । सेतो कुर्ता पाइजामा लगाएर कोठाको वल्लो छेउ र पल्लो छेउ गरिरहने सुशील कसैसँग पनि बोल्दैनथे । पान चपाइरहने उनको हातमा सधैं एउटा पुस्तक हुन्थ्यो । कांग्रेस केन्द्रीय सदस्य सुशील कार्यकर्तासँग बोलेको सुरेशले कहिल्यै देखेनन् । जेठमा जेल परेका सुरेश असोजमा छुटे ।
पञ्चायतविरोधी राजनीति नगर्ने सहपाठीहरूलाई सरकारले छात्रवृत्ति दिएर विदेश पढ्न पठाउँथ्यो । उनको स्कुल, कलेज तथा होस्टल साथी (अहिले विद्युत् प्राधिकरणका प्रवक्ता) प्रबल अधिकारी पञ्चायतविरोधी नभएकै कारण सरकारी छात्रवृत्तिमा भारत पढ्न गए । तर, सरकारविरोधी राजनीति गर्नेहरूका लागि छात्रवृत्तिको ढोका बन्द थियो । सुरेश आईएसीपछि आफैंले पढेको स्कुलमा साइन्स पढाउन सिन्धुली फर्किए । पढाउन थालेपछि उनी कांग्रेस जिल्ला कमिटी सदस्य भए ।
उनी असार–साउनको बिदामा थिए । दाइलाई शायद उनी राजनीतिमा लागेको चित्त बुझेको थिएन, काठमाडौंबाट खबर पढाए, “जागिर खोजिदिएको छु, चाँडो आइज ।”
पत्रकारिता
काठमाडौं आएपछि उनले थाहा पाए, ‘देशान्तर’ साप्ताहिकले संवाददाता मागेको रहेछ । त्यसमा आफैंले सुरेशका नाममा निवेदन लेखेर हालिदिएका रहेछन् दाइले ।
०४३ असारदेखि सुरेश पत्रकारितामा प्रवेश गरे । समाचार लेख्न थाले पनि उनी आफू पत्रकारिताभन्दा राजनीतिमा जम्ने विश्वास गर्थे ।
पत्रकारिता सुरु गरेपछि उनी आरआर कलेजमा बीए भर्ना भए । राजनीतिमा प्रत्यक्ष सहभागी नभए पनि उनलाई राजनीतिप्रति रहर भने थियो । आरआरमा नेविसंघ कमजोर भए पनि स्ववियू निर्वाचनमा प्रतिस्पर्धा भने हुन्थ्यो । केन्द्रबाट आएका नेताहरूले को केमा लड्ने चिटमा लेखेर दिन भने । चेतराज बजाल आरआरको नेविसंघमा सक्रिय थिए । सुरेशले सोचेका थिए– चेतराजले सभापतिमा आकांक्षा देखाउँछन् । यदि दुई जनाले एउटै पदका लागि दाबी गरे छलफलबाट टुंगो लगाउने सहमति थियो ।
“म सभापतिकै प्रत्यासी बन्छु भनेर इच्छा देखाएको थिएँ, चेतराजले सचिव खोज्नुभएछ । त्यसपछि म सभापतिमा लडें,” सुरेश सम्झन्छन्, “अखिलको गड आरआरमा नेविसंघले चुनाव जित्ने कुरै थिएन ।”
किशोर नेपाल ‘देशान्तर’का सम्पादक थिए । उनकै नेतृत्वमा सुरेश काम गरिरहेका थिए ।
माघ ५ गते गणेशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसको सम्मेलन थियो । त्यहाँ भारतीय नेता चन्द्रशेखरले गरेको भाषणको पूर्ण अंश ‘देशान्तर’ले छाप्यो । तर, त्यो अंक प्रेसबाटै सरकारले जफत गर्यो । त्यही अंकबाट ‘देशान्तर’माथि सेन्सरसिप सुरु भयो । पक्राउ पर्ने भयले किशोर नेपाल भागेर दिल्ली पुगे ।
राजेन्द्र दाहाल, शिव अधिकारी र सुरेश थिए । उनीहरूले पत्रिकार तयार गर्थे तर प्रशासनले निकाल्न दिँदैनथ्यो । कमल थापा सञ्चार राज्यमन्त्री थिए । उनले एकदिन चलचित्रको शुभमुहूर्त गरे । त्यसलाई ब्यानर समाचार बनाएर ‘देशान्तर’ले डिजाइन गर्यो । पहिलो पृष्ठमै राशिफल हाले । राशिफल कहिले पनि छापिँदैनथ्यो । गैरराजनीतिक समाचार राखे पत्रिकाको अंक तयार पारे । सेन्सरका लागि आएका सरकारी अधिकारीले नछाप्न निर्देशन दिए ।
उनीहरूले सोधे, “एउटा पनि राजनीतिक समाचार नभएको पत्रिकामा के राजनीति देख्नुभयो र ननिकाल्न भन्नुहुन्छ ?”
जवाफ थियो, “देशान्तर राजनीतिक पत्रिका हो, त्यसैले यसमा राजनीतिक समाचार नछाप्नु अर्को ठूलो व्यंग्य हो ।”
सुरेश घरमै थिए । अफिस पुगेका शिव अधिकारीले उनलाई बोलाए । हरिबहादुर थापा, शिव लगायत ६ जना पञ्चायतविरोधी आन्दोलन हेर्न बिजुलीबजारको सडकमा निस्किए । बानेश्वरबाट आएको पुलिसको गाडी छेउमै आएर रोकियो र झ्यापझुप समातेर ट्रकमा हाल्यो । त्यहाँ एकजना पुलिसले सुरेशलाई देखाउँदै भने, “यो आरआर क्याम्पसको नेता हो ।”
अरुलाई छोडे पनि सुरेशलाई प्रहरीले समातेर लग्यो । सात दिन बग्गीखानामा राख्यो । भीमबहादुर तामाङ पनि सँगै थिए । सुरेशलाई कुन जेल बस्ने भनेर सोधियो । उनले ‘भद्रगोल बस्छु’ भने । फागुन १४ गते पक्राउ परेका सुरेश चैत २५ गते साँझ छुटे । रिंगरोडभरि कफ्र्यु थियो । उनलाई पुलिसले अबेर साँझ चावहिल लगेर छोडिदियो ।
० ० ०
०४५ सालमा पुनर्गठन भएको कांग्रेस जिल्ला कमिटीमा उनी अटाएनन् । उनले त्यसमा गुनासो गरेनन् । कारण– उनी जिल्लाको सक्रिय राजनीतिमा थिएनन् ।
०४७ मा गिरिजाप्रसाद कोइराला पार्टीको महामन्त्री थिए । संगठन गर्दै उनी जिल्ला निस्किए । सिन्धुली पुग्दा त्यहाँ पञ्चायतलाई जोगाउन टुप्पी कसेर लागेका पञ्चायतका जिल्ला सभापति तथा उपसभापति गिरिजाको अघिपछि थिए । त्यो देखेर सुरेशलाई विरक्त लाग्यो । उनलाई लाग्यो– मैले सोचेजस्तो आदर्श रहेनछ राजनीति । आस्था होइन, लाभका लागि राजनीति गरिँदोरहेछ ।
उनलाई जिल्ला कमिटी सचिवमा बस्न अफर नआएको त होइन तर अवसरको राजनीतिबाट टाढै रहन खोजे । कांग्रेसलाई पर्दा उनले सधैं काम गरे । तर, पार्टीको सदस्यता कहिल्यै लिएनन् ।
० ० ०
नगर पञ्चायतले चुंगी कर उठाउँथ्यो । काठमाडौं नगर पञ्चायतले खसीबोका आयात गरेबापत लिएको करविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । त्यो मुद्दामा अदालतले गरेको फैसलाको कपी दिएर किशोरले भने, “यो हेरेर समाचार बनाऊ ।”
सुरेशले समाचार लेखेर किशोरलाई देखाए । उनले नौ पटकसम्म ‘यस्तो पनि लेख्ने हो ?’ भन्दै च्यातेर टोकरीमा फ्याँकिदिए । दशौं पटकमा शायद समाचार राम्रै भएछ– किशोरले बल्ल त्यसमा केही करेक्सन गरेर छापे ।
किशोर, शिव, सुरेशलगायत अधिकांश पत्रकारले एकैपटक ‘देशान्तर’ छाडे । शिवको ‘सुरुचि’ थियो । त्यसलाई साप्ताहिक बनाएर प्रकाशन थाले । साप्ताहिक सुरु भएको केही समयपछि नै आमनिर्वाचन हुने भयो । निर्वाचनमा कृष्णप्रसाद भट्टराईको निकट रहेर ‘सुरुचि’लाई दैनिकका रूपमा पनि निकाले । भट्टराईले चुनाव हारे । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । पार्टीले नै हराएको विवाद चुलिँदै गएपछि कोइराला र भट्टराईबीच तिक्तता शुरु भयो । त्यो तिक्तताले ‘सुरुचि’लाई पनि छाडेन । भट्टराईका पक्षमा रहेको पत्रिका कोइराला प्रधानमन्त्री भएपछि उनकै खेमामै गएर टाँसियो । त्यो चित्त नबुझेपछि किशोर र सुरेशसँगै हरिबहादुर थापा र सुवास ढकालले पनि राजीनामा दिए ।
०४९ मा उनीहरूले ‘स्वतन्त्रता’ पाक्षिक निकाले, जुन नेपालको इतिहासमा आवरण पृष्ठ रंगीन बनाएर छापिएको पहिलो म्यागेजिन थियो । तर, त्यो पनि लामो समय टिक्न सकेन । कलर स्क्यानिङका लागि कलकत्ता पठाउनुपथ्र्यो । कहिले समयमै आउँथ्यो, कहिले आउँदैनथ्यो । ६ अंक निस्किएपछि आर्थिक तथा प्राविधिक कारणले बन्द भयो । त्यसैलाई साप्ताहिक बनाएर श्यामश्वेतमा निकाल्न थाले ।
० ० ०
०५१ सालमा रघु पन्तले रेडियो नेपालको ‘घटना र विचार’मा काम गरिदिन सुरेशलाई आग्रह गरे । कुन्दन अर्याल, शार्दुल भट्टराई र सुरेश भएर ‘घटना र विचार’ सुरु गरे । ०५२ भदौमा सुरेश चीन भ्रमणमा थिए । पत्रकार महासंघको सदस्य हुँदै उनी सचिव भइसकेका थिए त्यो बेलासम्म । सरकार त्यही बेला ढल्यो । आउँदा सरकारसँगै उनको जागिर पनि ढलिसकेको थियो ।
नेपाली दैनिक ‘हिमालय टाइम्स’मा चिफ रिपोर्टर भएर गए । त्यहाँ रहेका साथीहरूले नै उनलाई रुचाएनन् । समाचारको विषयलाई निहुँ बनाएर विवाद गर्न खोजे । कुरा बुझिसकेका सुरेशले ‘तिमीहरूको जागिर चाहिँदैन’ भनेर ६ महिनामै हात झिके ।
श्री आचार्य ‘देशान्तर’ छाडेर ‘लोकपत्र’को सम्पादक भएका थिए । उनले चिफ रिपोर्टरका लागि बोलाए । ‘लोकपत्र’मा उनले एक महिना काम गरे । दिल बसेन । ‘देशान्तर’मा सँगै काम गरेका साथी कृष्ण पोखरेल जापान बसेर केही पैसा कमाई फर्किएका थिए । उनले ‘साप्ताहिक निकाल्छु, तपाईं सम्पादक भइदिनुस्’ भने । सुरेशलाई पनि चित्त बुझ्यो । ‘रविबार’ नाम जुराए । साप्ताहिक पत्रिकाका रूपमा प्रकाशन आरम्भ गरे ।
अनामनगरमा कार्यालय थियो । साप्ताहिकको बजारमा राम्रै उपस्थिति बनाइसकेको थियो ‘रविबार’ले । तर, आर्थिक रूपमा भने कमजोर थियो । ‘रविबार’कै कार्यालयमा ‘तरुण’ साप्ताहिकको पनि कार्यालय थियो ।
प्रधानमन्त्रीले साँझमा कार्यक्रम राखेका थिए । आइतबार पत्रिका निकालेर ढुक्कमा थिए सुरेश । ‘तरुण’ भने सोमबार निस्किन्थ्यो । परेका बेला सुरेशले ‘तरुण’लाई पनि सहयोग गर्थे । त्यसले उनीहरूबीच निकटता बढ्यो । ‘रविबार’ बन्द हुने भयो । उनलाई ‘तरुण’को सम्पादक भइदिन आग्रह आयो । बेरोजगार भएर बस्नुभन्दा काम गर्नु नै उचित । उनले पनि नाइ भनेन् ।
‘तरुण’मा उनी सम्पादकीय र मुख्य समाचार लेख्थे । सुरेश त्यो बेलासम्म प्रशिक्षक भइसकेका थिए । नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)ले उनलाई दिनको ३ हजार रुपैयाँ दिएर प्रशिक्षकका रूपमा लैजान्थ्यो । उनको बाँच्ने मुख्य आधार त्यही थियो । काठमाडौंबाहिर रहँदा पनि उनी सम्पादकीय लेखेर फ्याक्समार्फत पठाउँथे ।
०५९ मा पत्रकार महासंघ सभापतिको कार्यकाल सकियो । उनी फुर्सदिला भए । ‘तरुण’मा सम्पादक भए पनि मासिक रूपमा तलब आउँदैनथ्यो । त्यही बेला ‘इमेज टेलिभिजन’ खुल्ने भयो । ‘रेडियो नेपाल’का कृष्ण केसीले आरके मानन्धरसँग भेटाए । आरकेले टेलिभिजनमा सम्पादकका रूपमा काम गरिदिन भने । ०५९ मा सम्पादकका रूपमा सुरेशका पाइला ‘इमेज च्यानल’तर्फ अघि बढे ।
उनले ‘तरुण’मा काम गर्न छोडे पनि प्रिन्टलाइनमा उनकै नाम सम्पादकको रूपमा छापिन्थ्यो । चण्डी ढकाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भए । सुरेशले बधाई दिन फोन गरे । ढकाल रिसाएर बधाई लिन पनि तयार भएनन् । ढकालले भने, “मलाई त्यसरी गाली गरेर लेख्ने अनि अहिले मलाई नै बधाई दिन फोन गर्ने ?”
सुरेशले प्रिन्टलाइनमा आफ्नो नाम भए पनि त्यसमा आफू संलग्न नभएको स्पष्ट पारे । यद्यपि उनले नैतिक जिम्मेवारी भने लिने बताए । र, पनि ढकालले चित्त बुझाएनन् ।
कुरा बुझ्दा अध्यक्षमा उमेदवारी दिएका अर्का उमेदवारका पक्षमा समाचार लेख्दै ढकाललाई भरमार गाली गरेको रहेछ ‘तरुण’ले । उनले ‘तरुण’मा फोन गरेर भने, “म तपाईंको पत्रिकामा आर्टिकल र छद्म नाम सन्तोष शर्माबाट लेख्दै आएको स्तम्भलाई निरन्तरता दिन्छु तर प्रिन्टलाइनबाट नाम हटाइदिनुपर्यो ।” तर, उनको नाम ‘तरुण’ले हटाइदिएन ।
०६२–६३ को जनआन्दोलन चलिरहेका बेला ०६२ चैतमा कांग्रेस नेता गोपालमान श्रेष्ठले फोन गरेर भने, “सुरेशजी, तपाईं किन तरुणबाट हट्नुभयो ?”
“हैन, म कहिले हटें र तरुणबाट ?” सुरेशले अचम्म मान्दै भने ।
“आज तपाईं तरुणबाट हटेको समाचार छ,” गोपालले भनेपछि बल्ल थाहा पाए सुरेशले । प्रजातान्त्रिक आन्दोलन चलिरहेका बेला आफ्नो नाम एक्कासि हटेकोमा भने खल्लो लागेको सुरेश अहिले सुनाउँछन् ।
०६१ मा ‘इमेज टेलिभिजन’का संस्थापक आरके ‘न्यु दया भिन्तुना’ समारोहका अध्यक्ष भएका थिए । उनी आफू जाने कार्यक्रममा एकजना रिपोर्टरलाई लिएर जान्थे । उनैले आरकेको समाचार लेख्थे । त्यो समाचार खासै हेर्दैनथे सुरेश । ७ बजेको समाचार बजिरहेको थियो । सुरेश ८ बजेको अंग्रेजी समाचारको तयारी गरिरहेका थिए । न्युजरुममा फोनको घण्टी बज्यो । कृष्ण केसीले फोन उठाए । आरकेको फोन रहेछ । उनले भनेछन्, “तिमीहरू दिनदिनै गिरिजा, माधव नेपालको समाचारचाहिँ यति लामोलामो देखाउने, आरके मानन्धरको वर्षमा एकदिन आउने समाचारचाहिँ काटेर झल्याकझुलुक मात्रै देखाउने ?”
फोन राखेर कृष्णले सुरेशलाई भने, “ए हाकिम, तिम्रो साहुले त मलाई गाली गर्यो नि !”
“के भने ?” सुरेशले सोधे । कृष्णले बेलिविस्तार लगाए ।
सुरेशले भने, “चुप लाग, भन्दै गर्छन् ।”
इमेजकै अर्का एकजनाले पनि सुरेशलाई त्यही कुरा सुनाए ।
प्रत्येक दिन आरकेसँग बिहान १० बजे मिटिङ हुन्थ्यो तर त्यो समाचारको विषयलाई लिएर उनले केही भनेनन् । तर, पनि सुरेशलाई लागिरहेको थियो– मैले त समाचारका लागि पो काम गरेको हुँ त, साहुका लागि होइन ।
त्यही बेला एक जनाले ‘कम्युनिकेसन कर्नर’मा जागिरका लागि गोपाल गुरागाईंलाई भनिदिन आग्रह गरिरहेका थिए । सुरेशले फोन गरेर सुनाए । गोपालले भेटेर कुरा गरौं भने । उनी कम्युनिकेसन कर्नर कुपन्डोल पुगे । गोपालले भने, “कहाँ अर्काका लागि काम भन्न आउनुभएको सर, तपाईं आफैं आउनुस्, सँगै काम गरौं ।”
सुरेशले भने, “टेलिभिजनमा काम गरिरहेको मान्छे म, यो त रेडियो पनि हैन, प्रोडक्सन हाउसमात्रै हो । साहुकै काम गर्न त मैले अहिले पनि गरिरहेकै छु । तर, मलाई पनि साहु बनाउनुहुन्छ भने विचार गर्न सक्छु ।”
गोपालले ‘यसमा पनि विचार गर्न सकिन्छ’ भने ।
सुरेश थोरै लगानी गरेर पार्टनसिपमा ‘कम्युनिकेसन कर्नर’ छिरे । गोपालले ‘नेपाल एफएम’को लाइसेन्स लिए । ‘नेपाल एफएम’ले भर्खर लय समात्दै थियो । राजा ज्ञानेन्द्र शाहले राजनीतिक दललाई ‘ओभरटेक’ गरे । एफएममा समाचार दिन रोक लगाइयो । अब के गर्ने ?
आरके मानन्धर सुरेशलाई बोलाइरहन्थे । चिया खाजा खाएर लामो समय गफ गर्थे । आरकेले भने, “तपाईंले चलाउँदै आएको टक शो समयचक्र चलाउनुस् ।”
काम छैन । ठीकै त हो । तर उनले शर्त राखे, “चलाउन त चलाउँछु तर हिजो न्युज चिफ हुँदा जति पैसा पाउँथें, त्यो पाउनुपर्छ ।”
आरके मञ्जुर भए । सुरेश ०६२ बाट पुनः इमेज भित्रिए ।
दशैंको बिदा भयो । अधिकांश स्टाफ बिदा बसेका थिए । कृष्ण केसी चीन गइसकेका थिए । मोहन सिंहले समाचार हेरिरहेका थिए । उनी आमा बिरामी भएकाले आउन नभ्याउने भए । आरके बैंकक जाँदै थिए । आरकेले भने, “अरु नआउन्जेल तपाईंले समाचार हेरिदिनु पर्यो ।”
केही दिनका लागि भनेर गएका सुरेशले ०६३ सम्म त्यहीँ काम गरे ।
‘उज्यालो नेटवर्क’ रेडियो शुरु हुने भयो । गोपाल गुरागाईंले बोलाए । पहिलो दिनदेखि नै उनी ‘उज्यालो’मा गए ।
०६४ मा श्रमजीवी पत्रकारसम्बन्धी ऐन संशोधन भयो । कार्यान्वयनमा लैजान न्यूनतम पारिश्रमिक तथा क्षतिपूर्ति निर्धारण समिति थियो । त्यो संशोधनको प्रक्रियामा थियो । त्यसमा बसेर काम गरिदिन सञ्चार मन्त्रालयले आग्रह गर्यो । ऐन संशोधन भयो । नाम परिर्वतन भएर पारिश्रमिक निर्धारण समिति भयो । उनले ‘निस्किन्छु’ भने तर फेरि समितिको अध्यक्षमा उनलाई सञ्चार मन्त्रालयले नियुक्त गर्यो । त्यसपछि उनले ‘उज्यालो’ छाडे । त्यससँगै उनको सक्रिय पत्रकारिता टुट्यो । ‘अन्नपूर्ण’ दैनिकमा लामो समय स्तम्भ लेखेका सुरेश अहिले पनि ‘नागरिक’, ‘गोरखापत्र’ र ‘तरुण’मा स्तम्भ लेख्छन् ।
न्यूनतम पारिश्रमिकको काम सकिएपछि उनैले ‘ग्रुम’ गरेका शुभशंकर कँडेलले खोलेको ‘एबीसी टेलिभिजन’मा पहिलो संविधानसभा अवधिभर ‘मिसन संविधानसभा’ चलाए । पहिलो संविधानसभा फेल भएपछि उनले त्यो कार्यक्रम बन्द गरे । ‘इमेज च्यानल’मा चलाएको ‘समयचक्र’लाई निरन्तरता दिए ।
शुभशंकरले सुरेशलाई पटक–पटक सम्पादक भइदिन कर गरे पनि उनले मानेका थिएनन् । ‘विचार मिल्दैन’ भनेर पन्छिन खोजे पनि विचारले समाचार कक्षमा प्रवेश पाउँदैन भनेपछि उनी ०७३ चैतबाट सम्पादकका रूपमा ‘एबीसी टेलिभिजन’ प्रवेश गरे ।
०७४ भदौमा टेलिभिजनको वार्षिकोत्सव थियो । त्यहाँ उनले पत्रकारितासम्बन्धी लामो भाषण गरे । त्यो भाषण गरेपछि उनलाई अब त्यो संस्थामा बसिरहनु अनुचित लाग्यो । उक्त कार्यक्रमको डिनरसम्म पनि नबसी सुरेश त्यही साँझ शुभशंकरसँग बिदा मागेर हिँडे ।
अहिले सुरेश ‘नेपाल टेलिभिजन’ पुगेका छन् । समयको चक्रले उनलाई विभिन्न सञ्चारका विभिन्न माध्यममा पुर्यायो । तर, उनले ‘समयचक्र’लाई भने छाड्न सकेनन् । यही माघबाट उनी ‘समयचक्र’ चलाइरहेका छन् ।
द्वन्द्वमा सेतु
०५६ मा कुनै पनि पार्टीबाट टिकट नलिई उनले व्यावसायिक उमेदवारका रूपमा पत्रकार महासंघको सभापतिमा उम्मेदवारी दिए । कांग्रेसनिटक तेजप्रकाश पण्डित र एमालेनिकट गोपाल थपलियालाई पराजित गरे ।
आफूले उठाएका उमेदवारले चुनाव हारेर तिलमिलाएपछि तत्कालीन एमालेका जल्दाबल्दा नेता प्रदीप नेपालले लेखमा लेखे, “पत्रकारहरू विचारशून्य हुँदैनन् । महासंघमा जुन खालको नेतृत्व आएको छ, त्यसले पत्रकारहरूलाई नेतृत्व दिन सक्दैन ।”
स्वतन्त्रबाट लडेर जिते पनि कसैले सुरेशलाई माओवादी देख्थे, कसैले शेरबहादुर देउवाको मान्छे भन्थे । तर, रमाइलो के भने देउवा उनलाई चिन्दैनथे । देउवा त्योबेला थापाथलीस्थित भरत शमशेरको घरमा बस्थे । पत्रकार महासंघको चुनावका बेला भोट माग्न उनी त्यहाँ जाँदा देउवाले भने, “हैन, यो महासंघ भनेको के हो ? बिहान पनि एकजना आउनुभएको थियो, अहिले तपाईं पनि आउनुभयो ।”
सुदूरपश्चिमका पत्रकारलाई भनिदिन भनेर सुरेश गएका थिए । सुरेशलाई सुदूरपश्चिमबाट जम्मा एक भोटमात्र खस्यो ।
एकदिन ‘तरुण’का परशु घिमिरेले भने, “शेरबहादुर दाइले बोलाउनुभएको छ, जाऊँ ।”
“किन ?” सुरेशले सोधे ।
“जाऊँ न, मलाई पनि थाहा छैन,” परशुले भने ।
मावोदीसँग वार्ता गर्न कृष्णप्रसाद भट्टराईले बनाएको उच्चस्तरीय वार्ता समितिको संयोजक थिए देउवा । समय निकै घर्किसकेको थियो । सरकारले देउवालाई संयोजक बनाएपछि माओवादीले ‘क. अशोकलाई संयोजक बनाइएको’ विज्ञप्ति जारी गरेको थियो । तर, वार्ता भने भएको थिएन ।
“देउवालाई सहयोग गर्नेमध्ये दुर्गा सुवेदी पनि एकजना रहेछन् । सुवेदीले एकदिन क. अशोक भन्ने यही मान्छे हो भनेर कसैलाई देउवाकोमा लिएर गएछन् । तर ती व्यक्ति माओवोदी पो रहेछन्,” सुरेशले देउवालाई उद्धृत गर्दै सम्झिए, “देउवाले त्यो मान्छे अशोक नभएको भन्दै मलाई आग्रह गर्नुभयो– माओवादीसँग तपाईंको सम्पर्क छ रे ! उनीहरूसँग वार्ता गर्नुप¥यो । तपाईंले भेटाइदिनु पर्यो ।”
सुरेशको दिमागमा खेल्यो– मलाई अरुले देउवाको मान्छे भन्थे, देउवाका नजरमा मचाहिँ माओवादी रहेछु ।
देउवाले आग्रह त गरे तर सुरेश माओवादी कसैलाई पनि चिन्दैनथे । उनले गोविन्द आचार्य, महेश्वर दाहाल, ओम शर्मालाई मात्रै चिन्थे ।
सुरेश महासंघको महासचिव हुँदा पत्रकारमाथि धरपक्क भइरहन्थ्यो । त्यसको विरोध गर्दै सुरेश विज्ञप्ति जारी गर्थे । त्यसले माओवादीहरू उनीप्रति सकारात्मक देखिन्थे । सरकारी अधिकारीहरू भने माओवादीको पक्षमा वकालत सम्झन्थे ।
गोविन्द आचार्य, महेश्वर दाहाल, ओम शर्मासँग सम्पर्क भए÷नभएको सुरेशले देउवालाई केही भनेनन् । ‘म कोसिस गरौंला’ भनेर फर्किए ।
महेश्वरलाई फोन गरेर देउवाको आग्रह सुनाए । महेश्वरले आफ्नै प्रयासमा कृष्णध्वज खड्कालाई लिएर आए । तत्कालीन समयमा उनी अखिल क्रान्तिकारीको अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य थिए । महाबौद्धभित्रको एक लजमा बस्दा रहेछन् । त्यहाँ सुरेशसँग भेट भयो ।
सुरेशले देउवालाई फोन गरेर भने, “म एकजना मान्छेलाई लिएर आउँछु । घरमा कोही छ भने खाली गर्नुस् ।”
साँझ उनीहरू देउवाकोमा पुगे । त्यसपछि कृष्णध्वजका मान्छेहरू विभिन्न समयमा केही न केही सन्देश लिएर सुरेशलाई भेट्न आउँथे । “त्यसरी आउनेमा शालिकराम जम्मकट्टेल पनि रहेछन् । पछि माओवादी खुला राजनीतिमा आएपछि उनैले भने अनि बल्ल चिनें,” सुरेशले सुनाए ।
कृष्णध्वजले एकपटक रवीन्द्र श्रेष्ठलाई लिएर आए । देउवासँग उनको भेट यो । रवीन्द्र त्यो समय प्रचण्डका विश्वासपात्र थिए ।
देउवा संयोजकत्वको समिति कार्यालय सातदोबाटोमा थियो । प्रकाशशरण महत सदस्य–सचिव थिए । रवीन्द्र, कृष्णध्वज, शेरबहादुर र सुरेशबीच वार्ता भयो । पछि रवीन्द्र र शेरबहादुरले ‘वन टु वन’ वार्ता गरे ।
त्यो वार्तालाई सार्वजनिक गर्ने कि नगर्ने भनेर छलफल भयो । ‘वार्ता गर्दै जाने सहमतिमात्रै भयो भनेर त के विज्ञप्ति जारी गर्नु, नगरौं’ भन्ने निर्णय भयो ।
त्यो बेला गिरिजाप्रसाद कोइरालाको सरकार बनिसकेको थियो । गृहमन्त्री रामचन्द्र पौडेल थिए । केही दिनमा रवीन्द्रले रामचन्द्र पौडेलसँग भेट गरे । पक्राउ परेका ट्रेड युनियनका दुई नेता छुटाए । त्यसपछि माओवादी सम्पर्कमा आएनन् । वार्ता प्रक्रिया अगाडि बढेन । पहिलो चरणमा माओवादीसँग भएको वार्ता गर्भमै रह्यो, कसैले थाहै पाएन ।
०५८ मा देउवा प्रधानमन्त्री हुँदै थिए । त्यसका लागि संसदीय दलको नेतामा निर्वाचित भए । नेतामा चुनिएकै दिन बाजुराको प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले १२–१३ जना प्रहरीको ज्यान लियो । त्यसको भोलिपल्ट इजिप्टको दूताबासमा ‘रिसेप्सन’ थियो । त्यहाँ भावी प्रधानमन्त्रीका रूपमा देउवा गएका थिए । त्यही ‘रिसेप्सन’मा सुरेशलाई पनि निम्ता थियो । सुरेशलाई लागातार फोन आयो तर उठाउन सकेनन् । फर्किंदा उनले सानेपामा चिनेको साथीको अफिसबाट कलब्याक गरे । फोन गर्ने गोविन्द आचार्य रहेछन् ।
उनले भने, “भावी प्रधानमन्त्रीका तर्फबाट स्टेटमेन्ट आएछ । त्यो अधुरो छ । हिजो राति जुन घटना भयो, त्यो देउवाप्रति लक्षित नभएर कोइरालाप्रति थियो । अब यस्तो आक्रमण १२–१३ ठाउँमा हुन्छ । आज राति भएन भने केही दिनमा हुन्छ । र, त्यसको जिम्मेवारी माओवादीले लिँदैन ।”
शेरबहादुर देउवाले कस्तो स्टेटमेन्ट जारी गरेका थिए, सुरेशलाई थाहा थिएन । उनले देउवाका स्वकिय सचिवलाई फोन गरेर ‘देउवा कहाँ हुनुहुन्छ ?’ भनी सोधे । देउवा जावलाखेलस्थित आफ्नो ससुराली गएका रहेछन् । खोज्दै सुरेश त्यहीँ पुगे । भावी प्रधानमन्त्री देउवा एक्लै बसिरहेका थिए ।
देउवाले सोधे, “हँ के भयो ?”
सुरेशले भने, “कस्तो स्टेटमेन्ट जारी गर्नुभएको थियो ?”
“खोई, स्वकीय सचिवले के लेख्यो मलाई थाहा छैन, उसैलाई थाहा होला,” देउवाले भने ।
वार्ताका लागि आह्वान गर्छु भनेर एक लाइन स्टेटमेन्ट दिइएको रहेछ । उनले गोविन्दले भनेका कुरा सुनाए । सरकारले वार्ताका लागि युद्धविराम घोषणा गर्नुपर्ने सुनाए । देउवाले भने, “मैले दिने स्टेटमेन्ट दिइसकेँ । उनीहरूका तर्फबाट आओस् अनि फेरि सरकारले जारी गर्छ भनिदनुस् ।”
सुरेशलाई समस्या प¥यो । भने, “ठीकै छ, म कुरा गर्छु । तर आज नै यो सबै भइसक्नुपर्छ ।”
महासंघको कार्यालय आएर गोविन्दलाई फोन गरे । गोविन्दले भने, “हैन, पहिला सरकारबाट आउनुपर्छ अनिमात्रै हामी युद्धविराम घोषणासहितको स्टेटमेन्ट जारी गर्छौं ।”
देउवा फोन नबोक्ने । कसरी भेट्ने ? समय घर्किन लागिसकेको थियो । सुरेश आफैंले सरकारका तर्फबाट ‘सरकारले युद्धविराम घोषणा गर्दै माओवादीलाई पनि युद्धविराम घोषणा गरेर वार्तामा आउन आग्रह गर्छ’ भन्ने आशयको विज्ञप्ति तयार पारे । उनले गोविन्दलाई फोन गरेर सरकारका तर्फबाट यस्तो घोषणा आउँछ भनेर सुनाए । अनि सोधे, “माओवादीले कस्तो स्टेटमेन्ट जारी गर्छ ?”
गोविन्दले भने, “मैले पनि सल्लाह गर्नुपर्छ, एकछिन है ।”
गोविन्दले थप केही समावेश गर्न आग्रह गरे । सुरेशले त्यो पनि थपे । ५ बजिसकेको थियो । देउवाका स्वकीय सचिव रतन ऐरलाई फोन गरे । उनलाई पनि थाहा रहेनछ । पत्ता लगाएर कल गर्छु भने । देउवा विजयकुमार गच्छदारको ससुराली सानेपा पुगेका रहेछन् । सुरेश त्यहीँ पुगे । ७ बजिसकेको थियो ।
पुग्दा सरकार बनाउन छलफल भनेर तीन दर्जनभन्दा धेरै कांग्रेस नेता एकै ठाउँमा भेला भएका थिए । खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्लेलगायतका नेता थिए । किरिया बसेका बलबहादुर केसी पनि सेतो कपडामै त्यहीँ भुइँमा बसिरहेका थिए । सुरेशलाई देख्नेबित्तिकै देउवाले थाहा पाइहाले । एकछिन दुईजनाबीच छुट्टै कुरा भयो । उनले स्टेटमेन्ट देखाए । माओवादीबाट आएको प्रतिक्रिया पनि सुनाए ।
देउवाले साथीहरूसँग पनि छलफल गरौं भने । अनि त्यहाँ जम्मा भएका सबैलाई सुनाए । कोही पनि बोलेन । एकछिनपछि एकजनाले भने, “माओवादीले यसअघि पनि धोका दिइसकेको छ । यसो गर्नु हुँदैन, फेरि धोका पाइन्छ ।”
“ठीक छ, मलाई केही छैन । सरकारको कुरा हो । म माओवादीलाई सरकारका तर्फबाट केही आउँदैन, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस् भनेर खबर गर्दिन्छु भनेँ र हिँडे,” सुरेश देउवासहितका नेतासँगको संवाद सम्झिँदै भन्छन्, “देउवाले मलाई रोक्दै भन्नुभयो– धोका दिए दिन्छ । सरकार स्टेटमेन्ट जारी गर्छ ।”
‘रेडियो नेपाल’को समाचार शुरु भइसकेको थियो । ‘रेडियो नेपाल’मा शैलेन्द्र शर्मा कार्यकारी निर्देशक थिए । देउवाले फोन गरेर भने, “सरकारसँग एउटा स्टेटमेन्ट छ, टिप्नुस् ।”
‘भर्खरै प्राप्त समाचारअनुसार प्रधानमन्त्रीले युद्धविराम आह्वान गर्नुभएको छ’ भनेर समाचार प्रसारण भयो ।
कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र अग्निप्रसाद सापकोटा वार्तामा आए । सुरेशले भेटेनन् । माओवादीले दमननाथ ढुंगाना र पद्मरत्न तुलाधारलाई मध्यस्तकर्ताको प्रस्ताव गर्यो ।
पहिलोपटकको वार्ता भंग भयो । पछि फेरि महराले सुरेशलाई फोन गरेर भने, “वार्ताबारे प्रधानमन्त्रीको के धारणा छ, बुझिदिनु पर्यो ।”
सुरेशले भने, “एकपटक भेट भइसक्यो, अब आफैं कुरा गर्नुस् ।” तर महराले मानेनन् । देउवाकै निवास पुगेर फोन संवाद गराइदिए ।
फोन सम्पर्कपछि देउवाले सुरेशलाई सोधे, “यो कुरा राजालाई भन्ने कि नभन्ने ?”
सुरेशले भने, “तपाईं नभने पनि राजाले आफ्नै स्रोतबाट थाहा पाइहाल्छन्, त्यसैले भन्नुस् ।”
“अनि एमालेलाई ?”
“सत्तासाझेदार हो, भन्नैपर्छ ।”
सुरेश कार्यालय पुगेका थिए । महराले फोन गरेर सोधे, “वार्ताबारे सरकारको धारणा के रहेछ ?”
सुरेशले सोधे, “वार्तामा तपाईंहरूको बटमलाइन के हो ?”
महराले भने, “गणतन्त्र र संविधानसभा ।”
सुरेशले भने, “यो दुइटै कुरा देउवाबाट सम्भव हुदैन । राजाका प्रधानमन्त्री भएकाले गणतन्त्रको कुरा लिएर उनी ज्ञानेन्द्रसँग जान सक्दैनन् । संविधानसभामा पनि उनले सहमति जनाउन सक्दैनन् । यो मुद्दामा वार्ता प्रारम्भ गर्न र छलफल गर्न भने तयार होलान् । तर, ठूलो आशावादी भने नहुनू ।”
पत्रकारहरूले राजालाई भेटिरहेका थिए । कोही दर्शनभेटका लागि आफैं समय मागेर भेटिरहेका थिए । कसैलाई बोलाएर आफैं भेटिरहेका थिए ।
०५८ जेठमा ज्ञानेन्द्र राजा भएका थिए । संवाद सचिवले फोन गरेर बोलाए । पहिलोपटक उनी संवाद सचिवालय पुगे । राजाले भेट्न खोजेको बताए । उनले सीभी पठाइदिन पनि भने । सुरेशले भने, “म बिन्तीपत्र हालेर राजालाई भेट्दिनँ । मलाई तपाईंले चिन्नुभएको छैन र सीभी माग्नलाई ?”
मंसिरमा तिनै व्यक्तिले सुरेशलाई भने, “तपाईंले हामीलाई पत्याउनुभएन ।”
सुरेशले भने, “मैले हैन, तपाईंले मलाई नपत्याएको हो । बिन्तीपत्र चढाएर भेट्न मलाई आवश्यक थिएन, त्यसैले भेटिनँ ।”
संकटकाल घोषणा भइसकेपछि दरबारबाट फोन आयो, उनी निर्मल निवास पुगे । ज्ञानेन्द्र ट्र्याकसुटमा बगैंचाको प्लास्टिक कुर्सीमा बसिरहेका थिए ।
ज्ञानेन्द्रले सोधे, “सुरेश के छ ?”
“मेरो त केही छैन, म त राजाका कुरा सुन्न आएको,” सुरेशले निर्धक्क भने ।
ज्ञानेन्द्र धाराप्रवाह बोल्न थाले । बीचबीचमा प्रश्न पनि गरे । सुरेशले ज्ञानेन्द्रलाई भने, “राजनीतिक रूपमा समस्या समाधान भएन । अब सेना परिचालन भयो । तपाईंलाई लाग्छ संकटकाल माओवादी समस्याको समाधान हो ?”
जवाफमा ज्ञानेन्द्रले भने, “मेरो सेना ब्यारेकबाट निस्किएको छ । काम फत्ते नगरी फर्किंदैन ।”
० ० ०
सुरेशले पत्रकार भएर समाचारमा कलममात्रै चलाएनन्, द्वन्द्वका बेला मुुलुकलाई युद्धको चपेटाबाट निकाल्न सरकार र माओवादीबीच सम्पर्क सेतुको काम पनि गरे । भलै त्यो कुरा सार्वजनिक फोरममा उनले कहिल्यै भनेनन् र त्यसको क्रेडिटका लागि दौडधूप पनि गरेनन् । अहिले उनी सानैदेखिको रहरको बाटोमा हिँडिरहेका छन् । शेफर्ड कलेजमा प्रिन्सिपल छन् । पत्रपत्रिकाहरूमा लेख पनि लेखिरहन्छन् ।