विवस्त्र रामायण

विवस्त्र रामायण

– अर्चना थापा


एकाएक मधेस बन्दको सूचनाले सबै बाटामा अलपत्र परे । एउटा ट्रक र दुई मोटरसाइकल जलाइयो भन्ने समाचार आएपछि प्रहरीले सार्वजनिक र व्यक्तिगत यातायातका साधनलाई बाटोमा रोक्न थाल्यो । 

जनकपुर पुग्न हतारिएको लक्ष्मणलाई बाटो अवरूद्ध भएको समाचारले खासै फरक पारेन । बरू उसलाई माइक्रोबस एकछिन कतै चिया खान रोके हुन्थ्योजस्तो लाग्दै थियो । कलङ्कीबाट छुटेको बस साँझ निकै ढिलो हिँडेको थियो । 

चालकले माइक्रो हुइँकाउँदै ल्याएको थियो । 

साँधेको गुन्द्रुकजस्तो गुजुल्टो टाउकामा सिँगारेको नाडीमा रङ्गीचङ्गी फुर्का बाँधेको, कानमा माछामुन्द्रा झुन्डाएकोे चालकले नागबेली राजमार्गको अँध्यारोमा गाडी बेतोडले हाँक्दै ल्याएको थियो । निष्पट्ट अँध्यारोमा एउटा कुनाबाट अर्को कुनासम्म उफार्दै सम्पूर्ण राजमार्गलाई आफ्नो बाउको पैतृक सम्पत्ति दावी गरेजस्तै थियो उसको गाडी हँकाइ । हुइँकाइ देखेर लक्ष्मणको हंसले ठाउँ छाडेको थियो ।

“यसले भोलि समाचारपत्रमा ठाउँ ओगट्न खोज्या हो कि क्याहो ?”

उसले चालकलाई धेरैचोटि भन्यो, “ए भाइ, अलि बिस्तारै चलाऊ न !” तर यम बुद्धको ¥याप घन्काएर स्पिड हानेको माछामुन्द्रेले उसको कुरा सुने पनि नसुनेजस्तो ग¥यो । 

“यम बुद्धको गीत घन्काएको छ । यमपुरी पुग्ने हतारोजस्तो छ । राम... राम... आज भने पक्कै कालफन्दामा परियो ! हैट, यसको हातमा आफ्नो दुई मुठी सास बन्धकी राख्न प¥यो । पेट्रोलको जोहो हुन नसकेर हो, नत्र आफ्नै गाडीमा आइन्थ्यो । एकतर्फी बाटोलाई पुग्ने पेट्रोल भए पनि सजिलै आफ्नो गाडीमा आइन्थ्यो होला ।” लक्ष्मणलाई लाग्नुसम्म बिस्मात लागेको थियो ।

लालगढ पुग्दा प्रहरीले गाडी रोकेपछि बल्ल ज्यान जोगियो भन्ने भयो ।

“अब बन्दसन्द नखुलेसम्म यतै बस्नुपर्ने भयो । अरु केही गर्न सकिन्न । तपैंहरू ओर्लिनोस् । भातसात खानोस् । खैनीसैनी चुरोटसुरोट खानोस् । तर जाँ बसे नि बाटोतिर ध्यान गर्नोस् । त्यसै ढिलो भा’छ । बाटो खुल्ने बित्तिकै सुइँकुच्चा ठोक्ने हो । हामी तपैंलाई कुरेर, खोजेर बस्दैनौँ । अहिले नै भन्द्या छ ।” चालकका कुरा नसकिँदै यात्रीहरू फुतुफुतु बाहिर निस्कन थाले । कोही बाटाछेउ उभिएर रमिता हेर्न थाले । कोही नजिकका पसलमा छिरे ।

“आउँदो हप्ता होली छ । यात्रु सुविधालाई ध्यानमा राखेर केही घण्टाको लागि बन्द खोलिन्छ रे,” गाइँगुइँ हल्ला चल्दै थियो ।

लक्ष्मण उभिएको छेउमा केही पक्की घर र जस्तापाताले छाएका चिया र खाना खाने ठाउँहरू देखिए । उसका आँखा गाढा निलो रङको दुईतले पक्की घरमाथि झुन्डिएको ‘ध्रुवेको हुटेल’ लेखेको बोर्डमा प¥यो । अरु ठाउँभन्दा त्यहाँ बढी भीड देखियो ।

ऊ ‘ध्रुवेको हुटेल’ लेखेको रेस्टुरेन्टभित्र पस्यो । साहूजस्तो देखिने व्यक्ति ग्राहक बस्ने व्यवस्था मिलाउँदै थिए । एउटाले ठाउँ छाड्ने बित्तिकै अर्कोले ओगटिहाल्थ्यो । एउटी महिला क्याल्कुलेटरमा ग्राहकको हिसाबकिताब गर्न व्यस्त देखिन्थिन् । “साहुनी होलिन्,” लक्ष्मणले लख काट्यो ।

एउटा कुनाको खाली ठाउँ देखेर बस्यो ऊ । टेबल सफा गर्न आएको सानो केटोलाई नेपाली थाली अर्डर ग¥यो । खाना आउन्जेल वरपर नजर घुमायो । उसको आँखाअगाडिको टेबलमा बसेर ल्यापटप चलाउँदै गरेकी एक्लै युवतीमाथि प¥यो । रेस्टुरेन्टको गल्याङमल्याङसित कुनै सरोकार नराखी ऊ आफ्नै काममा डुबेकी थिई । 

एकैछिनमा लक्ष्मणको खाना आयो । किस्तीमा मासुका कचौराहरू बोकेर घुमाउँदै ल्याएका साहूले लक्ष्मणको टेबल नजिक आएर ‘कुखुरा कि खसी ?’ सोधे । लक्ष्मणले ‘खसी’ भनेर टाउको हल्लायो ।

लक्ष्मणको ध्यान आफ्नो खानाभन्दा अगाडि बसेकी युवतीमा थियो । “टुँडिखेलजस्तो खैलाबैला भएको यो ठाउँमा बसेर के लेख्दै होला ! एक्लै हो वा परिवारसित आएकी हो ?”

एक त युवती ! त्यो पनि एक्लै बसेकी ! युवती परिचितजस्तो पनि लागी । उसको ध्यान घरिघरि उतै तानिएको थियो । शायद टिभीमा देखेको हो ? कुनै कार्यक्रममा देखेको हो कि ? ठम्याउन सकेन । खाना सकेर ऊ उठ्यो ।

“दिउँसोसम्म जनकपुर पुग्न पाएको भए अलिकति भए पनि काम भ्याइन्थ्यो होला ! लालगढबाट जनकपुर टाढा छैन । यो बन्द लामो समयसम्म चलिरह्यो भने बर्बाद हुन्छ ।”

काम बन्ने ठूलो आशा लिएर काठमाडौँबाट हिँडेको थियो ऊ । बन्द खुल्ने प्रतीक्षा गर्नुबाहेक ऊसित अरु विकल्प थिएन । 

रेस्टुरेन्टबाहिर घाम चर्किन थाल्यो । तैपनि गर्मी बढेको थिएन । गाडी रोकेको छेउछाउमा रुखहरू भएकाले अलिअलि चिसो थियो । ऊ माइक्रोभित्र पस्यो । पछाडिको सिटमा पल्टेर निदाउने कोसिस गर्न थाल्यो । माछामुन्द्रेको गाडी हुइँकाइले बाटाभरि मुटु थर्किएर आँखा झिमिक्कसम्म गरेको थिएन । माइक्रोभित्रको नीरवता र भातेनिद्रा मिलेर उसलाई घुप्लुक्क छोपे ।

ध्रुवेको हुटेलभित्र बसेकी मिनाक्षीलाई अचानक जाडो लागेजस्तो भयो । मनले डबल एक्प्रेसोको फर्माइस ग¥यो । हुन त एक घन्टाअघि ‘कफी पाइन्छ ?’ भनेर साहुनीलाई सोध्दा उसले आफ्नो अपमान भएजस्तो गरी अनुहार खुम्च्याएकी थिई । लप्सीका गेडाजस्ता आँखा तरेर ‘अहिले चा, कफी केही पाइँदैन’ भन्दै झर्केकी थिई । डबल एक्प्रेसोको विकल्प नभेटेपछि उसले मनलाई थुम्थुमाई । 

ल्यापटपमा पढ्दै गरेको आत्मकथाको पाण्डुलिपिले उसलाई अचम्मसित तानेको थियो । लन्डनको प्रतिष्ठित प्रकाशनगृहले दुई हप्ताअघि उसलाई एउटा पाण्डुलिपि पढेर प्रतिक्रिया दिन अनुरोध गरेको थियो । प्रकाशनगृहको जागिर छाडिसके पनि त्यहाँ रहेका साथीहरूले कहिलेकाहीँ उसलाई पाण्डुलिपि पढ्न दिएर पाठकीय सल्लाह लिन्थे ।

“सरी, अहिले म आफ्नो लेखनमा व्यस्त छु । पढ्न भ्याउँदिन,” आफ्नो असमर्थता जाहेर गरेकी थिई । 

तर पछि लेखकको नाम थाहा पाएर आफ्नो कुतूहलता रोक्न सकिन ।

धैर्यता र सहनशीलताको लागि दिइने ब्रह्माण्ड तितीक्षा (सहनशीलता) पुरस्कार जितेकी तथा आर्यनारी मर्यादाकी मोडेल मैथिलीको आत्मकथाबारे थाहा पाउनेबित्तिकै उसले तुरून्तै इमेल लेखी, “म पढेर सुझाव दिन तयार छु ।”

लगत्तै प्रकाशनगृहले उसलाई पाण्डुलिपिका केही अंश इमेल गरेको थियो । 

डबल एक्प्रेसो तलतलले मिनाक्षीको एकाग्रता बिथोल्दै थियो । तर, उसले आफ्नो ध्यान अङ्ग्रेजीमा लेखेको आत्मकथाको पाण्डुलिपिमा केन्द्रित गरी...

प्रेतविधिज्ञः मैथिली आघात अनुभव

आत्मकथा लेख्छु भनेर कहिल्यै चिताइनँ । तर आज आफ्ना पाठकहरूलाई नै मनोचिकित्सक र मनोविश्लेषक मान्दै आफ्नो आघात अनुभूति लेख्ने दुस्साहस गर्दै छु । मेरा आघात अनुभवलाई लेख्ने विचार थिएन । तर, भूतकालका प्रेतले मलाई वर्तमानमा लखेट्न थाले र मलाई आफ्नो कथा लेख्न बाध्य बनाए । 

दुईवटा उद्देश्य लिएर म यो आत्मकथा लेख्दै छु । 

पहिलो, मलाई तर्साउने प्रेतहरूलाई सेलाउन चाहन्छु । तसर्थ यसको शीर्षक प्रेतलाई सेलाउने विधिवत यज्ञ, अथवा भनौँ, प्रेतविधिज्ञ राखेकी छु । साथै स्वीकार गर्छु कि पीडा अनुभवलाई भाषामार्फत व्यक्त गर्नु अत्यन्त जटिल कार्य हो । मलाई थाहा छ मनका घाउलाई अक्षरसागरले पनि देखाउन सकिँदैन । तर पनि व्यक्त गर्ने प्रयास गर्दै छु । 

दोस्रो उद्देश्य, मेरा जीवनका सन्दर्भ र प्रसङ्गहरू थुप्रै नारीका लागि पाशबन्ध (पासो) बने । मेरो उदाहरण दिएर जुन स्वानीमानिसलाई ‘मौन अनुयायी’ र ‘भर्ता–प्रतिच्छाया (पतिको छाया सरहको पत्नी अस्तित्व)’ बनाइयो उनीहरूसित म माफी माग्दै छु । उनीहरूमाथि भएका समरूप अस्तित्व दमनमा धेरै हदसम्म मेरो मौनता पनि दोषी छ । मेरो मौनतालाई सर्वकालीन स्वीकृत बनाएर अथ्र्याउँदा पनि म मौन रहेँ, जुन कालान्तरमासम्म स्वास्नीमानिसहरूका लागि पीडक र उत्पातक बन्न पुग्यो । 

मेरो जीवन श्री कौशल्यासुत रामानन्दजीकी सहधर्मिणी अथवा भनौँ भर्ता–प्रतिच्छाया बनेर बित्छजस्तो लागेको थियो । एक पत्नी निष्ठावानकी भार्या– रामजाया ! अहिले सुन्दा कम्ता हास्यास्पद लाग्दैन यो परिचय ।

श्री रामानन्दजीसित विवाह भएपछि सबैले भनेका कुरा एउटै सारका हुन्थे, “तिमी त कति भाग्यमानी ! ओहो, यस्तो पति पाउनु त भाग्यको कुरा हो । अब तिमीलाई अरु के चाहिन्छ र ? अबदेखि पतिको सुख तिम्रो सुख र पतिको दुःख तिम्रो दुःख ।” यस्तै उपदेशको कोसेली बोक्नै नसक्ने भारी बनाएर भिराइएको थियो । 

कहिलेकाहीँ कुरा मनमा बिज्थे, “के मेरा पतिलाई पनि उनका परिवारजनले यस्तै सल्लाह दिन्छन् होला ? के मजस्तो भार्या पाउनु उनको भाग्यको कुरा होइन ? आफ्नो घरपरिवार, नाताकुटुम्ब, साथीसङ्गी छाडेर पतिको घर आएकी मेरो हैसियत के सेविका हुनुमात्रै थियो ? बिरानो परिवेशमा मेरो इच्छा, चाह, रूचि र अरूचिको अर्थ थियो वा थिएन ?

हाम्रो दाम्पत्य जीवनबारे सर्वस्तुत्य ग्रन्थ रचिने कुरा चल्दै थियो । समयलाई अलौकिक कथा चाहिएको थियो । समाजलाई कालजयी आदर्श नायक र नायिकाको खाँचो थियो । साधारण कथाको असाधारण लेखनमार्फत मेरो काल्पनिक स्वरूप निर्माण हुँदै गयो । 

आफ्नो अलौकिक चित्रणमा रम्दै म आफूलाई बिर्सिंदै गएँ । अग्रजका उपदेश, विचार र विश्वदृष्टिले मलाई गाल्दै गए । पग्लिँदै गएँ मैन पग्लेसरह र ढल्दै गएँ नयाँ स्वरूप, आचारविचारमा । थाहा नपाउँदै मेरो आफ्नो भन्ने केही बाँकी रहेन । आफ्नो पतिको पछि हिँड्ने मौन छायामा परिवर्तित भएकी आफैंलाई जानकारी भएन ।

यो आत्मकथा लेख्न बस्दा मेरा काल्पनिक र वास्तविक दुवै स्वरूप आज मलाई साथ दिन उभिएका छन् । मनोचिकित्सकका अनुसार मेरो खण्डित व्यक्तित्वले मलाई सताएको छ । तर, आज मलाई मेरो काल्पनिकता र वास्तविकता दुवैको साथ चाहिएको छ ।

मनले भन्छ– तिमी शक्ति हौ । निडर र निसङ्कोच आत्मकथा लेख । अरुको कथामा तिम्रो कृत्रिम स्वरूपमात्रै झल्किन्छ । तर, मेरो काल्पनिक स्वरूपले चेतावनी दिँदै भन्छ– तिमीले कालकूट विगत ब्युँताउने कोसिस गर्दै छौ । सुतेका प्रेतलाई जगाउने कोसिस गर्दै छौ । भूतकालमा जे भयो, सकियो । बिर्स । 

हुन त मैले विगत बिर्सने प्रयास नगरेको होइन । अपेक्षा, आक्षेप र अभिशङ्काका सबै कष्टकर अनुभवहरू म बिर्सन चाहन्छु । चरित्र दोषारोपणका क्षण, हरणका त्रसित क्षण, सतित्व अभियोगका अपमानित क्षण, परित्यक्त भएका उपेक्षित क्षण, विरहाग्निका क्षण र एकान्त प्रसववेदनामा छटपटिएका क्षण... । 

आफ्नो कथा भन्न खोज्दा आफूलाई सामाजिक प्रतिबद्धताविरूद्ध उभिएको पाउँछु । नभनूँ भने ती अपमानका झिल्काहरू एकहुल उठेर प्रतिकार गर्न आउँछन् । सपनीमा तर्साउँछन् । ब्युँझाउँछन् । उत्तर खोज्छन् । उनीहरूले सोधेका प्रश्नको उत्तर मसित छैन । किनकि ती कहालीलाग्दा क्षणकी साक्षी हुँ म । भोक्ता हुँ म । कर्ता र निर्माता होइन । शायद उत्तरहरू मेरो कथामा कतै भेटिन्छन् कि ! 

विगत बिर्सने हर कोसिस गरेँ । तर किन–किन निद्रा हराउँदै गयो । खानाप्रति अरूचि बढ्दै गयो । शरीरको तौल अनपेक्षित रूपले घट्दै गयो । सुत्न डर लाग्न थाल्यो । मुटु हल्लाउने सपनाहरूले लखेट्न थाले । म आत्तिँदै ब्युँझिन थालेँ । लोकलाजका कारण चिकित्सकको परामर्श लिन पनि सम्भव देखिएन । दैवीय छवि स्थापित भइसकेको कारण अस्वस्थताको कुरा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह भएको थियो । मानसिक तनावले गिजोलेको बेलामा पनि लोकलाजको कुरा महत्त्वपूर्ण ठहरियो । मेरो बाध्यात्मक मौनताले मलाई अर्कै मैथिली बनाउँदै लग्यो । बन्दी–मैथिली ।

तर, एकदिन अनर्थ भयो । लगभग चार वर्षअघिको कुरा हो...

सर्वोत्कृष्ट नारी व्यक्तित्वलाई दिइने विश्वप्रसिद्ध पुरस्कार ‘ब्रह्माण्ड तितीक्षा’ घोषणा भएको थियो । सहनशीलता र मौनताकी देवी भनेर विश्वविख्यात भएकी मभन्दा उचित पुरस्कारका दावेदार पात्र अरु कोही थिएन । पुरस्कार ग्रहण गर्न हामी सपरिवार बनारस पुगेका थियौँ । आयोजकले हामीलाई होटल जानकी इन्टरनेसनलमा बस्ने व्यवस्था मिलाएका थिए । 

भोलिपल्ट भव्य समारोहबीच विशिष्ट ग्रन्थकार, मान्यजन महन्त, धर्माभिमानी पुजारी, राष्ट्रवादीहरू र अग्रज मठाधीशहरूको पवित्र उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने भएका थिए । पुगेकै दिन साँझ देश र विदेशका पत्रकारहरूसित साक्षात्कार र प्रश्नउत्तर कार्यक्रम सम्पन्न भयो ।

त्यस दिनको व्यस्तताले गर्दा राति हामी ढिलो सुत्यौँ । खै कुन बेला हो... ! आफू बसेको आठौँ तलाको कोठाको ढोका उघारेर अर्धचेत अवस्थामा चिच्याउँदै होटल करिडरमा कुदेछु म । लिफ्टअगाडि बसेको गार्ड मलाई समात्न पछिपछि कुदेको थियो रे । लबीको अर्को कुनामा रहेको झ्याल खोलेर हाम फाल्न खोज्दै थिएँ रे, गार्डले च्याप समातेछ । कसैले फोन गरेर लबीमा शिकायत गरेछ । लबी म्यानेजर आइपुग्दासम्म करिडोर छेउछाउका ढोका धमाधम खुल्न थालेका थिए । नाइट गाउन पहिरेका बेला अर्धविक्षिप्त अवस्थामा रोइकराइ गरिरहँदा मलाई गार्डले बोकेको रहेछ । श्री रामानन्दजीलाई शरम लागेर मर्नु भएको थियो अरे ।

मलाई जाँच्न होटलको इनहाउस डाक्टरलाई तुरून्त उपस्थित गराइयो । डाक्टरलाई मेरो रोग पत्ता लगाउन केहीबेर लागेन । उसको मेडिकल रिपोर्ट तयार भयो । 

चरम डिप्रेसन र आत्मघाती प्रवृत्ति !

केही छिनपछिको सामान्य कुराकानी दौरान डाक्टरले श्री रामानन्दजीसँग पनि मेराबारे सोध्नुभयो । तर उहाँले असजिलो मान्दै ‘पहिलोचोटि यस्तो भएको’ भनेर ढाँट्नुभयो । 

डाक्टरले सोधेपछि मैले आत्तिने कारण सुनाएँ... 

अग्रजहरूको सम्मानित उपस्थितिमा पवित्रताको परीक्षा दिन मलाई पुनः उभ्याइएको सपना देखेर त्यस राति आतङ्कित हुन पुगेकी रहेछु । एकहुल रमिते मेरा सतित्व परीक्षक बनेर हल्ला गर्दै उभिएका थिए । सम्पूजनीयहरूको अगाडि ‘मलाई अरु पुरूषले छोएको छैन, हेरेको छैन’ भनेर प्रमाणित गर्नुपर्ने अवस्था फेरि सिर्जित भएको रहेछ । तर, उनीहरूको फैसला सुन्नुअघि म परीक्षा बहिष्कार गरेर भाग्ने कोसिस गर्दै थिएँ ।

डाक्टरका अनुसार सहनशील, क्षमाशील र मौन रहने प्रयासमा म आफ्नो त्रासदीपूर्ण अनुभव र विरोधलाई दबाउने प्रयास गर्दै थिएँ । शायद सार्वजनिक पुरस्कारको कार्यक्रमले मेरो सार्वजनिक अपमानको विगताघातलाई पुनःजागृत गराएको थियो । अपमानका झिल्का र प्रतिशोध दावाग्नि हरर्र बलेका बेला राति चिच्याउँदै भागेकी रहेछु । जति मौन बसे पनि र जति पुरस्कार जिते पनि, विगतका कुत्सित कलङ्कअभियोगहरू कहिल्यै निको नहुने घाउ बनेका रहेछन् ।

अचम्मको परिस्थिति बनेको थियो... ! 

एकातिर महिमामण्डित ग्रन्थमा दर्शाएको काल्पनिक स्वरूपलाई अङ्गीकार गरेर म आफैँप्रति भएको अन्यायलाई सहजीकरण गर्ने कोसिस गर्दै थिएँ । तर अर्कोतिर अन्तर्विरोधको डढेलोमा झुल्सेर मानसिक पीडाको घाउ पनि साथसाथै चुलिँदै रहेछ ।

म डिप्रेसनमा छु भन्ने थाहा पाएपछि श्री रामानन्दजी चिन्तित हुनुभयो । उहाँको चिन्तामा मेरो स्वास्थ्यको पीरभन्दा बढी लोकलाजको डर थियो । डिप्रेसनको कुरा सार्वजनिक हुने डर सबैको अनुहारमा झुल्किन थाल्यो । सहनशीलताका लागि दिइने पुरस्कारबाट मेरो नाम फिर्ता हुने आशङ्का उत्पन्न भयो । डिप्रेसन र आत्मघाती ‘रुग्ण प्रलाप’को समाचार सार्वजनिक भयो भने रचिएका धर्मग्रन्थहरूमा उल्लेख गरेजस्ती सहनशील र क्षमाशील छैन भनेर हल्ला हुन्छ भन्ने कुरो थियो । आर्य आदर्शनारीको अखण्डित मर्यादित स्वरूप झ¥यामझुरूम हुने डर भयो । त्यतिमात्रै होइन, डिप्रेसनका कारणबारे मिडियामा प्रश्न उठ्न सक्ने पनि निश्चित देखियो । मर्यादा पुरूषोत्तम श्री रामानन्दजीले मेराबारे गरेका निर्णय र परीक्षाहरूबारे महिला आयोगमा केस बन्न सक्ने आशङ्का हुन थाल्यो । विद्वान धर्मग्रन्थकारहरूको सत्यतामाथि प्रश्न हुने देखियो र धर्मनिष्ठावान्हरूको आस्था बिथोलिन सक्ने डर पनि भयो । 

मेरो अस्वस्थताको खबर सार्वजनिक हुँदा लहरो तान्दा पहरो थर्किने डरलाग्दो स्थिति सिर्जना भयो । 

त्यस दिन पनि अरु दिनहरूजस्तै मेरो सम्मतिबिनाको सर्वसम्मतिले मेरो डिप्रेसनको कुरा सार्वजनिक नगर्ने निर्णय ग¥यो । तर, त्यो निर्णयले गर्दा मलाई पनि एउटा फाइदा भयो । मलाई पौराणिक ग्रन्थकी नायिका बनाउन गरिएका विभिन्न खालका राजनीति बुझ्न थालेँ । ग्रन्थकारिताको राजनीति, पुरस्कारको राजनीति, लोकप्रियताको राजनीति, विश्वास र आस्थाको राजनीति, धर्मको राजनीति र स्वास्नीमानिसको नाममा गरिने राजनीति । ती बुझ्ने बित्तिकै आफू भित्र दमन–दामिनी (दमन संहार गर्ने) बन्न सक्ने सम्भावना पनि त्यही दिन भेटेँ मैले ।

त्यस दिन सूर्य उदाउनुभन्दा पहिला पेनकिलर र डिप्रेसनको औषधी खाएँ । दिनभरि औषधीले लठ्ठ बनायो । सूर्य अस्ताएपछि आयोजकले सुनौलो जरीमा उनेको गुलाफको माला पहिराएर स्वागत गरे । तूल र झन्डाले सिँगारेर झकिझकाउ बनाएको मञ्चमा आसिन गराए । एकपछि अर्को वक्ता मञ्चमा आउँदै मेरो सहनशीलता, पतिव्रता, क्षमाशीलता र त्रिकालदर्शी सिद्धसम्पन्नाशक्तिबारे वाक्यांश प्रदर्शन गरे । म सहनशीलताको अभिनय गर्दै मञ्चमा बसेँ । जब मेरो नाम बोलाइयो, दर्शकहरूको तुमुलध्वनिले हललाई उचाल्यो । मैले पुरस्कार थापेँ । साँचै भन्ने हो भने, मैले आर्य नारीगुण भनेर परिभाषित गरिएका गुणहरूको उत्कृष्ट अभिनयका लागि पुरस्कार थापेँ । अभिनयमा पारङ्गत भएँ म ।

एकैदिनमा विरोधाभासी जीवन बाँच्न सिकेँ मैले । आडम्बर र अभिनयको दोसाँधमा सन्तुलन बनाउन सिकेँ । मानसिक आघात र प्रतिशोधको दावाग्निलाई लठ्याउने औषधी खाएर सहनशीलताको अभिनय गर्न थालेकी थिएँ । 

जति–जति अरु ख्याति, पुरस्कार र पदवी पाउँदै गएँ, आफ्नो दुखेसो र गुनासो पोख्ने स्वतन्त्रता पनि गुमाउँदै गएँ । मौन अभिनयमा पोख्त हुँदै गएँ म ।

तर, पेनकिलरले मेरो मानसिक तनाव निदान गर्न सकेन । अग्निपरीक्षाको नाममा गर्न खोजिएको अक्षतयोनि परीक्षाको अपमानले झनझन् विकराल रूप लिँदै गयो । बुझ्न थालेँ, मर्यादित श्री रामानन्दजीका अमर्यादित परीक्षाले मलाई मात्रै होइन, अरु थुप्रै स्वास्नीमानिसलाई भोग्या र पवित्रा दृष्टिकोणमा विभाजित गरेका रहेछन् । सतित्व, पतित्व, नारीत्वजस्ता परीक्षाहरू दौरान मेरो सक्रोध मौनतालाई सर्वकालीन सहमति बनाएर अथ्र्याइयो । 

एकातिर डिप्रेसन ! अर्कोतिर लठ्याउने औषधीको लत ! नर्वस ब्रेकडाउन हुने बेलासम्म पनि म आफ्नो स्वास्थ्यप्रति सचेत रहिनछु । नर्वस ब्रेकडाउनपछि लाग्दै छ अब मसित हार्न केही बाँकी छैन । 

त्यसैले अब आफ्ना आघातका कुरा, मौन आक्रोशका कुरा र भूतकालीन पीडकप्रेतका कुरा सबै लेख्न चाहन्छु । मन दुखेको बेला रून चाहन्छु, कराउन चाहन्छु । जब खुसी हुन्छु, हाँस्न चाहन्छु । रिस उठेको बेला अङ्गार ओकल्न चाहन्छु । 

हुन त मेरा अनुभवलाई व्यक्त गर्ने शब्दहरू अपर्याप्त छन् । जेजस्तो भाषामा आत्मकथा लेखे पनि व्यथापूर्ण कथालाई जस्ताको तस्तै बयान गर्नु असम्भव छ । तैपनि बाँचेको अनुभवलाई पानामा जीवन्त बनाउने प्रयास गर्छु । अब लोकलाजको डरले तर्साउन छाडेको छ । किनकि अब मसित हार्न बाँकी केही छैन । 

अब म मौनताको मुकुण्डो त्यागेर आफ्नो मानवीय स्वरूप अँगाल्ने प्रयास गर्दै छु । किनकि... 

छोरी, बहिनी, सहयात्री र आमा ।
मोहिनि, मुग्धा, जया, विजया र ज्ञाता
सबै हुँ म । बहुलस्वरूप नारी हुँ म ।
कहिले गार्गी, आत्रेयी, अनुसूया र अरुन्धती
थुप्रै रूप, नाता र कर्मक्षेत्रमा बाँडिएकी
प्रकृति, शक्ति र संहारिनीको सकल स्वरूप
नारी हुँ म ।

पाण्डुलिपि खरररर पढ्दै गई मिनाक्षी । 

कुनै प्रसङ्ग निरस, कुनै रोमाञ्चक, कुनै अपत्यारिलो र कतै कतै निस्सासिएजस्तो अभिव्यक्ति ! सार्वजनिक छवि बनाएकी मैथिली र आफ्नै कथाकी पात्र मैथिलीमा जमिन आकाशको फरक रहेछ । देश र विदेशमा आदर्श आर्यनारीको कीर्तिमान राखेर अनेकौँ पुरस्कार र पदवी हात पारेकी तथा हजारौ संघ, संस्थामा व्यस्त रहेर नारी कर्तव्यबारे काम गर्दै आएकी मैथिलीको आत्मवृतान्त पढ्दा उसको मन एकतमासको हुँदै थियो । 

मिनाक्षी पढ्दै गई । ल्यापटपको स्क्रिनमा पानाहरू स्क्रोल हुँदै तलतल सर्दै गए । 

उसलाई लाग्यो, आफ्नो जीवनका अँध्यारा पाटाहरू पाठकलाई देखाउन सक्नु निश्चय नै दुस्साहस कार्य हो । सबै लेखकले यस्तो आँट गर्न सक्दैनन् । आधा जति पढिसकेपछि उसलाई लाग्यो निडर भएर लेख्ने प्रयासमा लेखिका केही ठाउँमा चिप्लिएकी रहिछन् । ‘श्री कौशल्यासुत रामानन्दजी’ भनेर सम्बोधन गरेका पदावलीहरू मिनाक्षीले ‘हाइलाइट’ गरी । आफ्नो जीवनसङ्गीको नाम भन्न नसकेर नानाथरीको आलङ्कारिक सम्बोधन गरेको उचित लागेन उसलाई । डिप्रेसनबारे पढेर उसको मन भारी भयो । सहानुभूति पलायो ।

उसलाई थाहा थियो पत्रपत्रिकाले मैथिलीका अन्तर्वार्ता र समाचारलाई पहिलो पृष्ठमा छाप्छन् । सहिष्णुताकी देवी भनेर पूजिएकी मैथिलीका लागि असहिष्णु व्यवहार निषेधित बन्दै गएको उनी आफैँले थाहा पाइनन् । आत्मकथामा आत्मीयजनबाट पाएको उपेक्षा, चित्त दुखाइ, अपहरणकर्ताको गुणगान र अरु थुप्रै कुरा थिए । आफ्नो कथाप्रति इमानदार हुने प्रयासमा मैथिलीका शब्दविद्रोह विस्फोटक भएर ल्यापटपका पीडीएफ फाइलभरि छरिएका थिए ।

आधाजति पढेर मिनाक्षीले ल्यापटप बन्द गरी । आघातको पीडा ल्यापटपबाट निस्केर बाहिर फिँजिन थाल्यो । ऊ निसासिई । खुला हावामा सास लिन आत्तिई । पढ्नमा व्यस्त हुँदा पिसाबले बेस्सरी च्यापेको पनि बेवास्ता गरेकी रहिछ । कोखातिर अँठ्याउन थालेपछि असहनीय भयो । बाहिर निस्केर ट्वाइलेट खोज्दै ऊ रेस्टुरेन्टको पछाडिसम्म पुगी । ट्वाइलेट नभेटाउँदा दिक्क लाग्यो ।

“हरे ! यो देशका मान्छेले राजमार्ग छेउमा होटल र रेस्टुरेन्ट खोलेर पैसा कमाउन सिके । मासु भातसित ह्विस्कीका क्वाटर र फुल बोतल बेच्ने पारा पनि ल्याए । तर महिलालाई यात्रु र ग्राहक भनेर पत्याएनन् ।”

“साथीलाई भोलि कल गर्छु भनेजस्तै नेचर कललाई भोलि गर्छु भन्न नमिल्ने !” आफैँसित रिस उठ्यो उसलाई ।

सानी हुँदा छोरीमान्छे भएर जन्मेकोमा गुनासो थियो उसलाई । किन होला भन्ने प्रश्नको उत्तर बल्ल थाहा पाई उसले । रेस्टुरेन्टपछाडि उभिएका केही शिश्नधारीहरू ढाड फर्काएर मूत्रविर्सजन स्वतन्त्रताको निर्धक्क उपभोग गर्दै थिए ।

“जाबो पिसाब फेर्न पनि विभेद ! निसङ्कोच र निर्लज्ज स्वतन्त्रताको सहुलियत समाजका केहीलाई... ?” 

एकमनले भन्यो, “जाऊँ, त्यै समूहमा मिस्सिएर ढाड फर्काएर विसर्जन स्वतन्त्रताको स्वाद चाखौँ । निर्धक्क होस्, वा निर्लज्जता ! हेरौँ कस्तो ‘फिल’ हुन्छ !” 

तर फेरि मन मानेन । उसले निकै पर सानो रूख देखी । सानो भए पनि रुखपछाडि छेलिएर पिसाब फेर्ने ठूलो आधार भेटिएजस्तो भयो । त्यतै लागी । 

रूख पछाडिको भुइँ ट्वाइलेट नभएको अव्यक्त गुनासोले दुर्गन्धित थियो । सुबिस्तासित उभिने सुकिलो भुइँसम्म थिएन । काँधको ब्याग बिसाउने ठाउँ नदेखेर ब्यागलाई काँधमा अप्ठ्यारो गरी छड्के पारेर भिरी । नाक थुनेर पिसाब फेरी ।

बल्ल जिउ हल्का भयो । फोहरबाट जोगिँदै पाइला चाल्न खोज्दा कसो कसो स्यान्डलले फोहर कुल्चिन पुगेछ, बान्ता होलाजस्तो भयो । फोहोरी स्यान्डल लिएर पाइला सार्न गाह्रो भयो । यस्तो ठाउँमा धारा खोज्नु आकाशको फल खोज्नु सरह थियो ।

“हैट, पानीको धनी देशमा पानीको अभाव !” उसलाई घीन लाग्न थाल्यो । मिनरल पानीको बोतल किन्न फोहोरी स्यान्डल घिसार्दै ऊ ध्रुवेको हुटेलभित्र पसी ।

ध्रुवेको हुटेल अगाडि एउटा प्लास्टिकको कुर्सी लडेको थियो । मिनाक्षीले कुर्सी टिपी । कटहरको ठूलो रुखमुनि घाम छेकेर कुर्सी राखी । बाटातिर हेर्दै भर्खर पढेको आत्मकथाबारे सोच्दै थिई । त्यत्तिकैमा– 

“कहाँ जाँदै हुनुहुन्छ ?” कसैले उसलाई सोध्यो । 

टाउको घुमाएर प्रश्न गर्ने मान्छेतिर हेरी । छोटो जवाफ दिई, “काँकरभिट्टा ।” 

चिनेजस्तो देखिने अपरिचितसित गफिन मन लाग्यो लक्ष्मणलाई । झ्याप्प आँखा लागेको थियो तर बीस मिनेटभन्दा बढी सुत्न सकेन । बन्द खुलेको थिएन । गफ गरेर समय बिताउने कोसिस ग¥यो ।

“एक्लै यात्रा गर्दै हुनुहुन्छ ? अघि तपाईंलाई भित्र बसेर लेख्दै गरेको देखेको थिएँ ।” 

“तपाईं कोसँग यात्रा गर्दै हुनुहुन्छ ? आफ्नो आमा कि बाबासित ?” लक्ष्मणको प्रश्न सुनेर मिनाक्षीले आफ्नो कुर्सी लक्ष्मणतिर फर्काउँदै प्रतिप्रश्न गरी ।

लक्ष्मणले व्यंग्य बुझ्यो र हाँस्यो । 

एकछिन मिनाक्षीलाई माथिदेखि तलसम्म हे¥यो । अनुहार परिचित लागे पनि परिचय खुलेन । श्यामल रङरोगन, हाइलाइट गरेको लामो कैलो केश, सूरजमुखी फक्रेजस्ता आँखा, टुपुक्क परेको सानो नाक, नाकमा प्रचलित नयाँ फेसनको बुलाकी, कानमा हरियो मोतीको झुम्का, हातभरि हरियो चुरा, पालेका नङहरूमा रातो नेलपलिस, खाइलाग्दो अग्लो शरीर, खुट्टामा खिप भएको कालो हिल स्यान्डल, स्लिवलेस सेतो सलवार कुर्तामा हरियो सुती सल । युवती वास्तवमै सुन्दर देखिन्थी ।

“तपाईंले मलाई चिन्नुभएनजस्तो छ । तपाईं लक्की, सरी लक्ष्मण होइन ? तपाईं त अहिले पनि उस्तै ह्यान्डसम ! अँ, पहिला तपाईंको निधारमा खत थिएन ।” लक्ष्मणको निधारमा देब्रेतिरको खत हेर्दै मिनाक्षीले जवाफ दिई । तुरुन्तै अर्को प्रश्न गरी, “तपाईंको दाइ कहाँ हुनुहुन्छ ? उहाँ पनि यहीँ हुनुहुन्छ ?”

लक्ष्मण अकमक्क प¥यो । आइफोन सेवेनमा खेल्दै गरेका उसका सुलुत्त परेका औँलाहरू प्रश्न सुन्नासाथ अडिए । 

“दाजु त काठमाडौँमा हुनुहुन्छ ।” 

“तपाईंको दाइको बारेमा सुनेर दुःख लाग्यो,” मिनाक्षीको अनुहारमा विषादभाव देखियो ।

लक्ष्मणलाई अरिंगालले चिलेजस्तो भयो, “दाजुको कुरा यसले कसरी थाहा पाई ?”

सोच्यो– काठमाडौँ जिल्ला अदालतमा दाजुविरूद्ध मुद्दा चल्दै छ । विदेशी मुद्रा विनिमय भ्रष्टाचार र किर्ते दस्तखत अभियोगमा अरुले दाजुलाई फसाए । छक्कापञ्जा नजान्ने दाजुलाई नियम–कानुनबारे ज्ञान छैन । अदालती कारबाहीमा पैसाको नास भएको छ । त्यसैले थप रकमको बन्दोबस्त गर्न जनकपुर जानै प¥यो । भाउजूका नाममा रहेको जग्गाबाट पैसाको बन्दोबस्त हुन्छ कि भन्ने आशा छ । छोरीलाई पैतृक सम्पत्तिको हक नलाग्ने बेलामा भाउजूका बुबाले आफ्नो सम्पत्ति छोरीको नाममा गरेका रहेछन् । अस्वस्थताका कारण नेपालबाहिर रहेकी भाउजू नेपाल फर्किन नसके पनि आफ्नो जग्गाको वारिसनामा दाजुको नाममा गर्नुभएको छ । तर यसलाई कसरी थाहा ? 

“को हो यो ? अदालतकी कारिन्दा हो कि ?” शङ्का पलायो, “शायद, मुद्दाको पेसी दौरान भेटेका थियौँ कि ?” ठम्याउन सकेन । अर्को प्रश्न सोध्यो, “तपाईं के काम गर्नुहुन्छ ?”

“लौ, अझै चिन्नुभएन मलाई ? वर्षौंअघि भेट भएको थियो । म मिनाक्षी हुँ !” लक्ष्मणले चिन्न नसकेको देखेर मिनाक्षीले जिब्रो टोकी ।

“अहिले के काम गर्दै हुनुहुन्छ ?”

“खासै केही छैन । पछिल्ला केही वर्ष विदेशी प्रकाशनगृहमा काम गरेँ । अहिले जागिर छाडेर लेखनमा व्यस्त छु । विवस्त्र रामायण लेख्दै छु,” उसले सानो जवाफ दिई ।

“कुन रामायण ?” कुरा नबुझे पनि मिनाक्षीको मुखबाट ‘रामायण’ सुनेर हौसियो ऊ । उसका छरिता औँलाहरू दङ्ग परेर कालो फोनमाथि नाच्न थाले ।

“विवस्त्र रामायण भनेको परम्परावादी पाखण्डबिनाको उदाङ्गो रामायण हो । अर्को शब्दमा भन्ने हो भने नाङ्गो रामायण,” दुबै गालामा बनेका सानो खोपिल्टोले मिनाक्षी झन् राम्री देखिई ।

“सयभन्दा बढी भाषामा रामायण लेखिएका छन् । कसले पढ्छ अचेल रामायण ?” मिनाक्षी जिस्केजस्तो लाग्यो लक्ष्मणलाई । पत्याएन । 

“तपाईंले भनेको सत्य हो । थुप्रै रामायण लेखिएका छन् – वाल्मीकि रामायण, तुलसीदास रामायण, अगस्तेय रामायण, भानुभक्त रामायण र अरु अनगिन्ती रामायण ! तर, सबै रामायण फोटोकपीका पुनर्उत्पादित कपी हुन् । ती कपीहरू नरदृष्टिले देखेका र लेखेका नरलीला कलेवर हुन् !” 

मिनाक्षीको कुरा पूरा हुन दिएन लक्ष्मणले । व्यङ्ग्यात्मक तरिकाले भन्यो, “ओहो, त्यसो भए तपाईं आफूलाई मात्रै सही, आफ्नो तर्क मात्रै ठीक र आफ्नो विश्वदृष्टि मात्रै सर्वोत्तम ठान्ने अतिवादी बौद्धिक उद्धारकर्ता हो !”

“रामायणमा अन्यायमा परेका पात्रका दृष्टिकोणबाट अथवा भनौं फरक दृष्टिकोणबाट रामायण लेख्दै छु,” लक्ष्मणको खिसीट्युरी बुझे पनि नबुझेजस्तो गरी मिनाक्षीले ।

“रामकेन्द्रित रामायण ?” आइफोन ओर्काइफर्काई गरिरहेका खिरिला औँलाहरू अचानक शान्त भए । लक्ष्मणले मिनाक्षीको उत्तर बुझेन ।

“हा... हा..., सबै रामायण रामका लीलाबारे त लेखिएका छन् ।”  

“त्यसो भए सीतालीला बारे हो त ?” लक्ष्मणको कुतूहलता बढ्दै थियो । दाजु र भाउजूबाहेक अरु को छ र महत्वपूर्ण पात्र ? 

“होइन । मैथिलीले त आत्मकथा लेख्दै छिन् । लन्डनको प्रकाशनगृहले छाप्ने भएको छ । सुनेकी छु त्यसका लागि उनलाई ठूलै अग्रीम रोयल्टी दिएको छ रे ! आफ्नो एकपत्नीवान् पतिको फेसबुकका रसिक च्याटहरूबारे पनि लेखेकी छिन् रे ! तपाईंका दाजुलाई मर्यादा पुरूषोत्तम बनाउन र देखाउन वाल्मीकिले ठूलो शब्दलीला रचेका रहेछन् । मैथिलीलाई बिसन्चो भएकोले आत्मकथाको सम्पादन कार्य सुरू हुन सकेको छैन भनेर सुनेकी छु...,” कुरा गर्दागर्दै अचानक मिनाक्षीले केही सम्झी र थपी, “आहा ! तपाईंको दाइभक्त बजरङ्गीले त मैथिलीलाई ठूलै धोका पो दिएका रहेछन् त !” 

मिनाक्षीका आँखा लक्ष्मणको गोरो लामो अनुहार र निधारको खत हुँदै आँखामा आएर अडिए । “यतिको उमेर भए पनि जिउ अझै मेन्टेन गरेको छ । हेर्दा आकर्षक, तर सोचाइ उही ! मन त लाग्छ यसलाई...” 

बजरङ्गीले दिएको धोकाको कुरा मिनाक्षीको मुखबाट सुनेर लक्ष्मणको उज्यालो अनुहार एकाएक बादलले ढाकियो ।

“भाउजूलाई केही वर्षदेखि बिसन्चो थियो । दाजुले धेरै काम नगर भनेकै हो । तर डलर पचाउवादीहरूले भाउजूलाई दाजुविरूद्ध भड्काएका रहेछन् । तिमीलाई अन्याय गरे, उजुरी हाल भन्दै घर भाँड्ने सल्लाह दिँदा रहेछन् । भाउजूलाई डाक्टर देखायो । काउन्सलिङ गरायो । काममा सजिलो होस् भनेर बजरङ्गीलाई भाउजूको म्यानेजर बनाएको हो । तर, उसैले धोका दिन्छ भनेर के थाहा ?” 

जजको अगाडि अभियुक्तको पक्षमा पैरवी गर्ने वकिलजस्तै उसले दाजुको पक्षमा बहस अघि सारे पनि मनमनै अचम्भित थियो, “बजरङ्गीले दिएको धोकाबारे यसले कसरी चाल पाई ? दाजु र भाउजूबीचको अमिलोपनका कुरासमेत यसलाई जानकारी रहेछ । यो पक्कै कुनै रिपोर्टर हो । रिपोर्टरले त यस्ता कुरा सुँघेर थाहा पाउँछन् ।” उसको मनमा हुरीबतास चल्न थाल्यो ।

“आफूलाई उदात्त देखाउने लालसामा तपाईंका दाइले मैथिलीको अमानवीय परीक्षाहरू लिए । मान्छेलाई कमिसन दिएर आफ्नो पक्षमा रामायण लेख्न लगाए,” उपरखुट्टी लगाएर बसेकी मिनाक्षीले खुट्टा हल्लाउँदै भनी ।

“विरोधीका बतासे गफमा विश्वास गर्नुहुँदो रहेछ,” लक्ष्मणले प्रतिकार ग¥यो ।

“कस्तो बतासे गफ ? मैथिलीको आत्मकथामा असन्तुष्टिका थुप्रै पनि प्रसङ्ग छन् रे ! उहिल्यै जमानामा महिला आयोग थिएन । महिला मन्त्रालय र मानवअधिकार आयोग पनि थिएन । उनको पुस्तकले अब कोकोमाथि औँला उठाउने हो । शङ्का गरेर मैथिलीमाथि निगरानी राख्न बजरङ्गीलाई म्यानेजर बनाइएको रे भन्नेसमेत हल्ला चल्दै छ !” लक्ष्मणलाई जिस्क्याउँदै मिनाक्षीले आँखा झिम्क्याई ।

“त्यो धोकेबाज हनुमानको नामै नलिनोस् । साले, त्यसैले गर्दा दाजुलाई सङ्कट आइलागेको हो,” बजरङ्गीको नाम सुन्नेबित्तिकै लक्ष्मण भड्क्यो ।

लक्ष्मण रन्केको देखेर मिनाक्षीले थपी, “किन ? आधुनिक राष्ट्रवादीहरू देशमा रामराज्य ल्याउने तयारी गर्दै छन् । तपाईंको दाइले समेत रामराज्य पार्टी खोल्ने कुरा गर्दै छन् अरे ! बजरङ्गीबिना रामराज्य पार्टी खुल्नै सक्दैन । नयाँ पार्टी खुल्ने सम्भावना देखेर चीनको एउटा कम्पनीले महिलाहरूलाई चाहिने सतित्व अग्निरोधि कवच बजारमा ल्याउँदै छ अरे ! अनि कवचको विज्ञापनमा मैथिलीले नै खेलेकी छिन् रे ! तर, विज्ञापनको पारिश्रमिक बजरङ्गीले दम्पच पारेछन् भनेर हल्ला छ । तपाईं नै भन्नोस् रामराज्यकी नायिकालाई यसरी धोका दिने आँट कसको ? बजरङ्गीले यत्रो हिम्मत गर्न सक्ला र ? सङ्कटमोचन बजरङ्गीको काम सङ्कट टार्ने हो । निम्त्याउने त होइन । पार्टीलाई चाहिने पैसा कमाउने नयाँ बाटो ! पार्टी खोल्न भनेर पठाएको डलर र युरो आफ्नो खातामा र दोष जति बजरङ्गीतिर ?” 

बजरङ्गीको धोकाबारे मैथिलीले पाण्डुलिपिमा लेखेकी थिई । तर, रामराज्य र राजनीतिक पार्टीको कुरा मिनाक्षीको काल्पनिक अतियुक्ति थियो ।

“बजरङ्गीले धोका देलान् भनेर सपनामा पनि चिताएका थिएनौँ ! तर, त्यसमा भाउजूको पनि गल्ती छ । आत्मरतिमा रमाउँदै झन् बढी सहनशील हुने अभ्यास गर्दै हुनुहुन्थ्यो । बजरङ्गीसित ठगिनु पनि सहनशील हुने नयाँ तरिका हो कि ? भाउजू पनि....” भन्दाभन्दै लक्ष्मणले लामो सुस्केरा लियो “...पहिला सुनको हरिण देखेर लोभिनुभयो । त्यसैले विपद् ल्यायो । सुगालाई बन्दी बनाएर आफ्नो विरह आफैँ निम्त्याउनुभयो । बोल्न पर्ने बेलामा पनि नबोलिदिने । मनमा के छ बुझ्नै गाह्रो । दोष किन दाजुलाई ?” 

दाजुको बचाउ गर्ने प्रयासमा नचाहँदा नचाहँदै पनि लक्ष्मणले भाउजूको आलोचना गरिहाल्यो । तर, घरभित्रको विभीषण को हो भन्ने ठम्याउन सकेन । दाजुको छवि धमिल्याउने कुरा लक्ष्मणको लागि असह्य थियो ।

लक्ष्मणका जन्ड प्रतिवाद सुनेर मिनाक्षीलाई पनि झनक्क रिस उठ्यो । हात हल्लाउँदै कुरा गर्दा उसले लगाएका काँचका चुराहरूले पनि रोष प्रकट गरे ।

“हद छ बा.... ! तपाईं दुवै दाजुभाइ आफ्नो विवेकले सोच्नुहुँदो रहेनछ । आमालाई दोष लगाएर घर छाडेर हिँड्नुभयो । अरुका कुरा सुनेर मैथिलीमाथि शङ्का गर्नुभयो । परीक्षा जति सबै लिन तयार । तपाईंको दाइलाई परीक्षा लिने लास्टै सोख रहेछ । हेडमास्टरको जागिर खाएको भए पाक्षिक, अर्धवार्षिक, वार्षिक र दैनिक परीक्षा... ! जहिले मन लाग्यो परीक्षा लिन मिल्थ्यो । विचरी मैथिलीलाई सास्ती हुने थिएन ! तपाईंहरू आफ्ना गल्ती नकेलाउने । तर दोष सबै अरुतिर तेस्र्याउने ?” 

मिनाक्षीको रोष देखेर लक्ष्मणलाई शङ्का भयो, “यो भाउजूकी साथी हो कि उर्मिलाकी साथी हो ? पछिल्ला समयमा उर्मिला र भाउजूबीच दोस्ती गहिरिएको थियो । उनीहरू एक अर्काका कपालमा मेन्दी लगाएर घण्टौँ गफ गरेर बस्थे । उर्मिलाले भाउजूलाई फेसियल गरिदिन्थी । नङ काटिदिन्थी । दिदी बहिनी भएर बसेका दिनमा भाउजूले उर्मिलासित मनका बह पोख्नुभयो कि ? जे भए पनि लोकलाजको ख्याल पनि त गर्नुपर्छ ? अरुलाई नसुनाउनु पर्ने ! के भन्छन् मान्छेले ? लौ, हेर... !”

परिहास गरेजस्तो मिनाक्षीको कुरा उडायो, “तपाईंले रामायण राम्ररी पढ्नुभा’ छैन ?”

“लेखिए जति सबै रामायण पढेको दाबी गर्दिनँ । तर, फोटोकपीका कपीहरूमा महिमामण्डित मर्यादापुरूषोत्तम र उनका भातृभक्त लक्ष्मणको अचाक्ली गुणगान छ । ताडका, शूर्पणखा, मन्दोदरी, उर्मिला, अहिल्या, शबरी, त्रिजटा, कैकेयी, मन्थराहरू उपेक्षित छन्,” मिनाक्षी तर्क गर्न तम्तयार थिई ।

शूर्पणखाको नाम सुन्नेबित्तिकै पड्क्यो लक्ष्मण, “त्यो कामोत्तेजक शूर्पणखाको कुरा नगनुस्...,” तर तुरून्तै माफी माग्यो, “माफ गर्नुहोला पोलिटिकल्ली करेक्ट भइनँ । अहिले त राक्षसलाई राक्षस र कालीलाई काली पनि भन्न मिल्दैन ।” 

मिनाक्षी हाँसी, “तपाईं निर्धक्क भएर राक्षस र काली भन्न सक्नुहुन्छ । तपाईंलाई थाहा रहेनछ, हिजोआज युवतीहरूले आफ्नो साहित्यिक उपनाम शूर्पणखा लेख्न थालेका छन् ! वाल्मीकिले शूर्पणखालाई ‘कामोत्तेजक कलङ्किनी’को रूपमा प्रस्तुत गरेर ‘स्लट शेमिङ’ गरेको कुरा धेरैले बुझिसकेका छन् । आफ्नो इच्छा व्यक्त गरेको कारण शूर्पणखालाई सजाय दिइयो । आइमाईले इच्छा गर्न हुन्न, नत्र दण्ड पाउँछे भनेर आइमाईहरूको सातो लिइयो । वाल्मीकि त निकै बाठा रहेछन् । रामायणलार्ई नैतिक नियमको सांस्कृतिक आलेख बनाएर अथ्र्याए ।” 

“कस्तो नैतिक नियमको सांस्कृतिक आलेख ? ह्यान्डसम लोग्नेमान्छे देखेर त्यो कामोत्तेजक शूर्पणखा यौनयाचना गर्दै आई ! छिः ! लाज पनि लागेन । दाजुले त भनेकै थिए म विवाहित हुँ, एकपत्नीवान हुँ । तर, कामोत्तेजनामा सुद्दी हराएको बेला उसले कुरै सुनिन । कहिले दाजुतिर त कहिले मतिर ! हुन त हामी पनि अलिबेर ऊसित जिस्केकै हो । तर, नकचरी हुन थालेपछि नाक छप्काउन पर्ने बाध्यता आयो,” पुराना घटना सम्झेर लक्ष्मण फिस्स हाँस्यो । 

“अचम्म छ ! निष्क्रिय, ग्रहणशील र गुणवती आइमाई नभएको कारणले गर्दा शूर्पणखालाई दण्ड दिएको हो त ? उसको प्रस्तावलाई याचना भनेर बुझ्नु नै तपाईंहरूको पहिलो गल्ती हो । तपाईंहरूको गलत बुझाइले गर्दा नै रामायणमा दुःखान्त प्रसङ्ग थपिँदै गए । दोष शूर्पणखामाथि थुप्रियो । तपाईंहरूको गलत बुझाइले गर्दा नै कथा, पात्र, घटना, र नीति–निष्कर्षहरू स्वाभाविकताभन्दा पनि आदर्श महात्मय बन्न पुगे ।” 

“बुझिनँ !” लक्ष्मणले बुझेन ।

“शूर्पणखाले आफ्नो इच्छा निसङ्कोच व्यक्त गरेकै कारण अस्त्र शस्त्र भिरेका दिव्यपुरूषहरूले ‘स्लट शेमिङ’ गरे । सुनसान ठाउँमा एक्ली केटी, सरी एक्ली राक्षसी देखेर ऊसित जिस्केर क्षणिक रमाइलो पनि गरे । तपाईंहरूको गलत बुझाइले गर्दा शूर्पणखाको इच्छा अभिव्यक्ति अनैतिक ठहरियो तर तपाईंहरू ऊसित जिस्केको नैतिक... ?” 

“होइन त्यस्तो कुरा होइन...,” मिनाक्षीका कुरा सुनेर लक्ष्मणले अप्ठ्यारो मानेजस्तो ग¥यो । 

मिनाक्षीले बोल्न दिइन, “...दण्डको त्रास देखाएर, आदर्शप्रेरित सांस्कृतिक आलेख तयार गरियो । नैसर्गिक यौनेच्छा र प्रेमेच्छालाई पतीत स्वेच्छाचारी राक्षसीको विद्रूप इच्छा भनेर परिभाषित गरियो । विद्रूप इच्छा गर्ने आइमाईलाई दण्ड दिइन्छ भन्ने त्रासलाई जीवन्त राखियो । मौन, ग्रहणशील र निस्सारता स्वीकारेकी आइमाईलाई पूजिता मानिने संस्कारको थालनी गरियो । सामाजिक दण्डको डरले गर्दा आइमाईहरू आफ्ना इच्छा लुकाउने अभिनयमा पोख्त भए । त्यसपछि विद्वानहरूले आइमाईका मनका कुरा कसैलाई थाहा हुँदैन भनेर ज्ञानका नयाँ अध्याय थपे । आदर्शोन्मुख रामराज्यमा केटी जिस्क्याउने नरलीलाको रमाइलो नैतिक मानियो । नैतिकताको अभिभारा बोकेकाहरूका राक्षसी प्रवृत्ति मर्यादित आचरण भनेर परिभाषित भए । आइमाईका शरीर, इच्छा र अभिव्यक्तिमाथि निषेधाज्ञा जारी गर्न परिपाटीसमेत निर्माण हुँदै गए । होइन त ? तपाईं नै भन्नुस् ।” मिनाक्षीका आँखा हाँस्दै थिए ।

लक्ष्मणलाई जवाफ आएन । बसेको ठाउँबाट उठेर हिँड्न मन लाग्यो ।

“तपाईंका पश्चिमा डलरकमाओवादी तर्क स्वतन्त्रतामुखी सुनिए पनि हाम्रो परिवेशमा अराजक...,” लक्ष्मणको कुरा मिनाक्षीको तर्कमा हरायो ।

“शूर्पणखाको कुरा मानेको भए सुखान्त रामायण लेखिन्थ्यो कि ? लौ, एकछिनलाई मानौँ शूर्पणखाले यौनप्रस्ताव ल्याई ! तर, रतिसुखलाई आइमाईको हकमा चित्तवृति विकार भनेर किन बुझियो ? रामायणका युद्ध, वियोग, विरह, तिरस्कार, हिंसा, प्रतिहिंसा र अपमानका घटनाहरू त्यही दिग्भ्रमित बुझाइका कारण घटेका हुन सक्छन् !” 

लक्ष्मणलाई लोकलाजको डर लाग्यो । सोच्यो, “बोल्दा लाज र अप्ठ्यारो भनेको फिटिक्कै मान्दिन यो । मुखमा जे आयो, प्याच्च भन्छे । शूर्पणखासितै बोल्ने ट्रेनिङ लिएर आएकी जस्ती छ ।”

आफ्नो वरिपरि हे¥यो । केही मानिस उनीहरूका कुरा रमाइलो मानेर सुन्दै थिए । 

“मुखमा जे आयो, प्याच बोल्छे ! धन्य यहाँ तरूण वाहिनी संघका कट्टरपन्थीहरू छैनन् । कुरा नबुझी हात हाल्न बेर लगाउँदैनन् । यस्ता रामायणविरोधी कुरा सुनेर यसैको नाक पनि छप्काउन बेर लाउँदैनन् । यसलाई जङ्गलको राक्षसीको हावाले छोएछ ।”

अरुले नसुन्ने गरी सानो स्वरमा भन्यो, “तपाईंको कुरा सुन्दा लाग्छ जङ्गलको हावाको प्रभाव सहरमा पनि आउन थालेछ । हाम्री भाउजूलाई पनि जङ्गलको हावाले छोएको थियो । नत्र मौन अभ्यास रूचाउने भाउजू आत्मकथा लेख्ने मान्छे त होइन । भाउजूको नाममा अरुले नै लेखेको होला... उर्मिलालाई पनि मेरो विरूद्धमा भड्काउने जमात थिए । रवीन्द्रनाथ टैगोर र मैथिली शरण गुप्तसम्मले हामीबीचको सम्बन्ध बिगार्न धेरै प्रयास गरे ! उर्मिलाले आत्मकथा लेख्न नमानेपछि तिनले नै उर्मिला उत्ताप लेखेर उत्पात मचाए,” मिनाक्षीका झुम्कामा झुन्डिएका हरिया पोते पनि हल्लिँदै सहमति जनाउन थाले ।

“जङ्गलको हावा स्वच्छ हुन्छ । प्राकृतिक हुन्छ । कृत्रिमता हुँदैन । त्यसैले जङ्गलको हावाको प्रभाव सहरमा सरेको राम्रो । तर, मैथिलीले किन आत्मकथा लेख्न सक्दिनन् ? आफ्नो कथा अरुले कसरी लेख्न सक्छन् ? कथा, गाथा, पुराण लेख्ने तपाईंहरू मात्रै ?” 

“हा.. हा..” धक फुकाएर हाँसी मिनाक्षी । 

मिनाक्षीको प्रत्युत्तरले उसलाई रिँगायो । उसले आफ्नो फोन खोल्यो । हे¥यो । बन्द ग¥यो । ऊसित चित्तबुझ्दो जवाफ थिएन ।

“हेर्ने मान्छेले हामी झगडा गरेको भन्दा हुन् ।” अचानक नजिकै बजेको ठूलो हर्नले दुवैलाई झस्कायो । 

एकैछिनमा ध्रुबेको हुटेल सुनसानजस्तो देखियो । अघिसम्मको चहलपहल हराएको थियो । वरिपरि थरीथरीका हर्न बज्न थाले । मिनाक्षी बसेको कुर्सीबाट उठी र भुइँमा राखेको ब्याग टिपेर हिँड्ने तर्खर गर्दै भनी, “तपाईंसित वर्षौंपछि भेट भयो । तपाईं अहिले पनि उस्तै हुनुहुन्छ । विचार, बुझाइ र सोचाइ पनि पहिलाजस्तै । हाम्राबीचका सहमति र असहमति दुवै फरक दृष्टिकोण र फरक परिवेशका कारण बनेका होलान् । जेहोस्, तपाईंसित भेटेर खुसी लाग्यो ।” 

उसले बिदा मागी । 

उसलाई हिँड्न तयार देखेर लक्ष्मणको मन चसक्क भयो । खै किन मिनाक्षीको विचारसित असहमति रहे पनि उसलाई मिनाक्षीको कुराकानी र साथ रमाइलो लाग्न थालेको थियो । मिनाक्षीको स्पष्ट व्यक्तित्वले लक्ष्मणलाई नजानिँदो पाराले आकर्षित गर्न थालेको रहेछ ।

ऊ पनि कुर्सीबाट उठ्यो, “तपाईंसित गफ गर्दा समय बितेको थाहा भएन । यात्राको रमाइलो भनेको यस्तै हो । कोसित कहाँ भेट हुन्छ थाहा हुँदैन । तपाईंले भनेजस्तै हाम्रा असहमति आफ्ना ठाउँमा छन् तर संवादको सम्भावना जारी राख्नुपर्छ । तपाईंको पुस्तक ‘विवस्त्र रामायण’ बजारमा आयो भने पक्कै किनेर पढ्नेछु । तपाईं फेसबुकमा हुनुहुन्छ भने म तपाईंलाई एड गर्छु । तपाईको फोन नम्बर पाएँ भने चिया, कफी खाने निम्तो पठाइरहन्छु,” उसका चञ्चल औँलाहरू मिनाक्षीको फोन नम्बर छाम्न लालायित थिए । औँलाहरूले आइफोन अन गरे ।

“तपाईले चिन्नुभएनझैँ लागेकै थियो । साँच्चै मलाई चिन्नुभएनछ ! म मिनाक्षी... ! अझै चिन्नुभएन ? वाल्मीकिले कामोत्तेजक कलङ्किनी भनेर चित्रण गरेकी पात्र मै हुँ । आइमाईहरूलाई तह लगाउन र नैतिक गरिमाको नियम लागू गर्न मेरो नाम मेटाएर राक्षसनी बनाए । मेरो वर्णनमा शब्द खर्चे... रौद्ररूप, विकृत, कुरुपिणी, दुर्मुख, कुनख (नराम्रो नाक), डरलाग्दी, काली, राक्षसी... आदि इत्यादि । शब्द खर्चेअनुसार परिणाम सफल रह्यो,” आफ्नो रातो नेलपालिस लगाएको लामो नङ्ग्रा तेस्र्याउँदै, आँखी भौँ उचाल्दै अनौठो मुखाकृति बनाएर लक्ष्मणलाई तर्साउने अभिनय गरी ।

“शब्द आडम्बरमा आफ्नो सक्कली प्रतिविम्ब नभेटेपछि विवस्त्र रामायण लेख्नु पर्ने बाध्यता भयो,” आँखा झिम्क्याउँदै उसले लक्ष्मणलाई जिस्क्याई । उसले आफ्नो ब्यागबाट चस्मा निकाली । उसका फक्रिएका सूरजमुखी आँखालाई निलो बादलले छोप्यो । 

उसका कुरा सुनेर लक्ष्मण झन्डै मूच्र्छा प¥यो । 

“हो त ! यो शूर्पणखा पो हो ! कहाँ देख्या भनेको त.... ? पहिलाभन्दा अलिक दुब्ली देखिन्छे । तर, बोल्ने तरिका उस्तै ! हाँस्दा उस्तै !” मिनाक्षीको अनुहार हेरेको हे¥यै भयो ऊ । उसको दिमाग शून्य भयो । 

“यस्तो बोलेको त सुनेको थिइनँ ! हुन त, त्यसबेला यसरी बोल्ने मौका थिएन !” फोन समातेका उसका औँला पनि चल्न छाडे ।

मिनाक्षी बिदा मागेर हिँडी । 

दुई पाइला हिँडेपछि फरक्क फर्की र हाँस्दै भनी, “अब शूर्पणखा भेट्न जङ्गल जान पर्दैन । अहिले त के गाउँ र के सहर ? मलाई भेट्न सजिलै छ । म त यत्र–तत्र, सर्वत्र भेटिन्छु । तपाईं भेट्ने इच्छा मात्रै गर्नुहोस्, म हाजिर हुन्छु ।” 

केही सोचेर फेरि फर्की र भनी, “बाई द वे, पहिला आफ्नो मनको कुरा भन्दा म दण्डित हुन पुगेकी थिएँ । अब त मैथिली पनि आफ्नो मनको बह पोख्दै छिन् । के गर्नुहुन्छ अब ? उसलाई पनि दण्ड दिनुहुन्छ ? फेरि, दण्ड दिँदा मैथिली र मिनाक्षीबीच फरक नरहला ! अनि, दण्ड नदिँदा पनि नैतिक नियमहरू भत्किने डर ! राम्ररी विचार पु¥याउनोस् है । ल, म त हिडेँ । बाई ।”

मिनाक्षी ‘ध्रुवेको हुटेल’ लेखेको बोर्डतिर लम्किई । त्यहाँ पार्क गरेको रातो किया पिकान्टो कारको ढोका खोली । बोकेको ल्यापटपको ब्याग गाडीभित्र राखी । गाडीमा बसेर ढोका लगाई र गाडी स्टार्ट गरी ।

बाटोमा पुगेर गाडीभित्रबाट लक्ष्मणलाई हात हल्लाएर फेरि ‘बाई’ गरी । एकैछिनमा पिकान्टो अरु गाडीको भीडमा हरायो । गाडीको टायरले उडाएको धूलो र मनमा मच्चिएको बबन्डर भुमरीले लक्ष्मणलाई गल्र्याम्मै अँगालो मारेर धूलेम्वाइ खाए ।

चालकले खलासी भाइलाई माइक्रोभित्र बसेका यात्रु गन्ने आदेश दियो । खलासी भाइले माइक्रोभित्रका ठूला, साना टाउका गन्न थाल्यो । दुईचोटि गन्यो । एउटा टाउको अपुग रह्यो । तेस्रोेचोटि गन्यो । फेरि एउटा टाउको अपुग रह्यो । 

चालकलाई हतार लागेको थियो । बेस्सरी हर्न बजायो, एकछिनसम्म कु¥यो ।  झर्किंदै फेरि हर्न बजायो । तर, कोही आएन । चालकले हराएको टाउकोलाई गाली बक्यो । 

माइक्रोभित्र दोहोरी गीत घन्कायो र माइक्रो स्टार्ट ग¥यो ।

(थापाको कथासंग्रह ‘कठपुतला’बाट)
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

विवस्त्र रामायण

– अर्चना थापा एकाएक मधेस बन्दको सूचनाले सबै बाटामा अलपत्र परे । एउटा ट्रक र दुई मोटरसाइकल जलाइयो भन्ने समाचार आएपछि