ad

साहित्य र कला

बाबाजीको भोग

बाबाजीको भोग

- प्रेमचन्द


रामधन अहीरको दैलोमा एक साधु आएर भन्यो, "बाबु ! तिम्रो कल्याण होस्, साधुमाथि केही श्रद्धा देखाऊ ।

रामधनले श्रीमतीसँग भन्यो, "दैलोमा साधु आएका छन्, उनलाई केही ल्याएर दे ।

श्रीमती भाँडा माझ्दै थिई यो चिन्ताले ग्रस्त थिई कि आज खाना के बनाउने ! घरमा अन्नको एक दाना पनि थिएन । चैतको महिना थियो तर यहाँ दिउँसै अन्धकार व्याप्त थियो । उब्जनी सबै खेतबाटै उठेको थियो । आधा बाली महाजनले लग्यो बाँकी आधा जमिन्दारका चम्चाहरूले असूल गरेर लगे । भुस-पराल बेचेर गोरूको व्यापारीबाट छुटकारा पाएका थिए । मात्र केही उब्रेको सोहोर-साहारलाई पिट-पाट पारेर एक मन जति दाना निकालेका थिए । जसो-तसो चैतको महिना पार भयो । अब के गर्ने ? गोरूलाई के ख्वाउने ? घरका सदस्यहरूले के खाने ? भगवान् नै जानून् ! तर, दैलोमा आइसकेका साधुलाई कसरी फर्काउनू ? उसले के भन्ला ?

श्रीमतीले भनी, "के दिने ? घरमा केही पनि छैन ।

रामधन, "जा, भाँडामा हेर, केही पीठो-सिठो भए दे ।

श्रीमतीले भनी, "त्यही भाँडा पुछपाछ गरेर हिजो चुलो फुकेको । त्यहाँ के बाँकी होला !

रामधन, "घरमा केही छैन भन्न सक्दिनँ । जा कसैको घरबाट मागेर ल्या ।

श्रीमती, "जोसँग ल्यायो उसलाई फिर्ता दिन सकेको छैन, अब कसरी माग्न जानू ?

रामधन, "देउतालाई चढाउन छुट्याएर राखेको केही नि, जा त्यही ले, दिएर आउँछु ।

श्रीमती, "देउताको पूजा कसरी गर्ने ?

रामधन, "देउता माग्न आउँदैनन् नि ? भए चढाउँला, नभए नचढाउँला ।

श्रीमती, "त्यही छुट्याएको पनि एक-दुई पसर होला नि, धेरै भए आधा सेर । त्यसपछि के कोई साधु आउँदैनन् ? उसलाई फर्काउनै पर्ला !

रामधन, "अहिलेको समस्या टरोस्, त्यतिखेर देखाजाला ।

श्रीमती अमन गर्दै उठी अनि एउठा सानो हाँडी लिएर आई, जसमा मुश्किलले आधा सेर पीठो थियो । त्यो पीठो बडो यत्नका साथ देउतालाई चढाउन राखिएको थियो । रामधन केहीबेर सोचमग्न भयो अनि पीठो एक कचौरामा राखेर बाहिर आयो साधुको झोलामा राखिदियो ।

महात्माले पीठो लिएर भने, "बाबु ! आज साधु यतै बस्छु । केही दाल पनि देऊ ताकि साधुको भोग लागोस् ।

रामधनले फेरि आएर श्रीमतीसँग भन्यो । संयोगवश घरमा दाल थियो । रामधनले दाल, नून, पकाउने भाँडो जुटाइदियो । फेरि इनारबाट पानी तानेर ल्यायो । साधुले बडो ढङ्ग पुऱ्याएर रोटी बनाए, दाल पकाए, अनि झोलाबाट आलु निकालेर भुजिया बनाए । जब सबै सामान तयार भयो, अनि रामधनसँग भने, "बाबु भगवानलाई चढाउनको लागि अलिकति घ्यू पनि चाहियो । भान्छा चोखो नभए भगवानलाई कसरी चढाउनू ?

रामधन, "बाबा, घ्यु घरमा छैन होला ।

साधु, "बाबु ! भगवानको कृपाले तिमीसँग धेरै कुरा छ । यस्तो कुरा नगर ।

रामधन, "बाबा, मसँग गाई-भैँसी केही छैन, घ्यू कहाँबाट हुन्छ ?

साधु, "बाबु ! भगवानको भण्डारमा के छैन ? जाऊ जहानसँग भन त ।

रामधनले गएर श्रीमतीसँग भन्यो, "घ्यू चाहियो रे, भीख माग्नु , घ्यूबिना गाँस जाँदैन ।

स्त्री, "तेसो भए यही दाल साटेर दोकानबाट अलिकति ल्याइदिनू । यति सब गरिसकेपछि त्यतिमा किन उसलाई खिन्न पार्नू ?

घ्यू आयो । साधुले पूजा-पाठको पञ्जी निकाले, घण्टी बजाए अनि भोग लगाउन बसे । खूब मीठो मानी-मानी खाए अनि दैलोको छेउमै पेट मसार्दै पल्टिए । रामधनले थाल कचौरा अनि कराई उठाएर माझ्न लग्यो । त्यस रात रामधनको चुलोमा अन्न पाकेन । दालमात्र पकाएर खाए ।

रामधन सुत्नेबेलामा सोच्दै थियो, "मेरोभन्दा यिनकै जीवन राम्रो ।

अनुवाद: एकदेव अधिकारी

तपाईंको मत