site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

एक्काइसौं शताब्दीमा पनि नेपालमा बोक्सीको बात लगाएर यातना दिने गरिन्छ भन्ने समाचार जति आश्चर्य र खेदको विषय हो यातना दिने अपराधीलाई जनप्रतिनिधि र प्रहरीेसमेत उम्काउने प्रयत्न गर्नु त्यसभन्दा पनि बढी आपत्तिजनक हो । प्रदेश नम्बर सातमा पर्ने कैलाली जिल्लाको घोडाघोडी नगरपालिका – ५ मा बोक्सीको बात लगाएर २० वर्षीया युवतीलाई यातना दिने कथित बाबालाई स्थानीय गाउँलेहरूले सहयोग गरेको र जनप्रतिनिधिले कारबाही हुन नदिएर उम्काएको घटना नेपाली समाजको मानसिकता र शासनको सामन्ती प्रवृत्तिको यसको पछिल्लो उदाहरण भएको छ । बोक्सीको बात लगाएर युवतीलाई कुटपिट गर्दा स्थानीयले तमासा हेरेर बस्नुले पनि नेपाली समाजमा विद्यमान अन्धविश्वासको पोल खोलेको छ । विडम्बना, त्यो दर्दनाक र लाजमर्दो घटना अन्तर्राष्ट्रिय नारी दिवसका दिन भएको हो ।

नेपाली समाजमा मात्र हैन आधुनिक भनिएकै कतिपय समाजमा बोक्सी, भूतप्रेतजस्ता भ्रम अझै बाँकी नै छन् । अभौतिक शक्तिको अस्तित्वका बारेमा विवाद हुनसक्ला तर त्यस्तो शक्ति भए नै पनि त्यसले कसैलाई हानि गर्न सक्तैन भन्नेमा पक्कै विवाद हुँदैन । त्यसमाथि कसैलाई बोक्सीको बात लगाएर यातना दिनु त झन् दण्डनीय अपराध नै हो । तर, नेपालमा भने अझै पनि अन्धविश्वासी जनता र तिनलाई ठग्न सिपालु ढोंगीहरूले बोक्सीको बात लगाएर महिलाविरुद्ध हिंसा गर्न छाडेका छैनन् । बर्सेनि यस्ता थुप्रै घटना सार्वजनिक हुनेगरेका छन् । तर, त्यस्ता घटनाका दोषीलाई अनेकौं तिगडम गरेर उम्काउने प्रयास गरिएको देखिन्छ । दुर्भाग्य, ढोंगीहरूलाई सजायबाट उम्काउन प्रायः पीडितका परिवारमाथि दबाब दिनेमा स्थानीय जनप्रतिनिधि र प्रहरी नै हुनेगरेका छन् । कैलालीको घोडाघोडी – ५ मा पनि प्रहरी र जनप्रतिनिधकै मिलेमतोमा दोषीलाई उम्काउने प्रयत्न भएको रहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यातनाका कारण मरणासन्न अवस्थामा पुगेकी पीडित युवतीको उपचार भइरहेको छ । उनलाई  सांघातिक कुटपिट गर्ने अपराधीहरूलाई भने नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलगायतले प्रहरी हिरासतबाट उम्काएर लगेका छन् । ज्यान मार्ने प्रयासमा संलग्न कथित बाबालाई मात्र हैन त्यसका सहयोगी र ज्यान मार्ने प्रयासको तमासा हेरेर बस्ने गाउँलेहरूलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाउनुपर्नेमा प्रहरीले भने सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ । पीडक ढोंगीलाई प्रहरी हिरासतबाट उम्काउन स्थानीय नगरपालिकाका प्रमुखसमेत लागेको घटना स्थिति कति भयावह छ भन्ने उदाहरण हो । यस घटनाले बोक्सी र यातनाजस्ता विषयमा स्थानीय जनतामा चेतना जगाउन विशेष प्रयास गर्नुपर्ने त देखिन्छ नै कानुनको पालना गराउन कडाइ गर्नुपर्ने पनि देखिन्छ । विशेषगरी जनप्रतिनिधि र प्रहरी नै यस्तो जघन्य अपराध सामसुम पार्न लाग्ने हो भने समाज कहिल्यै अन्धविश्वास मुक्त हुनेछैन । ज्यानै जानसक्ने गरी कुटपिट गर्ने यस घटनामा पीडकलाई ज्यान मार्ने उद्योगमै मुद्दा चलाउनुपर्छ । प्रहरीले पीडितको शरीरको घाउ जाँच त पक्कै गराएकै होला । 

युवतीलाई बोक्सीको बात लगाएको र कुटपिट समेत गरेको अभियोगमा पक्राउ परेको अभियुक्तलाई उन्मुक्ति दिन खोज्ने घोडाघोडी नगरपालिकाका प्रमुख र सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई पनि कानुनअनुसार कारबाही हुनुपर्छ । सरकारवादी हुने यस्तो अपराधका घटनामा मिलापत्र गर्ने वा गराउने अधिकार कुनै कानुनले पनि प्रहरी वा अरू कसैलाई दिएको हुँदैन । यस्ता अपराध दोहोरिन नदिने हो भने प्रहरी प्रधान कार्यालय र घोडाघोडी नगरपालिका दुवैले यस घटनाका दोषीलाई सजाय दिन हिचहिचाउनु हुँदैन । नगरपालिका प्रमुखलाई उनको पार्टीले पनि कारबाही गर्नुपर्छ । नत्र, प्रहरी प्रधान कार्यालय र नगरपालिका प्रमुखको पार्टी पनि ती युवतीविरुद्ध भएको हिंसाका मतियार ठहरिनेछन् । यस्ता घटनालाई बेवास्ता गर्नु अर्की महिलाविरुद्ध हिंसालाई निम्ता दिनु हो । दोषीहरूलाई कानुनबमोजिम सजाय दिलाउन राष्ट्रिय मानव अधिकार आयोगलगायत नागरिक अधिकारकर्मी पनि अग्रसर हुनुपर्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC